Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालीपन हाम्रो पहिचान

नेपालीपन हाम्रो पहिचान


काठमाडौं । हाम्री बुढी बजै झ्यालबाट पर बाटातिर नियालिरहनुभएको थियो । आँखा त उहाँको कमजोरै हो । तैपनि उहाँले भन्नुुभयो, ‘त्यो परबाट आउने हाम्रो श्यामे नै हैन ? हिँडाइ त श्यामेकै जस्तो छ । पक्कै श्यामे नै हो ।’ हो, मानिसको चालढाल अग्लो होचो तथा हिँडाइले मानिस को हो ? ठम्याउन सकिन्छ । आँखा धमिलो देख्ने बुढी बज्यैले पनि ठम्याउनुभयो । आफ्नोपन भनेको पनि यही हो । चालढाल व्यवहार काम गर्ने शैलीमा प्रत्येक मानिसको आफ्नोपन झल्किन्छ ।

हामी चाइनिज जस्तो, अमेरिकन जस्तो वा युरोपियन जस्तो कस्तो हुने हो त ? विदेशीको हामी खुबै नक्कल गर्छौं नि ! जन्म दिनमा ‘ह्यापी बर्थ डे टु यू’ भन्दै केक काट्ने गर्छौं । बलेको बत्ती पनि निभाउँछौँ । यो त विदेशी परम्परा भयो । यसको सट्टा दियोमा बत्ती बालेर छेउमा फलफूल राखेर, छेउमा एक कतारा दही राखेर टीका र फूल लगाइदिएर आफन्तहरूलाई नेपाली स्वादका परिकार खुवाएर पनि जन्मदिन मनाउन सक्छौं नि ! यसरी जन्मदिन मनाउँदा हाम्रो के बिग्रिन्छ ? नेपालीपनको जगेर्ना त यसरी हुने होला नि त ! पूरै नेपालको नक्साअनुसारको केक बनाएर त्यसलाई टुक्राटुक्रा बनाएर सबैले बाँडी खाने तरिकाबाट जन्मदिन बनाउन थालिएको पनि छ । वास्तु विज्ञहरूका अनुसार मानिसका नाम लेखी बनाइएको केकलाई टुक्राटुक्रा बनाएर जन्मदिन मनाउनुलाई अशुभ मानिन्छ । त्यस्तै ‘ह्यापी एनीभर्सरी’ मनाउँदा मुटु आकारको केक बनाउने चलन छ । यस्तो केक काटी टुक्राटुक्रा बनाउँदा यसले झन् अशुभ संकेत गर्छ । यो मुटुको टुक्राटुक्रा पारेर सबैलाई बाँडेसरह हुन्छ । वर्षैपिच्छे यसरी ‘एनिभरसरी’ मनाउँदै जाँदा आपसी बेमेल सिर्जना हुन्छ । पश्चिममा समाजमा विवाहमा बाँधिएका जोडीहरू असंख्यरूपमा डिभोर्स हुनुको कारण पनि यही हो भन्ने भनाइ छ । यो वास्तुविज्ञहरूले प्रमाणित गरेको कुरा भयो । वास्तु विज्ञान पनि विज्ञान नै हो । यो हाम्रो पूर्वीय चिन्तन धारा पनि हो ।

आर्थिकरूपमा गरिब भए पनि सांस्कृतिकरूपले ज्यादै धनी छौं हामी । यसैले त वर्षेनि लाखौं पर्यटक नेपाल भित्रिन्छन् । उनीहरू यहाँको खोलानाला र हिमाल मात्र हेर्न आएका होइनन् । हाम्रो भेषभूषा र संस्कृति पनि हेर्न आएका हुन् । नेपालमा एक सय ४० भन्दा बढी जातजातिहरू बसोवास गर्छन् । उनीहरूको छुट्टाछुट्टै भेष, भाषा, संस्कार र संस्कृति पनि छ । विभिन्न किसिमका पर्वहरू छन् । दशैं, तिहार, छठ, पूर्वमा राई लिम्बूहरूमा उभौली र उधौली पर्व, शेर्पा, तामाङ, गुरूङहरूका ल्होसार पर्व, नेपाली दशैं तिहार पर्वहरू मुख्य छन् ।

पश्चिमको देउडा गीत र नाच, तराईको थारू नाच आदि छन् । हाम्रा मादले र मारुनी नाचले कति रोचक र रमाइलो बनाउँथ्यो हाम्रो गाउँघरलाई । यही हो नि त नेपालीको पहिचान । खैजेडी भजन र लोकदोहोरी गीत लोप हुनै लागेको अवस्थामा इन्द्रेणीका कृष्ण कँडेलले लोकदोहोरी गीतको प्रचारप्रसार र जगेर्ना गर्ने काममा केही वर्षदेखि स्थायित्व दिन थाल्नुभएको छ । कृष्ण कँडेललाई सलाम छ । नेपाली संस्कृतिलाई जोगाउने भनेको यसरी नै हो । मै हुँ डिस्को डान्सर भन्दै डिस्को हानेर त नेपाली संस्कृतिको जगर्ना के होला र ? यसलाई स्वाभिमानी नेपालीले त मन पराउँदैन नै नेपाल हेर्न आएका विदेशीलार्ई पनि यसको त्यति चासो हुँदैन । यसैले नेपालीले नेपालीपनको जगेर्ना गर्नुपर्छ । यो विदेशीले गरिदिँदैन । कुनै विदेशीले नेपाली गीत गाएको र नाचेको पनि देख्नुभएको होला । यो उनीहरूलाई नेपालीपन मन परेर हो नि त । विदेशीलाई नेपाली संस्कृति मनपर्ने नेपालीलाई चाहिँ मन नपर्ने काहीँ हुन्छ र ?

काठमाडौं उपत्यकाभित्रको नेवारी नाच, काष्ठकला, मूर्तिकला र वास्तुकला विश्वमा पहिचान दिन सफल सांस्कृतिक सम्पदाहरू हुन् । कति राम्रा झ्याल र ढोकाका बुट्टाहरू र कति शिल्पी ती हातहरू पनि । हनुमानढोका दरबार, भक्तपुरको पचपन्न झ्याले दरबार र काठमाडौंको मयुर झ्याल निकै नै प्रख्यात काष्ठकलाका नमुनाहरू हुन् । विभिन्न मन्दिरहरूका काष्ठ बुट्टे कलाहरू पनि यहाँका सांस्कृतिक संम्पदाहरू हुन् । यसैगरी नेवारी समाजमा प्रचलित गुठी परम्परा नेपाली नेवारी संस्कृतिको अर्को पाटो हो । यसले नेवारी संस्कृति र नेपालीपनको जगेर्ना गरेको छ । यही गुठी परम्परा मास्न अलिक पहिले नेपाल सरकार स्वयंले निकै कसरत गरेको पनि देखियो । यो जानेर वा नजानेर पनि हुन सक्छ । यो नेपालीको दुर्भाग्य हो । जन्मेपछि बच्चाको न्वारन गरिदिने । अलिक ठूलो भएपछि जातअनुसार व्रतबन्ध छेवर वा यस्तै कर्म गर्ने । जवान भएपछि आ–आफ्नो परम्पराअनुसारको ढाँचामा रीतपूर्वक विवाह गरिदिने हाम्रो परम्परा छ । यो नै नेपालीहरूको पहिचान हो । यस्तै, परम्परामा हाम्रा पिता पुर्खाहरू रमाए र वंशीय परम्परा धान्दै आए । हाम्रा यी नेपाली पहिचान र परम्परालाई समय परिस्थितिअनुसार आधुनिक ढाँचामा पनि हामी आफैले यसलाई आवश्यकताअनुसार ढाल्न सक्छौं ।

यसरी हाम्रो आफ्नो परम्परा आफ्नो पहिचान र आफ्नो पनमा रमाउँदा रमाउँदै हामीलाई राजाको शासन र यसले लिएको निरंकुश पारा मन परेन । आन्दोलनको बलमा राजा फालियो । संविधानमा नेताहरूले धर्मनिरपेक्ष राज्य भन्ने शब्द राखे । हामीले यसलाई सहर्ष स्वीकार्यौं । किनकि राज्य कुनै धर्मको नाममा मात्र सापेक्ष हुँदा राज्यमा भएका अन्य धर्म र जातजातिमा भेदभाव भएको सन्देश जान्छ भन्नेरूपमा हामीले यसलाई लियौँ । हेर्दा कुरा न्यायसंगत नै देखिन्छ । तैपनि अब नेपालमा चल्दै र हुँदै आएका सनातनी अरू हिन्दुबाहेकका धर्म र जातजातिले पनि समान स्थान पाउनेछन् भन्ने हाम्रो जुन आशा थियो त्यसमा तुषारापात भएको छ ।

हुन त धर्म आफैँमा विशुद्ध धर्मको रूपमा मात्र भएमा आपत्ति केही थिएन । धर्मको बारेमा कुरा उठाउँदा क्रिस्चियन धर्ममा आस्था राख्ने स्वाभिमानी नेपालीको धार्मिक भावनामा चोट नपुगोस् भन्ने कुराको पनि म कामना गर्दछु । तर धर्मसँगै हस्तक्षेपकारी साम्राज्यवादी सोच पनि आएकाले मात्र हाम्रो आपत्ति हो । पृथ्वीनारायण शाहले आफ्नो समयमा यस तथ्यलाई राम्ररी बुझेका रहेछन् । अहिले विदेशी क्रिस्चियन धर्मद्वारा दिन दुई गुना रात चौगुनाका दरले नेपालको सनातनी धर्मका विरुद्ध आक्रमण भइरहेको छ । यसो हुनुको कारण राज्यका हर्ताकर्ताहरूले नै अपनत्वलाई परित्याग गरी विदेशी धर्मलाई टेवा दिए । एकातिर संविधानले नेपाल धर्म निरपेक्ष राज्यको रूपमा परिभाषा दिनु । अर्कातिर नेताहरू स्वयं होली वाइन संस्कृतिमा रमाउने देखिएकाले यो कुनै संयोग मात्र भन्न सक्ने अवस्था छैन । यसैले विदेशी इसारामा नै संविधान लेखियो र विदशीले नै योजनाबद्धरूपमा क्रिस्चियन धर्म लाद्ने काम गर्यो भन्न किन हिचकिचाउने ? नेपालीहरूको धार्मिक भावनामा मात्र उनीहरूले ठेस पुर्याएको होइन कि नेपालीहरूको आफ्नोपन संस्कार र संस्कृतिमा समेत उनीहरूले धावा बोलेका छन् । हुँदै जाँदा हाम्रा गाउँघरमा रहेका गुम्बा, मन्दिर आदिमा ताला लाग्ने अवस्थाको सिर्जना भइरहेको छ । यो कुरा प्रत्येक नेपालीले बुझ्नु जरुरी भएको छ । धार्मिक आस्था नभएका कतिपयले पनि अब आएर नेपालीपन जोगाउनैका लागि भए पनि यसलाई मनन् गर्नु आवश्यक भइसकेको छ । किनकि यस्ता गतिविधि धर्म र संस्कृतिमा आक्रमण गर्दै नेपालीलाई पराधीन बनाउने विदेशीहरूको यो मेलोमेसो हो । महेन्द्र संस्कृत विश्वविद्यालयमा द्वन्द्वकालमा आगो लगाइएको छ । यसमा रहेका अति पुराना संस्कृतिका अमूल्य पुस्तकहरू समेत नष्ट भएको छ । यस खालका गतिविधिलाई योजनाबद्ध होइन भन्न सक्ने अवस्था पनि देखिँदैन ।

अमेरिकासँग भएको एमसीसी सम्झौता र एसपीपी प्रकरणका कारण हामीलाई युक्रेनको बाटोमा हिँडाउने मनसाय बुझियो । मदन भण्डारी र राजा वीरेन्द्रको हत्या पनि यिनै कारणले भएका हुन् भनी पुष्टि हुँदै गइरहेको छ । जुन खालका गतिविधिहरू नेपालमा भइरहेको छ, त्यो सबै योजनाबद्ध भइरहेको छ । यी सबै गतिविधि पश्चिममा राष्ट्र विशेष गरेर अमेरिकी स्वार्थमा भइरहेको कुरा सर्वविदितै छ । यसले हामीलाई पराधीन बनाउने कुरा पक्का छ । अफ्रिकी देशहरूमा जस्तै हाम्रो देशमा रहेका बहुमूल्य खनिजजन्य वस्तुमा अमेरिकी गिद्दे नजर परिसकेको कुरा नेपालीहरूलाई बोध भएको छ । यसैगरी चीनलाई घेर्ने उसको रणनीतिअनुुसार नेपालाई अस्थिर वातावरणको शिकार बनाउने र युद्ध थोपर्ने उसको साम्राज्यवादी चाल हामीले बुझ्न ढिला भइसकेको छ । यसैले नेपाली भाषा संस्कृति, सनातनी संस्कार र आफ्नोपनको सधैं रक्षा गरौं । यसमै नेपालीपनको स्वाद लिन सकिन्छ । नेपाल रहे मात्र हामी नेपाली रहन्छौं । सगरमाथाको देश भनेर हामी गर्भ गर्न सकिरहनेछौं । जय देश ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया