Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबढ्दो व्यापारघाटा समाधानको पाटो

बढ्दो व्यापारघाटा समाधानको पाटो


काठमाडौं । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको व्यापार घाटा छ खर्ब ९३ अर्ब पुगेको छ । नेपालले गर्ने एक ५५ मुलुकसँगको अन्तराष्ट्रिय व्यापारमा १ सय २८ देशसँग व्यापारघाटा व्यहोर्नुपरेको स्थिति छ । स्वदेशमै उत्पादन हुने वस्तुहरूमा पनि परनिर्भरता बढ्दै जाँदा व्यापारघाटा दिनप्रतिदिन बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारघाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रहेको छ । जबकि आर्थिक वर्ष २०७९/८० को मध्यावधि समीक्षामा बजेटको आकार १५ खर्ब ३० अर्ब बनाइएको छ । यस हिसाबले व्यापारघाटाले करिब–करिब बजेटको आकार लिन थालेको देखिन्छ । जुन अर्थतन्त्रका लागि राम्रो सङ्केत होइन ।

व्यापारघाटा कम गरी देशको आर्थिक सन्तुलन कायम गर्नेबारे नेतृत्व वर्गमा सोच हाबी छैन । बरु सरकारले अनावश्यक महँगा गाडी खरिददेखि अनुत्पादक वस्तु भित्र्याउने गरेको देखिन्छ । राष्ट्रपति हुन् वा सरकारी कर्मचारी, सबैलाई विलासी गाडी उपलब्ध गराउने प्रवृत्तिले पनि व्यापार घाटा बढ्दै गएको छ । त्यति मात्र होइन गाडी र तिनका पार्टपूर्जा एवम् पेट्रोलियम आयातले व्यापार घाटा झनै बढाएको छ । आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन केवल भाषणमा मात्रै सीमित हुँदा उत्पादन प्रोत्साहित हुन सकेको छैन । हामीमा भएको उपभोक्तामुखी प्रवृत्तिले पनि आयात बढाउन सहयोग गरेको देखिन्छ ।

यहाँसम्म कि कुल निर्यातबाट आर्जित वैदेशिक मुद्राले पेट्रोलियम पद्धार्थ आयात गर्नसमेत नपुग्नुले बाह्य क्षेत्र सन्तुलनमा व्यापारघाटा मुख्य चुनौति बन्दै गएको प्रष्ट हुन्छ । दिन प्रतिदिन आयात तीव्ररूपमा बढ्दै जानु तर निर्यात भने धीमा गतिमा बढ्नुले आयात–निर्यातको अन्तर फराकिलो बन्दै गएको हो । एकातिर नुनदेखि सुनसम्म आयातमै भर पर्र्नुपर्ने र अर्काेतिर आयात गर्न आवश्यक विदेशी मुद्राका लागि पनि रेमिट्यान्समै निर्भर हुनुपर्ने कारणले नेपाल परनिर्भरताको जालोमा फस्दै गएको प्रष्ट हुन्छ ।

विद्युत्, गोबरग्याँस, ब्रिकेट आदिको उत्पादनमा जोड दिई पेट्रोलियम पद्धार्थको आयातलाई प्रतिस्थापन गर्न सकिन्छ । त्यसैगरी औषधि, सिमेन्ट, धागो, टायर–ट्युब, तयारी पोषाक, लत्ता–कपडा, कच्चा ऊन आदिको उत्पादनले पनि आयातलाई प्रतिस्थापन गर्न सक्छ । कृषि तथा वन, धातुजन्य खनिजपद्धार्थ, बहुमूल्य पत्थर, जलविद्युत्, पश्मिना, कार्पेट, गार्मेन्ट आदिको उत्पादन बढाएर निर्यात बढाउन सकिने सम्भावना पनि उत्तिकै बलियो छ । त्यसैले व्यापारघाटा न्यून गर्न आयातलाई प्रतिस्थापन गर्ने वस्तुहरूको उत्पादनमा जोड दिनुका साथै निर्यात सम्भाव्य वस्तुहरूको खोजी गरी त्यस्ता वस्तुहरूको उत्पादनमा वृद्धि गर्नु जरुरी छ ।

भौगोलिक विकटता, ऊर्जा संकट, यातायातको समस्या, राजनीतिक अस्थिरता, कमजोर औद्योगिक सम्बन्ध, उद्यमशीलताको आभाव, परम्परागत उत्पादनशैली, नीतिगत समस्याजस्ता प्रतिकुलताहरूले गर्दा पछिल्ला वर्षहरूमा नेपालको वैदेशिक व्यापारको अवस्था निराशाजनक अवस्थामा छ ।

निर्यात बढाउन उत्पादन बढाउनु पर्छ भने उत्पादन बढाउन उद्योगधन्दाहरूको सङ्ख्या र आकार दुवै बढाउनु आवश्यक छ । समग्रमा अर्थतन्त्र विप्रेषणको बाटोबाट फर्किएर औद्योगीकरणतर्फ लम्बिनुपर्छ । तर, औद्योगीकरणका लागि पहिलो र अतिमहत्वपूर्ण सर्त भनेको लगानी हो । यसका लागि सस्तो र दक्ष जनशक्ति, ऊर्जा, यातायात तथा सञ्चार, कच्चापद्धार्थको उपलब्धता, उपर्युक्त ऐन कानुन एवम् राजनीतिक प्रतिबद्धताको आवश्यकता पर्छ । दुई ठूला छिमेकी राष्ट्रहरू भारत र चीनबाट वैदेशिक लगानी भित्र्यानु नेपाली अर्थतन्त्रका लागि अतिआवश्यक विषय बनेको छ । किनकि विश्वका अन्य मुलुकबाट लगानी आकर्षण गर्न पहिला त छिमेकी मुलुकहरूबाट लगानी बढाउनु जरुरी हुन्छ ।

जबसम्म वस्तुहरूको उत्पादन लागत घटाउनुका साथै उत्पादन परिमाण र गुणस्तरमा वृद्धि गर्न सकिँदैन, तबसम्म निर्यात बढाउने कुरा त परै जाओस्् स्वयम् आफ्नै देशमा विदेशी वस्तु प्रतिस्थापन गर्न सम्भव देखिँदैन । त्यसैले हामीले अब आफ्ना वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न जोड दिनुपर्छ । नेपाल सन् २००४ बाट ‘डब्लुटीओ’को सदस्य बनेसँगै यसको प्रावधानअनुसार आयातमा रोक लगाउन सकिने अवस्था छैन । त्यसैले अनुदान दिएरै भए पनि स्वदेशी उत्पादनको लागत घटाउने र आधुनिक प्रविधि भित्र्याई गुणस्तरमा वृद्धि गर्नमा जोड दिनुपर्छ । त्यसैले डब्लुटीओको सदस्य भएसँगै निर्यातका लागि खुलेको अन्तर्राष्ट्रिय बजारलाई ‘क्यास’ गर्न नेपालको ठोस कदमको आवश्यकता छ ।

अप्रशोधित वस्तुहरू कम मूल्यमा निर्यात गरेर बढ्दो व्यापारघाटा न्यून गर्न सकिँदैन । त्यसैले प्रशोधन गरेर अझ सकेसम्म अन्तिम उत्पादनको रूपमा वस्तुहरूमा मूल्य अभिवृद्धि गरी निर्यात बढाउनतिर पहल गर्नुपर्छ । हाम्रो बजार भनेको भारत र चीन नै हो । त्यसमाथि खुला सिमाना भएकाले भारत नै हाम्रो मुख्य बजार हुन सक्छ । तर नेपाली वस्तुको भारतमा निर्यात गर्न एकातिर भान्सारको समस्या त छँदैछ, अर्काेतिर गैरभन्सार अवरोधहरू पनि पहाड बनेर उभिएका छन् । विभिन्न समयमा बन्दरगाहामा विविध कारणहरूले गर्दा सामान रोकिने गरेको छ । यसले व्यवसायीमा ढुवानीको भार थोपरेको छ । अर्काे समस्याको रूपमा नेपालमा खाद्य तथा ‘क्वारेन्टाइन’ प्रयोगशाला स्तरीय नहुनु पनि हो । यसले गर्दा नेपालमा प्रमाणित वस्तु भारत प्रवेश गर्दा गुणस्तरीयताको मापदण्ड पूरा नभएको भन्दै नाकाबाटै फिर्ता हुनुपर्छ ।

विप्रेषणको टेकोले अढ्याएर मात्र लामो समयसम्म मुलुकको अर्थतन्त्र धान्न सकिँदैन । त्यसैले बढ्दो व्यापारघाट कम गर्न नेपालले अब क्रमशः जलविद्युत्, पर्यटन, कृषि र उद्योगलाई प्राथमिकतामा राख्नु जरुरी छ । जलविद्युत् निर्यातका लागि सम्झौताहरू भइरहेका छन् । यसलाई तीव्रता दिनु आवश्यक छ । अब धेरै जलविद्युत् आयोजनाहरू पूरा भई राष्ट्रिय प्रसारण लाइनमा जोडिने क्रममा छन् । त्यसैले विद्युत् खेर जान नदिन त्यसको खपतबारे पनि योजना निर्माण गरिनु उत्तिकै जरुरी छ ।

यसैगरी नेपालका लागि पर्यटन पनि वैदेशिक मुद्रा आर्जनको एक प्रमुख स्रोत हो । भारत र चीनका एक प्रतिशत मात्रै मानिसहरूलाई पर्यटकका रूपमा देशमा भित्र्याउनसक्ने हो भने पनि प्रशस्तरूपमा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । मानोरञ्जन, धार्मिक, सांस्कृतिक, अनुसन्धानजस्ता उद्देश्यले घुमफिर गर्ने पर्यटकहरूका लागि नेपाल उपर्युक्त गन्तव्यस्थल बन्न सक्छ तर त्यसको लागि प्रचारप्रसार, पूर्वाधार, हवाई सेवा, होटल आदिको गुणस्तरमा वृद्धि गरिनुपर्छ । कृषिप्रधान देश भनेर जतिसुकै रटान लगाए पनि यहाँ उत्पादित कृषिजन्य वस्तुले आन्तरिक बजार पनि धान्न सक्दैन । मुख्यरूपमा कृषिमा अनुदान, लगानीमा जोड, सिँचाइ सुविधा, रासायनिक मलको सुविधा आदिको व्यवस्था गर्नसके कृषिमा आत्मनिर्भर मात्रै होइन यसलाई वैदेशिक व्यापारको आधारको रूपमा विकास गर्ने सम्भावना उत्तिकै छ ।

आधुनिक प्रविधि भित्र्याउन, एकाधिकारको अन्त्य गर्न, वैदेशिक मुद्रा आर्जन गर्न, जीवनस्तरमा सुधार गर्न, भुक्तानी सन्तुलन कायम गर्न र फराकिलो आर्थिक वृद्धिका साथ रोजगारी विस्तार गर्दै गरिबी निवारण गर्न वैदेशिक व्यापारको आवश्यकता पर्छ । नेपालले पनि दक्षता, गुणस्तरीयता तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै वैदेशिक व्यापारबाट लाभ लिन सक्ने प्रशस्त सम्भावनाहरू छन् । खासगरी कृषिजन्य वस्तु, साना तथा घरेलु उत्पादन, जलविद्युत्, खानीजन्य उत्पादन, पश्मिना, कार्पेट, गार्मेन्ट, चिया, कफी, अलैँची आदिलाई वैदेशिक व्यापार प्रवद्र्धन गर्न जोड दिनसके वैदेशिक व्यापारबाट अर्थतन्त्रको विकास गर्न सकिन्छ । हुन त निर्यात प्रवद्र्धनका लागि उत्पादनमा जोड दिने उद्देश्यले सरकारले ‘नेपाल व्यापार एकीकृत रणनीति–२०१०’ पनि तयार नगरेको होइन । तर, त्यसको प्रभाव उत्साहजनक हुन सकेन । त्यसैगरी स्वदेशी उत्पादनलाई प्रोत्साहन र हौसला प्रदान गर्न सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका–२०६९’ पनि जारी गरेको छ । तर, विडम्बना नै भन्नुपर्छ त्यसको कार्यान्वयन पक्ष त्यति प्रभावकारी भएन ।

बढ्दो व्यापार घाटा कम गर्न कृषिमा आधुनिकीरण तथा कच्चा पद्धार्थको प्रशोधनमा जोड दिँदै औद्योगीकरणका लागि पर्याप्त पूर्वाधारहरूको विकासमा पहल गर्नु जरुरी छ । त्यसैगरीे देशगत एवं वस्तुगत व्यापार विविधीकरणमा जोड दिनु आवश्यक छ । व्यापारघाटा कम गर्न खुला सिमानालाई व्यवस्थित गर्ने, भारतसँगको सरल र सुगम पारवाहन सुविधाका लागि पहल गर्ने, निकासीयोग्य वस्तुहरूको पहिचान गर्ने र हस्तकला, मूर्तिकलालगायतका कलात्मक वस्तुहरूको संरक्षण गर्नुपर्छ । विप्रेषण आयमा गर्व गर्ने मात्रै होइन कि यसलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न वित्तीय नीति एवम् मौद्रिक नीतिबाटै सम्बोधन गरिनुपर्छ । त्यसैगरी अर्थतन्त्रको दिगो विकासका लागि क्रमशः जलविद्युत्, पर्यटन, कृषि र उद्योगलाई प्राथमिकतामा राख्नु जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया