Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअत्यासलाग्दो आगलागीको कारण र निराकरण

अत्यासलाग्दो आगलागीको कारण र निराकरण


काठमाडौं । सुख्खा एवं गर्मी मौेसमको सुरुवातीसँगै आगलागीका घटनाहरू दिन प्रतिदिन अत्यासलाग्दो गरी बढ्दै छ । आगलागीका कारणबाट ठूलो धनजनको क्षति हुने क्रम बढ्दो छ । यसबाट मानवीय क्षतिको अतिरिक्त जङ्गल, जमिन, जङ्गली जनावर र जल समेतको सन्तुलनमा व्यापक हानि पुग्न गएको छ । घर तथा वनजङ्गलमा हुने आगलागीका विभिन्न कारण हुन सक्छन् । तर अधिकांश मानवीय असावधानीकै कारण हो । मानवीय कारणबाट करिब ९६ प्रतिशत र बाँकी प्राकृतिकलगायतका अन्य कारण हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यस वर्ष आगलागीको प्रकोप जङ्गलमा लागेको डँढेलोले गर्दा भएको देखिन्छ । आगलागीबाट हुने यस्तो क्षतिलाई नियन्त्रण के गर्नुपर्ला ? चिन्ता र चिन्तनको विषय बन्नुपर्छ । आगलागीबाट बच्ने उपायहरूको बारेमा जनचेतनामूलक कार्यक्रमहरूको प्रभावकारिताको बारेमा लेखाजोखा गरिनुपर्छ । आगलागीको कारण र निराकरणका बारेमा अध्ययन अनुसन्धान गरेर पूर्वसावधानीका उपायहरू खोजिनु दूरदर्शिता ठहर्छ ।

एउटा रुखबाट हजारौं काँटी सलाई बन्छ । तर दुरुपयोग हुँदा एउटा काँटीले हजारौं हेक्टर जङ्गल सखाप पार्न सक्छ । नेपालको धन हरियो वन भन्ने नारा कागजमै सीमित हुनेगरी वन विनाश तीव्र गतिले भइराखेको जगजाहेर नै छ । मुलुकको करिब ४५ प्रतिशत भू–भाग ओगटेको वन जङ्गलमा अहिले जताततै डँढेलो लागेको छ । अन्तरीक्षबाट खिचेको तस्वीरमा पनि डँढेलो स्पष्टरूपमा देखिएको देशीविदेशी सञ्चार माध्यमबाट प्रचारप्रसार भइराखेका छन् । वनजङ्गलको डँढेलो गाउँबस्तीमा पसेर अर्बौंको भौतिक संरचनाहरू नष्ट हुने क्रम बढेको छ ।

आगलागीबाट वातावरणीय प्रदूषणमा पनि व्यापक असर पारेको छ । वायुमण्डलमा धुवाँधुलो र तुवाँलोका कारण विभिन्न खाले श्वासप्रश्वाससम्बन्धी रोगहरू फैलिने क्रमले तीव्रता पाएको छ । काठमाडौं पोखरालगायतका सहरी इलाका मात्र नभएर समग्र देशभरि नै प्रदूषित हावा फैलिएको छ । अन्तर्राष्ट्रिय वायु गुणस्तर सूचाङ्क (एक्युआई) अनुसार शून्यदेखि ५० सम्मलाई स्वस्थकर, ५१ देखि सयसम्मलाई अस्वस्थकर र एक सय ५० देखि दुई सयसम्मलाई अति अस्वस्थकर मानिएको छ । गत हप्ता पोखराको एक्युआई दुई सय आठ र काठमाडौंको एक सय ८४ पुगेको थियो । पोखरामा करिब एक हप्ता हवाईजहाज नै उड्न सकेन । डँढेलोको कारणबाट निक्लेको धुवाँ धुलोको कारण हिमाली भेगमा समेत असर पारेको छ । हिमालमा अत्याधिक हिउँ पग्लेर काला ढुंगाहरू देखिन थालेका छन् । जङ्गली जनावर तथा पशुपन्छीलगायताका जीवजन्तुहरूको बासस्थान नाश हुन पुगेको छ । कतिपय जनावरहरू डँढेलोका चपेटा परेर मरेका छन् । कतिपय सुरक्षा खोज्दै गाउँबस्तीमा पसेर मानिसलाई नै आक्रमण गरेका छन् । डँढेलो नियन्त्रण गर्न पुगेका मानिसहरूको मृत्यु समेत भएका छन् । तराईमा गाउँबस्ती नै सखाप भएका छन् । पीडितहरूको जीवन कष्टकर हुन पुगेको छ । पीडितहरू तत्कालका लागि गाँस, बास र कपासका लागि सरकार र सहयोगी संस्थाहरूसँग याचना गरिराखेका छन् । डँढेलोबाट वर्षेनि हुने यस्तो प्रकोपका कारणहरूका बारेमा समयमा नै बहस र रोकथामका उपाय खोजिनु जरुरी छ ।

वनजंंजलमा डँढेलो लाग्नुका विभिन्न कारण हुन सक्छन् । वन पैदावरको चोरी निकासी तथा नयाँ घाँस पलाउने लोभ र भ्रमका कारणबाट पनि कतिपय मानिसले डँढेलो लगाउने गरेका छन् । केटाकेटीले अञ्जानवश रमाइलोका लागि पनि आगो लगाउने गरेका भनाइ पनि छ । त्यस्तै, चुरोट बिँडी खाएर राम्रोसँग न निभाइकन जथाभावी फालेको कारणबाट पनि डँढेलो लाग्ने गरेको छ । त्यस्तै, मानव बस्तीमा बिजुलीको तारमा सटसर्किट भएर, ग्यास लिक भएर, अँगेनामा आगो बालिसकेपछि राम्रोसँग ननिभाउँदा पनि आगलागीका भयंकर घटनाहरू हुने गरेका छन् ।

आगलागीलाई नियन्त्रण गर्ने विभिन्न उपायहरू हुन सक्छन् । वनजङ्गलमा वन हेरालुको व्यवस्था गर्ने । यस्तो हेरालुको व्यवस्था वर्षभरि नै नसके पनि सुख्खा मौसमको समयलाई भए पनि राख्नु उपयुक्त हुन्छ । डँढेलोलगायतका अन्य कारणबाट वन विनाशले हुने हानि नोक्सानीका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु दूरदर्शिता ठहर्छ । डँढेलोको नियन्त्रणका लागि अग्नि रेखा (खोल्सा) खन्ने, डँढेलो नियन्त्रणका लागि दमकललगायत अग्नि नियन्त्रणका सामग्रीको पर्याप्त व्यवस्था गर्ने, आगलागीको उच्च जोखिम हुने समयमा सरकार र सरोकार पक्षबाट आपतकालीन दक्ष उद्धार टोलीहरूको व्यवस्था आदिले गाउँबस्तीको आगलागी तथा वनजङ्गलमा डँढेलोबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।

आगलागी भएपछि कुवा इनार खन्ने हाम्रो परम्पराले पनि क्षतिको मात्रा बढेको सहजै अनुमान गर्न सकिन्छ । आगलागीको नियन्त्रण र नियमन गर्न तीन तहका सरकार बीचमा सहकार्य र सहयोग हुनु आवश्यक छ । जिम्मेवारी पन्छाउने प्रवृतिले पनि आगलागीको क्षति बढेको हो । आगलागी पीडितहरूको लागि पर्याप्त राहत नपुगेको गुनासोलाई संबोधन गर्न राज्यले तदारुकता देखाउन पछि पर्नुहुन्न । विद्यमान नीतिनियममा आवश्यकताअनुसार परिमार्जन गरेर व्यावहारिक बनाउन बिलम्ब गरिनुहुन्न । वनजङ्गलमा आगो लगाउने र आगलागी हुने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ । तर सरोकार निकायको उदासीनताका कारण खासै कारबाही गरेको पाइएको छैन । यसरी कानुनी कारबाही फितलो हुनाले दोषीहरूको मनोबल र हेलचक्रयाईं झन् बढेको छ । आगलागीबाट हुने क्षतिका आम्भीर्यता बुझ्ने बुझाउनेतर्फ प्रभावकारिता नहुनाले वर्षौं लागेर हुर्केका बोटबिरुवा क्षणभर मै सखाप हुने गरेको छ । आगलागीबाट हुने क्षतिलाई बेलैमा सुरक्षा र सावधानी अपनाउन सरकार र सरोकार एवं सम्पूर्ण सचेत नागरिकको कर्तव्य हो ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x