Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमानवीय इच्छाको अनन्तताले निर्धनहरूको दर्शन निर्माण भयो

मानवीय इच्छाको अनन्तताले निर्धनहरूको दर्शन निर्माण भयो


काठमाडौं । मृत्यु अनिवार्य छ । तैपनि मानिसहरू घमण्ड गर्छन् । धन कमाउनु त बाँच्नका लागि पनि आवश्यक छ । तर मानिसको लालची प्रवृत्ति यति छ कि जुनसुकै अकर्मण्यता प्रयोग गरेर भए पनि सम्पत्ति जोड्न मानिस लालायित हुन्छ । मानिसको यही प्रवृत्तिको कारण वर्गीय समाजको जन्म भयो । यही अवस्थाले ल्याएको दूरावस्थाका कारण माक्र्सले छुट्टै दर्शनको आविष्कार गर्नुपर्यो । गरिबको दर्शन वा निर्धनहरूको दर्शनको नामले यो प्रसिद्ध भयो । माक्र्स एङ्गेल्सपछि लेनिन र माओ यस दर्शनलाई समयअनुसार अगाडि बढाउने दार्शनिकहरू हुन् । लेनिनले पुँजीवादको साम्राज्यवादी अवस्थाको व्याख्या विश्लेषण गर्नुभयो । माओले अविकसित देशमा नौलो जनवादको व्याख्या विश्लेषण गर्नुभयो । आजको विश्व त्योभन्दा पनि अगाडि बढिसकेको छ । पुँजीवादको रूप प्रतिस्पर्धाबाट बदलिएर मेलमिलापपूर्ण र भूमण्डलीकृत पुँजीवादमा रूपान्तरण भएको छ । यस अवस्थाले नयाँ परिस्थितिको निर्माण भएको छ ।

यसबाट नेपालको परिप्रेक्षमा हेर्ने हो भने हिजोका क्रान्तिका नेतृत्वकर्ता परम्परागत राज्यसत्तामा समाहित भइसकेको भान हुन्छ । बहुसंख्यक क्रान्तिकारी पङ्क्ति अलमलिएको अवस्था छ । यसैले बदलिँदो नयाँ विश्व परिवेशको व्याख्या विश्लेषण गर्न सक्ने मार्क्सवादी दर्शनको नयाँ व्याख्याको आवश्यकता खट्किँदो छ । यसबाट माक्र्सवाद अझ सशक्त र विकसित हुनेछ । सारा अलमल र समस्याहरूको पनि निरुपण हुनेछ भन्ने लागेको छ ।

माथिका भनाइहरूलाई राम्रोसँग विश्लेषण गर्ने हो भने वर्गहरूको उत्पत्ति मानिसको आफ्नै स्वभावका कारण भएको हो । पुँजीवादी वर्ग मानिसको धन कमाउने अनन्त इच्छाको व्यावहारिक रूप हो । पुँजीपतिमा मात्र धन कमाउने इच्छा हुने, गरिब निर्धनमा नहुने भन्ने होइन । बरु धन कमाउने प्रतिस्पर्धामा ज–जसले सबैलाई उछिने । उनीहरू धनी भए भन्ने हो । मानिस पहिले त बाँच्नका लागि संंघर्ष गर्छ । दोस्रो ऊ अब्बल जीवन जिउनका लागि पर्छ । तेस्रोमा आफूलाई चाहिनेभन्दा बढी धन थुपार्न ऊ लालायित हुन्छ । वर्गहरूको उत्पत्ति हुनु यही तेस्रो कारण जिम्मेवार छ । यो मानवीय प्रवृत्ति हो । यही कारणले तल्लो वर्ग माथिल्लो वर्गमा रूपान्तरण भएका उदाहरणहरू छन् । हिजो राजा महाराजाहरूलाई मात्र एकोहोरो दोष थोपर्दै आन्दोलनको जेहाद छोड्ने नेतृत्वकर्ता नेताहरू आज राजा महाराजजस्तै आलिशान जीवन जिउने तहमा पुगेका छन् । गाडीबाट ओर्लिँदा छुट्टै ढोका खोल्ने मानिस उनीहरूलाई आवश्यक पर्छ । चप्पल लगाएर राजनीतिमा छिरेका नेताहरूले जुत्ता मात्र फेरेनन् आलिशान बंंगालाका मालिकसम्म भए । यसैले वर्गहरूको उत्पत्तिको मुख्य कारण मानिसमा भएको अनन्त इच्छा, कहिल्यै नअघाउने भोक वा असीमित चाहनाभित्र खोज्नुपर्छ । यसपछि मात्र माक्र्सले भनेजस्तो साम्यवाद संंसारमा आउन सम्भव छ वा छैन भन्ने कुराको निक्र्यौल गर्न सकिन्छ ।

सोभियत संंघ, पूर्वी युरोप र संंसारका धेरै देशहरूमा उहिल्यै कम्युनिज्म आइसकेको हो तर त्यहाँको समाजवादी सत्ताहरू गल्र्यामगुर्लुम ढल्यो । यसो हुनुको कारण हिजो क्रान्ति गरेर सत्तामा पुगेका नेताहरू सत्ताबाट कहिल्यै तल ओर्लिन चाहेनन् । जनचाहनाको पनि उनीहरूबाट सम्बोधन भएन । सबै सम्पत्ति राज्यको नाममा भएर के भो ? सत्तामा बस्ने शासक र निरीह तलका जनता कामदारको रूपमा शासित भएपछि शासकहरू मालिकजस्ता शासितहरू नोकरजस्ता भए । जबकि माक्र्सले साम्यवादमा कुनै पनि किसिमको सत्ताकै आवश्यकता पर्दैन भन्नुभएको थियो । हाम्रो देशका शीर्ष नेताहरूको चरित्र पनि हुबहु त्यस्तै देखिन्छ, उनीहरू पनि पदबाट कहिल्यै तल ओर्लिन चाहँदैनन् । नमरुन्जेल अनन्त समय राज गर्ने उनीहरूको इच्छा छ । गिरीजाप्रसाद कोइरालाले पनि मरेपछि मात्र राजनीति छोड्नुभएको हो । आज भएका शीर्ष नेताहरू पनि उहाँकै फ्लोएरहरू त हुन् ।

हुन त मानवीय इच्छाको अनन्तता नभएको भए संंसार आजको रूपमा आउने पनि थिएन । ढुङ्गे युगका मानिसले शिकार खेल्दा प्रयोग गर्ने ढुङ्गाका र काठका झट्टीकै आधुनिक रूप बन्दुक, मेसिनगन र क्षेप्यास्त्रहरू हुन् । पैदल हिँड्दा ढिलो हुने भएकाले साइकल, मोटरसाइकल, मोटर, रेल, रोपवे, पोडवे, हवाईजहाज र रकेटसम्मको आविष्कार भयो । खेती गर्न सजिलोका लागि मिनी टिलर, टिलर, रोप्ने, गोड्ने झार्ने मेसिन आदि अनेक बने । आजको समयमा रोबोर्टको पनि आविष्कार भइसकेकाले कुनै पनि काम सजिलेसँग गर्न सक्ने अवस्था छ । रोबोर्टको आविष्कारले माक्र्सले भन्ने गरेको उत्पादक शक्ति मजदुरहरूलाई पनि कामबाट आजकल संंसारबाटै विस्थापित गरिसकेको छ । अब उहिलेजस्तो मजदुर आन्दोलन हुन सक्ने अवस्थाको अन्त्य भएको छ । अब उत्पादक शक्तिको रूपमा विज्ञान र प्रविधिअगाडि आइसकेको छ । यसैले क्रान्तिको कार्यकक्रमको रूपमा विकसित देशमा हुने मजदुर केन्द्रीत आन्दोलन हुन नसक्ने भएको छ । माओले भनेजस्तो नौलो जनवादी क्रान्तिको अवस्था समेत छैन । भूमण्डलीकृत पुँजीवादले माथिका सबै अवस्था विस्थापित गरेको छ । यसको अर्थ पुँजीवादीहरू पहिलेजस्तो प्रतिस्पर्धी छैनन् । बरु मिलेर काम गर्छन् । सिन्डिकेट, कार्टेल र निगमको रूपमा उनीहरू हातेमालो गरी अगाडि बढिरहेका छन् । बहुराष्ट्रिय निगम एउटा गतिलो उदाहरण हो । यसले सियोदेखि रकेटसम्मको उत्पादन गर्छ । संंसारभरको पुँजी एकीकृत गर्ने काममा यो अग्रपंक्तिमा छ । माओले प्राथमिकता दिएको राष्ट्रिय पुँजीपति वर्गको अस्तित्व लोप भइसक्यो । जुन नौलो जनवादी कार्यक्रमको मुख्य मित्र शक्ति हो । यसैले माक्र्सवादको नयाँ व्याख्या खट्किँदो अवस्थामा छ । पुराना व्याख्याको धरातल कमजोर भई मक्किइसकेको अवस्था छ ।

यसरी संसारको परिस्थितिमा आकाश जमिनको परिवर्तन आएको छ । यसरी परिवर्तन आउनु मानवीय इच्छा, चाहनाको अनन्तता हो । यही मानवीय चाहनाको अनन्तताका कारण संसारको विकासले आकाश चुमेको छ । विज्ञान र प्रविधिले फड्को मारेको छ । न्यूटनको युग अलिकति स्थुल युग थियो । अथवा आँखाले देख्न सक्ने कुराहरूको मात्र यसले व्याख्या विश्लेषण गथ्र्याे । अहिले आइन्सटाइनको युग सुरु भयो । यसले सूक्ष्मभन्दा सूक्ष्म कुराहरूको पनि व्याख्या विश्लेषण गर्न थाल्यो । जसबाट संसारको विकासमा नौला आयामहरू थपिँदै जान थालेको छ ।

अब भविष्यमा चामल, मासु र अन्य उपभोग्य वस्तुहरू पनि ल्याबमा बन्न सक्ने अवस्था आउनेछ । कारण वैज्ञानिकहरूलाई तत्व र यौगिकहरूको राम्रो ज्ञान छ । दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन मिलेर पानी बन्छ भने अरू चिज किन बन्दैन ? मासुमा कुन–कुन तत्वहरू हुन्छन् र चामलमा कुन–कुन तत्वहरू हुन्छन् भन्नेसम्मको ज्ञान भइसकेको छ ।

मानवीय इच्छाहरू अनन्त छन् । यस्ता इच्छाहरूले समाजमा सकारात्मक र नकारात्मक दुवै भूमिकाहरू खेल्छन् । आफूलाई चाहिनेभन्दा बढी धन थुपार्ने चाहना र इच्छाले नकारात्मक भूमिका खेल्छ । जसको कारण समाजका कुनै सदस्य भोकै पर्न सक्छ । बाच्नका लागि संघर्ष गर्ने समाजका सदस्यहरू उनीहरूकै अत्यधिक बढी चाहनाको शिकार भएका हुन् भन्न सकिन्छ । वास्तवमा श्रम सम्पत्ति र सत्ताको सन्तुलन भएमा समाजमा कुनै पनि व्यवधान आउने थिएन । यी तीन कुराको सन्तुलन भएको देखिँदैन ।

यसरी अनन्त इच्छा चाहना राख्ने भएका कारण मानिस वारपार लक्षमा पुग्ने प्रयत्न गरिरहन्छन् । कोही सफल हुन्छन् कोही सफल हुँदैनन् । जति इच्छा र चाहनाहरूको प्रवलता हुन्छ त्यति नै लक्ष्यमा पुग्ने कुराको ग्यारेन्टी हुन्छ । थोमस एल्वा एडिसनले हजार चोटी प्रयत्न गर्दा बिजुलीको बल्बको आविष्कार गरी छोडे । तपाईँ कल्पना गर्न सक्नुहुन्छ, बिजुली बल्व आविष्कार हुनुअघि संसार कस्तो थियो होला ? यसैको सम्बन्धमा एउटा रमाइलो कुरो छ । एक दिन उनको सम्मानमा एउटा कार्यक्रमको आयोजना भयो । उद्घोषकले सम्बोधन गर्दै भने, ‘अब आउँदै हुनुहुन्छ नौ सय उनान्सय पटक असफल भई हजार पटकमा सफलता चुम्ने बिजुली बल्बका आविष्कारक थोमस एल्वा एडिसन ।’ थोमस एल्वा एडिसनले निर्धक्क भ्र्य भने, ‘म असफल होइन प्रत्येक पटक म सफल नै हुँ । किनकि प्रत्येक पटक मैले नयाँ ज्ञान हासिल गरिरहेको थिएँ ।’ कुरा सही पनि हो किनकि नौ सय उनान्सय पटक उनले प्रयोग नगरेको भए सफलता चुम्ने उनको अन्तिम पटक आउने नै थिएन ।

माथिको उदाहरणबाट हामीले के बुझ्नुपर्छ भने समाजमा मानिसले गरेका जुनसुकै सानातिना जे–सुकै प्रयत्न र प्रयास भय पनि भविष्यका पिडीको सफलताको आधार हो । समाजका कोही पनि असफल भन्ने हुँदैन । वैज्ञानिक आविस्कारको मात्र कुरा होइन । जेसुकै प्रयत्न र प्रयासहरू पनि नयाँको लागि जग हो, आधार हो । लिथो मेसिन, टाइपराइटर, कम्प्युटर र एड्भान्स कम्युटर सबै सफल नै हुन् । आफ्नो समयमा सबै यस्ता साधनहरू समाजमा सहायक सिद्ध भएका थिए । बन्दुकको आविष्कार हुनुभन्दा अघि ढुङ्गाका झट्टी प्रयोग गरेर पनि मानिसले शिकार गरी खाएकै थिए । न्युटन युगका आविष्कारहरूले नै आइन्सटाइनका आविष्कारहरूका लागि ढोका खुला गरेको हो । यसैले हामीले हरेक सफलताहरूलाई सापेक्षरूपमा बुझ्नुपर्ने हुन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया