Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगराष्ट्र निमार्णमा युवा पिँढी

राष्ट्र निमार्णमा युवा पिँढी


प्रदीप उप्रेती
राज्यसञ्चालनमा आएको सकारात्मक सोचको प्रतिफल भन्नु नै युवाशक्ति राष्ट्रको नेतृत्वदायी—निर्णायक शीर्ष स्थानमा आसिन रहन सक्ने सफल वातावरण तर्जुमा गर्नु हो । राजनीतिको सामान्य सिद्धान्तलाई अनुुुुशरण गर्दै व्यवहारमा लागू गर्ने चेष्टा गर्ने हो भने, निश्चितरूपमा जनपक्षीय कार्य एवं नैतिक जिम्मेवारीलाई सफलतापूर्वक वहन गर्न सक्ने युवा समूहको सकारात्मक सोचको खाँचो सदैव लोकतान्त्रिक राज्यव्यवस्थामा रही आएको हुन्छ ।

तर, मुलुकको राष्ट्रिय राजनीतिमा आजपर्यन्त केही हदसम्म यस गहन तथ्यको अभाव रहन आएको पाइयो । प्रस्तुत विषयमा सही एवं जनपक्षीय निर्णय लिन नसक्ने समूह कथमकदाचित सत्तामा आसिन रहन पुगे भने मुलुकको भविष्य अन्योलतातर्फ धकिलिने प्रबल सम्भावना रहन्छ । जसका कारण राजनीतिक शक्ति एवं तिनका समर्थकको दबाबको कारण राज्यपक्षबाट गरिने कतिपय निर्णयले नागरिक समाजमा द्वन्द्व निम्त्याउनुको साथै प्रशासनिक निकायमा समेत अपारदर्शी अवस्था सिर्जना हुने सम्भावनालाई नकार्न मिल्दैन ।

समुलरूपमा राज्यले सीमित समूहको प्रतिनिधित्व गर्ने मात्र नभई आफ्नो सम्पूर्ण योग्यतासहितको दक्षतालाई उच्च प्रदर्शन गर्दै लोकतन्त्रलाई युग–युगान्तरसम्म जीवन्त राख्न सक्ने लोककल्याणकारी राज्य व्यवस्थाको अवधारणाअनुसारको कार्य गर्नु पर्नेछ । विपरीत अवस्था पैदा भए अराजकताले प्रश्रय पाउनेछ । जसको नकारात्मक प्रभावस्वरूप लोकतन्त्रको आधारभूत मूल्य एवं मान्यतामा गतिरोध उत्पन्न भई जनभावना विपरीतका कार्यले मौलाउने अवसर प्राप्त गर्नेछ भन्दा फरक नपर्ला ।

तदुपरान्त अराजकताको आडमा भ्रष्टाचारजन्य गतिविधिले उग्रता हासिल गर्दै नागरिक समाज एवं राज्यबीच विश्वासको संकट उत्पन्न हुन जानेछ । जसको अत्यधिकताले अप्रत्यासितरूपमा गरिबीको तथ्यांकीय दरमा अस्वाभाविक वृद्धि हुन गई न्यूनभन्दा न्यून बेतनमानमा जोखिमले भरिएको कार्य गर्न आजका युवा बाध्य रहनु पर्ने अवस्था प्रारम्भ हुनेछ । प्रस्तुत अवस्था प्रादुर्भाव हुनुको प्रमुख कारक तत्वको रूपमा भविष्यकेन्द्रित स्पष्ट राजनीतिक दिग्दर्शनको अभावमा निम्तिएको निराशाजनक अवस्थाको रूपमा यसलाई चित्रण गर्न सकिन्छ । जसले मुलुकको अर्थव्यवस्थामा समेत ऋणात्मक प्रभाव पार्नेछ । जुन मुलुक र जनताको लागि घातक सावित हुने देखिन्छ । किनकी विद्यमान अवस्थामा कायम रहेको बेरोजगार युवाशक्ति त्यस्तो ऊर्जावान राष्ट्रवादी शक्ति होे, जसले धेरै हदसम्म क्रान्तिगत मनोभावका कारण राज्यसत्तामा असहज परीस्थिति निभाउन सक्ने क्षमता राख्दछ ।

ऊर्जावान मानिने उक्त शक्तिको दुरूपयोग बाह्य वा आन्तरिक राजनीतिक दूरासययुक्त समूहबाट हुन सक्ने सम्भावित खतरालाई औँल्याउदै सतर्क रहनुपर्ने हुन्छ । नेपालका अतिरिक्त विश्वको कुनै पनि मुलुकमा भोगको ज्वालाले नौलो द्वन्द्व सुत्रपात गरेको ऐतिहासिक तथ्यहरूले प्रमाणित गरिसकेको छ । केही हदसम्म माओवादी द्वन्द्वले पनि यसै तथ्यलाई अनुशरण गरेको हो भन्न सकिन्छ ।

चेतनशील युवा समूहमा रहेको आत्मविश्वाससहितको ऊर्र्जा कुनै कारणवश दुरूपयोग हुन गएमा त्यसले अवश्य पनि हिंसात्मक रूप धारण गर्नेछ । तसर्थ उक्त ऊर्जावान शक्तिलाई सकारात्मक कार्यको लागि प्रोत्साहित गर्नुपर्ने हुन्छ । सम्बद्ध पक्ष चेतनशील हुनको साथसाथै अन्य समुदायको लागि प्रेरणाको स्रोत पनि हो । जसले राज्यको शक्तिसन्तुलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । साथै उत्पादनशील समूह समेत रहेको हुँदा विष्पोटनको खतरालाई सहजै नजरअन्दाज गर्न मिल्दैन । सम्भावित राष्ट्रियस्तरको नौलो द्वन्द्व न्यूनीकरणको लागि युवा व्यवस्थापन कार्य अति नै जरुरी भइसकेको छ । जसलाई चुनौतीबीचको अवसर भन्दा फरक नपर्ला ।

राजनीतिक वितृष्णाका कारण विशेषगरी युवा समूहमा निम्तिने द्वन्द्वगत मनोभावना न्यूनीकरणको लागि मुलुकभित्रै उत्पादनशील रोजगारीको सिर्जना गर्नुपर्ने हुन्छ । यसका अलावा केही हदसम्म वैदेशिकस्तरको रोजगारीले पनि यस क्षेत्रमा रहेको नकारात्मक ऊर्जालाई न्यूनीकरण गर्न सहयोगीको भूमिका निर्वाह गर्नेछ । अतः चेतनशील युवा जमातलाई यथोचित व्यवस्थापन एवं उपयोग गर्दै, मुलुकको प्रशासनयन्त्रलगायतका सरकारी एवं राजनीतिको क्षेत्रमा सम्बद्ध समूहको पहुँच अभिबवद्धि गर्न सक्ने वातावरण निमार्ण गर्नु समयको माग हो । जसले सामाजिक उत्तरदायित्वलगायत मुलुकको हरेक क्षेत्रमा चेतनशील युवा समूहको सकारात्मक सोचसहितको आर्थिक, सामाजिक, एवं राजनीतिक अधिकार स्थापित हुन जानेछ ।

प्रस्तुत अवधारणाले मूर्तरूप धारण गरेपश्चात हाल हरेक क्षेत्रमा कायम रहँदै आएको अस्वथ्य प्रतिस्पर्धात्मक अवस्थाको अन्त हुन गई नयाँ बिहानीको सूत्रपात हुने अवस्था प्रारम्भ हुनेछ । उक्त मुलभूत तथ्यलाई आधारविन्दु बनाई राज्यसत्ता सञ्चालनलगायतका अब्बल प्रशासनिक निकाय निमार्ण गर्ने कार्यमा सफल एवं सबल युवापुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने हो भने नयाँ आस्वादनको अनुभव नेपाली समाजले अवश्य पनि गर्नेछ । जसलाई राष्ट्र निमार्णको महत्वपूर्ण कडीको रूपमा लिन सकिन्छ ।

जसको सुखद परिणाम भन्नु नै मुलुकमा हाल कायम रहेको कहालिलाग्दो भ्रष्टाचारजन्य अवस्थालगायतका नोकरशाहीतन्त्रमा रहेको असान्दर्भिक तथा अपारदर्शी क्रियाकलापबाट नेपाली समाजलाई राहत प्रदान गर्न केही हदसम्म भए पनि चेतनशील युवाशक्ति सक्षम रहनेछन् भन्ने विश्वास लिन सकिन्छ । सम्बद्ध समूहद्वारा प्रदान गरिएको सकारात्मक कार्यको सफल कार्यान्वयनको लागि निसन्देह राज्यको सही मार्गदर्शन एवं सहकार्यको मुख्य भूमिका महत्वपूर्ण रहनेछ । राज्यको सकारात्मक सहयोगको अभावमा प्रस्तुत कार्यले कुनै पनि हालतमा मूर्त रूप हासिल गर्न सक्दैन । तर, समग्र मुलुकको हितको खातिर आजका चेतनशील युवा समुदाय उक्त चुनौतीपूर्ण एवं जोखिमले भरिएको कार्य गर्न अहोरात्र तम्तयार भएर बसेका छन् ।

सामूहिकरूपमा आपसी समन्वयको विकासगरी नागरिक समस्याको आवाज बुलन्द गर्न सक्ने कुनै शक्ति राज्यमा विद्यमान रहेको छ भने त्यो निसन्देह आजका युवा जमात नै हुन् । तसर्थ भविष्यका कर्णाधार ऊर्जाशिल युवाशक्तिको अन्य कुनै पनि पक्षबाट हुन सक्ने सम्भावित नकारात्मक क्रियाकलापको दुरूपयोगलाई रोक्न राज्यका तर्फबाट युवामैत्री नीतिको उचित व्यवस्थापन अहिलेको आवश्यकता हो । समयमा नै यसको सही व्यवस्थापन गर्न सकिएन भने निश्चितरूपमा सम्बद्ध समूहको आकर्षण वैदेशिक रोजगारीको क्षेत्रमा मोडिन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन ।

प्रस्तुत अप्रत्यारिलो एवं कहालिलाग्दो अवस्था सिर्जना भए पक्कै पनि मुलुकबाट असंख्य मात्रामा रहेको बौद्धिक प्रतिभाको चर्को पलायनको मार सहन गर्न राज्यपक्ष बाध्य हुनुपर्नेछ । बौद्धिक क्षेत्रमा रहन आउने त्यस्तो अवस्थाले चेतनशील बौद्धिक क्षेत्रको अभाव खड्किन गई मुलुकले आँकलन गरेको आर्थिक विकास तथा समृद्धिको मार्गमा बाधा उत्पन्न हुनेछ । एकातिर मुलुकमा जागरुक युवा समूहको अभाव रहने अवस्था पैदा हुन्छ भने अर्कोतर्फ सोही प्रवृतिको कार्यको लागि महँगो शुल्कको व्यवस्थापन गर्दै बाह्य जगतबाट युवा आयात गर्नुपर्ने दुविधायुक्त परिस्थितिको निमार्ण हुने देखिन्छ ।

लामो संघर्षको प्रतिफलस्वरूप प्राप्त हुन आएको वर्तमान राजनीतिक दिग्दर्शनलाई यदि समयमा नै सदुपयोग गरी राष्ट्र निमार्णका लागि आतुर रहेका युवा पिँढीलाई हस्तान्तरण गर्न नसक्ने हो भने निश्चितरूपमा मुलुकमा अकल्पनीय राजनीतिक दुर्घटनाको सम्भावनालाई कुनै पनि पक्षले चाहेर पनि रोक्न नसक्ने निश्चित छ । तसर्थ मुलुक नागरिक समाजको हितका लागि राज्यको समग्र क्षेत्रको बागडोर समाल्ने पालो अब सक्षम एवं दक्ष युवा पिँढीको नै हो भनेमा हामी कसैको पनि दुईमत हुन सक्दैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया