Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसन् २०२० को आरम्भ र हाम्रो पर्यटकीय दृष्टि

सन् २०२० को आरम्भ र हाम्रो पर्यटकीय दृष्टि


अच्युतप्रसाद पौडेल ‘चिन्तन’
आज जनवरी एक, नव वर्षको पहिलो दिन । सन् २०२० को आरम्भ सँगै नेपाल भ्रमण वर्ष पनि शुरु भएको छ । भूगोलले सानो भए पनि नेपालको कला कौशल, मठ, मन्दिर र यहाँ भएका मौलिक विषयवस्तुले संसारलाई नैै मोहित बनाएको छ । विदेशी पर्यटक त यहाँ रमाउँछन् नै हामी स्वयं पनि आफ्ना क्षेत्रमा घुमेर उदाहरण बन्न सक्नुपर्दछ । आन्तरिक पर्यटनमा आफू पोख्त नभई अरुलाई दीक्षित गराउन कठीन हुन्छ । नेपाललाई मन्दिरै मन्दिरको देश भनिन्छ ।

विश्वका आम नागरिकहरू ठूलो पुण्य प्राप्त गरेपछि मात्र नेपालको भ्रमण गर्न पाइन्छ भन्ने विश्वासका साथ यहाँ आउने गर्छन् । यहाँ आएपछि भुक्ति र मुक्ति अर्थात् इहलौकिक सुख र पारलौकिक मुक्ति भनौँ दुवै हातमा लड्डु प्राप्त गर्ने अभिलाषा बोकेर उनीहरू यहाँ अउने गर्छन् । काठमाडौँ ओर्लना साथ राजधानी नजिक रहेको सुगम ललितपुर र दुर्गम रसुवाका पावन केही मुक्तिक्षेत्रको चर्चा गर्ने यो लेखको अभिप्राय रहेको छ । ललितपुर, शंखमूलपारि दक्षिण दिशामा ६४ ज्योतिर्लिङ्गमध्येका कुम्भेश्वर शिव र सिद्धिदाता स्वरूपा भगवती बङ्गलामुखी शक्तिदेवीका मन्दिरहरू छन् ।

क) कुम्भेश्वर शिवः स्कन्दपुराण हिमवत् खण्ड :- नेपाल महात्म्यमा कुम्भेश्वर शिवजीलाई सर्वेश्वर देवता भनिएको छ । सर्वेश्वरो हि यत्रास्ते सर्वलोकैः समन्वित यत्रैव स्थापितं लिङ्गं कुम्भेश्वरस्त्वयेति वै –(स्कन्दपुराण, हि.ख.) । गौरीकुण्ड र शिवगंगातीर्थका बीच सत्य युगका समयमा भगवान ब्रह्माजीले ठूलो पोखरी बनाएर त्यसमा स्नान गरी ‘ॐ नमः शिवाय’ मन्त्रले शिवको उपासना गरे । पृथ्वीतलमा प्राणी सृष्टि नहुँदै सृष्टि विस्तारको दक्षता र कुशलता प्राप्त होस् भन्ने प्रार्थना गरेर शिवचिन्तन गर्दा ब्रह्मासामु शिवजी प्रकट भई वरदान दिँदा ब्रह्माजीले पृथ्वीमा अनेकौँ जीवात्माहरू सृष्टि गर्न सकेको स्मरणस्वरूप यहाँ प्रकट भएका शिवलिङ्गलाई सामथ्र्यवान सर्वेश्वर भन्न थालिएको हो ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले स्नान गरेको क्षेत्र गौरीकुण्ड अद्यापि छँदै छ । नजिकै नागतीर्थ पनि रहेको छ । कुरा सत्ययुगकै हो । एकजना कुरूपा किरातिनी स्त्री थिई । रूप नराम्रो भएकाले बिबाहपछि पतिले घरबाट निकालिदिएछ । रुँदै हाम्फालेकी त्यो कुरूपा यही नागतीर्थमा परिछ । एक व्यक्तिले पानीबाट निकालेर पाखा लगाएछ । केही समयपछि होस आएकी त्यो कुरूपाले ‘पानी पिउँछु’ भनेर नजिकैको नदीमा प्रवेश गर्दा आफ्नो छायाँ देखिछ । छायाँदर्शन हुनासाथ त्यो कुरूपा स्वर्गकी अप्सराझैँ राम्री देखिइछ । त्यो कुरा स्वर्गको राजा इन्द्रकहाँ पुगेछ । मत्र्यमण्डलकी कुरूपा यसरी स्वर्ग पुगेर इन्द्रसभामा बस्न पाइछ । यसरी त्यो क्षेत्रको महत्व बढ्दै आएछ ।

कुम्भेश्वर मन्दिरको उत्तरपूर्वमा रहेको जलकुण्डमा पानीको धारासमेत रहेको छ । यो पोखरीमा गोसाईकुण्डबाट पानी आएको हो भन्ने मान्यता छ । गृष्म ऋतुमा भगवान शिवजी गोसाईकुण्ड, कैलाश क्षेत्रतर्फ जाने र जाडो याममा यहाँ रहनुहुन्छ भनिन्छ । ऋषितर्पणी पर्वमा गोसाईकुण्ड जान नसक्नेहरू कुम्भेश्वरको दर्शन गर्न यहाँ जान्छन् । अघि शिवजीले सतीदेवीको शवलाई लिएर विश्व भ्रमण गर्दै यो क्षेत्रमा आइपुग्दा मृर्गाैला पतन भई कुम्भेश्वर ज्योतिर्लिङ्ग उदय भएको विश्वास गरिन्छ ।

बालाचतुर्दशी, शिवरात्रि, हरितालिका आदि पर्वका साथै माघ कृष्ण चतुर्दशीका दिन विशेष पर्वपूजा हुने कुम्भेश्वर भगवानको मन्दिर पाँच तले छ । भक्तपुरको न्यातपोल मन्दिर र कुम्भेश्वर महादेवको मन्दिर गरी नेपालमा पाँच तले मन्दिर केवल २ ठाउँमा मात्र छ । चारमुखे शिवलिङ्गलाई चाँदीले मोरेर सुनको जलप लगाई सुनौलो पारिएको छ । कुनै एक भक्तले गोसाईकुण्डमा आफूले साथमा लगेको कुम्भ (घडा) त्यहीँ हराएछन् । खोज्दै जाँदा पछि त्यो हराएको कुम्भ यहाँ पाइएछ । फलतः यहाँको नाम कुम्भेश्वर शिवलिङ्ग र यो क्षेत्रको नाम कुम्भेश्वर भनिन थालिएछ । जनैपूर्णिमाका दिन कुम्भेश्वर मन्दिरले कुम्भेश्वर शिवलिङ्गलाई दुई हातले बोकेर तीनपटक मन्दिर परिक्रमा गराई नजिकको पोखरीमा रहेको खटमा वैदिक विधिपूर्वक आसन ग्रहण गराउँछन् ।

ललितपुरको उत्तर क्षेत्रमा रहेको कुम्भेश्वर मन्दिर इटाको गाह्रो, तामाको छानोमा सुनको मोलम्बा लगाइएको, चारैतिर ढोका भएको, तलापिच्छे चारैतिर झ्याल भएको, काष्ठ कलाकारिताले सजिएको, अत्यन्त आकर्षक र भव्य छ । मन्दिरको गर्भगृहमा आफैँ उदय भएका शिवलिङ्ग स्थापित गरिएको छ । त्यहाँ नित्य जलधारा, रुद्रीपाठ, आरती तथा पूजाहरू भैरहन्छन् । मन्दिरभित्र इशान कोणमा कुम्भ ऋषिबाट स्थापित अर्काे शिवलिङ्ग पनि छ । कुम्भेश्वर शिव मन्दिर परिसर पूर्वमा कैलाशक्षेत्र, कैलाशेश्वर शिवलिङ्ग र उमामहेश्वरको मूर्ति छ । नजिकै सानो पशुपतिको मन्दिर पनि छ । त्यस्तै आग्नेय कोणमा नीलसरस्वती, नीलकण्ठ र हरिद्वारक्षेत्र, गणेश, विश्वनाथका मन्दिरहरू पनि छन् । दक्षिणपट्टि उन्मत्त भैरव र शीतलादेवीको मन्दिर, नैऋत्यकोणमा बद्रीनाथ, केदारनाथ मन्दिरहरू छन् । पश्चिम दिशामा लक्ष्मीनारायणका मूर्तिहरू र बाहिरपट्टि ब्रह्माजीले स्नान गरेको ब्रह्मतीर्थ पोखरी छ । उत्तरपट्टि गौरीकुण्ड, गोसाईकुण्डको जल उम्रने कुण्ड र इशानपट्टि चारनारायणमन्दिर, कुन्तीतीर्थ आदि रहेका छन् ।

नेपाली मण्डप शैलीमा बनेको कुम्भेश्वरको आधुनिक मन्दिर जयस्थिति मल्लको पालामा विसं १४४० को दशकमा जयभीम नामका एक महाजनले आफ्नी पत्नीको मृत्युमा स्मृतिस्वरूपमा २ तले बनाएका हुन् । साबिकमा झिँगटीको छानो भएको त्यो २ तले मन्दिरमा पछि योगनरेन्द्र मल्लले ३ तला थप गरी ५ तला बनाएका हुन् । विसंं १९९० को महाभूकम्पमा यो मन्दिर पूरै ढलेको र पछि नयाँ निर्माण गरिएको हो । कुम्भेश्वर मन्दिर परिसरमा भक्तजनहरूको अपार भीड लागिरहन्छ । यहाँ ब्रतवन्ध, विवाहादि कार्यहरू, लक्षवर्तिका, भजनकीर्तन, कथा प्रवचन आदि भैरहन्छन् । यस क्षेत्रमा महामृत्युञ्जयी देवताका नामले चिनिने कुम्भेश्वर शिवप्रति भक्तजनहरूको विशेष चासो देखिन्छ ।

लतिपुरको कुम्भेश्वर शिव मन्दिर र रसुवाको गोसाईकुण्ड एक–अर्काका परिपूरक छन् । समुद्भूता त्रिशूलात्मा त्रिधारा गाढशोभना । तस्मात् त्रिशूलगङ्गेति समाख्याता सुरासुरै :।। त्रिशूलरोपणाच्छिद्रं गङ्गा तत्रापि चोद्भवा । ययौ गङ्गा सुखं रुद्रः परिश्रमं तदा जहौ ।। हिमवत खण्ड, नेपाल माहात्म्य रसुवा क्षेत्रमा पर्ने गोसाईकुण्ड नेपालको प्रसिद्ध देवस्थल हो । चर्चित त्रिशूली नदीको उद्गम स्थल गोसाईकुण्ड काठमाडौँबाट झण्डै एक सय ४० किमि उत्तर रसुवाको धुन्चे बजारबाट पूर्वदक्षिण लेकमा पर्दछ । झण्डै साढे चार हजार मिटरको उचाइमा रहेको यो क्षेत्रमा धेरै जलाशय, कुण्डहरू छन् ।

सत्ययुगमा देवता र दानवहरूका बीच वैरभाव थियो तर पनि गुमेका वस्तुहरू प्राप्ति गर्न आपसी मित्रता पनि राख्थे । क्षणिक सम्झौताका आधारमा समुद्रका गर्भमा रहेका हीरा, मोती, दिव्य रत्नहरूको खोजी कार्य एक्लै सम्भव थिएन । समुद्रमथन गरेर समुद्रबाट प्राप्त भएका विषयहरू आपसमा मिलेर बाँढेर लिने सम्झौता भएअनुसार देवता र दानवहरू समुद्रमन्थन गर्न लागे । समुद्रमन्थन गर्दै जाँदा कामधेनु गाई, कल्पवृक्ष, महालक्ष्मी एवं अमृततत्व समेत प्राप्त हुन थाल्यो ।

समुद्रमन्थनकै क्रममा संसारलाई दग्ध गर्ने कोलाहल, कालकूट विष पनि निस्क्यो । देवताहरूले महादेवलाई प्रार्थना गर्दा महादेव उपस्थित भएर कालकूटविष पान गर्नुभयो । पूरै निल्यो भने महादेवका हृदयमा भएका श्रीनारायणलाई गाह्रो पर्ला भनी भगवान शंकर ले आफ्नो घाँटीमै राख्नुभयो । विषको कारण उहाँको घाँटी शोभायमान नीलो त भयो तर नीलकण्ठ भगवानलाई विषको कारण छट्पटी भएकाले चिसोक्षेत्र कैलाशतर्फ जान लाग्दा बाटामा विश्राम गर्नुभयो । पानी पिएर मात्रै आफू अगाडि बढ्ने क्रममा आफ्नो आयुध त्रिशूललाई हिमालको चट्टानमा गाड्दा गङ्गाझैं नदीका तीनवटा धाराहरूको उत्पत्ति भयो र तीनतिर पानी बहन लाग्यो ।

त्रिशूल गाड्दा उत्पत्ति भएको पानी पिएर आफ्नो छट्पटीलाई केही शान्त पारेका शिवजी नजिकै एउटा जलकुण्डको पनि उदय भयो । शिवजीबाट उदय भएको जलले पूर्ण भएको ताल गोसाईकुण्डको नामले परिचित भयो । यही जलकुण्डबाट बगेकी नदीलाई त्रिशूलीनदी भनिन्छ । ‘गो’ भनेको इन्द्रिय हो । स्वामी भनेको मालिक हो । इन्द्रियलाई जित्न सक्ने श्रीशिव हुनुहुन्छ, जसलाई जितेन्द्रिय भनिन्छ । इन्द्रियहरूमाथि विजय प्राप्त गर्ने व्यक्ति महर्षि, महात्मा देवतुल्य हुन्छन् । इन्द्रियमाथि विजय पाएका शिवलाई गोस्वामी भन्ने क्रममा अपभ्रंश भई गोसाई हुन गयो । शिवबाट कुण्ड तयार भएकाले ‘गोसाईकुण्ड’ हुनपुग्यो । अनेकौँ कुण्डमध्ये गोसाईकुण्ड निकै रमणीय छ । आकारमा धेरै ठूलो नभए पनि गहिराइ धेरै छ । पूर्व–पश्चिम लाम्चो आकार भएको यो कुण्डमा डुबुल्की मार्दा शिवपार्वती प्रत्यक्ष दर्शन मिल्ने कुरा तीर्थयात्रीहरू अझै पनि बताउँछन् । केही चुच्चो परेर रहेको देखिने यो कुण्ड मूलतः गोलाकारकै छ । कञ्चनपानी दक्षिणतिर खस्छ । वरिपरिको वातावरण शान्त, शीतल र रमणीय छ । केही जाडो महसुस हुने यो क्षेत्रमा स्वासप्रस्वासको लागि अक्सिजन कमी भएको महसुस पनि हुनसक्छ । अग्ला हिमालयका काखमा रहेको गोसाईकुण्ड प्राकृतिक दृष्टिले निकै रमणीय छ । स्वयं शिवलाई अति प्यारो लागेको सुन्दर यो क्षेत्रमा शिवजी सदैव रहने प्रण गर्नुभयो, कैलाशतर्फ जान भुल्नु भयो भनिन्छ । दिव्य सय वर्षसम्म महादेव विराजमान् रहनुभएको यो कुण्डलाई ‘नीलकण्ठह्रद’ पनि भनिन्छ ।
ह्रदमध्ये ततो रुद्र : प्रविश्य चातिहर्षितः । अशयिष्ट सुखात्तत्र बहुशीतजलोत्तमे ।।
दिव्यवर्षशतं व्याप्य सुष्वाप च सुखं विभु : ।। उमामहेशयोर्मूर्ति ः प्रत्यक्ष्ँ तज्जले मुने ! ।। भुक्ति–मुक्तिप्रदा साक्षात् स्नातकेभ्यो ददाति तत् ।।  (नेपालमाहात्म्य, हिमवत्खण्ड)

दिव्य सय वर्षसम्म शिवजी विराजमान रहनुभएको यस कुण्डमा स्वयं पार्वतीले स्नान गरेर शिवसँग यहीँ विराजमान गर्ने निधो गर्नुभयो । शिव र शक्तिको संयुक्त साधना गर्न चाहनेले यस कुण्डमा स्नान गरी पितृहरूलाई तर्पणसमेत दिने गर्छन् । स्नान गर्दागर्दै कुण्डको बीच भागमा पहेँलो पिताम्बरधारी जटा–मुकुटयुक्त श्रीशिवको दर्शन मिल्छ । कुण्डको जल निकै चिसो छ र पनि ग्रीष्मऋतुमा गोसाईकुण्डमा डुबुल्की मार्न सकिन्छ । भुक्ति र मुक्ति दुबै चाहने साधकहरू कठोर तपस्या (परिश्रम) गर्दै यहाँ पुग्छन् । काठमाडौँको सुन्दरीजलबाट हिँडेर पनि त्यहाँ पुग्न सकिन्छ ।

काठमाडौँ–नुवाकोट–त्रिशूली हुँदै रसुवाको धुन्चेसम्म सवारी साधनमा गएर रातमा धुन्चे बास बसी भोलिपल्ट बिहान चन्दनबारी हुँदै गोसाईकुण्ड पुग्न सकिन्छ । तर पैदल हलुका हिँड्न चाहनेले एक दिन र आधा लगाएर कुण्डमा पुग्न बढी उत्तम हुन्छ । गोसाईकुण्डवरिपरि अरु पनि धेरै कुण्डहरू छन् । गणेशकुण्ड, नागकुण्ड, सरस्वतीकुण्ड, दूधकुण्ड आदि । सूर्यकुण्ड, भैरवकुण्ड अलिकमाथि रहेको छ । जेठ,आषाढ, श्रावणमास यहाँ जानका लागि उत्तम महिनाहरू हुन् । ऋषितर्पणी अर्थात् रक्षाबन्धन, जनैपूर्णिमामा यहाँ भव्य मेला लाग्छ । तीर्थयात्रीहरूको विशेष घुइँचो हुन्छ । जेठमास दशहराको समय पनि विशेष भीड लाग्छ । कुण्डको उत्तरतर्फ केही स–साना मन्दिरहरू छन् । शिवलिङ्गसहित देवदेवीका मूर्तिहरू पनि देखिन्छन् । भक्तहरू कुण्डस्नान पछि यहाँ दर्शन, रुद्रीपाठ आदि गर्ने गर्छन् । बाटामा गुम्बाहरूको समेत दृश्यावलोकन गर्दै हिमाली क्षेत्रको अनुपम र ताजा अनुभव बटुल्दै गोसाईकुण्डको यात्रा गर्न निकै रमणीय हुन्छ ।

ख) बङ्गलामुखी :- बङ्गलामुखीको स्वरूपः कुम्भेश्वर शिव मन्दिर परिसरमा सुनको सिंहासनमा बसेकी, तीन नेत्र भएकी, पीताम्बर धारण गर्ने, सुवर्णमय प्रकाशले सुन्दर देखिने, अर्धचन्द्राकार मुकुट धारण गरेकी, चम्पा फूलको माला लगाएकी, मुद्गरपाश हातमा लिएकी, सम्पूर्ण मानव जगतलाई मोहित पार्ने देवीको स्वरूप छ । उनलाई त्रिपुरासुन्दरी पनि भनिन्छ । त्रिपुरासुन्दरीको साधना गर्ने मन्त्र–ॐ क्लीँ त्रिपुरादेवी विद्महे कामेश्वरीँ धीमहि तन्नो क्लीँ ने प्रचोदयात् बङ्गलामुखी साधना गर्ने मन्त्र–
ॐ ह्रीँ क्लीँ बङ्गलामुखी सर्वदुष्टानँ वाचं मुखं पदं स्तम्भय जिह्वँ कीलय बुद्धिं नाशय ह्रीँ ॐ स्वाहा । यो मन्त्रको आशय मेरा शत्रुहरूबाट मलाई जोगाई रक्षा कवच् देऊ भन्ने हो । कमलँ छिन्नमस्तँ च मातङ्गीं सुरसुन्दरीम् । षोडशीं विजयँ भीमँ धूम्रँ च बङ्गलामुखीम् ।। सर्वसिद्धिप्रदँ सर्वविद्यामन्त्रविशोधिनीम् । एता दशमहाविद्याः सिद्धविद्याः प्रकीर्तिताः ।। श्रीमुण्डमालातन्त्रको महाविद्यास्तोत्रमा बङ्गलामुखीसमेत दशमहाविद्याका नामहरू वर्णन भएको पाइन्छ । मनोकामना पूरा गर्ने देवीका रूपमा चिनिने बङ्गलामुखीलाई सिद्धिदाताको रूपमा पुकारिन्छ । पिताम्बरा नामले समेत पीठको रूपमा चिनिने देवी दश महाविद्यामध्येकी आठौं शक्ति हुन् । बाबु दक्षको यज्ञमा जान्छु भन्दा महादेवले नजाऊ भनेपछि उनले आफ्नो दश महाशक्ति देखाउँदा आठौँ शक्तिको रूपमा बङ्गलामुखी भएको कुरा शास्त्रहरूमा वर्णित छ ।

सत्ययुगमा प्रलयका वखत घोर आँधी, तुफानले सर्वत्र अन्धकार हुँदा श्रीहरिले विश्वको रक्षा गर्ने क्रममा श्री त्रिपुरासुन्दरीको विशेष उपासना गरे । त्रिपुरासुन्दरी प्रकट भएर हरिद्राख्यसरोवरमा जलक्रीडा गर्न लाग्दा देवीका शरीरबाट उत्पन्न भएको पहेँलो तेजपुञ्ज संसारभरि फैलियो । त्यही तेजपुञ्जबाट बङ्गलामुखी प्रकट भई संसारलाई विनास गर्ने आँधी तुफान रोकिएको हो । गुरु वृहस्पतिका महाशक्तिका रूपमा चिनिएकी बङ्गलामुखीलाई तन्त्रशास्त्रमा आदिशक्तिका विभिन्न दश अवतारमध्ये कुर्मअवतार मानिएको छ । बङ्गलामुखीको प्राचीन मन्दिर कुम्भेश्वर मन्दिर परिसर ललितपुरमा रहेको छ । मन्दिरको गर्भगृहमा दैत्यहरूको जिब्रोलाई तानेको अवस्थाकी त्रिनेत्री देवीको मूर्ति छ । नागहरूद्वारा रक्षित ती देवीले पहँेलो बस्त्रधारण गरेकी छिन् । शिरमा चन्द्रमा, हातमा मुद्गल र वज्रपाश लिएकी ती देवीको मन्दिर परिसरमा कुम्भेश्वर ज्योतिर्लिङ्ग रहेको छ । सतीदेवीको मृगौला पतन भै उदय भएको यो ज्योतिर्लिङ्ग रहेको मन्दिर परिसरमा धेरै अन्य देवदेवीका मन्दिरहरू छन् ।

बङ्गलामुखीको मन्दिरभित्र रहेको सानो मन्दिर चाँदीले बनेको छ । गजुरमा सुनको जलप लगाइएको छ । नजिकै उन्मत्तभैरवको मन्दिर छ । नेवारजातिका कपाली समूहबाट नित्य तान्त्रिक विधिले पूजा हुने यो मन्दिर परिसरमा जहिले पनि दर्शनार्थीहरूको घुइँचो देखिन्छ । विवाह, नोकरी, व्यापार, अध्ययन, प्रेमलगायत अन्य आफ्ना मनोकामनाहरू पूरा गर्ने क्रममा सदा भक्तजनहरूको भीड लाग्ने देवीको यो मन्दिरमा विशेष बिहीबार बढी भीड लाग्ने गर्छ । नवकिशोरकिशोरीहरू समेतको बढी उपस्थिति देखिने यस मन्दिरमा नवरात्रिको पर्वमा र शनिबार अझै भीड देखिन्छ । कलियुगमा धर्म, अर्थ, काम र मोक्षजस्ता चार पुरुषार्थ नै प्राप्त गराउने यी देवी वैदिक साधनाभन्दा तान्त्रिक साधनाबाट छिटो खुसी हुन्छिन् भनिन्छ ।

ग) बज्रबाराही :- नवरात्रिमा विशेष उपासना गरिने देवी बाराहीको स्वरूप दुर्गा कवचमा बाराही महिषासना भनिएको छ । नेपालको विभिन्न स्थानहरूमा देवीको शक्ति स्वरूपमा बाराही पीठहरू छन् । ललितपुरकै चापागाउँ पूर्वपट्टि प्रसिद्ध बाराही देवी रहेकी छन् । बज्रबाराही नामले पुकारिने देवीलाई काठमाडौं उपत्यकामा व्याएका पशुहरूको पहिलो विगौती चढाउने चलन छ । शप्तरातिचण्डी तथा देवीभागवतमा बाराही देवीलाई आफ्ना दाँतले धर्ती उठाउने देवी तथा उग्र चक्रधारिणी भनिएको छ भने अग्निपुराणमा देवीस्वरूप चतुर्वाहु र महिषवाहिनी भनिएको छ । हेमाद्रिमा देवीको स्वरूप कृष्णवर्णा, मानिसको झैं लामो शरीर भएकी, छ हात भएकी देवीले सबैमा आफ्ना आयुधहरू लिएकी भनी वर्णन गरिएको छ ।

विसं १७२२ मा श्रीनिवास मल्लद्वारा बनाइएको भनिने यो मन्दिर नवौँ शताब्दीदेखि नै अस्तित्वमा आएको बुझिन्छ भने वि.सं २०१५ सालमा जीर्णोद्धार गरिएको सो मन्दिरको गर्भगृहस्थित देवीको मूर्ति चोरी हुँदै फेला पर्दै गरेको छ । बाराहीको वाहन राँगोको मूर्ति ढोकाअगाडि नै रहेको यो मन्दिरको पूर्वतर्फ ढोका छैन । नेपाली शैलीमा बनेको यो मन्दिर ढोकाका दुवैतिर सिंहका मूर्तिहरू छन् । अति कलात्मक देखिने मन्दिरका ढोकाहरूमा तामाले मोडी सुनको जलप लगाइएको छ । काष्ठकलाले आकर्षक देखिएको यो मन्दिरका तोरणहरूमा माहेश्वरी र इन्द्रायणीदेवीका मूर्तिहरू कुँदिएका छन् । साविकमा सिमेन्टछाना भएको देवीमन्दिरको छानो वि.सं २०५७ पछि तामाले बनेको हो । गजुरविनाको यो मन्दिरमा हालसम्म गजुर हाल्ने साइत भने जुरेको छैन ।

आयातकार वेदीमा रहेको मन्दिरको गर्भगृहमा गणेश, कुमार, भैरव, अष्टमातृकासहित प्राकृतिक शिलायुक्त बज्रबाराहीको मूर्ति रहेको छ । तान्त्रिक विधिद्वारा नेवार समुदायबाट नित्य पूजा हुने देविप्रति आम जनमानसको ठूलो श्रद्धा रहेको छ । घना जङ्गल, प्राकृतिक हराभरा क्षेत्र, स्वस्थ वातावरणको कारण पनि यो एउटा पर्यटकीय क्षेत्र एवं वनभोजको लागि आकर्षणको केन्द्र समेत भएको छ । विजयादशमी, कात्तिक कृष्णअष्टमी र चैत्र पूर्णिमामा विशेष पर्वपूजा हुने बज्रबाराही मन्दिरमा प्रायजसो शनिबारका दिन दर्शनार्थीहरूको घुइँचो लागि नै रहन्छ । काँडेभ्याकुरको थलोको रूपमा चिनिने बज्रबाराहीको जङ्गल अलि एकान्त स्थानमा रहेको छ । धार्मिक पर्यटनको समेत दृष्टिले मौलिकता बोकेका क्षेत्रहरू हामीकहाँ सर्वत्र छन् । आज इस्कनजस्ता धार्मिक संस्थाहरू संसारका २०० देशहरूमा छन् । उनीहरूले अन्तर्राष्ट्रिय ख्याती कमाएका छन् । धार्मिक पर्यटनबाटै पनि हामीले हाम्रो ख्याती वृद्धि गर्न सक्छौँ, मात्र चाहिएको छ जोस र जाँगर अनि सकारात्मक सोच ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया