Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसूत्र राजनीति

सूत्र राजनीति


काठमाडौं । आजकल देखिएको विविध खाले राजनीतिमध्ये सूत्र राजनीति पनि एक हो । यो पनि कतैकतै देखिन थालेको छ । सूत्र राजनीति भनेको कुनै सूत्र प्रयोग गरी गरिने राजनीति भन्ने बुझिन्छ । सूत्र भन्नाले कतिपयले बीज गणितका सूत्र वा यस्तै अरू सूत्र हो भन्ने पनि बुझ्न सक्नु हुन्छ । बीज गणितमा एउटा सूत्र प्रयोग गरी धेरैभन्दा धेरै समस्याहरूको हल गरिन्छ । राजनीतिमा पनि एउटा सूत्र प्रयोग गरी धेरै मानिसहरूलाई प्रभाव पार्न सकिन्छ भन्ने मान्यता राखिन्छ । जस्तो कि कुनै एक साथी, शुभेक्षुक, कार्यकर्ता वा अरू कसैले एकपटक आफूलाई फोन गरे भने आफूले चार पटक उनलाई फोन गर्ने । आफूलाई निकट व्यवहार गरे भने त्योभन्दा निकट व्यवहार आफूले पनि गरी सम्बन्धित व्यक्तिलाई प्रभाव पार्ने । यो एउटा सजिलो सूत्र वा राजनीति गर्ने कला पनि हो ।

धेरैभन्दा धेरै कार्यकर्तासँग व्यवहार गर्नुपर्ने नेतालाई व्यवहारमा आइपरेको कठिनाइ सजिलोसँग सामाधान गर्ने सूत्र हो यो । कसैकसैलाई जान्ने भएर कहाँ राजनीतिमा पनि सूत्रको कुरा गरेको हो भन्ने पनि लाग्न सक्छ । म पनि राजनीतिमा भुक्तभोगी दुःख हण्डर ज्यादा खाएको मानिसहरूमध्ये नै पर्छु । जीवनको उत्तरार्धमा पुग्दा कसैकसैले यस्तो सूत्र राजनीति गरेको पनि अनुमान लगाएँ । सूत्र राजनीति गर्नेहरूले जति निकट भएर व्यवहार गरिन्छ । साँच्चैको व्यवहारमा कसैलाई आवश्यक सहयोग पुर्याउनुपर्दा आम कार्यकर्तालाई गर्न सकिने सामान्य सहयोग मात्र गर्न सके पनि त्यो अति उत्तम हुन्छ । अघिपछि जो कुराकानीमा निकटजस्तो देखिन्छ, साँच्चै आपतविपत पर्दा केही पनि सहयोग गर्न सकिएन भने त्योभन्दा नमज्जा र खल्लो अरू केही हुँदैन । हामीले देखेका छौं । कम्युनिस्ट पार्टीहरूसँग जनमत ठूलो छ । जनताको अपेक्षा पनि यिनै पार्टीहरूसँग बढी छ । हिजो जनतासँग निकट भएर काम गरेका पार्टीहरू पनि कम्युनिस्ट पार्टीहरू नै हुन् । आजभोलि आशा गरेजस्तो अपेक्षा पूरा गर्न नसकेकाले सबैभन्दा असन्तुष्ट जनमत भएको पनि कम्युनिस्ट पार्टीहरूसँगै हो । अपेक्षा पूरा नभएपछि सूत्र राजनीति त्यो बेला त्यही नाङ्गेझार बन्छ । यदि मनमा स्वच्छता पनि छ, सेवा भावले राजनीतिमा लागेको छ र कसैको समस्या आफ्नै समस्याजस्तो महसुस हुन्छ भने सूत्र राजनीतिले पनि व्यवहारमा व्यक्तिलाई लोकप्रिय बनाउन मद्धत गर्छ । यसको मतलब यो पनि हो कि सवैलाई समस्या र आपतविपत एकैपटक पर्ने होइन । यसैले स्वार्थी व्यक्तिले पनि व्यवहारमा पहिचान नहोउन्जेल सूत्र राजनीति गरेर राजनीतिमा फाइदा लिइरहेका हुन सक्छन् । प्रायः धेरै मानिसहरूसँग सम्पर्क सम्बन्धको निकटता रहने हुनाले पनि यस्तो कर्तालाई लोकप्रिय बनाउन ज्यादै ठूलो भूमिका सूत्र राजनीतिले खेल्छ । निकटजस्तो व्यवहार पाउनेले अरूलाई पनि यस्तो नेताको गुणगान गाएर सुनाउने भएकाले सूत्र राजनीतिकर्ता लोकप्रिय बन्दै गएको देखिन्छन् ।

जिन्दगीका दुःख र हन्डरले निकै कुरा सिकाएको छ । क–कसले कस्ता–कस्ता राजनीति र वास्तविक व्यवहार गर्ने रहेछन् त्यो पनि मैले नजिकबाट निहालेको छु । आफू लागेको सिद्धान्त विचार र विश्व दृष्टिकोणअनुसार वास्तविक व्यवहारमा फरक राजनीति आफ्नै मानिसहरूले गर्न थालेपछि मलाई यसले झस्कायो । यसैले यस्ता सिद्धान्तको अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरमा पनि यसको ऐतिहासिक पाटो, वर्तमान पाटो र फेरिएको समयअनुसार व्यवहारमा मेल नखाने सिद्धान्तका पाटोको खोजी नीतिमा म निकै धेरै समयदेखि लागिरहेको छु । यसको लागि मैले कतिपय विज्ञ मानिसहरूसँग भेटघाट पनि गरेको छु । निकटको सम्बन्ध बनाउन पनि लागिरहेको छु । यसको कारण मलाई कसैसँग पूर्वाग्रह साध्नु छैन । मात्र जीवनमा मैले पाएको हन्डरको कारण पत्ता लगाउनु र आफैँ सन्तुष्ट हुनु हो । आफूले पाएको ज्ञान अरूलाई बाँड्नु पनि एउटा उद्देश्य हो । यसैले मलाई लागेका कुरा म लेखेर र भनेर पनि सधैं सार्वजनिक गरिरहने भएकाले कतिपय मित्रहरू र उपल्ला मानिसहरूलाई झस्काइदिएको छ । यसले गर्दा आफ्नै मानिसहरूको पनि फरक व्यवहार झेल्न पर्ने बाध्यता स्वाभाविकरूपमा हुन आउने रहेछ । तर अहिले भने धेरैले वास्तविक कुरा बुझिसक्नुभएको छ ।

शक्ति सन्तुलनको सिद्धान्तले विभिन्न शक्ति समूहहरूलाई सन्तुलनमा राख्छ । यो अन्तर्राष्ट्रिय र राष्ट्रियरूपमा पनि लागू हुने सिद्धान्त हो । जस्तो कि अमेरिकन ध्रुवमा युरोपियन युनियनलाई मिलाएर एउटा ठूलो शक्ति बन्छ । यस्तै, चीन रुस उत्तर कोरिया र अरू पनि केही देशहरू मिलाएर त्यो ठूलो शक्तिसँग सन्तुलन मिलाउने कोसिसमा चिनियाँ र रुसी शक्ति पनि देखिन्छन ।

ठूलो शक्तिसँग सन्तुलन मिलाउन स–साना शक्तिहरूलाई आफूतिर मिलाउनु शक्ति सन्तुलनको सिद्धान्त हो । जस्तो कि हाम्रो देशमा ३२ सिट मात्र हुने पार्टीले ठूलाठूला दुई पार्टी कांग्रेस र एमालेलाई पालैसँग मिलाई सरकार चलाउन सक्नु शक्ति सन्तुलनको एउटा नमुना हो । यसमा कर्ताको खुबी पनि झल्किन्छ ।

विकासोन्मुख मुलुकमा जातीय र धार्मिक कुरा गरेर पनि त्यहाँका जनतालाई एक आपसमा लडाउन र भिडाउन सकिन्छ भन्ने पश्चिमाहरूको विखण्डनकारी राजनीतिक सूत्र हो । आफ्नो जातीयतामा सबै मानिस गर्भ गर्छन् । पहिलो कुरो मानिसले आफैँलाई माया गर्छ । तपाईं मुहार पुस्तकमा पहिलो पटक कसैको अनुहार हेर्न चाहनुभयो भने आफ्नै फोटो हेर्न चाहनुहुन्छ । दोस्रोमा आफ्नो बालबच्चाको फोटोमा विशेष चासो राख्नुहुन्छ । यसपछि मात्र अरूको फोटोमा ध्यान जान्छ । हरेक मानिसमा आफ्नो महत्वानुभूति हुन्छ । जातीयता पनि यस्तै मामिला हो । जुन जगाएर अरू जातले गर्दा तपाईंपछि परेको हो भनि दिएपछि त्यो जातसँग तपाईंको बैरभाव हुने नै भयो ।

हिटलरले विश्वमा यहुदी मास्न आफ्नो समयमा उधुम मच्चाए । दशौं लाख यहुदीहरूलाई ग्यास च्याम्बरमा हालेर जलाए । जसमा नवजात शिशु र बालबालिकाहरू पनि थिए । तर अहिले पनि संसारमा वैज्ञानिक, दार्शनिकदेखि जीवनका हरेक मामलामा यहुदी जाति अगाडि नै छन् । मार्क्स स्वयं पनि यहुदी नै हुन् । हिटलरले यहुदीलाई संसारबाट समाप्त पार्न कोसिस गरेका थिए । उनको केही सीप लागेन । नेपालमा बाहुनको विरोध गर्ने मामला पनि त्यस्तै हो । जाँड रक्सी सेवन गर्न नहुुने, बिहान–बिहान स्नान गर्नुपर्ने, फलफूल र दूधको सेवन गर्नुपर्ने आदि पौस्टिक र दिमागलाई पोषण दिने खानामा परापूर्वकालदेखि नै जोड दिनाले बाहुन दिमागमा तगडा भए । हाम्रो खानपान नै हाम्रो शरीर पनि हो । खानाकै कारण हाम्रो हाड छाला र रगत बनेका हुन । दिमाग पनि यसैकारण बनेको हो । पौष्टिक खानाले दिमागलाई बढि सोच्न सक्ने बनाउँछ । मादक पदार्थले लठ्याउँछ र कमजोर बनाउँछ । यसमा सिधारूपमा विज्ञान जोडिएको छ । हजारौं वर्षदेखि खानपानको यो शृङ्गखला जोडिएकाले आनुबांशिकरूपमै यो सम्बन्धित जातिको जिनमा विकास हुँदै आयो । यसबाट उनीहरू अरूभन्दा फरक भए । यो वैज्ञानिक तथ्य हो । यस कुरामा मानिसको ध्यान पुगेको छैन । बाहुनको विरोध गरेर आत्मरति मनाएको छ । यो त ठीक भएन नि । यसैले शासकीयरूपमा बाहुनवादको विरोध गर्नुस् तर बाहुनको हैन । किनकि कतिपय अरूलाई हेप्ने खालको कुरा बाहुनहरूको संस्कारमा होला । तर बाहुनहरू निरीह र गरिब पनि प्रशस्त छन् । यसैले गरिबी उन्मूलन गर्ने कुरा सोचौं । बाहुन उन्मूलन हैन । कुनै जातिको अस्तित्व सकाउने उद्देश्य राखेर हिँड्नु भनेको द्वन्द्व निम्त्याउनु हो । यस्तो द्वन्द्वले समाज र देशको हित गर्दैन । इराकजस्तो विकसित भइसकेको देशमा सिया र शून्य जातिमा पश्चिमाहरूले छरिदिएको द्वन्द्वको बीउले इराकलाई छियाछिया बनाएको हामीले देखेका छौं । अफ्रिकाको गरिब मुलुकहरूमा घरमा खाने अन्नको गेडो नभए पनि मरन्च्यासे हातमा बन्दुक देख्न सकिन्छ । यो थमाइदिने पश्चिमाहरू नै हुन । विकासोन्मुख देशहरूलाई अझ कमजोर पारी आफू आश्रित बनाउने उनीहरूको रणनीति हो । यसैले राजनीतिका विविध आयामहरू हुन्छन् । यो राजनीतिमा शक्ति राष्ट्रहरूको नकारात्मक पहलहरू हुन् ।

यसैगरी सूत्र राजनीति गर्नेले पनि सूत्रको प्रयोग गरी धेरैभन्दा धेरै जनसमूहमा आफूलार्ई लोकप्रिय बनाउन भूमिका खेलिरहेका हुन्छन् । यसको सकारात्मक र नकारात्मक दुवै रूप हुन सक्छ । प्रयोगकर्ताले यस्तो राजनीति कुन सोचाइबाट सुरु गरे मलाई थाहा छैन । म पनि राजनीति शास्त्रको एउटा विद्यार्थी भएको नाताले र राजनीतिको एउटा भुक्तभोगी भएकाले यसखाले राजनीतिलाई नेपालीमा सूत्र राजनीति भन्नु उपयुक्त लाग्यो । सर्वसाधारण राजनीति र अन्य हरेक मामलामा पनि सचेत हुनुपर्छ । सचेत जनताले मात्र नेतालाई ठीक बाटोमा हिँडाउन मद्दत गर्नेछन् । जनता सचेत भए भने समाज सचेत हुन्छ । समाज सचेत भयो भने देश बिउँझिन्छ भन्ने लागेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x