Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअब सम्झनामा मात्र ढाक्रे र ढाकर

अब सम्झनामा मात्र ढाक्रे र ढाकर


काठमाडौं । मेरो जन्म २०२१ मा भए पनि मैले २०२४ सालदेखिका सम्झनाहरू मानसपटलमा यथावत् राखिरहेको छु । मेरा कलिला नजरले घरअगाडिको घोडेटो बाटो भएर लावालस्कर ढाक्रेहरू ढाकर बोकेर दाङमा पर्ने नेपाल–भारत सीमानामा रहेको सानो बजार कोइलाबासतिर लम्किरहेका हुन्थे । उनीहरूका खुट्टामा जुत्ता चप्पल हुँदैनथ्यो, कम्मरमुनि एकसरो लगौँटी र कम्मरमाथि एकसरो गादो (घरबुनाको नसिलाइएको आङमा बेरेर लगाउने बस्त्र) को भरमा उनीहरूले दिन कटाउँथे । रोल्पाका कुनाकाप्चाका मात्र होइन रुकुमदेखि पनि त्यस्ता ढाक्रेहरू बेलाबेलामा नुन तेल खेप्नको लागि बाटोमा ताँती लागेर हिँड्थे । उनीहरू कोइलाबास जाँदा खाली जाँदैन’थे । उनीहरूले साथमा चिराइतो (स्थानीय बोलीचालीमा तीते), रिठ्ठा, झुल वा झ्याउ (रुखका बोक्राबाहिर जेलिएर बसेको धर्सा–सुकेका बोक्रा) बोजो, टिमुर, पाँचऔँले, जटामसी, दालचिनी, पदमचाल, सतुवा, वनलसुन, हर्रो र बर्रोलगायतका जडीबुटी बोकेका हुन्थे । हप्तौँसम्म पनि ननुहाएका जस्ता देखिने ती ढाक्रेहरूको भारीबाट मन्दमन्द जडीबुटीका वास्ना प्रवाह हुने हुँदा उनीहरूको जिउबाट मयल तथा पसिनाको गन्ध आउने कुरा हुँदैनथ्यो ।

मकै–भटमास सातु नै उनीहरूको खाजा हुन्थ्यो । पैदल हिँड्दाहिँड्दै साँझ परेपछि बाटोको छेउछाउमा रहेका घरहरू हेर्दै ‘बास पाइन्छ ?’ भन्दै सोध्ने ती ढाक्रेहरूले कुनै न कुनै घरमा बास पाइहाल्थे । नपाए वरपिपलको बोटमुनि रात काट्थे । भाँडावर्तन बोकेर हिँड्ने ती ढाक्रेहरूको साथमा घरकै आटो–पिठो पनि हुन्थ्यो । जरुवा पानी भएको ठाउँ वरपर नै उनीहरू खाना पकाउँथे । इल्टा (तीनवटा ढुंगा राखेर बनाइने चुल्हो) लगाएर खाना पकाउँदा खासगरी सिलेवर वा आल्मुनियमका भाँडाहरू प्रयोग गर्थे । थकाई मार्दै खाना बनाउँदै गरेका उनीहरूले पाकिसकेपछि मनभरि र पेटभरि खाना खान्थे र केही बेरको आरामपछि लाग्थे गन्तव्यतिर । ढाक्रेहरू सबैले खाम भाषा बोल्ने हुँदा हामीहरूले बुझ्दैनथ्यौँ ।

उनीहरूले प्रयोग गर्ने ढाकर (विशेषखालको डोको) को बिटमाथि जाली बुनेर गाँसेका हुन्थे । निम्ठो मात्र होइन चुल्है पारेर भारी बोक्ने चलन नै थियो । किनकि सकेजति सामान बोक्ने उद्देश्य हुन्थो ढाक्रेहरूको । ढाकरको अगाडिपट्टी अर्थात् ढाक्रेको पिठ्युतिर दुई ठाउँमा पटुवाले बुनेको खकन पनि जडान गरिएको हुन्थ्यो, जसको साहाराले कुमलाई पनि हल्का भार पर्नुका साथै टाउकोलाई पनि कम भार पथ्र्यो । बिसौनीमा ढाकर बिसाएर उनीहरू पुवा (भेँडाको भुवा) को धागो बुनिरहेका हुन्थे भने कसैले के बाटिरहेका हुन्थे, खाली बस्दैनथे । हिँड्दै जाँदा भोक लागेमा गादोबाट मकै भटमास झिकेर घुरुम घुरुम चपाउँदै भोक मेट्थे र बाटोमा पाइने जरुवा, धारो वा खोल्सामा बगेको सफा पानी पिउँथे ।

कोहीकोही ढाक्रेहरू काम्लो तथा डोको, मान्द्रो बेच्नका लागि पनि यो लेखकको गाउँ खुङ्ग्रीतिर झर्थे । बर्खे आलु पनि बेच्न ल्याउँथे । त्यतिबेला नगद कारोबार हुँदैनथ्यो । सामान दिएबापत उनीहरूले मास वा चामल लैजान्थे । नजिकका कसैकसैले काफल तथा निगुरो बेच्न ल्याउनेले पनि नगदको सट्टा मास वा चामल लैजान्थे । त्यतिबेला सुक्का मोहरको पनि ज्यादै महत्व थियो । कसैकसैको हातमा मात्र त्यस्ता पैसा हुन्थे । त्यसबखत एक रुपैयाँको नोट देख्दा पनि अचम्म लाग्थ्यो ।

कोइलाबासबाट फर्केर उत्तरतिर लम्किएका एकजना ढाक्रेले एक दिन साँझ परिसकेपछि यो लेखकको घरनिर आएर ‘ए बाजे ! मिठी छ मिठी ?’ भनेपछि आमा हत्तपत्त तल झरेर दोकान खोल्नुभयो र गुड (स्थानीय भाषामा भेली) जोख्न थाल्नुभयो । आमाले ‘कति चाहियो र ?’ भनेर सोध्दा ‘यो होइन मिठी भनेको’ भन्न थाले । बाले उनको कुरा बुझ्नुभएछ र यो दोकानमा मेथी छैन भनेर पठाउनुभएको यो लेखकलाई अझै याद छ । त्यतिबेला हाम्रो घर भएको गाउँ खुङ्ग्रीचाहिँ प्युठान जिल्लामा पथ्र्यो, पछि रोल्पामा गाभियो । हाम्रो बोली भाषा रोल्पालीकोभन्दा प्युठानीसँग बढी मिल्थ्यो । यो लेखकका पिताजीले २०३० सालमा ३० हजारमा निर्माण गर्नुभएको घरको भुइँतलामा रहेका ठूलाठूला कोठाहरूमा विशेषगरी हटारु वा ढाक्रेहरू बास बस्ने गर्दथे । उनीहरूको क्रियाकलापहरू देखेर हामी अचम्म पर्दथ्यौँ । उनीहरूमा बेइमानीपन बिल्कुल देखिँदैनथ्यो । उनीहरू इमानदारिता र धर्मपालनमा दृढ थिए । त्यतिबेला तयारी सुर्तीको प्रचलन आइसकेको थिएन न त मलुवा सुर्तीको प्रचलन थियो । झमक्क साँझ पर्नुअघि बास बस्ने ती ढाक्रेहरूले कक्कर वा खर्से (सुर्तीको धुलो) मा धाइरोको सुकेको पात मिसाएर सालको पातको सोलीमा भरेर ठोस्ने (चकमक)बाट झुलोमा आगो उत्पन्न गराई ब्वाङब्वाङ धुवाँ उडाउँथे । सुर्तीमा मिसाइने चुनाको त कसैले पनि नाम सुनेकै थिएनन् । धेरै वर्षपछि टिनको बट्टामा निकै गन्हाउनेखालको बिजुली नामको खैनी आउन थाल्यो । एकपटक त्यो बिजुली खैनी यो लेखकले चाख्दा ओँठभित्र एकपत्र खुइलिएको थियो र त्यसरी चाख्ने काम चेतियो ।

रुकुमेली र रोल्पाली ढाक्रेहरूले कोइलाबाससम्म बोकेर बिक्री गर्न लैजाने तमाम जडीबुटीहरूको विनाश त पहिलेदेखि नै हुँदै आइरहेको छ । अब भने त्यो विनाश गर्ने काम रोक्नुपर्छ र सकिन्छ भने बीउ खोज्दै, सार्दै, जोगाउँदै, हुर्काउँदै गर्नुपर्ने अवस्था छ । केही वर्षदेखि जडीबुटीको व्यावसायिक खेती पनि गरिँदैआएको भन्ने सुनिन्छ । तर बजारको अभावमा खासै उपलब्धि हासिल हुनसकेको भने पाइँदैन । नेपालमा आयुर्वेदिक उद्योगहरू र व्यवसायहरू खुल्दै पनि आएका छन् । तर ती उद्योगहरूले खास जडीबुटी मात्र प्रशोधन र बिक्री वितरण गरेका होलान् भनेर शंका गर्नुपर्ने अवस्था पनि छ । यहाँ अनुगमन र निरीक्षण गर्ने निकाय पनि सक्रिय भएको पाइँदैन । नक्कली आयुर्वेदिक औषधिले फाइदाभन्दा पनि बेफाइदा गर्न सक्ने हुनाले यसतर्फ उपभोक्ता समेत सचेत हुनुपर्ने अवस्था छ ।

त्यो समयमा टर्च लाइटको प्रचलन पनि आएको थिएन । ढाक्रेहरूले दियालो (स्थानीय भाषामा भाङ)को सहायताले यताउता गर्थे । पहाडी भेगतिर पहिले पहिले अर्थात् टुकी र लालटिनको प्रयोग हुनुभन्दा पहिले दियालो बालेर उज्यालोको काम चलाइन्थ्यो । त्यस दियालोमा खोटोको अंश रहने हुँदा झर्झराएर बल्ने र लामो यात्रासम्म पनि बलि नै रहने हुँदा रातमा कतै जाँदा दियालोको प्रयोग हुन्थ्यो । दियालोमा रहने खोटो ज्यादै प्रज्वलनशील हुन्छ । यस लेखकलाई पनि सम्झना छ, त्यो दियालो बाल्ने चलनको । पछि टुकी र लम्फा आए, त्यसपछि लालटिनको प्रयोग हुन थाल्यो भने ठूलो जमघट तथा कार्यक्रमहरूमा मैन्टोलको प्रयोग हुन थाल्यो । जसमा मट्टितेल प्रयोग हुनेगथ्र्यो । अहिले अधिकांश गाउँघरमा बिजुली बत्ती पुगिसकेको हुँदा दियालो लोप भएझैँ टुकी, लम्फा, लालटिन र मैन्टोल (पेट्रोम्याक्स) पनि लोप भएर गए ।

हाल रोल्पामा पालिकैपिच्छे धेरै स्थानहरूमा बजार विस्तार हुँदै गएका छन् । रोल्पातिर खेतबारी बाँझो हुँदैजाँदा रोल्पाका स्थानीय कृषिउपज हराउँदै अर्थात् लोप हुँदैजाने र कतिपय अनाज तरकारी र फलफूल मधेशलगायत बहिर जिल्लाबाट आउने गरेको छ । बजारबजारमा डेरी खुल्न थाले । रोल्पालीहरूले हालका दिनहरूमा पहिलेको जस्तो मकै, भटमास, लट्टे, जुनेलो भुटेर खाने चलन हट्दै गइरहेको छ । रोटी, आटो आदि खान छाडेर खानाको रूपमा आयातित अस्वस्थकर चामलको भात खान थालेका छन् । खाजाको रूपमा पाउरोटी, चाउचाउ र बिस्कुट खान थालेका छन् । जुन स्वास्थ्यका लागि स्थानीय उत्पादबाट बन्ने परिकारजति लाभदायक छैनन् ।

यो लेखक उच्चशिक्षा अध्ययनको लागि रोल्पाको खुङ्ग्रीबाट पहिलोपटक काठमाडौं आउँदा दुईदिन पैदल हिँडेर काठको डुंगाको सहायताले राप्ती नदी पार गरेको थियो । वनकस र कालाकाँटेसम्मको पैदलयात्रापछि बुटवल जाने गाडी चढेर बुटवलबाट काठमाडौंसम्मको रात्रिबस चढेको थियो । हाल रोल्पाका हरेक वडामा मोटरबाटो पुगेको छ । लिबाङसम्म नै बाटो पिच भएको धेरै वर्ष भइसक्यो । कच्चीबाटो हुँदै काठमाडौंबाट रोल्पा रात्रीबसहरू चल्दै आएका छन् । व्यापारिक केन्द्र सुलिचौर र सदरमुकाम लिबाङबाट ठाउँठाउँमा जाने स्थानीयस्तरका गाडीहरू पनि उपलब्ध छन् । रोल्पाको मामलामा मात्र होइन देशभरका दुर्गम जिल्लाहरूले विकासमा फड्को मारिसकेका छन् ।

खच्चडबाट ढुवानी सामानहरू हुन थालेपछि धेरै पहिलेदेखि नै हटारु वा ढाक्रेहरू देखिन छाडेका छन् । रोल्पामा केही वर्षदेखि मालवाहक गाडीहरू आवतजावत भइरहन्छन् । यातायातको सुविधाले रोल्पाको रौनक नै फेरिएको पाइन्छ । दुःखको कुरा यो छ कि रोजगारको सिलसिलामा भारत र खाडी मुलुकमा जाने युवाहरूको संख्या ह्वात्तै बढेको छ । थोरै कमाइ भए पनि भारत नै सुरक्षित ठानिन्छ । खाडी मुलुक त्यति सुरक्षित नमानिए पनि कमाइ बढी हुने भएकाले त्यतातिर युवाहरू बढी आकर्षित हुने गरेको पाइन्छ । वैदेशिक रोजगारको असर गाउँमा निकै परेको छ । खेतबारीहरू सबै बाँझो हुँदै गइरहेका छन् । पशुपालन पनि बिस्तारैबिस्तारै हराउँदै गइरहेको पाइन्छ । हरेक पालिकाका मुकाम र वरपर सानासाना बजारहरू पनि चलेकाले स्थानीयहरूले स्वरोजगार हुन पाएका छन् । कुनै न कुनै व्यवसाय चलेकै देखिन्छन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया