Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालमा बीमा व्यवसायको विगत र वर्तमान अवस्था

नेपालमा बीमा व्यवसायको विगत र वर्तमान अवस्था


काठमाडौं । बीमा व्यवसायको विकास नेपालमा त्यति धेरै पुरानो व्यवसाय भन्न मिल्दैन । अर्थात यसको इतिहास धेरै लामो छैन । यद्यपि, बीमा ऐन २०४८ आउनुभन्दा अघि पनि नेपालमा बीमा व्यवसाय गरिन्थ्यो । बैंकिङ इतिहास सँगसँगै र अन्य व्यापार व्यवसाय सँगसँगै यस व्यवसायको पनि सुरुवात भएको थियो । कुनै समयमा जोखिम हस्तान्तरणको ग्यारेन्टी नहुँदा नेपालमा बैंकहरूले लगानी गर्ने अवस्था थिएन । चोरीबाट हुने क्षति, स्थानान्तरण गर्दा हुन सक्ने असुरक्षा, आगलागीलगायतका जोखिमको बहन गर्न नेपालमा बीमाको आवश्यकता महसुस गरियो । विसं १९९४ सालमा नेपाल बैङ्क लिमिटेडको स्थापनापश्चात् नेपालको बीमा इतिहासको प्रारम्भ भएको हो । विसं २००४ सालको आश्विन ८ गते नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेडको स्थापना गरी बीमाको कार्य सञ्चालन गरिएको पाइन्छ । यही नै नेपालको इतिहासमा प्रथम बीमा कम्पनी भयो । बीमाको अवधारणा कायम राखेर निर्जीवन बीमा व्यवसाय गर्ने पहिलो कम्पनी नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापित हुन पुग्यो । यस कम्पनीको वा बीमाको उद्देश्य भनेको तत्कालीन अवस्थाको जोखिम, जसमा चोरी तथा आगलागी र एक ठाउँबाट अर्काे ठाउँमा सामग्री आदान–प्रदान गर्दा हुने सरसामानको जोखिमको स्वामित्व बहन गर्नु रहेको थियो । यस बीमा कम्पनी विशेषतः नेपाल बैंक लिमिटेडसँग बढी नजिक भएको थियो । किनकि उक्त बैंकले ऋण प्रवाह गरेको व्यक्ति वा कम्पनीको सरसामानको गन्तव्यसम्म नपुगुन्जेलसम्म जोखिम बहन बीमा गथ्र्यो । त्यस्ता प्रकारका सामानहरू भारतबाट रक्सौल, वीरगञ्ज हुँदै भन्सार छुटाई गन्तव्यमा पुर्याउने काम गरिन्थ्यो । यसरी विसं २००४ सालमा स्थापना भएको बीमा कम्पनी वि.सं. २०१६ विसंमा नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेडमा परिवर्तन भयो र विसं २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड नामकरण गरियो ।

स्थापनाकालदेखि नै उक्त कम्पनीले निर्जीवन बीमा व्यवसाय मात्रै गर्दै आइरहेको छ । तत् पश्चात कम्पनी ऐन २०२१ अनुसार सरकारी स्वामित्वमा रहने गरी विसं २०२४ साल पौष १ गते राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भयो र विसं २०२५ साल फागुन ११ गते तत्कालीन राजा महेन्द्रबाट उद्घाटन गरिएको थियो र विसं २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन २०२५ पारित गरी यस बीमकको नाम विसं २०२५ पौष १ गते राष्ट्रिय बीमा संस्थानमा परिणत गरियो ।

त्यति बेलासम्म पनि नेपालमा जीवन बीमा कम्पनी खुलेका थिएनन् । तर भारतीय जीवन बीमा निगमले विशेष सर्तमा कार्यालय खोलेर व्यवसाय सञ्चालन गर्ने गरेको थियो । विसं २०२९ साल फागुन ७ गतेका दिनदेखि राष्ट्रिय बीमा संस्थानले जीवन बीमाको पनि सुरुवात गरेको थियो । विसं २०४४ सालमा निजी क्षेत्रको बीमा कम्पनी नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना भयो । यसले जीवन र निर्जीवन दुईवटै बीमा व्यवसाय गथ्र्याे । हाल आएर उक्त कम्पनीको नाम नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड बनाइयो । सन् २००१ सेप्टेम्बर १ तारिखका दिन लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) लिमिटेड स्थापना गरी जीवन बीमा व्यवसायको सुरुवात ग¥यो । बीमा कम्पनीहरूलाई व्यवस्थित गर्नका लागि तत्कालीन सरकारले राष्ट्रिय बीमा संस्थानको स्थापना भएदेखि नै विसं २०२५ सालमा अर्थ मन्त्रालयको एउटा इकाइको रूपमा बीमा समितिको स्थापना गरेको थियो । हाल बीमा समिति परिर्वतन भई बीमा प्राधिकरण बन्न पुगेको छ । यसै संस्थाले सम्पूर्ण बीमा कम्पनीको नियमन गर्छ ।

यसैगरी नेसनल लाइफ, एसियन लाइफ, मेटलाइफ, गुराँस, प्राइम, महालक्ष्मी, एसियनलगायत १४ वटा जीवन बीमा कम्पनी, एनएलजी, शिखर, नेकोलगायत १४ वटा निर्जीवन बीमा कम्पनी र दुईवटा पुनर्बीमा कम्पनी र चारवटा लघुबीमा सञ्चालनमा छन् ।

व्यावसायिक घरानाहरू जति–जति उद्योग र व्यवसायको स्थापना र सञ्चालनमा अग्रसर हुन लागे उनै व्यवसायीहरूले निजी क्षेत्रमा बैंक स्थापना गरेर बैकिङ प्रणालीमा पनि समावेश हुने र साथसाथै ननलाइफ इन्सुरेन्स (निर्जीवन बीमा) र लाइफ इन्सुरेन्स (जीवन बीमा)मा पनि उनै व्यापारिक घरानाहरूले स्थापना र सञ्चालन गर्न लागे । यसले गर्दा कहिलेकाहीँ यदाकदाको व्यवसायी हो ? को बैंकर हो ? को उद्योगी हो ? को इन्सुरेन्स व्यवसायी हो ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । यसले व्यवसाय गिजोलिएको, गज्याङगुजुङ पारेको छ । जेसुकै भए पनि आम नागरिको पहुँचमा बीमा पुर्याउन भने बीमा व्यवसायको विकास र विस्तारले हाल आएर उल्लेखनीय कार्य हुन पुगेको भने मान्नैपर्ने हुन्छ ।

पछिल्लो समयमा बीमा कम्पनीहरूको स्थापना र मर्जर प्रक्रियाले पनि बीमा व्यवसाय र बीमा क्षेत्रमा उल्लेखनीय विकास भएको मान्नुपर्छ । बीमा ऐन २०४९ लाई समयानुकूल परिवर्तन गर्दै बीमा ऐन २०७९ ल्याइयो । यसको नियमक निकाय बीमा समितिलाई परिवर्तन गरेर बीमा प्राधिकरण बनाइयो । नियमकको पुनःसंरचना गरी करिब करिब नेपाल राष्ट्र बैकको संरचनापछि बनाइँदै छ । यसकोे अर्थ पनि बीमामा उल्लेखनीय परिवर्तन र विकासमा फड्को मारेको मान्नुपर्छ ।

बीमा व्यवसायको विकास र विस्तार सँगसँगै व्यवसायको प्रतिस्पर्धाको विकास पनि भएको छ । तर व्यवसाय प्रतिस्पर्धामा भने गलत मनसाय र गैरकानुनी गलत प्रतिस्पर्धा, अस्वस्थ प्रतिस्पर्धा पनि देखिन, सुनिन थालेका छन् । जो समयमा नै सुधार गरेन भने बीमा व्यवसायको ठूलो दुर्घटना व्यहोर्नुपर्ने हुन सक्छ । जस्तोकि व्यापार लिनको लागि व्यापार लिने व्यापार वृद्धि भएको देखाउने तर व्यापार सँगसँगै बीमा कम्पनीलाई प्राप्त हुने बीमा शुल्क रकम कम्पनीको अन्य खर्च, मार्केटिङ्ग खर्च व्यापार प्रमोसन खर्च देखाएर गैरकानुनीरूपमा विमितलाई नै दिने अथवा विमकमा कार्यरत र विमितमा कार्यरतले मिलेर बाँडीचुँडी खाने एउटा प्रविधि देखिएको छ भने अर्को प्रवृत्ति सरकारले अनुदान प्रदान गर्ने कृषि तथा पशुपालन क्षेत्रका गाई, सुँगर भेँडा, बाख्रा, फलफूल ,फलफूलका बिरुवा आदिको मूल्य दश गुणा बढी देखाउने मूल्याङ्कन गर्ने त्यही मुताविकको बीमालेख जारी गर्ने गराउने र अनुदानको रकम हिनामिना गर्ने र बाँडीचुडी खाने र राज्यलाई आँखा छल्ने काम बढी हुन थालेको कुरा सुनिन थालेको छ । यो मैले सानो उदाहरण प्रस्तुत गरेको छु । नियमन, अध्ययन अनुसन्धान र खोज गर्नु हो भने यस्ता धेरै गैरकानुनी कार्य, गैरव्यावसायिक कार्य, भ्रष्टाचारजन्य कार्य पाउन, भेट्टाउन नसकिएला भन्न नसकिने होइन । तसर्थ जिम्मेवार पदाधिकारी, सरोकारवाला निकाय, नियमक निकायले बेलैमा ध्यान पुर्याउनु जरुरी छ यदी यस्ता यावद विषयमा ध्यान पुर्याउन, चासो र गम्भीरताका साथ हेरिएन भने सम्रग बीमा व्यवसायलाई नै यस्तो क्रियाकलापले ध्वस्त पार्न सक्छ । अन्यथा कतिपय राम्रो व्यापार गरिरहेका र स्वस्थ अवस्थामा चलिरहेको बीमा कम्पनीलाई पनि समाज, नियमक निकाय, राष्ट्रले हेर्ने दृष्टिकोण बदलिन सक्छ । जुनचाहिँ कदापी राम्रो होइन । अन्यथा कुनै समयमा बैंक तथा वित्तीय संस्था धराशायी भएका उदाहरणहरू प्रशस्तै छन् । तसर्थ यस विषयमा सबै निकायले ध्यान पु¥याउनु र गम्भीरताका साथ हेर्नु जरुरी देखिन्छ । (लेखकः कमर्सियल कानुनमा एलएलएम तहमा अध्ययनरत छन् ।)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया