Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली चलचित्रको भविष्य कतातिर ?

नेपाली चलचित्रको भविष्य कतातिर ?


लक्ष्मण सिटौला
हामी कहाँ चुकिरहेका छौँ ? बलिदानीपूर्ण कथा र वीरत्वको गाथाले भरिएको आजको नेपाली समाजमा चलचित्रका लागि कुनै काल्पनिक कथाको तानाबाना बुनिरहनु जरुरी थिएन र छैन । वास्तवमा नेपालमा समय समयमा भएका ऐतिहासिक परिवर्तनका मूल मुद्दा नै जनताले देखेका सुदूर समृद्धिको सपना नै थियो । आजको दिनमा गणतन्त्रको लय जनआवाजसँग कति मिलिरहेको छ र जनअपेक्षाको मूल मुद्दाले किनारा भेट्न सकिरहेको छ कि छैन भन्ने कुरा नै अन्नयोलमा परिरहेको छ । साहित्य अथव चलचित्रलाई कुनै पनि समाजको दर्पण अर्थात् ऐना भन्ने गरिन्छ । तर, नेपाली चलचित्रले नेपाली समाजको यथार्थ धरातल बोकेर हिँड्न सकिरहेको अवस्था छैन । हामीले आजसम्म चलचित्रलार्ई केवल मनोरञ्जनको साधन मात्रै सम्झिरह्यौँ । आज विश्वमा चलचित्रको विषयगत विधामा नै परिवर्तन आइरहेको छ । तर, नेपाली सिनेमा जगत उही पुरानै शैलीमा हिरोहिरोनी र भिलेन जन्माउने मुद्दा बोकेर हिँडिरहेको छ ।

चलचित्रमा प्रेम जातभात छुवाछूतका मुद्दाहरू अब नबिक्ने विषय भैसकेका छन् । ती विषयवस्तुका प्रस्ताव र प्रस्तुतिले अब दर्शकलाई छुँदैन । त्यसैले पनि अब नेपाली चलचित्रले कथा भन्ने तरीकामा आमूल परिवर्तन ल्याउन सक्नुपर्छ अनि मात्रै दर्शक हलमा तानिन सक्छन् । इन्टरनेटको बाहुल्यताले संसार यति साँगुरो भैसकेको छ कि आज दुनियाँको कुन कुनामा के भैरहेको छ भन्ने कुरा एक सेकेन्डमा नै थाहा हुन्छ । अहिले सबैका हात हातमा प्रविधिको पहुँच छ । सिनेमाको सुरुको दृश्य हेर्दा अन्तिम दृश्यको प्लट थाहा भैसकेको हुन्छ । दर्शक यति चलाख भैसकेका छन् कि तपाईं कहीँ कतै छल्न र ढाँट्न सक्नुनै हुन्न ।

अहिलेका दर्शकलाई प्रेम र रोमान्सको विषय नै बुढो पुरानो लाग्न थालिसकेको छ । नायक नायिकाको गहिरो प्रेम र संवेदनशील डायलग डेलिभरीले प्रभाव नपार्ने भैसकेको छ । प्रेमको विषय कहिले पनि पुरानो हुन नपर्ने हो तर अहिले प्रविधिको कारण युवायुवती वयस्क नहुँदै मोबाइलमा नीलो चलचित्र हेर्न थाल्छन् । यस्तो आदतले गर्दा प्रेमको आदरणीयता नै मरिसकेको हुन्छ । अनि त्यही युवाहरू हलमा सिनेमा हेर्न जाँदा प्रेम र रोमान्सको विषय कुनै नौलो लाग्दैन तर हामी नेपाली सिनेकर्मीहरू यो विषयविनाको चलचित्र नै बन्दैन भन्ने भ्रमणबाट मुक्त हुन सकिरहेका छैनौँ । मानिसहरूमा संवेदनशीलता मर्दै गएको छ ।

चलचित्र प्रविधि र कथाको योग हो : सिनेमा प्रविधि र कथाको संयोग हो । पुराना चलचित्रमा प्रविधि पुरानो भए पनि कथाका विषयवस्तु गम्भीर लाग्थे । मानिसहरूका बिचारहरूलार्ई आधुनिकताले बलात्कार गरिसकेको थिएन । प्रेम, रोमान्स, फाइट ,गीत र बिछोडका सामान्य दृश्यले दर्शकलाई रोमाञ्चित बनाउँथ्यो । त्यतिबेला नायिकाले कुर्कुचा देखाउँदा पनि ग्ल्यामर्स हुन्थ्यो । अहिले नायिका नाङ्गो हुँदा पनि ग्ल्यामर्स हुँदैन ।

ग्ल्यामर्सको परिभाषा नै बदलिसकेको छ किनकी मानिसहरूको सोचाइ चिन्तन व्यवहार र प्रयोगमा व्यापक परिवर्तन आइसकेको छ । प्रेम गर्नु पाप हो भन्ने नेपाली समाजमा अहिले बलात्कारजस्ता जघन्य अपराधका मुद्दा नै सामान्य भैसकेको छ । नेपालमा बलात्कारका घटना बढ्नुमा प्रविधिको पहुँच नै मुख्य हो । सहरको कुरा छोडौँ गाउँघरमा घास काट्न डोको नाम्लो बोकेर सिमखेत झरेकी सुन्तली हातमा भएको एन्ड्रोइड मोबाइलमा नीलो चलचित्र हेर्छिन्, रोमान्स गर्न सिक्छिन् र १२ वर्षमा गर्भवती हुन्छिन् । प्रधानमन्त्री स्वयंले १२ वर्षकी गर्भवती नानीको हेलिकप्टरबाट उद्धार गरेको कुरा त अस्ति भर्खरैको हो ।

अहिले प्रायः सबैको हातमा मोबाइल र इन्टरनेट छ । अहिले मानिसलार्ई वास्तविक समाज होइन मोबाइलभित्रको समाज भए पुग्छ । यस्तै प्रविधिमा हुर्केका मानिसहरूलार्ई सिनेमाका दृश्यले छुँदैन । रगतको एक थोपा देख्दा आत्तिने मानिसलाई गोली वा तरबारले ढलेको मानिस देख्दा अब सामान्य लाग्ने भयो । १२ वर्षदेखि मोबाइलमा नीलो चलचित्र हेरेर हुर्केका दर्शकलाई प्रेम रोमान्स र विछोडका दृश्यले अब छुनेवाला छैन । त्यसैले पनि अब चलचित्रको विषयवस्तु र प्रस्तुतिमा व्यापक परिवर्तन ल्याउनु जरुरी छ ।

समाज कहिले पनि पछाडि फर्किँदैन । ऊ अतीत सम्झिन्छ मात्रै । ऊ त्यही अतीतमा हिँड्न सक्तैन किनकी ऊ परिवर्तनलार्ई स्वीकार्दै अगाडि बढिरहेको हुन्छ । सत्यजित रेलार्ई हिन्दी सिनेमाका उन्नायक मानिन्छ । पाथेर पाञ्चालीले उठाएको विषयवस्तु अहिले पनि हरेक समाजको बिम्ब हो । समाज फेरिए पनि समाजको कथा फेरिन समय लाग्छ । मात्रै कुरा रह्यो आफूलाई कतिसम्म युगको सापेक्षतामा परिवर्तन गराउने भन्ने विषय । नेपाली चलचित्रमा पनि नेपाली आम दर्शक परिवर्तनको स्वाद लिन चाहन्छ । कुनैबेला ‘चोलीकी पिछे क्याहे’ भन्ने हिन्दी गीतले दर्शक तान्थ्यो भने अब ती कुराहरूले दर्शकलाई छुँदैन ।

चलचित्र निर्माणले लगभग दुई सय वर्षको इतिहास बोकेको यो विश्वले अब यस क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ र प्रविधिले पनि व्यापक फड्को मारिसकेको छ । कुनैबेला ध्वनि र कलर प्रयोगले पनि चलचित्रमा क्रान्तिकारी परिवर्तन आएको सम्झिने जमाना थियो । यस्तै विविध परिवर्तन हुँदै विश्वको चलचित्र प्रविधि आजको अत्याधुनिक प्रविधिसम्म आइपुग्दा यसमा थप अझै परिवर्तनका सम्भावनाहरू भने रहिरहन्छ । नेपाली चलचित्रको इतिहास भने त्यति लामो छैन । हामी विश्वमा पुरानो भैसकेको प्रविधिलार्ई यहाँ ल्याउदा आधुनिक मान्छौँ । चलचित्रमा प्रविधि र कथाले उठान गरेका विषयवस्तु नै पुरानो हुन सक्छन् । पुराना समयका इतिहासका अवयवहरूलाई पनि चलचित्रका माध्यमबाट देखाउँदा यो थप रोमाञ्चक हुन सक्छ ।

जातीयताको गन्धले रुमल्लिँदै छ नेपाली चलचित्र : चलचित्रले सामाजिक कथा बोकेर हिँड्ने हुनाले यो राजनीतिसँग अन्योन्याश्रित सम्बन्ध राख्छ । अहिले जातभात छुवाछूत सामान्य हुँदै गए पनि नेपाली राजनीतिमा वर्गीय चिन्तन हाबी हुँदै गएको छ । नेपाली समाज राजनीतिबाट प्रभावित छ । समाजमा राजनीतिक प्रभाव र वर्गीय लेपन सबैजसो विकासोन्मुख राष्ट्रहरूको सामाजिक रोग नै हो । खास गरेर दक्षिणपूर्वी देशहरूमा यो अझैसम्म जिवित छ। नेपाली सिनेमाले हाल आएर अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरे पनि सिनेमाको कथाले भन्नुपर्ने विषयवस्तुमा भने नवीनता आउन सकिरहेको छैन ।

नेपाली समाज जहिले पनि राजनीतिबाट प्रभावित छ : समाज परिवर्तनका लागि हो राजनीति तर हाम्रो राजनीतिले वर्गीय धार छोडेको छैन । जातीय धार छोडेको छैन । नेपाली समाजमा जातीय राजनीतिको प्रभाव इतिहासदेखि नै चलिरहेको छ । त्यसको प्रभाव समाजको हरेक तह र तप्कामा पर्छ नै । नेपाली सिनेमामा पनि वर्गीय, जातीय अवशेष जिवित छ । अहिले चलचित्रमा नायक नायिका कुन जातको हो भनेर सोधपुछ हुन थालेको छ । मङ्गोल जातको हिरो हो भने बाहुनले नाक खुम्च्याउने र बाहुन जातको कलाकार छन् भने मङ्गोल जातिहरूले नाक खुम्च्याउने परम्परा बसेको छ । नुमाफुङको बयान बाहुन क्षेत्रीले गर्दैनन् मङ्गोलहरूले गर्छन् । आ–आफ्ना भाषा र जातिले बनाएको वा खेलेको चलचित्रका पछि लागेको छ आजको नेपाली समाज ।

खास गरेर अहिले नेपाली फिल्ममा सुस्तता आउनुमा यो पनि एउटा प्रमुख कारण हो । नेपाली राजनीति जसरी जात र वर्गीय लेप बोकेर हिँडिरहेको छ । त्यसैगरी नेपाली सिनेमा पनि वर्गीय लेपले प्रभावित छ । भनिन्छ, कलाकारको कुनै जातभात र देश हुँदैन तर यो भनाइ मात्रै हो । गराइ र भनाइमा एकरूपता नआउनु हाम्रो संस्कार बनिरहेको छ । मानिसले मानिस खोज्दैन उसले आफ्नो जात र सहगोत्री खोज्छ र रोज्छ । यो जातीय चिन्तन मानवजाति रहेसम्म बाँचिरहने छ । यसबाट हरेक युग प्रभावित भैरहेको छ । भाषा र संस्कृति आ–आफ्ना होलान् । बिचार र चिन्तन आफ्ना आफ्ना होलान् । तर, सिर्जना र कला मान्छेले गरेको हो यसमा वर्गीय लेप लगाउनु हुँदैन भन्ने कुरामा समाज नै सहमतिमा आउनुपर्छ ।

नेपाली चलचित्र निर्माण गर्नेहरूले नेपालीहरूको बाहुल्यता रहेकोे देश हङकङ, लन्डन मलेसिया तथा खाडी मुलुकहरूमा प्रदर्सन गर्न लिएर जाने प्रचलन छ । स्वदेशबाट लगानी उठाउन नसकेका कतिपय नेपाली चलचित्रले विदेशबाट प्रशस्त आम्दानी पनि गरिरहेका थिए । केही वर्षदेखि यता यसमा पनि वर्गीय भाषिक, क्षेत्रीय र जातीय लेप लाग्न थाल्यो । नेपालीले बनाएको फिल्म नभनेर कुन जातले बनाएको चलचित्र भनेर ट्यागिङ गर्न थालियो ।
अहिले विदेशमा नेपाली चलचित्र लिएर जाने र प्रदर्शन गर्ने परम्परा कम भएको छ । केही वर्षदेखि यता हाँस्यव्यङ्ग्य विधामा बनेका नेपाली चलचित्रले मात्रै लगानीसम्म उठाउन सफल भएका छन् । हाँस्यव्यङ्ग्यइतरका प्रायः सबै चलचित्र सुपर फ्लप भैरहेका छन् । यदि यस्तै अवस्था रहिरहने हो भने नेपाली चलचित्र उद्योग नै बन्द हुने अवस्थामा पुग्न सक्छ ।

भारतीय चलचित्र बहिस्कार गर्नुपर्छ : यदि नेपाली चलचित्र उद्योगलार्ई जिवित राख्ने हो भने भारतीय सिनेमा आयात र प्रदर्शनमा रोक लगाउनुपर्छ । नेपाली सिनेमा प्रदर्शन गर्न नेपाली हलमालिकहरू नै हिच्किचाउँछन् । इन्डियन चलचित्र पाएसम्म नेपालका हलधनीहरू नेपाली चलचित्रलार्ई आफ्नो हलमा प्रवेश दिँदैनन् । चलचित्रमा लगानी गर्नु भनेको सिधै जुवा खेल्नुसरह भएको छ । जुवामा बरु जितिने सम्भावना त रहन्छ । चलचित्र बनाउनुभन्दा बनेको चलचित्रलार्ई हलसम्म लैजानु झन् गाह्रो छ । चलचित्र वितरक र हलमालिकसम्म पुग्न धेरै पापड पेल्नुपर्ने अवस्था सिर्जना हुन्छ ।

भारतीय चलचित्रले सिधै स्थान पाउने तर नेपाली निर्माण टिम खप्परमा हात राखेर बस्नुपर्ने अवस्थाको अन्त्य हुने संकेत छैन । राज्यले नेपाली चलचित्र उद्योगलार्ई कहिले पनि सहयोग गरेन भन्ने व्यापक जनगुनासो रहिआएको छ । हाम्रो नेपाली भाषामा निर्माण भएको कुनै पनि चलचित्र भारतमा प्रदर्शन अनुमति छैन । तर, भारतमा बनेका अधिकांश भारतीय चलचित्र नेपालीले हेर्नुपर्ने बाध्यता किन ? एउटा सामान्य इन्डियन चलचित्रले नेपालबाट करोडौँ रूपैयाँ लिएर जान्छ । नेपालमा अब कि भारतीय चलचित्र नै बन्द गर्नुपर्छ कि भारतीय चलचित्र आयातकर्तालार्ई पाँच सय प्रतिशत भन्सार महसुलमा वृद्धि गर्नुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया