Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअंकको अर्थशास्त्रमा जेलिएका जिज्ञासा

अंकको अर्थशास्त्रमा जेलिएका जिज्ञासा


काठमाडौं । विश्वमा बढ्दै गएको विज्ञान तथा प्रविधिको विकासले मानिसलाई आश्चर्यचकित बनाएको छ । सँगसँगै बसेको साथी केही समयभित्रै विश्वको कुनै कुनामा पुगेर फोन गरेको हुन्छ । केही समयमा नै विश्व परिक्रमा गरेको हुन्छ । कतिपय कुराहरू मानिसले गर्नैपर्दैन । मानिसले कम्याण्ड मात्र दिए हुन्छ । त्यो सम्पन्न गर्ने कार्य भने प्रविधिले गरेको हुन्छ । मानिसले गर्नुपर्ने जति नै कामहरू छन् ती सबै मेसिनबाट सम्भव भएका छन् । त्यसैलै आजकाल भन्ने गरिन्छ ‘प्रविधिमैत्री’ ।

फोन अहिले सामान्य भइसकेको छ । सानो बच्चादेखि जीवनको उत्तरार्धमा पुगेकाहरूको हातमा पनि मोबाइल भएकै हुन्छ । यति सानो उपकरण यति प्रविधिमूलक भएको छ कि सबै कामकुरा यसैको सहायताबाट एकै सेकेन्डमा फत्ते भइहाल्छन् । त्यसकारण यसको महत्व अहिले जहाँसुकै बढ्दै गएको छ । कम लागत र सञ्चालन गर्न पनि सजिलो भएको हुनाले यसको प्रयोगमा पनि वृद्धि हुँदै गएको अहिलेको अवस्था हो ।

म सानो हुँदा क्याल्कुलेर देख्दा अचम्म लाग्थ्यो किनभने यसले जोड, घटाउ, गुणा र भागको हिसाब एकैछिनमा गरेको हुन्थ्यो । त्यही हिसाब मैले गर्दा घण्टौँघण्टा लाग्थ्यो । त्यसमा पनि कति सत्यता हुन्थ्यो विश्वास लाग्दैन’थ्यो । पछि आएर लग टेबलबाट हिसाब गरिन्थ्यो । अनेक फर्मुला कण्ठ पारेर हिसाब गरिएको हुन्थ्यो । एउटा हिसाब गर्न धेरै समय लाग्थ्यो । त्यसमा पनि आफू विश्वस्त हुन सकिदैन’थ्यो । तर अहिले अवस्थामा धेरै परिवर्तन आइसकेको छ । एउटा सानो मोबाइलबाट धेरै जटिल हिसाब पनि हल हुन सक्छन् । यो त सानो उदाहरण मात्र हो । ठूलाठूला हिसाब र तिनीहरूको नतिजाका कुरा त अरू नै भइहाले ।

यी कुराहरू गणितको माध्यमबाटै सम्भव भएका हुन् । गणितको इतिहास कहिलेदेखि सुरु भएको भन्ने कुरा पनि यकिन गर्न सकिएको छैन । लाग्छ मानिसको उत्पत्ति जहिलेदेखि भयो त्यस समयदेखि नै भएको हो । अहिले पनि गाउँघरमा हिसाबकिताब गर्ने छुट्टै प्रणाली प्राप्त गर्न सकिन्छ । कसैले हातका औँला भाँचेर गरेका हुन्छन् भने कसैले मनमनै गुनगुनाएर ठ्याक्क नतिजा निकालेका हुन्छन् । कसैले भुइँमा सिन्काले कोतरेर हिसाब किताब गरेका हुन्छन् । तिब्बतीहरूले कुनै सामान बिक्री गर्दा डिस्कान्ट गर्नुप¥यो भने जमिनमा छेस्काले यताउती चलाएर यतिसम्ममा दिन सकिन्छभन्दा रहेछन् । यसरी अंकको महत्व बुझेर हिसाबकिताब गर्ने चलन पहिलेदेखि नै भएको पाइन्छ र तरिका पनि भिन्नभिन्न भएको देखिन्छ ।

यहाँ भन्न खोजिएको कुरो भनेको अहिलेको विज्ञान र प्रविधिको युगमा पनि अंकले ठूलो महत्व राखेको छ भन्नु नै हो । अंकको सहायताले ठूलाठूला असम्भव काम पनि सम्भव भएका छन् । यो भनिरहनुपर्ने विषय नै होइन । हामी सबैलाई थाहा भएकै कुरो हो । तर सधैँ अर्थशास्त्रमा प्रयोग गरिने अंकले सत्यता देखाउन पनि सक्ने हुँदा रहेनछन् ।

अर्थशास्त्रकै कुरा गर्दा नेपालको आर्थिक संरचना करिब ५४ खर्बको हाराहारीमा रहेको छ । यसमा अनौपचारिक आर्थिक गतिविधि समावेश भएको देखिँदैन । यस अवस्थामा देशको समग्र आर्थिक संरचना कति हो भन्ने सम्बन्धमा विभिन्न आँकडा आएका देखिन्छन् । एउटै अंक नभएको कारणले गर्दा अर्थतन्त्रमा सुधार गर्न अर्थशास्त्रीहरूलाई समस्या भएको देखिन्छ र लागू गरिएका आर्थिक नीतिहरू सफल हुन पनि सकिरहेको देखिँदैनन् । अंकलाई राम्रोसँग खेलाउन र सही किसिमले प्रयोग गर्न नसकिएको अवस्थामा यसले चुनौती पनि ल्याएको हुन्छ ।

योजनाकारले आयोजना तर्जुमा गर्दा मूलतः अंकमा नै खेलवाड गरेका हुन्छन् । यथार्थ अंकमा खेल्न सकेको अवस्थामा त्यसको नतिजा पनि राम्रै आएको हुन्छ । यदि सत्यमा आधारित अंक हुँदैनन् र तिनीहरूलाई नै आधार बनाइएको हुन्छ भने त्यसले दुष्परिणाम ल्याउने पनि हुन सक्छ । भन्न खोजिएको कुरो के हो भने अर्थशास्त्रमा अंकले ठूलो महत्व राखेको हुन्छ यदि त्यसलाई प्रयोग गर्न सकियो भने । कतिपय अवस्थामा अर्थशास्त्रमा प्रयोग हुने अंकले हामीलाई विश्वस्त बनाउन सकेका हुँदैनन् । दृष्टान्तको लागि अहिले नेपालीको प्रतिव्यक्ति आम्दानी १४ सय अमेरिकी डलर पुगेको छ । यो नेपाली रुपैयाँमा हिसाब गर्दा एक लाख ८७ हजार हुन आउँछ । एक जना व्यक्तिको यति धेरै आम्दानी हुने हो भने उसको जीवनस्तर त निकै उच्च हुनुपर्ने होइन र ? तर त्यस्तो हुँदो रहेनछ । हाम्रा आँखाको अगाडि धेरै मानिसहरूलाई बिहान बेलुकीको छाक टार्न कठिन नै छ ।

अहिले प्रत्येक नेपालीको ऋणभार ८० हजारभन्दा बढी छ । एकजनाको ८० हजारको दरले हिसाब गर्दा चार जना सदस्यको तीन लाख २० हजार हुन आउँछ । के साँच्चिनै एक परिवारले यति ठूलो ऋण बोकेको छ त ? उत्तर दिन मुस्किल नै होला ।

गणितका आफ्नै सिद्धान्त र मान्यता हुन्छन् । त्यसैको आधार लिएर हिसाब गरिएको हुन्छ । कहिलेकाहीँ सिद्धान्तलाई मान्यता दिँदा जोखिम आउने पनि हुन्छ । सिद्धान्तका पनि अपवाद हुन सक्छन् । त्यसकारण सिद्धान्त र मान्यता पनि सबैथोक होइनन् । अंकलाई खेलाउँदा धेरै कुरामा ध्यान दिनुपर्ने हुन आउँछ ।

अंककै कुरा गर्दा सालाखाला हिसाबले ठूलो महत्व राखेको हुन्छ । नेपालीको औषत आयु, औषत आम्दानी, औषत सार्वजनिक ऋण आदि क्षेत्रहरूले यथार्थता प्रकट गर्न सक्दा रहेनछन् । यस अवस्थामा अर्थशास्त्रमा प्रयोग गरिने अंकहरूमा पूर्णरूपमा भरपर्न सकिँदो रहेनछ ।

सालाखाला हिसाबले कहिलेकाहीँ यतिसम्म जोखिम ल्याउँदो रहेछ कि मानिसको ज्यानै पनि जोखिममा पर्न सक्छ । उदाहरणको लागि कुनै मानिस नदी तर्दै छ र उसलाई नदीको गहिराई कति छ भन्ने कुरा पनि थाहा छैन । ऊ गणितज्ञ भएकाले नदीको गहिराई नापेको हुन्छ र उसले सालाखाला औषत गहिराई ५ फिट निकालेको हुन्छ । ऊ पाँच फिट तीन इन्च भएकाले नदीको गहिराइभन्दा आफ्नो उचाइ बढी भएको कारणले गर्दा आफू नडुब्ने हिसाब गर्छ र नदी तर्न लाग्छ । नदी तर्दै गर्दा ऊ एक्कासी गहिराइमा डुब्छ । यसले के देखाउँछ भने अंकको हिसाब सबै ठाउँमा एकै किसिमले प्रयोग गर्न सकिँदैन ।

अहिले नेपाली अर्थतन्त्रमा पनि गणितको प्रयोग यसरी नै भइरहेको देखिन्छ । प्रतिव्यक्ति आय धेरै देखिए पनि जनताको जीवनस्तर दयनीय बन्दै गएको छ । सडक, सिँचाइ, शिक्षा, स्वास्थ्यमा सुधार भनिए पनि भुइँमान्छेको अवस्थामा सुधार भएको देखिँदैन । त्यसैगरी विप्रेषण, आयात नियन्त्रण, शोधनान्तर, मानव सूचकांकजस्ता अवयवको आँकडाले राम्रो देखाए पनि वास्तविक जीवनमा त्यस्तो भएको हुँदैन । यसबाट के बुझ्न सकिन्छ भने अर्थशास्त्रमा प्रयोग हुने अंकहरू एक प्रकारका साना आँखीझ्यालका प्वालहरू हुन जसबाट धेरै टाढाटाढा देख्न र हेर्न सकिँदैन, देखिन्छ त केवल वरिपरि मात्र । अर्थशास्त्रमा अंकलाई यथार्थमा प्रयोग गर्न सकिएन भने नदीमा डुब्न पुगेको गणितज्ञजस्तो हुन सक्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया