Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकसले दियो बीपीलाई ‘महामानव’को उपाधि ?

कसले दियो बीपीलाई ‘महामानव’को उपाधि ?


काठमाडौं । वनारसका अघोरी साधुबाट बीपीलाई ‘महामानव’को उपाधि प्राप्त भएको थियो ।

अवधुत भगवान्  रामको जन्म १२ सितम्बर १९३७ भारतको विहार प्रदेश भोजपुरको एक जमिन्दार परिवारमा भएको थियो । उहाँले नेपालका जननायक बीपी कोइरालालाई प्रथम पटक ‘महामानव’को उपाधि दिनुभएको थियो । होइन भने बीपी जीवनीको यो अध्यायसम्म आइपुग्दा यसअघि कुनै पनि ठाउँमा महामानव भनेर उल्लेख भएको पाइँदैन । बीपी स्वर्गारोहण (विसं २०३९) हुनुभएको विगत चार दशकको अवधिमा उहाँका बारेमा यति धेरै लेखिएको छ कि सायदै अरू कसैको बारेमा त्यति लेखिएको होला । बीपी र नेपाली कांग्रेसको नाममा भाष्य र थेसिस लेखेर बौद्धिक नेता प्राडा भएकाहरू मन्त्री, सांसद, राजदूत भएकाहरूको गिन्ती गर्ने हो भने पनि औँलामा गन्न नसकिने गरी दर्जनौँ भेटिन्छन् । तर कसैले पनि बीपीलाई प्रथम पटक ‘महामानव’को उपाधि कसले दिएको थियो भन्ने प्रश्नको उत्तर दिएको पाइँदैन । जबकि सबैले ‘महामानव’ लेख्ने, भन्ने गरेको भने पाइन्छ । त्यसैकारण यो आलेख बीपीका बारेमा एउटा नयाँ खोज अनुसन्धान पनि हुन पुगेको छ ।

यहाँनेर बीपीलाई ‘महामानव’को उपाधि प्रथम पटक उच्चारण गर्नुहुने अवधुत भगवान् रामका बारेमा संक्षिप्त परिचय आवश्यक होेला । जमिन्दार पिताश्री वैजनाथ सिंह प्रौढ अवस्थामा ढल्किन लाग्दा प्रथम–पुत्र रत्नका रूपमा एउटा अलौकिक तेज स्वरूप लिएर जन्मनु भएका कारण ‘मेरो घरमा भगवान्को अवतरण भयो’ भन्दै उहाँका पिताजीले भगवान् सिंह नामाकरण गर्नुभयो । पछि ठूलो तपस्या गरेर ‘अवधुत’, अघोरेश्वर’, ‘अघोर’ स्वरूप धारण गरेर पिताजीले दिएको नामलाई सिद्ध गर्नुभएको उहाँका जीवनीकारहरूले उल्लेख गर्ने गरेको भेटिन्छन् ।

‘अघोरेश्वर’, ‘अवधुत’, अघोर स्वरूपका बारेमा सनातन धर्मशास्त्र वेद पुराणहरूमा के मान्यता स्थापित छ भने उहाँ भगवान् पशुपतिनाथका दक्षिणमुख स्वरूप हुनुहुन्छ । भगवान् पशुपतिनाथका चारमुखमध्ये दक्षिण मुखलाई ‘अघोर’ भनिन्छ । जसलाई ज्ञानको ज्योतिमुख भनेर पनि मानिन्छ । यस परम्परामा भगवान् दत्तात्रय, गुरु गोरखनाथ, मच्छेन्द्रनाथ, आदिशंकराचार्य आदि इत्यादि नाम आउँछन् । कसै–कसै अध्येताहरूले भगवान् गौतम बुद्धलाई पनि यसै परम्परामा राखेर गिन्ती गर्ने गरेको भेटिन्छ ।

यस्तै परम्परामा भारतमा औरङ्गजेव सत्ता चकचकीको कालखण्डमा काशी (वनारस)को निकट गाउँ रामगढ (हाल रामनगर) विसं १६०१ मा महान् अघोराचार्य बाबा किनारामको जन्म भयो । हामी कहाँ गुरु गोरखनाथले बसालेको परम्पराजस्तै बाबा किनारामले पनि आफ्नो अलग्गै परम्परा सुरुवात गर्नुभयो । त्यसदेखि यताको कुरा हो उहाँको परम्परामा जोडिएका साधु सन्तहरूको नामको पछाडि ‘राम’ लेख्ने प्रचलन भएको । उहाँकै परम्पराका एघारौँ पुस्तामा अवधुत भगवान् राम जानिनुहुन्छ । उहाँको त (सन् १९३७–९२) अल्पआयु ५५ वर्षको उमेरमा महानिर्वाण प्राप्त भयो । हाल उहाँका आधिकारिक उत्तराधिकारका रूपमा बाबा अवधुत मंगलधन राम नेपाल (पशुपतिनाथ भूमि)मै तपस्या गरेर काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं ८ मातातीर्थ, ढाक्सीमा नेपालमै पहिलो ‘अघोर पिठ’ स्थापनागरी नवजागरण प्रकाश छर्ने आमजनहित कार्यमा तल्लीन हुनुहुन्छ ।

अब आउँ अवधुत भगवान् रामबाट बीपीले ‘महामानव’को उपाधि पाउनुभएको अध्ययन अनुसन्धानको सन्दर्भमा ।

No description available.

अवधुत भगवान् रामको अवतरण हुनुअघिसम्म अघोर परम्परा (पशुपतिनाथको दक्षिणमुख)मा लोकहितमा प्रकाश छर्ने काम आश्रम (मन्दिर) को गर्भगृहबाट मात्र हुन्थ्यो । तपस्वी र दीक्षित साधुबाहेक अरू आम जनसाधारणलाई आश्रम प्रवेशवास कडा निषेधजस्तै हुन्थ्यो । अवधुत भगवान् रामले नै त्यो निषेधको परम्परालाई तोडेर सबैले सहजरूपमा सानिध्य पाउने परम्परा बसाल्नुभयो । त्यो मिति २१ सितम्बर १९६१ हो जुन उहाँले ‘श्री सर्वेश्वरी समूह संस्था’ (जगदम्बा माता)को नाममा स्थापना गरेर सार्वजनिकरूपमै ‘दिनदुःखीजन समुदाय सेवा’ कार्य थाल्नुभयो । पहिलो काम कहाँबाट थाल्ने भन्ने सन्दर्भमा उहाँले सबैभन्दा पहिले दिनदुःखी कुष्ठरोगी उपचार उद्दारलाई रोज्नुभयो । हाल ‘श्री सर्वेश्वरी समूह संस्था’ले कुष्ठरोगी उपचार उद्दारमा विश्वमा गिनिजबुकमा रेकर्ड कायम गरेको छ । गिनिजबुक रेकर्डकै गरिमा बढाएको छ ।

यसरी अवधुत भगवान् राम सार्वजनिक हुनुभएपछि उहाँको प्रख्याति विश्वव्यापी चल्यो । डा राम मनोहर लोहियाले व्याख्या गरेको ‘राजनीति भनेको अल्पकालीन धर्म हो, धर्म भनेको दीर्घकालीन राजनीति हो’ भन्ने परिभाषाअनुसार स्वाभाविकरूपमा सबैभन्दा पहिले राजनीतिक हस्तीहरू उहाँप्रति आकर्षित भए । भारतका त्यसबखतका ठूला राजनीतिक हस्तीहरू इन्दिरा गान्धी, अटल विहारी, चन्द्रशेखर, हेमवतीनन्दन बहुगुणा, मोरारजी देशाई, के हनुमन्तैयास्तरका नेतृत्वहरू उहाँसँग प्रभावित भएर आशीर्वाद लिन लाइन लाग्ने गरेको भेटिन थाले । यसै लाइनमा चन्द्रशेखरको संगतले बीपी पनि दर्शन गर्न वनारस गंगा तट प्रणावस्थित कुष्ठरोग सेवा केन्द्र ‘श्री सर्वेश्वरी समूह संस्था’ आश्रम पुग्नुभयो । अत्यन्त प्रभावित भएर उहाँको नामको औँठी पनि लगाउन थाल्नुभयो । अब त अवधुत भगवान् रामकै निर्देशनमा १६ पुस २०३३ मा राजासँग मेलमिलाप नीति लिएर देश प्रवेश गर्नुभएको थियो भन्ने बीपी साहित्यमा आउन थालिसकेको छ ।

जुन समय बीपीलाई अवधुत भगवान् रामको सानिध्य उपलब्ध भएको थियो, त्यो समय उहाँ अत्यन्त राजनीतिक संकटमा हुनुहुन्थ्यो । त्यही उठापटकमा ३६ लाख भारु बोकेको प्लेन अपहरणकर्ता हाईज्याकर दुर्गा सुवेदीहरूलाई भारतीय गुप्तचर संस्था (रअ) को नजरबाट लुकाउन ठूलो हम्मे–हम्मे परेको थियो । त्यहाँ लुक्ने क्रममा दुर्गा सुवेदीले भगवान् रामवावाको आश्रममा तीन महिना गाँसबासको सानिध्य पाएका उनले हालै प्रकाशनमा ल्याएको पुस्तक ‘विमान विद्रोहः एउटा राजनीतिक अपहरणको बयान’ (प्रकाशक–किताब पब्लिसर्स प्रालि, काठमाडौं) मा वर्णन गरेका छन् । सन्दर्भ दुर्गा सुवेदीको उल्लेखित पुस्तकको के हो भने त्यहाँ शरण लिएर बस्दाका बखत दुर्गा सुवेदीले बीपीका बारे केही कुरा गर्न थालेपछि अवधुत भगवान् रामले एकदिन सम्झाउँदै भन्नुभएछ– ‘चारैतिर अँध्यारो नै अँध्यारो देख्ने, दुःखदेखि डराउने, सुख भोगको इच्छा मात्र राख्नेको मस्तिष्कमा मानवता हुँदैन । तिम्रा नेताजी बीपी कोइरालाले राणासँग लड्दा धेरै दुःखकष्ट भोगे । त्यसपछि राजासँग लड्दा लामो कष्टकर जेल जीवन बिताउनुपर्यो । फेरि पनि लडिरहेका छन् । संघर्षमै उनको जीवन बित्नेछ । तर जीवनपर्यन्त तिमीहरूले उनलाई ‘महामानव’को दर्जा दिनेछौँ । महामानव भनेर पुकार्नेछौँ ।’


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया