Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसन्दर्भ नयाँ सरकार : प्रचण्डलाई लक्षित गरी अर्को के चमत्कार !

सन्दर्भ नयाँ सरकार : प्रचण्डलाई लक्षित गरी अर्को के चमत्कार !


काठमाडौं । त्यो अन्तिम दिन देशवासीहरू बिहानैदेखि नयाँ सरकारको प्रतीक्षामा थिए । ज्योतिषीले भनेअनुसार शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुने पक्का भयो भन्न थालिसकेको थियो । ज्योतिषी त गजब मिलाउने रैछ भन्न पनि थाले । गठबन्धनका दलहरू आ–आफ्नै किसिमले रमाउँदै थिए र कसले के पाउने हो उत्सुक थिए । ठूलो दलको हिसाबले नेपाली कांग्रेसकै पोल्टामा प्रधानमन्त्री र राष्ट्रपति पाउनेमा ढुक्क थिए र सो प्राप्तिको लागि अडान लिन उस्काएका थिए ।

माओवादी अध्यक्ष प्रचण्डका अति निकट कमाण्डरहरूलाई प्रचण्ड नै आलोपालोको पहिलो प्रधानमन्त्री पाउनुपर्ने सन्देश दिँदै घुर्की र तर्साउने रणनीतिमा नै व्यस्त थिए ।

माओवादी, एमालेसँग कुनै पनि हालतमा मिल्न नसक्ने अनुमान थियो । नेका पनि ढुक्कै । निर्वाचित सांसदहरू राम्रो स्थान पाउन कहिले बालुवाटार त कहिले देउवानिकट शक्तिकेन्द्र धाइराखेको सुनिन्थ्यो । आ–आफ्नै ढंगले राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गर्दै थिए ।

राष्ट्रपतिले सरकार गठन गर्ने म्याद अपराह्न ५ बजेसम्म तोकेकी थिइन् । संसदीय दलको निर्वाचनपछि शेखर कोइरालानिकट नेता र कार्यकर्तहरूमा खासै उत्सुकता देखिएन र प्रक्रियामा सहभागी पनि भएन । वार्तामा सहभागी गराइएन भनेर अहिले भन्दै छन् । के कारणले हो भित्रभित्र के पाक्दै छ नेकालाई हेक्का नै भएन ।

खेलमा पासा पल्टेजस्तै अचानक मध्यान्नतिर तेस्रो नायक एमालेका अध्यक्षको प्रवेश हुन्छ । शक्तिकेन्द्र बालुवाटारबाट एकाएक बालकोटतिर हानिन्छ । केही पुराना दलबाहेक नयाँ दलहरू र स्वतन्त्र गरी सबै बालकोटमा जम्मा हुन्छन् प्रचण्डलाई उपहारको रूपमा प्रधानमन्त्री बनाउने आदेश दिन्छन् । राष्ट्रपति कहाँ गई प्रचण्डलाई प्रधानमन्त्रीको शपथग्रहण गराउँदै आफ्नो चर्तिकला देखाउँछ। हेर्दाहेर्दै पाँच दलको गठबन्धन ग्लास खसेको जस्तै चकानाचुर हुनपुग्छ ।

नेका हेरेको हेरै ।
माओवादी अध्यक्ष प्रचण्डले जे–जति एमाले अध्यक्षविरुद्ध विषवमन गरेको भए पनि लाजै नमानी उसैको खुट्टामा लम्पसार हुन पुग्छ । पदको लागि जे पनि गर्न तयार हुने आफ्नो अर्को परिचय दिएको छ । अनि जनताले स्वीकार्नुपर्ने बाध्यता हुनपुग्यो । राजनीतिमा स्थायी मित्र पनि हुँदैन शत्रु पनि हुँदैन रे । जनसमुदायले के सिक्ने ? फटाहा कुरा गर्ने, अरूलाई ढोका दिने, नैतिकता खै ? अनि यी नेताहरूले जे गरे पनि सहनु पर्ने ? कस्तो अचम्म ? अनि सरकारी निकायका कर्मचारीले यस्तालाई किन विश्वास गर्छ? कर्मचारीले समेत टेर्दैन भन्छन् यी नेताहरू । हो त किन टेर्नु बोलीको ठेगान नहुने को ? प्रचण्डले गठबन्धन तोडेबाट देश भर हल्ली खल्ली हुन्छ । दुवै ले जे पायो बोलेका नयाँ पुराना अन्तरवार्ता भाइरल बनेको छ र जनतालाई मनोरञ्जन दिएको छ ।

कोही खुशी त कोही वाक्क दिक्क हुँदै गठबन्धनका सूत्रधार प्रचण्ड र देउवालाई तथानाम गाली बर्साउन थालेको छ । प्रश्नमाथि प्रश्न उठ्न थालेको छ । कस्ले सुन्यो वा सुनेन अर्कै कुरा हो, तर आजसम्म पनि सो क्रम जारी नै छ ।

देशका शक्तिशाली प्रधानमन्त्री, नेकाका सभापति, संसदीय दलका नेता एवं सांसदको पहिलो दल करिब दुई घण्टाको अन्तरालमा सडकमा पछारिन पुग्यो भने अब कुनै पनि राजकीय पदहरू र प्रदेश सरकारको नेतृत्वबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ । खास बोल्दै नबोली आफ्नो तुरुप नदेखाई एमाले अध्यक्ष सर्वशक्तिशाली र राजा निर्माता बन्न पुग्यो । कुनै फिल्मी शैलीमा भएको घटना जस्तै हुनपुग्यो ।

मन्त्रीमण्डलमा सात दललगायत चार स्वतन्त्र गठबन्धनको सरकार बन्यो । नयाँ दलहरूले पनि शानदार उपस्थिति पाए । दलहरू आपसमा सिद्धान्त मिल्ने कोही देखिँदैन । साझा एजेन्डा के हो थाहा छैन । राजावादी राप्रपाले के संविधान स्वीकारेको हो ? रास्वपा प्रदेशसभा बहिष्कार गर्ने र संघीयताको विरोध गर्नेले प्रदेश स्वीकार गरेकै हो ? मधेस नेपालबाट अलग गर्ने दल पनि सरकारलाई समर्थन गर्नुको अर्थ के ? प्रचण्ड प्रधानमन्त्री बन्न मात्र बनेको गठबन्धन हो यो । यसको आयु कति नै होला भन्न सुरु भइसकेको छ । भाँडभैलो हुने त होइन ? भन्नेहरूको कुनै कमी छैन ।

ठूलो–ठूलो स्वरमा भ्रष्टाचारको विरोध गर्ने, बालुवाटार जग्गा तथा औषधि खरिदमा भ्रष्टाचारको कुरा उठाउने, ‘नो नट अगेन’का अभियन्ताहरू जसले पुराना नेताहरूको विरोध गरे हराउने खेल खेले हाल उनीहरूकै नेतृत्व र टोलीमा समाहित भएका छन् । दुईजिब्रेहरू ज–जसले जे–जे बोलेका छन् सामाजिक सञ्जालमा सम्झनाको लागि भए पनि भाइरल भएको छ । जनताले धेरै चासो देखाएका छन् । विरोधका आवाजहरू अहिले नै सुनिन थालिसकेको छ । रास्वपाका एक जिम्मेवार नेताले लिखित विज्ञप्तिमार्फत विरोध जनाइसकेको छ। सरकार कसले कसरी चलाउने हो हेर्न आतुर छन् । हेर्दै जाऔँ ।

लेन र देनका कुरा भएकै होला । राम्रो र खुवा पद लिने र दिने भएको देखिन्छ । नत्र भर्खरको रास्वपाका अध्यक्षलाई गृहको जिम्मा नै दिनु र लिनुको रहस्य के ? आफ्नो नागरिकता काण्डबाट बच्न त होइन ? के अब स्वच्छ अनुसन्धान होला ? गृह मन्त्रालय दिई नै सक्यो भने माओवादीका वरिष्ठ नेताहरूले के लिने ? यहाँ प्रोटोकलको कुरा नउठाउला र ? झगडाको सुरुवात यसैबाट नहुने भन्ने छैन ।
हिजै मन्त्रिपरिषद्को पहिलो बैठकले केही निर्णय गरेको छ । पासपोर्ट लिन लाइनमा बस्नु नपर्ने रे । यस्तो पनि निर्णय हुन्छ ? पासपोर्टमा मात्र किन ? कुनै पनि सरकारी निकायमा लाइन बस्नु नपर्ने अफिस छ र ? लाइन बस्नु पर्ने कारण के ?

No description available.

प्रचण्डले ठूलो चुनौती थेग्नु पर्नेछ । सरकारको व्यवस्थापन कसरी गर्ने चुनौती कसरी समाधान गर्ने होला प्रश्न उठिसक्यो । एमाले अध्यक्ष चतुर खेलाडी भन्ने पुष्टि भएको छ । गठबन्धन भत्काई प्रधानमन्त्री त बनायो तर पार्टी फुटाएको बिर्सिसकेको त छैन होला । अब प्रचण्डलाई लक्षित गरी अर्को के चमत्कार देखाउने हो हेर्न बाँकी नै छ ।

नेकाका विभिन्न तहका कार्यकर्ता एवं वरिष्ठ पदाधिकारीहरूले नेका सभापतिलगायत प्रक्रियामा संलग्न सबैलाई गाली गालोच गर्न सुरु गरिसकेको छ । नगर भन्दा पनि गठबन्धन गरेको भन्दै चर्को आवाज उठाएको छ । राजीनामासम्मको कुरो उठाइसकेको छ । हामीलाई बोलाइएन भनी पन्छिन खोजेका नेताहरू पनि देखियो । के फाइदा हुने ठाउँमा बोलाएन भन्नु मिल्छ ? जानुपर्दैन ? जे भयो नेकाका सबै पधाधिकारीले जिम्मा लिनुपर्ने होइन ?

नहुनु पर्ने हो तर भयो । त्यो पनि आफ्नै ढंगले । नेकाले यस्तो अवसर गुमाउनु दुःखको कुरा त छ नै । हिजो जे भयो आज इतिहास भइसक्यो ।

अब के त ?
संख्यामा ठूलो दल भएर पनि विपक्षीको भूमिका खेल्नुपर्ने बाध्यता आएको छ ।
यसबाट पार्टी सप्रिन र सच्याउने ठूलो मौका आएको छ, गाउँदेखि केन्द्रसम्म सुदृढ गर्ने अर्को अवसर पनि दिएको हो यो । नेकाका केन्द्रीय नेतादेखि इकाइसम्मका नेताहरूले आत्मासमीक्षा गर्नै पर्छ ।

सर्वप्रथम नेताहरूले आफ्नो बानीव्यवहारमा व्यापक सुधार गर्नै पर्छ । जति माथि गयो आफ्नो औकात बिर्सिने र कुनै राजाभन्दा कम नठान्ने रवाफ केका लागि ?

नेकाको अर्को रोग हो गुट उपगुट । एकले अर्का गुटसँग बोल्नसम्म निषेधजस्तो छ । विभिन्न नामको कांग्रेस जति पनि पाइन्छ तर खै नेपाली कांग्रेस ? यसको अन्त्य हुनै पर्छ । कसरी गर्ने वरिष्ठ नेताबाट नै सिक्न र सिकाउन पर्छ । आफँै उदाहरण हुनुपर्छ ।

काठमाडौं महानगरपालिकाको प्रमुखको महत्वपूर्ण पद गुम्यो किन ? निवर्तमान गृहमन्त्री हारे किन ? नबुझेको पक्कै होइन । परिवारवाद, आफ्नो वा मेरो मानिसवाद आदिले गर्दा सामाजिक सञ्जालमा खेप्नै नसक्ने गाली बर्साएका उदहारण जति पनि पाइन्छ ।

अहिले युवाको लहर आएको भान हुन्छ । तर त्यो साँच्चै सत्य नहुन सक्छ । यदि योग्य उम्मेदवार दिएको भए र नेका कार्यकताबीच निर्वाचनमा आफ्नै साथी हराउने प्रतिस्पर्धा नभएको भए नेकाको अझ राम्रो नतिजा आउने थियो । वरिष्ठ नेताहरूले खुलारुपमा नामै तोकेर असहयोग गरेको वक्तव्यहरू दिएको पाइन्छ । परिवर्तित सन्दर्भमा उमेरले युवा नभई सक्षम, योग्य, राम्रो शैक्षिक योग्यता आदि भएका व्यक्ति खोजी उपयुक्त ठाउँमा नियुक्ति वा चयन गर्नुपर्ने जनताको सुझाव हो यो ।

संगठन बलियो गर्नुको विकल्प छैन । अब आउने पाँच वर्ष गाउँ–गाउँमा गई पुरानालाई पुनः सक्रिय गर्नु र नयाँ खासगरी युवा समूहलाई प्रवेश गर्नुपर्छ । सशक्त विपक्षीको भूमिका खेल्नेको अलावा नियमित क्षमता निर्माण अभ्यास, अन्तरक्रिया, बैठक, समुदायमा आधारित विकासलाई टेवा पु¥याउने खालका स्वैच्छिक स्वयंसेवी कार्यहरू सञ्चालन गर्नुपर्ने देखिन्छ । यसको अगुवाइ केन्द्रीय, प्रदेश, जिल्लाका पदाधिकारी र सदस्यहरू लिनुपर्ने देखिन्छ । सबै भातृ संगठन नेविसंघ, तरुणदल, महिला संघ परिचाल गर्नै पर्छ । अब नेताहरू काठमाडौं बसाइको सहुलियत हुन सक्दैन । अधिराज्यका स्थानीय सरकारमा नेका नेतृत्वको हावी छ । अबको पाँच वर्ष यतिसम्म काम गर्न सकिन्छ भन्ने उदहारण दिन सक्नुपर्छ । काठमाडौंको ३२ मा १९ वडामा नेकाका वडा अध्यक्षहरू छन् । यही हो काम देखाउने अवसर । सानो माछा होइन ठूलो माछा मार्ने योजना तर्जुमा गर्ने र कार्यान्वयन गर्नुको विकल्प छैन अब । स्थानीय सरकारमा ठूलो भ्रष्टाचार हुने चर्चा व्यापक सुनिन्छ । होसियार हुनै पर्छ ।

नेकाका युवा पदाधिकारीहरूको धेरै कुरा र गफ सुनियो । यस्तो भन्दै गर्दा कसले के बोल्छ भन्ने कण्ठ भइसक्यो । अब कुरा होइन बोलेका कुरालाई रूपान्तरण गरी नतिजा निकाल्नुपर्ने बेला आएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया