Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगगोपी, बालेन र हर्क ‘पृथ्वी विचार’को बाटोमा

गोपी, बालेन र हर्क ‘पृथ्वी विचार’को बाटोमा


काठमाडौं । धनगढीका मेयर गोपी हमाल, काठमाडौंका मेयर बालेन्द्र शाह याने बालेन र धरानका मेयर हर्क साम्पाङ राई मेयरका लागि उम्मेदवार भएका बेला नै चर्चित थिए । उनीहरू तीनैजना स्वतन्त्र उम्मेदवार थिए । संयोग बालेन शाह र हर्क साम्पाङ राईको भने चुनाव चिह्न लौरो थियो । त्यसबेला लौरो चिह्न निकै चर्चित भएको थियो । उनीहरू तीनैजना स्वतन्त्र उम्मेदवार भएका थिए । सहरी क्षेत्रमा तीनवटै ठूला दलहरू नेपाली काङ्ग्रेस, एमाले र माओवादीलगायत अन्य दलहरूप्रति समेत जनताको विश्वास घटिरहेको बेला स्वतन्त्र उम्मेदवारतिर जनताको आकर्षण बढिरहेको केही अनुकूल परिस्थिति समेतले तीनैजना स्वतन्त्र उम्मेदवारलाई जित्न सजिलो भएको थियो ।

हर्क साम्पाङ राई र गोपी हमाललाई जित्न केही जातीय मतदाताको अनुकूलता भए पनि काठमाडौंका उम्मेदवार बालेन्द्र याने बालेन शाहलाई भने यो अनुकूलता थिएन । बरु प्रतिकूलता थियो । तर यो प्रतिकूलताका बाबजुद पनि बालेन शाह सबैभन्दा चर्चित उम्मेदवार भए । एक किसिमले काठमाडौंमा स्वतन्त्र उम्मेदवारको लहर नै आयो भने पनि हुन्छ । बालेनको स्वतन्त्र लहरले अन्य स्वतन्त्र उम्मेदवार गोपी हमाल र हर्क साम्पाङ राईलाई पनि सहयोग मिलेको थियो । पछि तीनैजना स्वतन्त्र उम्मेदवारले जितेपछि स्वतन्त्र शब्द नै लोकप्रिय भएको बुझेका चतुर रवि लामिछानेले पार्टीको नाम नै स्वतन्त्र राखेर राजनीतिमा होमिए । लोकप्रिय भएको स्वतन्त्र ब्रान्डलाई राजनीतिक लाभको लागि मौकामा चौका हाने । उनको पत्रकारिताको लोकप्रियता र स्वतन्त्र शब्दको लोकप्रियताले उनले राम्रै राजनीति लाभ लिए । पहिलो पटक उनको दलले २० सिट जित्न सफल भयो । रविले पहिलो पटक नै उपप्रधान एवं गृहमन्त्री समेत बन्ने अवसर पाए ।

गोपी, बालेन, हर्क अर्थात् धनगढी, काठमाडौं र धरानका मेयरका काम गर्ने शैली तरिका र प्राथमिकता अलग छन् । उनीहरूले गरेका कामका प्रकृति र चर्चामा आएका कामहरू पनि अलग छन् । तर समानता पनि छन् । उनीहरूको साझा समानता भनेको उनीहरू पृथ्वी विचारको बाटोमा आंशिकरूपमा हिँडेका छन् । सबैलाई पृथ्वी विचार भनेको केहो थाहा नहुन सक्छ । पृथ्वी विचार भनेको नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले अघिसारेको विचार नै पृथ्वी विचार हो । जसलाई धेरेले दिव्य उपदेश नामको पुस्तिकाको रूपमा पढ्न पाएका छन् । वास्तवमा पृथ्वी विचार दिव्य उपदेशकै परिमार्जित र आधुनिकीकरण गरिएको नाम मात्रै हो ।

अब छलफलमा लागौं गोपी हमाल, बालेन शाह र हर्क राई कसरी समानरूपमा पृथ्वी विचारको आंशिक बाटोमा हिँडेका छन् त ? उनीहरू तीनैजना निर्वाचित भएपछि कहिल्यै पनि पृथ्वीनारायण शाहको नाम लिएका छैनन् र पृथ्वीनारायण शाहको सम्मान पनि गरेका छैनन् । यस्ता मेयरहरूलाई कसरी पृथ्वी विचारको बाटोमा आंशिकरूपमा हिँडेका छन् भन्न सकिन्छ त ? छलफल यसैमा केन्द्रीत होस् र कसरी पृथ्वी विचारको बाटोमा हिँडेका रहेछन् भन्ने तथ्यले पुष्टि गरोस् । तथ्यले पुष्टि गरेपछि मात्रै हामी आंशिकरूपले नै किन नहोस् उनीहरू पृथ्वी विचारको बाटोमा हिँडेको यथार्थलाई स्वीकार्न सक्छौं ।

पहिलो त उनीहरू निर्वाचित भएको र कार्यभार सम्हालेको अवधि आधाउधी हुन आँटिसक्यो । यो अवधिमा उनीहरूले आ–आफ्ना नगरपालिकामा धेरै बजेट निकासा गराए । कतिलाई ठेक्का दिए कतिसँग सम्झौता गरे गराए । भनौं, निकै ठूलो बजेटको कारोबार गरे । उनीहरूले पद बहाल गरेर यति समय आइसक्दा पनि गोपी, बालेन र हर्कलाई कसैले पनि भ्रष्टाचारको आरोप लगाएका छैनन् । धनगढी, काठमाडौं र धरान नगरपालिकाभित्र अनियमितता र भ्रष्टाचारका समाचार पढ्न पाइएको छैन । गोपी, बालेन र हर्कले सम्हालेका नगरपालिकाको काम र बजेटलाई लिएर कुनै पनि मिडियाले संस्थागत या व्यक्तिगत भ्रष्टाचारका कुरा सार्वजनिकरूपमा बाहिर ल्याउन सकेका छैनन् । यसको अर्थ यो हो उनीहरू भ्रष्टाचारमा व्यक्तिगतरूपमा सामेल छैनन् । साथै, सुशासनलाई पनि त्यत्तिकै जोड दिएर नगरपालिकालाई पनि संस्थागत भ्रष्टाचारमा लिप्त हुन दिएका छैनन् । यसको मूल कारण के हो त ?

गोपी, बालेन र हर्कको र उनीहरूले नेतृत्व गरिरहेका नगरपालिकाको भ्रष्टाचारको कुनै पनि समाचार नआउनुको मूल कारण यी तिनै जना मेयरले पृथ्वी विचारको भ्रष्टाचार विरोधी बाटोमा दृढ भएर हिँड्नु हो । पृथ्वीनारायणले अघि सारेको भ्रष्टाचार विरोधी ‘घुस दिन्या र घुस लिन्या राजाको शत्रु हुन्’को मर्मलाई तीनैजना मेयरहरूले कडाइ र इमान्दार भएर पालना गर्नु नै यसको मूल कारण हो । पृथ्वीनारायणले घुस दिने र लिने अर्थात् भ्रष्टाचारमा संलग्न हुनेलाई राजाका शत्रु घोषणा गरे । राजा भनेको हरेक तहको प्रमुख हो । शत्रुलाई त छेउमा पर्न दिनुभएन, आक्रमण गरिरहनुपर्ने भयो । एक जना राजा याने प्रमुख भ्रष्टाचार विरोधी हुँदा कति फरक पर्दो रहेछ भन्ने पृथ्वी विचारको भ्रष्टाचार विरोधी बाटोमा हिँडेका गोपी, बालेन र हर्कले प्रमाणित गरेर देखाएका छन् । तसर्थ पृथ्वीनारायणको भ्रष्टाचार विरोधी मर्म घुस लिने दिने राजाका अर्थात् प्रमुखका शत्रु हुन् भन्ने भनाइले मेयरहरू गोपी, बालेन र हर्क पृथ्वीविचारले खडा गरेको भ्रष्टाचारविरोधी बाटोमा हिँडेकोलाई आंशिकरूपमा भए पनि पृथ्वी विचारको बाटोमा हिँडेको मान्नुपर्ने हुन्छ ।

भर्खरै मेयर बालेनले काठमाडौं महानगरपालिकामा सीप मेलाको आयोजना गरे । साथै, केही युवाहरूलाई सीप पनि सिकाउने कार्यक्रम राखेका छन् । अर्थात् सीपलाई मेयर बालेनले प्राथमिकता दिएको देखिन्छ । नागरिकहरूलाई सीप सिकाउनु र सीप शक्तिको राष्ट्र बनाउनु भनेको पनि पृथ्वी विचारको बाटोमा हिँड्नु हो । किनभने पृथ्वीनारायणले जनसाधारणलाई सीप सिकाउने उच्च गुणस्तरीय उत्पादन बढाएर आम्दानी बढाउने नीति विचार अघिसारेका थिए । यही विचारलाई मेयर बालेनले अघि बढाएका हुन्, व्यवहारमा उतारेका हुन् । यस हिसाबले हेर्दा केलाउँदा पनि मेयर बालेन यहाँ सीप सिकाउने कार्यक्रममा पनि पृथ्वी विचारको बाटोमा हिँडेको देखिन्छ ।

मेयर बालेनले नेवा सभ्यतालाई जीवन्त राख्न कला, संस्कृति, सभ्यता जोगाउनका लागि भनेर अनेक कार्यक्रम अघि सारेका छन् । पृथ्वीनारायणले नेवाः सभ्यता, धर्म, कला संस्कृतिको महिमा बुझेजस्तै बालेनले पनि बुझेको देखियो । पृथ्वीनारायण शाहले विदेशी कला संस्कृतिमाभन्दा स्वदेशी कला संस्कृतिमा रमाउनु भनेका थिए । उनले स्वदेशी कला संस्कृतिलाई प्राथमिकता दिनु भन्ने नीति विचार अघि सारेका थिए । उनले नेपाली कला संस्कृतिको प्रतिनिधि नेता नेवारी संस्कृतिलाई मानेका थिए । त्यसैले उनले भने विदेशी कलाकार झिकाएर विदेशी कला संस्कृतिको अनुसरण नगर्नु विदेशी कलाकारले धेरै स्वदेशी धन लाने भएकाले स्वदेशी खासगरी नेवारी नाचगान आदिबाट मनोरञ्जन लिनू भन्ने विचार अघि सारेका थिए । यही मर्मलाई पक्रेर मेयर बालेनले नेवाः सभ्यतालाई जोगाउन विशेष जोड दिएका छन् । यस हिसाबले हेर्दा पनि मेयर बालेन पृथ्वी विचारको बाटोमा हिँडेको देखिन्छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले चीनसँग बलियो सम्बन्ध राख्नु भन्ने नीतिविचार अघि सारेका छन् । यसको रणनीतिक महत्व छ । तर मेयर बालेनले यसको महत्वलाई नबुझेर अथवा बेवास्ता गरेर वा अतिराष्ट्रवादीको प्रचारको लोभमा परेर चीनको निम्तो अस्वीकार गरेर नेपाल–चीन अथवा काठमाडौं महानगरपालिका र चीनका नगरपालिकाबीचका सम्बन्धलाई नोक्सान पुर्याउने काम गरे । अघिल्लो वर्ष चीनले नेपालको चुच्चे नक्सा राखेन भन्ने निहुँमा बालेनले चीनको तय भएको भ्रमण रद्द गरेका थिए । यो बालेनको अपरिपक्क काम थियो । समस्या भारतसँग छ, सीमानाको बहिस्कार चीनको गर्छन् बालेन । चीन र भारतको चर्को विरोध गरेर उग्रराष्ट्रवादी हुने फिरंगीको रणनीतिक स्वार्थको सेवा गर्ने खतरनाक प्रवृत्ति पनि छ । बालेनलाई पनि यस्तो शंका गर्नेहरू धेरै छन् कामना गरौं शंका झूटो होस् ।

भारतले अखण्ड भारत नामको ऐतिहासिक वा सांस्कृतिक नक्सा भनेर नेपाललाई पनि त्यही नक्साभित्र देखाएको विरोधमा प्रतिक्रियास्वरूप मेयर बालेन शाहले ग्रेटर नेपालको याने विशाल नेपालको नक्सा आफ्नो कार्यकक्षामा राखेकोमा एक हदसम्म ठिकै मान्न सकिएला । तर चीनको भ्रमण रद्दको कुनै औचित्य थिएन । बरु बालेनले नेपालका राजा महेन्द्र र चीनका राष्ट्रपति लिउसाओ चीबीचमा भएको सीमा सम्झौता र नक्सा बोकेर चीन जान सक्थे । समकक्षीसँग यही नक्सा र सम्झौताको आधारमा चीनको सहयोग र अडान रहिरहोस् भन्न सक्थे । सायद बालेनलाई चीनले उनको कार्यकालभरि फेरि निम्तो दिँदैन होला । यहाँ भने बालेनले पृथ्वी विचारको मर्म विपरीत हिँडेको पाइयो ।

हर्कका विगतका कतिपय पोस्टहरूले हर्क फिरंगीको धर्म संस्कृतिको पक्षमा उभिएको हो भन्ने धेरैलाई लागेर उनको चर्को आलोचना पनि गरेका थिए सञ्जालमा । यता पछिल्लो समयमा उनी सुम्निमा र पारुहाङको मूर्ति स्थापना गर्न लागेकालाई भने सनातनीलगायत सबै प्रकृति पूजकहरूले सकारात्मकरूपमा लिएका छन् । किनभने यो पनि पृथ्वी विचारको एउटा पाटो हो । यो आ–आफ्नो कुलधर्म नछोडेको पाटो र बाटो हो । पृथ्वीनारायणले सबै रैथानेहरूलाई आ–आफ्नो कुलधर्म नछोडको निर्देशन विचार अघिसारेका थिए । यसमा हर्कको सुम्निमा पारुहाङ स्थापित गर्ने अभियान मेल खाने भएकाले यसमा पनि आंशिकरूपमा पृथ्वी विचारको बाटोमा मिलेको वा हिँडेको ठहर्छ ।

हर्क साम्पाङ राईले धरानमा पानीको समस्या केही हदसम्म समाधान गर्न जसरी पैसा जुटाए । भौतिक सामग्री र जनसहभागिता जुटाए यो पनि पृथ्वीनारायणले नेपाल एकीकरणमा हिँडेको बाटो र पाटो नै हो । त्यसरी नै उनले सुम्निमा र पारुहाङको मूर्ति बनाएर उभ्याउने अभियानमा पनि जनताको सहभागिता जुटाउने काममा लागेका छन् । मेयर हर्क यो पनि पृथ्वीनारायणकै बाटो र पाटो हो । उता धनगढीका मेयर गोपी हमालले पनि सीप र प्रविधिलाई जोड दिएर यो क्षेत्रमा पनि पृथ्वीनाराणका सीप र प्रविधि सिकाउने बाटो पक्रेका छन् ।

अलग विशेषता भौगोलिकता र मानवीय उपस्थिति भएका अलग स्थानका अलग विशेषता र शैलीका मेयर भए पनि केही समानता पनि छन् । त्यो समानता भनेको आंशिक पृथ्वी विचारको बाटो हो । चाहे यिनीहरूले राष्ट्र निर्माताको कहिल्यै नाम नलिएका वा उपेक्षा नै किन नगरेका हुन् । हामीले हेर्ने मूल्याङ्कन गर्ने भनेको पृथ्वी विचारको पाटो र बाटोमा कति छन् कति छैनन् भनेर नै हो । पृथ्वी विचारको पाटो र बाटोमा छन् भने देशको हित र जितमा छन् भनेर बुझ्नुपर्छ । त्यसमा छैनन् भने अलमलमा परेछन् भनेर बुझ्नुपर्छ । जसले बुझ्यो पृथ्वी विचारको पाटो उसले बुझ्यो नेपालको सही बाटो ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x