Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविविध व्यवसाय चल्ने अनामनगरको कथा

विविध व्यवसाय चल्ने अनामनगरको कथा


काठमाडौं । नामै नभएको नगर अनामनगरको नाम कसरी रह्यो त ? जहाँ केही वर्षअघिदेखि तमाम किसिमका आर्थिक र व्यावसायिक कारोबारहरू सञ्चालन भइरहेका हुन्छन् । हालको अनामनगर क्षेत्र पहिले खेतको फाँट र धोबीखोलाको बगर थियो ।

डिल्लीबजारको पिपलबोटनिरबाट पैदल बानेश्वर जाँदा घट्टेकुलो भएर सिंहदरबारको पर्खालको उत्तरपूर्वबाट हनुमानस्थान निस्किने सानो गोरेटो बाटो थियो । यो लेखक २०४३ सालमा आईकमको एकाउन्टेन्सी विषयको ट्युसन पढ्न हाल सशस्त्र प्रहरी बलका महानिरीक्षकबाट अवकाशप्राप्त पुष्पराम केसीसँग बानेश्वरको सीडीओ टोलमा जाने गरेको थियो । सिंहदरबारको हालको पूर्वी प्रवेशद्वारनिर जरुवा पानी निस्केर बगिरहन्थ्यो । सिंहदरबारको पूर्वतर्फको पर्खाल छेउको गोरेटोबाट पूर्वतिर खेतहरूमा धान झुलेका देखिन्थे भने धोबीखोलामा मान्छेहरूले लुगा धोइरहेका देखिन्थे । हाल ढल मिसिएपछि धोबीखोलाको पानी छुन त के हेर्न पनि सकिँदैन । धोबीखोला मात्र होइन काठमाडौं उपत्यकाका सबै नदीनालाहरू पूर्णरूपले प्रदूषित भइसकेका छन् । अहिले यी नदीनालाहरूमा जलचरको संख्या शून्यप्रायः छ । पहिले पहिले माछा पनि पाइने यी नदीनालालाई प्रदूषित बनाउने कामको जिम्मेवारी सहरवासीहरूले नै लिनुपर्छ । पाप लाग्ने हुँदो हो त सहरवासीहरू पापी नै ठहरिन्छन्। तर त्यो पाप भन्ने कुरा काहीँ पनि देखिँदैन ।

त्यसताका हनुमानस्थानभन्दा अलिकति उत्तरतर्फ भने एउटा युथ क्लब बसेको सानो भुइँतले घर थियो । त्योभन्दा बढी अरू कुनै पनि घरहरू थिएनन्, हालको अनामनगरमा अर्थात् त्यतिबेलाको खेतका फाँट र बगरमा । २०४६/४७ सालपछि भने अनामनगरमा रहेका खेत र बगरहरू घडेरीमा परिणत हुँदै गए । त्यहाँको जमिनको भाउ एकाएक माथि पुग्न थाल्यो, घरजग्गा व्यवसायीहरूको ध्यान त्यहीँ फाँटतर्फ केन्द्रित भयो । सुरुसुरुमा सस्तोमा खरिद बिक्री भएको त्यस फाँटका जग्गा आनाको विस्तारै लाख–दशलाख–बीसलाख हुँदै करोड पनि पर्यो र हाल घडेरी सकिएपछि कसैलाई अनामनगरको जग्गाको भाउ कति छ भनेर सोध्नै परेन । बस्ती बसेपछि त्यहाँ बसोबास गर्नेहरूबीच छलफल भयो, समिति गठन भयो । कसैले के नाम राख्ने भने कसैले के नाम । कुरा नमिलेपछि कसैले यस बस्तीको नाम ‘अनामनगर’ राखौँ भनेपछि उनको लहलहैमा लागेर बासिन्दाहरूबाट ‘अनामनगर’ नाम राखियो । जुन नाम अहिले पनि कायम छ, सो नाम परिवर्तन हुने सम्भावना पनि छैन । ‘अनामनगर’ एक प्रसिद्ध ट्रेडमार्कजस्तै भइसक्यो । अनामनगर रहेको पहिलेको बगर र खेतका मालिकहरू एकाएक करोडपतिमा परिणत भए । सुरुसुरुमा बेच्नेले खासै नकमाए पनि पछिपछि बेच्नेले भने मनग्यै कमाए । अहिले अनामनगरमा खाली जग्गाको नाम निशान नै छैन । अनामनगरमा हाल कैयन बैंकहरूका शाखा सञ्चालनमा छन् भने सहकारीहरूको संख्या त कति हो कति । त्यस्तै, अनेकानेक व्यवसायहरू सञ्चालनमा छन् अनामनगरमा । अनामनगरको पछाडि धोबीखोलासम्मै भवनहरूले भरिएको छ । धोबीखोलाको दायाँबायाँ कोरिडोर खोलिएपछि मूल सडकहरूमा सवारी साधनहरूको चाप केही कम भएको पाइन्छ ।

अहिले अनामनगरलाई वकिलहरूको पकेट क्षेत्रभन्दा पनि हुन्छ । त्यस क्षेत्र अर्थात् अनामनगरमा तमाम ल फर्महरू छन् र अडिट फर्महरू छन् । स्तरीयखालका रेस्टुरेन्टहरू पनि सञ्चालनमा छन् त्यहाँ । अनामनगरमा केही सञ्चार माध्यमहरू पनि चलिआएका छन् । एक किसिमले भन्नुपर्दा नामै नभएको नगरमा व्यापकरूपमा आर्थिक कारोबारहरू भइरहेको पाइन्छ । नेपाल यातायातको मात्रै त्यहाँ तीन वटा बसस्टप छन् । घट्टेकुलो, सिंहदरबार पूर्वीगेट र हनुमानस्थान । अनामनगरमा होस्टेलहरूको संख्या पनि ज्यादै छन्, त्यस्तै शैक्षिक परामर्श केन्द्रहरू पनि छन् । नेपाल यातायातको बसमा यात्रा गर्नेहरूमा धेरैजसो अनामनगरदेखि पुतलीसडकसम्म आउजाउ गर्ने विद्यार्थीहरूको संख्या ज्यादा छ । किनकि अनामनगरदेखि पुतलीसडकसम्मको क्षेत्र शैक्षिक संस्थाहरूको संख्या धेरै भएको क्षेत्रमा गनिन्छ ।

२०४३ सालतिरको प्रसंग यहाँ प्रस्तुत गर्नु मनासिब देखिन्छ । त्यतिबेला खसीको मासुभन्दा कुखुराको मासु महँगो थियो । त्यतिबेला खसीको मासु किलोको ३० रुपैयाँ थियो भने कुखुराको मासु ३५ रुपैयाँ थियो । त्यस्तै, चामल र चिनी किलोको छ–छ रुपैयाँ थियो भने मट्टितेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ थियो । त्यतिबेला काठमाडौंमा भर्खरै मात्र ग्यासको चलन सुरु भएको थियो । एक सिलिन्डर ग्यासको भाउ एकसय पचास थियो । अहिले मुठाको दश रुपैयाँ पर्ने हरियो लसुन वा हरियो प्याजको मूल्य त्यतिबेला एक रुपैयाँ थियो । पाइन्ट सिलाएको सय र कमिज सिलाएको साठी रुपैयाँ लिइन्थ्यो । बागबजारको श्रेष्ठ टेलरिङ त्यतिबेलादेखि नै नाम चलेको टेलर हो । रत्नपार्कदेखि पाटनढोकासम्मको बस भाडा तीस पैसा थियो भने रत्नपार्कदेखि लगनखेलसम्मको बस भाडा पचास पैसा थियो । त्यतिबेला कन्डक्टरहरूले हत्केलामा सिक्काहरू समाएर र नोटहरू औँलाको कापमा च्यापेर सिक्काहरू झिरिपझिरिप पार्दै भाडा माग्ने गर्थे । हालका दिनहरूमा भने सिक्काको महत्व हराइसकेको छ । मन्दिर र मूर्तिमा चढाउने वा मगन्ते तथा जोगीहरूलाई सिक्का दिइन्छ । अब त सहरमा पिसाब फेरेको समेत दश रुपैयाँ तिर्नुपर्ने अवस्था आइसकेको छ । त्यसबखत यो लेखकको तलब मासिक पाँच सयको हाराहारीमा थियो ।

अनामनगर अहिले न्युरोड र पुतलीसडकभन्दा कम छैन । त्यहाँ दैनिक व्यावसायिक गतिविधिहरू निकै देखिन्छन् । समयले कोल्टे फेर्छ भनेझैँ कहाँको त्यो बेलाको बगर कहाँको अहिले अनामनगर । त्यो बेलाको सम्झना गरेर कसैसँग कुरा गर्ने हो भने कसैले पनि सो कुरा पत्याउन मुस्किल नै पर्छ । यस्तो सहर बसेको ठाउँमा पनि बगर र खेत थिए होलान् त भनेर कसैले प्रश्न पनि तेर्स्याउन सक्छन् । अनामनगरको इतिहास धेरै लामो छैन । पछि काठमाडौं पसेकाहरूलाई भने अनामनगरको इतिहासबारे जानकारी हुने कुरै भएन । तर चालिसको दशक आसपासमा राजधानी काठमाडौं छिर्ने धेरैलाई यसबारेमा जानकारी हुनुपर्छ ।
चहलपहल शून्य थियो खेत अनि बगर
एकाएक बस्ती बस्यो बन्यो अनामनगर
जरुवाको पानी बग्थ्यो सिंहदरबार छेउमा
साहुहरू उँभो लागे व्यापारको निहुँमा
त्यतिबेला डिल्लीबजारको चालखाल लाइनमा सडकका दायाँबायाँ जग्गाहरू खाली थिए । गोल्फुटारमा पैँतालीस हजारमा पाँच आनाको एउटा घडेरी पाइँदा ‘आम्मामामा ! त्यत्रो पैसा कहाँ पाउनु?’ भन्ने हुन्थ्यो । साथीहरूले घडेरी किने तर यो लेखक भने घडेरी किन्ने आर्थिक हैसियत त्यतिबेला थिएन । हैसियत थिएन भनौँ भने मैले २०४३ सालमा काठमाडौंदेखि भैरहवासम्म तीनसय भाडामा हवाईजहाज चढेको सम्झना अझै पनि छ ।

अनामनगर मात्र होइन यो ठाउँमा विकास होला त भनेर भनिने काठमाडौं उपत्यकाका कुनै पनि ठाउँ अहिले भरिभराउ भइसकेका छन् । राजधानी काठमाडौंको ग्रामीण क्षेत्र भनेर चिनिने काँठ क्षेत्र समेत अहिले भरिइसकेको छ । हुन त काठमाडौं उपत्यकामा नेपालभरिका नागरिकहरू अट्न सक्छन् । तर मान्छे अटेर मात्र पुग्दैन सुविधाविनाको सहरमा बस्नु पनि मुर्खता ठहर्छ । काठमाडौंकोमा हाल मेलम्चीको पानी ल्याइए तापनि चक्रपथबाहिरका कतिपय स्थानहरूमा मेलम्चीको पाइप बिछ्याइएको छैन । काठमाडौं उपत्यकामा वर्षेनि पानीको हाहाकार हुन्छ । सुख्खायाम अर्थात् फागुनदेखि जेठसम्म सहरवासीहरूले पानीका लागि हैरानी खेप्नुपरिरहेको एक उदाहरण तथा भुक्तभोगी यो लेखक पनि हो । ट्याङ्करको पानी शुद्ध छ कि छैन भनेर कसैले जाँच पड्ताल गरेको पनि पाइँदैन । जारको पानीको सम्बन्धमा बेलाबेलामा अनुगमन निकायहरूले कैफियत भेटाएपछि कारबाहीको दायरामा ल्याउने गरिएको छ । तर दीर्घकालीन समाधान भने भएको देखिँदैन ।

काठमाडौं वरपरका डाँडाहरू समेत डोजरले खार्दै सम्याउँदै घडेरी बनाएर बिक्री गर्ने गरेको पाइन्छ । सरकारी जग्गाहरू समेत माफियाहरूले नापी र मालपोतका कर्मचारीहरूसँग मिलोमतो गरेर व्यक्तिगत बनाइसकेका समाचारहरू प्रकाशमा नआएका भने होइनन् । यस्तो गैरजिम्मेवार काममा ठूला दलका ठूला नेताहरूको समेत संलग्नता हुने गरेको पनि नसुनिएको होइन । २०५२ सालदेखिको द्वन्द्वबाट प्रभावित भएर वा लखेटिएर केही रकम बोकेर काठमाडौं छिरेका गाउँगाउँका मुखिया र जिम्मालहरू र केही खानदानीहरूले पनि करोडौंको सम्पत्ति जोडिसकेका छन् । लखेटिएको भए पनि उनीहरूले सहरमा धेरै प्रगति गरेको पाइएको छ। पहाडबाट मधेश झर्ने र गाउँबाट सदरमुकाम पस्ने प्रवृत्तिले गर्दा विभिन्न गाउँ ठाउँहरूमा खेतबारीहरू बाँझो पल्टिएका छन् । त्यसमाथि युवाहरू कामको खोजीमा खाडी मुलुकतिर हुत्तिँदा गाउँघरमा बुढाखाडा र बालबच्चा मात्र देखिन्छन् । अर्को अर्थमा भन्नुपर्दा गाउँमा मलामी र जन्तीहरूको संख्या घट्दो छ अर्थात् खडेरी पर्दैछ ।

गाउँगाउँका मान्छेहरू सहर केन्द्रित हुँदै गइरहेका छन् भने साना सहरका मान्छेहरू काठमाडौं ताक्छन् । त्यस्तै, काठमाडौं आइसकेका कतिपयका छोराछोरीहरूले अमेरिका, अस्ट्रेलियालगायतका मुलुकहरू ताक्ने प्रवृत्ति बढ्दो छ । विदेश पलायन डरलाग्दो अवस्थामा र नियन्त्रणबाहिर छ । त्यस्तै, खाडी मुलुकमा जाने कामदारहरूले जोखिम मोलेर काम गरिरहेका छन् । कसैको आँखा गुमेको, कसैको हात गुमेको, कसैको खुट्टा गुमेको समाचार प्रकाशमा नआएका होइनन् । त्यस्तै, खाडी मुलुकबाट दश वर्षमा दश हजार लास त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका समाचार पनि आइसकेको छ । रेमिट्यान्समा मख्ख पर्ने सरकारले विदेश पलायनका मामलामा गम्भीर हुनु जरुरी छ । युवाहरूलाई स्वदेशमै तालिम दिएर, प्रोत्साहन र पुरस्कारको व्यवस्था गरेमा विदेश पलायनको बहाब रोकिन सक्छ । पहाडबाट मधेश झर्ने र गाउँबाट सहर पस्ने प्रवृत्ति रोक्न सकेमा देश केही हदसम्म समृद्धितर्फ गइरहेको छ भन्ने आभाष पाइने हुन्छ । गाउँगाउँमा र साना सहरहरूमा पनि युवाहरूका लागि रोजगारीका अवसरहरूको वातावरण सिर्जना गर्नु अति जरुरी छ ।

अन्त्यमा, सिंहदरबार नेपालको मुख्य प्रशासनिक केन्द्र भएकाले यसको वरिपरि आलिसान महलहरू निर्माण गर्न दिनुहुँदैन । हाल सिंहदरबार दक्षिण गेट नजिक एउटा भव्य महल बनिरहेको देखिन्छ । वास्तवमा यसतर्फ सरकारको पहिल्यै ध्यान जानुपर्ने थियो । अनामनगर पनि सिंहदरबारको सामुन्ने भएको हुँदा सुरक्षाका दृष्टिले यस क्षेत्रमा पनि ठूला र भव्य महलहरू निर्माण गर्न दिनुहुँदैन । यस्ता संवेदनशील विषयमा सरकारको ध्यान जानु जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x