काठमाडौं । संसदीय र प्रदेशस्तरीय निर्वाचनका लागि सबै दलले आ–आफ्ना उम्मेदवार जनताको अगाडि उभ्याउने क्रम जारी छ । देशभर दलगत पार्टीहरूले संसदीय तथा प्रदेशस्तरीय जनप्रतिनिधि छान्नका लागि उभ्याइएका उम्मेदवारको अनुहार प्राय सबै देहोरिएका नै छन् । यता स्वतन्त्र तथा ससाना दलहरूले आफ्नै उम्मेदवार तयार गरिरहेका छन् । मंसिर ४ मा आउने निर्वाचन सरकार चलाउने संसदीय निर्वाचन हो । निर्वाचनबाट निर्माण हुने सरकार देश र जनताको सबैभन्दा नजिकको आफ्नै सरकार हो ।
निर्वाचित भएर आउने उम्मेदवार केन्द्रीयस्तरका छन् तर मताधिकार स्थानीयस्तरका नागरिकहरूको छ । मतदान गरी प्रतिनिधि चुन्ने जनता पनि स्थानीय नै हुन् । अहिले उम्मेदवारका स्वार्थभन्दा पनि स्थानीयहरूको स्वार्थ स्थानीयस्तरको विकास र समृद्धिसँग जोडिएको छ । मतदाताको स्वार्थ स्थानीय छन् । सबै तह र तप्काका स्थानीयताको संयोजनले नै स्थानीय तहको विकास सम्भव हुन्छ । यो स्थानीयताको संयोजनबाट जुन उम्मेदवारलाई मतदानद्वारा छनोट गरिन्छ, त्यही उम्मेदवार नै स्थानीय जनताको रोजाइमा पर्नेछ ।
मतदान नै स्थानीय जनताको भाग्य र भविष्य निर्माण गर्ने आधार हो । यसलाई ध्यान दिइएन, यसको दुरूपयोग भएमा, कुनै लहडमा अमूल्य मतदान खेर फालेमा स्थानीय तहको भविष्य अन्धकार हुन पुग्छ । यसको दूरदर्शिताको बोध मतदान गर्नुअघि नै मतदाताहरूमा हुन जरुरी छ । निर्वाचनमार्फत स्थानीय जनताको हेक्का राख्न आवश्यक हुन्छ । जनताका भईपरी आउने काम र समस्याहरूको समाधानका लागि निरन्तर खट्नसक्ने उम्मेदवार नै जनताको रोजाइमा पर्नु पर्छ, जनताले रोज्नु पर्छ ।
अहिलेको संसदीय तथा प्रदेशस्तरीयस्तरमा हाजिर भएका उम्मेदवार स्थानीयहरूबाट अपरिचित छैनन् । सबै सबैसँग परिचित छन् । उनीहरूको आनीबानी, स्वभाव, चरित्र, हैसियत, सेवा र सहयोगबाट जनता चिरपरिचित छन् । उनीहरूले आजसम्म गरेका काम, गराइको शैली र सहयोग जनताबीच छर्ललङ्ग छ । तसर्थ हाजिर भएका उम्मेदवारहरूमध्ये जनस्तरमा काम लाग्ने उम्मेदवार जनताले छनोट गर्ने अवसर आएको छ । यो अवसरलाई स्थानीयस्तरको दीर्घकालीन भविष्य निर्माणमा लगाउन जनता जागरुक हुन आवश्यक छ ।
आवधिक चुनाव पाँच/पाँच वर्षमा आउँछ यो पनि आगामी पाँच वर्षका लागि हो । पाँच वर्ष एक सिंगो आवधिक विकास निर्माणको चरण हो । काम गर्नेका लागि उदाहरणीय काम गरेर देखाउन सकिने एक लामो समयावधि पनि हो । यो कालखण्डमा जनताको भाग्य र भविष्य निर्माण गर्न सकिने आधारहरू पनि तयार पार्न सकिन्छ । सक्ने वातावरण बन्छ । तर बनाउने चेष्टा मात्र नगरिएको हो ।
तसर्थ जनताका आवश्यकता र उपलब्ध स्रोतसाधनको समुचित उपयोग गर्नेसक्ने उम्मेदवार जनताको नजरमा पर्नुपर्छ । राजनीतिक दलले स्थानीय जनताको घर–आँगनमा सिंहदरबार पु-याइदिएको बताइसकेका छन् वास्तवमा घर–आँगनमा सिंहदरबार पुग्यो या पुगेन परीक्षण जनप्रनिनिधिले गर्नुपर्छ । गाउँमा गएका सिंहदरबारले जनअपेक्षा पूरा गर्न सके वा सकेनन् सुपरीवेक्षणका लागि इमानदार जनप्रतिनिधि छनोट गर्नुपर्छ । इमान्दार, समझदार, जिम्मेवारजस्ता कसीले जनप्रतिनिधि मापन गर्न सक्नु पर्दछ ।
स्थानीय जनताको घरदैलोमा जनमुखी शासन व्यवस्था लिएर जाने असल प्रतिनिधिको आवश्यकता छ । असल प्रतिनिधि आगामी निर्वाचनमा स्थानीय जनताले चयन गर्ने जनताको सच्चा प्रतिनिधि हो । यस सुवर्ण मौका आएको समयमा जनताले जनभलाइकै लागि सोच्न भुल्नु हुँदैन । समयसापेक्ष स्थानीय चासो र जनभावना कदर हुन जरुरी हुन्छ । त्यसलाई कुन हिसाबले सम्बोधन भइरहेको छ, उम्मेदवारबाट यसमा जनता चनाखो बन्नुपर्छ । उम्मेदवारले उठाएका मुद्दाहरू समयसापेक्ष छन छैनन्, सम्भव छ/छैनजस्ता विषयमा पनि जनताले ध्यान पु-याउनु पर्छ ।
अधिकांश उम्मेदवार जनताको सेवा गरिरहेका छौँ र पुनः सेवाका लागि तयार छौँ भनी प्रतिस्पर्धीका रूपमा आफूहरूलाई जनताका सामु उभ्याएर जनमत माग्दै हिँडिरहेका छन् । तिनलाई चिनेर हाजिर भएका उम्मेदवारमध्येबाट सापेक्ष असल उम्मेदवार रोज्नुपर्छ । असल उम्मेदवारले जनतालाई खोज्नु पर्दैन जनता उम्मेदवार खोजी–खोजी आउँछन् ।
आगामी मंसिर ४ गतेको निर्वाचन जनताले विवेक प्रयोग गर्ने समय हो, वास्तवमा विवेककै खाँचो खड्किरहेको छ । यो विवेक जनताका बेलैमा आओस् र यसले योग्य उम्मेदवार छनोट गर्न जनतालाई मार्गदर्शन देओस् । जनता झुटा र फजुल योजनामा नबगुन् । मीठो खाना र जागिर तथा आर्थिक आयको आश्वासनमा नभुलून् ।
जनताको अपेक्षा, भावना र मर्मको रक्षाका लागि उम्मेदवारमा जनमतको कदर गर्ने संस्कृति चाहिन्छ । आफूले जितेमात्र चुनावी परिणाम स्वीकार्ने नियत बोकेका दल वा उम्मेदवारका विषयमा मत हाल्नुअघि चार पटक सोच्नुपर्छ । अगाडि गल्ती गर्ने नेता उम्मेदवारलाई गलत छौँ भन्नसक्ने साहस गर्नुपर्छ मौका यही हो । आफ्नो मतदानमार्फत असल अभिव्यक्ति दिने अवसरका रूपमा पनि यसलाई ग्रहण गनुपर्छ ।
निर्वाचनमा मतदाता नामावली रहेको स्थानमा मात्रै उम्मेदवारी दिन पाइने व्यवस्था छ । यसको अर्थ हो, स्थानीय व्यक्तिलाई मात्र सम्बन्धित ठाउँको प्रतिनिधि हुने मौका । विदेशमा स्थायी वा वैकल्पिक बसोबास भएका, सन्तान र सम्पत्ति अन्त कतै राखेका, आफू पनि चुनावको समयमा मात्र झुल्किने व्यक्ति जनताको प्रतिनिधि बन्न योग्य छैन, विवेक प्रयोग गर्ने मौका पनि यही हो । यथार्थमा भन्दा स्थानीय आवश्यकता र जनतामा भिजेको स्थानीय नै साँचो अर्थमा प्रतिनिधि बन्ने हक राख्छ भन्ने कानुनी मान्यता पनि हो ।
संसदीय तथा प्रदेशस्तरीय निर्वाचनमा राम्ररी चिनिएका, नेतृत्व क्षमता र इमानदारी भएका व्यक्तिलाई मात्रै मत दिनुपर्छ । उत्ताउला विज्ञापनको भरमा मत दिनु हुुँदैन, राम्रो उम्मेदवारलाई मत दिएका मतको कदर हुन्छ । असल व्यक्ति निर्वाचित हुँदा जनतालाई कुनै घाटा हुँदैन ।
आर्थिक मामिलामा अनुशासित, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपाङ्ग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई मत दिन पछि पर्नु हुँदैन । प्राथमिकता दिनुपर्छ ।
विदेशी वा धनीको अगाडि लत्रिने, रीतिरिवाज परम्परा, भाषा संस्कृति, पेसाप्रति सम्मान नगर्ने, पारिवारिक र सामाजिक झगडामा रमाउनेलाई जनमत दिनु हुँदैन । दिएमा दिनेकै मानवियता नष्ट हुन्छ । सामाजिक न्याय, परस्पर सहयोग र कर्तव्य परायणता हाम्रो सभ्यता हुन यिनलाई नेतृत्व दिन सक्ने र दिन चाहने मनसाय राख्ने व्यक्ति हाम्रो रोजाइमा पर्नुपर्छ ।
उचाल्न नसकिने मालाको अभिनन्दन, खोज्ने, खर्चिलो र भड्किलो तामझाम मन पराउने नेताले आफूलाई जनताको सेवक सम्झिँदैनन् । पढाइ लेखाइ, सम्पत्ति, बल, अभिजात वर्गसितको उठबसको धाक, मतदातालाई आर्थिक प्रलोभनमा पार्न खोज्ने, आफूले जितेमा कतै जागिर लगाइदिने वा ठेक्कापट्टाको आश्वासन बाँड्ने उम्मेदवारको नियतमा खराब हुन सक्नेतर्फ मतदाता सचेत हुनुपर्छ । चुनाव नजिकिँदै गर्दा सार्वजनिक हितका स्कुल, पाटीपौवा, धारो, बाटो, पुस्तकालय, क्लबजस्ता संरचना वा कार्यक्रम घोषणा र उद्घाटन गर्ने उम्मेदवारसँग पनि सचेत हुनुपर्छ । भोट माग्न आउने केन्द्रीय तहका कार्यकारी पदका उम्मेदवारसँग आर्थिक तथा भौतिक विकासका कार्यक्रम, पर्यावरण संरक्षण, सामाजिक सांस्कृतिक हितका कार्यक्रम, उद्योग, सेवा र आयमा लिइने शुल्क/करको विस्तृत योजना विवरण माग्ने शाहस जनताले गर्नुपर्छ ।
काँधमा जिम्मेवारी, छातीमा इमान्दारी, मष्तिस्कमा समझदारी र व्यवहारमा सदाचारी जनप्रतिनिधि छान्नसक्ने जनताले मात्र समाजमा सकरात्मक परिवर्तन ल्याउन सक्छ । समाज विकाससँग जीवनस्तर जोडिएको हुन्छ । विकासको गन्तव्य नै गुणस्तरीय जीवन हो ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
- कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी हो : सहमहामन्त्री राठोर
- ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
- घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु
- गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया