Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालको यार्सागुम्बा सुनभन्दा बहुमूल्य

नेपालको यार्सागुम्बा सुनभन्दा बहुमूल्य


डा. सुमनकुमार रेग्मी
यौन तथा शक्तिवर्धक जडीबुटीका रूपमा यार्सागुम्बाको प्रयोग हुनेगरेको छ । छोटकरीमा यसलाई यार्सा भन्ने गरिन्छ । चिनियाँ भाषामा तुङचुङ हा छोउ भनिने यार्साको अर्थ जाडोमा किरा र गर्मीमा घाँस बनेर हिँड्ने किरा हो । चीनका तियान भन्ने वैज्ञानिकले दुई सय वर्ष पहिले शक्तिवर्धक प्रमाणित गरी यसको सेवन सुरु गरिएको थियो । त्यसपछि विश्वको महँगो जडीबुटी मानिने यार्साको खास बजार हङकङ र ताइवान बन्न पुग्यो । नेपाल, भुटान, र चीनका केही प्रान्तमा पाइने यो बनस्पतिजीव धनाढ्यहरूको सौखको सेवन बन्यो ।

राम्ररी सफा गरेर सुकाएका झण्डै चार हजारवटा यार्सा जोख्दा बल्ल एक किलो हुन्छ । यो आलु वा स्याउजत्रो ठूलो हुँदैन । धेरैजसो जमिनमा निकै सानो देखिने यार्सा एक किलो संकलन गर्न ७/८ जना मानिसलाई झण्डै १ महिना लाग्दछ । कसै–कसैले त महिनाभरमा दुई सयवटा पनि टिप्न सक्दैनन् । प्रतिगोटा दुई सय यार्साको एक किलो हुन्छ ।

यार्सा संकलनदेखि बेच्नयोग्य बनाउँदासम्मको पनि छुट्ठै प्रकृया हुन्छ । एक दिन सुकाएर ब्रसले खुर्किएर सफा गर्नुपर्दछ । कालो भएको यार्साको मोल आउँदैन । पहेँलो र सग्लो हुनुपर्दछ । सफा गरिएको यार्सा सुनौलो कीराजस्तो हुन्छ । त्यसैले धेरैले गाउँमा यसलाई कीरा भन्दछन् । जाडोमा कीरा र गर्मीमा वनस्पतिका रूपमा देखिने यो अचम्मको जडीबुटीको बाहिर निकासी २०५८ साल अघिसम्म प्रतिबन्ध थियो । निकासी खुला भएपछि यसको माग र मोल ह्वातै बढ्यो । यार्सा संकलनको यात्रा सजिलो भने हुँदैन । चिसो र धपेडीका कारण कति मानिस बिरामी पर्दछन् । उनिहरू रगत वान्ता गर्दछन्, त कतिले त ज्यानै गुमाएका छन् । यार्सा टिपेर पैसा कमाउन हिँडेका कतिको त बिरामी भएर उपचार गराउँदा धेरै पैसा खर्च हुने गर्दछ । यार्साको मूल्य बढेपछि यसले गाउँमा केही परिवर्तन ल्यायो । भारत र खाडीतिर काम गर्न जाने कति मानिसहरू यार्सा संकलनको लागि गाउँघरतिर बस्न थाले ।

नेपालको उतरी क्षेत्रसँग जोडिएका तिब्बती–चिनियाँहरूले यार्सागुम्बा खरीदमा चासो देखाउँदै आएका छन् । वर्षेनी करोडौँ रूपैयाँको यार्सा खरीदमा चिनियाँ व्यापारीले प्रतिनिधि पठाई खरीद गर्ने गर्दछन् । चीनको ल्हासा, डेन्दाङ, रियु, र अन्य क्षेत्रबाट व्यापारी नेपालमा संकलन हुने यार्सा खरीद गर्न सम्पर्क गर्दछन् । चीनमा यार्साको मूल्य घटेमा नेपाली जडीबुटी कम बिक्री हुनेगरेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेमा व्यापारीले दोब्बरभन्दा बढी नाफा कमाएका देखिन्छन् ।

नेपाली यार्सा हङकङ, सिंगापुर, ताइवान र तिब्बतमा अप्रत्यक्ष निकासी हुनेगरेको थियो । तर, पहिला तिब्बत बाटो भएर अवैध ढंगले यो जडीबुटी हङकङ पुग्ने गरेकोमा केही वर्षयता हङकङ सरकारले यसमा कडाइ गरेको छ भनिन्छ । हङकङ र सिंगापुरमा भन्दा तिब्बतमा अझ बढी मूल्य नेपाली यार्साले पाउने गरेका छन् । प्रतिकिलो कम्तीमा तीन लाखदेखि १२ लाख रूपैयाँदेखि नेपालको वडीबुटी बिक्री हुनेगरेको छ ।

नेपालको नागीडाँडा र अन्य क्षेत्रमामा यार्सा संकलन गर्ने गरिन्छ । प्रत्येक वर्ष हजारौँको संख्यामा यस्ता क्षेत्रमा यार्सा संकलन गर्न नेपालीहरू जाने गर्दछन् । स्थानीय बासिन्दा मात्र नभई अन्य जिल्लाका सर्वसाधारण र व्यापारिक कारोबार गर्नेहरूका लागि समेत आम्दानीको राम्रो स्रोत मानिने यार्साको अव्यवस्थित कारोबारले विभिन्न समस्या खडा भएको छ । कसैले त यार्सागुम्बाबाट कमाएको पैसाले होटलमा लगानी गरेको र काठमाडौँमा जग्गा पनि किनेका छन् ।

यस्ता क्षेत्रमा यार्सा खरीद गर्न पश्चिम पोखरा, सुर्खेत, र अन्य क्षेत्रबाट व्यापारी आउने–जाने गर्दछन् । कुनै वर्ष त चिनियाँ व्यापारी पनि आउँदैनन् । नेपालबाट यार्साको चीन निकासीको तथ्याङ्क राखिएको छैन् । नेपालको सीमावर्ती गाउँपालिकाबाट यार्सा चीन निकासी हुनेगरेको छ । भन्सार कार्यालयले यार्सा निकासीको रेखदेख गर्नुपर्ने देखिन्छ । राजस्व छलेर हुने निकासी बढेको बताइन्छ । जिल्ला–जिल्लाबाट वैधानिकभन्दा अवैध ढंगले बढी यार्सा निकासी तथा बिक्री हुने गर्दछ ।

किमाथांकासहित अरु नाकाहरू प्रत्येकबाट दुई करोड रूपैयाँ जतिका रकम चीनबाट यार्सा खरीदका लागि आउने गरेको देखिन्छ । कुनै वर्ष आर्थिक मन्दीका कारण यार्साको मूल्य नपाइने देखिएको छ । संखुवासभासहित अरु यार्सा पाइने जिल्लामा वर्षेनी करिब दुई हजार किलोसम्म यार्सा संकलन हुनेगरेको थियो । जिल्ला वन कार्यालयले १० हजार रूपैयाँ राजस्व लिएर एक किलो यार्सा संकलन र जिल्ला निकासा अनुमति दिने गर्दछ । यसमा जिविसले थप दुई हजार पाँच सय रूपैयाँ जिल्ला निकासा कर लिने गर्दछ । यसरी संकलित यार्सा जिल्लाबाहिर जाँदा जम्मा १२ हजार पाँच सय रूपैयाँ जिल्ला निकासा कर तोकिएको देखिन्छ ।

धेरै कमाउने आशमा घरका सबै काम छाडी यार्सा टिप्न जाने गरेका व्यक्तिहरूले त कुनै वर्ष उचित मूल्य नपाउँदा ठूलो नोक्सानी बेहोर्न पर्दछ । दश नङ्ग्रा खियाएर यार्सा संकलन गर्ने गरिन्छ । कुनै वर्ष त यार्सा टिप्ने क्षेत्रमा नै व्यापारीको हानथाप पर्ने गर्दछ । प्रायः बिचौलिया व्यापारीहरूले सिजनअगाडि स्थानीय जनतालाई पेश्कीस्वरूप पैसा, चामल, दाल पहिले नै दिई फकाएर आफ्नो कब्जामा यार्सा लिने गरेका छन् । यस्तो प्रवृत्तिका कारण सोझा स्थानीय बासिन्दा व्यापारीहरूबाट ठगिने गरिएका छन् । प्रतिगोटा स्थानीयबाट दुई सय रूपैयाँमा यार्सा खरीदबिक्री हुने भए पनि अन्तर्राष्ट्रिय बजारसम्म पुग्दा यसको मूल्य प्रतिकिलो दश लाख रूपैयाँ पर्ने गरेको छ ।

यार्सा व्यापारीहरूले बाटोमा लुटिने डरले हेलिकप्टरबाट जिल्लाका यार्सा लाने गरेका छन् । व्यापारीहरूले ढुवानीका लागि मात्रै माउन्टेन एयर हेलिकप्टरलाई लाखौं तिरेका देखिन्छन् । यार्सा संकलन गर्न गएका प्रत्येकले तीन सय ५० वटा यार्सा संकलन गर्ने गरेका छन् । यसको मूल्य ८० हजार रूपैयाँ हुन्छ । २०५८ सालअघि प्रतिकेजी पाँच सयदेखि एक हजार रूपैयाँमा बिक्री हुन्थ्यो । तर, २०५८ पछि त यसको मूल्य प्रतिकिलोको लाखभन्दा बढी हुन गयो । पछिपछि त गाउँमै ८/१० लाखमा कारोबार हुनगयो ।

संखुवासभा क्षेत्रमा अघिल्ला वर्षमा अव्यवस्थितरूपमा यार्सा संकलन भएका कारण ६० प्रतिशतले यार्सा मासिएको देखिन्छ । यार्सा हिमरेखाको आसपासमा वा १२ सय मिटरसम्म पाइने भए पनि यस क्षेत्रमा पहिले यार्सा पाइएको तर पछिल्ला वर्षमा यार्सा पाइएको छैन । हिमालय क्षेत्रका छेउछाउका समथर फाँट र भीरहरू यार्साविना रित्ता हुँदै गएका छन् । यार्सा संकलनमा कुटो–कोदालोको प्रयोग भएमा यार्सा संकलन गरेमा यार्सा मासिने गरिएको देखिन्छ ।

विशेषगरी यार्सा एक पटक निकालिए पनि आउने वर्ष सोही स्थानमा यार्सा पाइने गर्दछ तर झारको नाश भए सो स्थानमा यार्सा पाइँदैन । यार्साको बढी माग र मूल्य बढी पाइने भएको तर संकलकले जथाभावि संकलन गरेकाले यार्सा कुनै कुनै जिल्लामा मासिसकेको देखिन्छ । कानुनीरूपमा एक जिल्लामा एक वर्षमा कम्तीमा ६५ किलोसम्म यार्सा संकलन भएको देखिन्छ । अवैध तरिकाले यार्सा संकलन गर्दा जिल्ला–जिल्लामा ठूलो परिमाणमा घाटा बेहोर्नु परेको छ । तारले बाँधेर र सिन्का राखेर जोडिएका टुक्रे यार्सासमेत हङकङको बजारमा पाइने बताइएको छ । यस्तो यार्सा खाएर बिरामी बढेपछि त्यहाँका पसलहरूबाट नमुना लिई गुणस्तर परीक्षण गर्दा त्यस्तो भएको बताइएको थियो । यसको थप जानकारी चाहिएमा हङकङ–चाइना एसिया बिजनेश फोरमसँग सम्पर्क गर्न सकिन्छ ।

हिमाली जडीबुटी पनि एक हजारभन्दा कम उचाइमा पाएमा खान नमिल्ने पुष्टि भइसकेको छ । कुनै वर्ष त नेपालको कुनै जिल्लाका केही तल्ला भागमा यार्सा पाइए पनि स्थानीय निकायले बेच्न रोक लगाएको थियो । यार्सा पाउने नेपालका जिल्लाहरूमा दार्चुला, डोल्पा, म्याग्दी, मुस्ताङ, जुम्ला, मुगु, बझाङ, रसुवा, गोरखा, रुकुम, र लमजुङ मुख्य छन् । डोल्पा जिल्लाबाट मात्रै नेपालमा ५० प्रतिशतभन्दा बढी यार्सा संकलन गरिन्छ । म्याग्दी जिल्लाका बस्तीमा संकलन गरिने यार्सा काठमाडौ हुँदै सिन्धुपाल्चोकको तातोपानी हुँदै र मुस्ताङमा संकलन गरिने यार्सा लोमान्थाङ नाका हुँदै तिब्बततर्फ निकासी हुने गरेको बताइन्छ । प्रतेक वर्ष यार्सा वैशाखदेखि साउनसम्म संकलन गर्ने गरिन्छ । मौसम परिवर्तनको असर यार्सा उत्पादनमा परेको छ । पछिल्ला वर्षमा यार्साको उत्पादन आधा घट्दै गएको छ । हिमाली जिल्लाहरूमा गुणस्तरीय यार्सा पाइन छाडेको छ ।

नेपाली जडीबुटीको अन्तर्राष्ट्रिय बजार विस्तार नहुँदा भारतलाई मात्र निकासी बिक्री गर्नैपर्ने भएको छ । त्यसैले यी वस्तुका निकासी मूल्य एकतर्फी तोकिने गरेको छ । निकासी मूल्यमा प्रतिस्पर्धा छैन । यसले भारतीय आयतकर्ताले आफूअनुकूल मूल्य तोकने गरिएको छ । जडीबुटीको बजार युरोप–अमेरीकामा पनि विस्तार गरे मात्र जडीबुटी संकलनकर्ता र उत्पादनकर्ताले स्तरीय निकासी आम्दानी पाउँनेछन् । तर, अन्तर्राष्ट्रिय बजारमा पु-याउन जडीबुटी प्रशोधन, संकलन र उत्पादन गुणस्तरीय हुनुपर्दछ । नेपालमा जडीबुटीसम्बन्धी प्राविधिक तालिम, उपकरण र प्रविधिमा कमी देखिन्छ ।

नेपालभित्र यसको प्रयोग गर्ने खालका उद्योग स्थापना भए जडीबुटी संकलक–उत्पादकहरूलाई फाइदा पुग्ने देखिन्छ । नेपाली जडीबुटी स्वदेशभित्र १५ प्रतिशत मात्र खपत हुने अनुमान छ । सरकारको फितलो नीतिका कारण यस क्षेत्रको प्रचुर उपयोग हुन सकेको देखिँदैन । कुन जडीबुटी कहाँ, कति, कस–कसले संकलन–उपयोग गर्छ, त्यसको अभिलेख छैन ।

नेपाली जडीबुटीको उत्पादनदेखि निकासीसम्म बजार विस्तार गर्न स्पष्ट नीति बनाई कार्ययोजना बनाउनु पर्ने देखिन्छ । नेपालको व्यापारघाटा नेपाली निकासी वस्तुका अधिकतम उपयोग गरी अधिकतम निकासी मूल्य प्राप्त गरी कम गर्न सकिन्छ । नेपालका विभिन्न जिल्लाहरूमा जडीबुटी संकलन–खेती गरिन्छ । यसको उदाहरणका रूपमा पश्चिम नेपालमा पाइने जडीबुटी संकलन गरी निकासी गर्न गैरकाष्ठ वन्यस्रोत व्यवस्थापन सहकारी संस्थासहित अरु निकाय तथा व्यक्तिहरूले कार्य गर्दै आएका छन् । हरेक विकास क्षेत्रबाट कति जडीबुटी संकलन–ओसारपसार हुन्छ, त्यसको अभिलेख राखिनु पर्दछ । नेपालीलाई यस क्षेत्रमा आत्मनिर्भर बनाउन जडीबुटी स्वदेशमा सदुपयोग गरी वस्तु उत्पादन–उपयोग गर्नु जरुरी छ ।

सरकारले नीतिगतरूपमा व्यवस्थित नगरेका कारण राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्नेभन्दा केही सीमित व्यक्तिहरूको मात्र आम्दानीको स्रोत बन्ने गरेको देखिन्छ । त्यसैले हिमालको मोतिलाई जतिसक्दो बजार प्रवर्द्धन गर्न र यसको उत्पादन र संकलन बढाउनु जरुरी देखिन्छ । यो जडीबुटीको बारेमा अहिलेसम्म सरकारको नीतिसमेत स्पष्ट नभएका कारण बहुमूल्य हुँदाहुँदै पनि कारोबार पारदर्शी बन्न सकिरहेको छैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया