Techie IT
×
गृहपृष्ठविचारकाठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?

काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?


बालेनले काठमाडौं महानगर प्रमुख पदभार सम्हालेको झन्डै एक वर्ष हुन लागेको छ । हालसम्म उनको नेतृत्वमा भएका, गरेका, बोलेका, व्यवहारका कुराहरू सुन्दा र गतिविधिहरू नियाल्दा मतदाताहरू निराश देखिन थालेका छन् । प्रश्न उठ्न थालेको छ, ‘बालेन सेलिब्रिटी हुन् कि नेता ?’

नेता र सेलिब्रिटीमा आकाश–जमिनको फरक हुन्छ, जुन बालेनलाई हाइहाइ गर्ने अनुयायीलगायत सम्बन्धितले बुझ्नुपर्ने कुरा हो । सेलिब्रेटी त्यो व्यक्ति हो जो प्रसिद्ध हुन्छ, विशेषगरी मनोरञ्जनका क्षेत्रहरू जस्तैः चलचित्र, सङ्गीत, लेखन वा खेलकुद । बालेन नेपालको मानिने सङ्गीतका सफल ¥यापर थिए र हुन् ।

¥यापरका रूपमा सामाजिक सञ्जाल र युट्युबमा उनका धेरै गीतहरू सुन्न पाइन्छ । उनले केही सामाजिक विकृति र गरिब वर्गका नाममा मनछुने गीत गाएको र प्रख्यात भएको पनि भनिन्छ । उनका लाखभन्दा बढी खासगरी युवा अनुयायीहरूले पछ्याउने गरेको सुनिन्छ । ठाउँ–ठाउँमा मनोरञ्जन दिन मञ्चमा गाएको, नाचेको, नचाएको पाउँछौँ। अनुयायीहरू बालेन हाइहाइ, बालेन हाइहाइ, गरेको हेर्न र सुन्न पाउँछौँ चाहे त्यो इन्द्रजात्रामा बसन्तपुरमा किन नहोस् ।

नगरप्रमुखको नाममा हाइहाइ गरेको पक्कै हुन सक्दैन । सायद नेपाली फिल्मका रेखा थापा वा अनमोल केसी गएको भए पनि हाइहाइ गथ्र्याे होला नै । कोही पनि यसबाट भ्रमित नहोला । बालेनका अनुयायीहरू काठमाडौंबाहेक देश विदेश जहाँ पनि हुन सक्छ । सेलिब्रेटीहरू आफ्नो क्षेत्रमा जति अब्बल हुन सक्यो अनुयायीहरू थप्ने क्रम हुन्छ । सेलिब्रेटीहरू कसैप्रति उत्तरदायी हुन पर्दैन । बालेन इन्जिनियरिङ पेसा भए पनि सो क्षेत्रमा प्रसिद्ध र ठूलो व्यवस्थापन अनुभव प्राप्त व्यक्ति होइनन् । बालेनले चुनावमा उमेदवारी दिँदा, ¥यापरका पारखिहरूबाहेक काठमाडौंका मतदाताहरूले चिनेको नाम पनि होइन ।

नेता र सेलिब्रेटीबीच काम कर्तव्य र जिम्मेवारीमा धेरै फरक हुन्छ । खास फरक नेता जनसमुदायप्रति अनिवार्य जवाफदेही हुनुपर्ने हुन्छ भने सेलिब्रेटीमा त्यो हुँदैन ।
नेताले आफ्नो संगठनको नेतृत्व लिई महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । आफ्ना जनसमुदायलाई सकारात्मक परिवर्तनहरू पूरा गर्न उत्प्रेरित गरी उदाहरण बनाउन पर्ने हुन्छ। नेताहरूले आफ्ना विकासका दूरदृष्टि कार्ययोजना प्रस्तुत गरी जनसमुदायसँग जति सक्यो राम्रो सम्बन्ध स्थापित गर्नुपर्ने हुन्छ । नतिजाको लागि राम्रो व्यवस्थापक भई अविश्वसनीय उपलब्धिहरू पूरा गर्न मार्गदर्शन दिनुपर्ने हुन्छ । जनबोली सुन्ने एवं आएका समस्यासँग जुध्ने आँट हुनुपर्छ ।

के महानगरप्रमुख बालेनले यस्तो ग¥यो अथवा गर्न सक्ला ?
काठमाडौंवासीले बालेनलाई महानगरप्रमुखजस्तो महत्वपूर्ण पदमा चाहेर वा नचाहेर ठूला राजनीतिक दललाई लत्याएर एक स्वतन्त्र, अपरिचित व्यक्तिलाई आसीन गरेको हो । यसको प्रमुख कारण राजनीतिक दलहरू र दलहरूले प्रस्तुत गरेका उम्मेदवारहरूप्रति असन्तुष्ट भएकै कारण आक्रोशको नकारात्मक ‘नो भोट’ तथा विकल्पको रूपमा मौका दिएको हो । बालेनले आफू योग्य भएर जितेको सोचाइ राखेको हो भने ठूलो गल्ती हुनेछ । नानीमैया दाहाल कसरी आइन् ? अनि कसरी नामनिशान मेटियो सबैलाई थाहा भएकै कुरा हो । काठमाडौंका जनता आफूले चाहे माथि उचाल्न र नचाहे भुइँमा पछार्न पनि पछि नपर्ने एक उदहारण हो यो।

बालेनले चुनावी अभियान र पदभार सम्हाल्दा धेरै आशालाग्दो विकासका जनमुखी कुरा राखेका थिए ।हुन त गरेका कामहरूको मूल्यांकन गर्ने बेला नभए पनि हालसम्म गरेका गतविधिलाई मध्यनजर राखेर छलफल गर्नुपर्ने देखिन्छ । बालेनले नेतृत्व लिएपश्चात् केही प्रशंसनीय कामहरू पक्कै गरेको छ । पदमार्गका व्यापारीहरूलाई हटाउने, पुराना व्यापारिक केन्द्र जस्तैः असन, इन्द्रचोकजस्ता ठाउँमा भुइँपसल हटाउने, सम्पदा क्षेत्रलगायत जग्गा मिची बनाएका अवैध संरचनाहरू भत्काउने, सहरी मुख्य क्षेत्रमा केही सफाइको अनुभूति आदि पर्न आउँछन् ।

यद्यपि बलजफ्ती र डोजरको त्रास देखाएरभन्दा व्यवस्थितरूपमा गर्न सकेको भए अझ राम्रो र दिगो हुनेथियो भन्नेहरूको ठूलै समूह नभएको होइन । व्यवसायीहरूलाई संगठितरूपमा विकल्प दिनुपर्ने हो । तिनीहरू पनि नेपाली नागरिक नै हुन् र अधिराज्यमा जहाँ अवसर मिल्छ त्यहाँ गरीखाने अधिकार हो ।

जनसहभागिता लिई अरु निकायहरूसँग समन्वय गरी दीर्घकालीन समाधानको खोजी गर्न पर्ने नजरअन्दाज गरिएको देखिन्छ । हाल व्यवसायी र नगरप्रहरीबीच सडकमा चोर पुलिसको लुकामारी खेलजस्तै दिनहुँ हेर्न पाइन्छ । यो क्रम जारी हुने नै छ जसको लागि सरकारले व्यावहारिक योजना ल्याउनु पर्नेछ ।

No description available.

बालेनको जितले नेपाली राजनीतिमा हलचल एवं तरङ्ग त पक्कै ल्याएको छ। हालै सम्पन्न चुनावमा नयाँ दलहरूको शानदार उपस्थिति, खासगरी पुराना ठूला दलहरूलाई खबरदारी र सच्चिनुपर्ने सन्देश प्रवाह गरेको छ र सच्चिनुको विकल्प छैन ।

यसबाहेक सुरु गरिएका धेरैजसो कामहरू या त असफल भइसकेको, बाध्य भई पछि हट्नु परेको वा विवादित हुन पुगेको देखिन्छ । जस्तैः टुकुचा उत्खनन र सुकुमबासी समस्या । यसमा महानगरले विनायोजना अपरिपक्वता देखाएको नै हो । सुकुमबासी बस्तीमा विनातयारी हात हाल्दा नगरप्रहरीप्रमुख स्वयंले लात खान पुगे र ज्यान जोगाउन समेत धौधौ प¥यो ।

खुलामञ्चको भूमिगत पार्किङ विवादित भएको छ । जसका कारण प्रमुख र उपप्रमुखबीच मनमुटाव देखिसकेको सुनिन्छ । सम्बन्धित वडा अध्यक्षले वक्तव्य नै जारी गर्दै कुनै पनि हालतमा सो काम गर्न नदिने अडान लिएको छ ।आफैँले बोलेका कतिपय योजनहरू लागू गर्न असमर्थ वा असफल भइसकेको देखिन्छ । जस्तैः निजी क्षेत्रसँग मिलेर शौचालयको कुरा कता हरायो, सडक खाल्डाखुल्डी ताल्ने इमर्जेन्सी एम्बुलेन्स, नर्भिक अस्पतालको जग्गा, ट्राफिक जाम र यातायात व्यवस्थापन, काठमाडौं सौन्दर्यीकरण, घर–घरमा फोहर छुट्याउने, नगरसभाको प्रत्यक्ष प्रसारण आदि ।

यो किन र कसरी हुनगयो लेखाजोखा गर्न उपयुक्त हुने देखिन्छ । बालेनमा आफ्नै हुनुपर्ने ‘दूरदृष्टि’ प्रस्ट देखिएन । महानगरमैत्री केन्द्रित योजना आऊन् सकेन । भएका योजनाहरूको प्राथमिकताको आधारमा छनोट गर्न नसक्नु अर्को कमजोरी देखिन्छ । जस्तैः के टुकुचा वार्षिक कार्ययोजनामा थियो र ? नगरी नहुने प्रथमिकता हो ? महानगर बोर्डको निर्देशन थियो ? तर योभन्दा नगरी नहुने जनसमुदायलाई दैनिक असर पार्ने थुप्रै काममा ध्यन किन गएन ?

कुनै पनि संगठन राम्रो चल्न दरिलो टोली र टोलीको भावनाअनुरूप कार्ययोजना तर्जुमा गरी सोको कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर बालेनमा त्यसको अभाव खटकेको देखिन्छ । महानगरका वडाअध्यक्षहरूसँग समेत टिममा काम गर्न अनिच्छुक र विश्वास खडेरी परेको देखिन्छ ।
महानगर एक सशक्त स्थानीय सरकारी निकाय हो ।

No description available.

तर प्रमुखको काम गराइ र सोचाइ कुनै निजी कम्पनीको प्रमुख कार्यकारी अधिकृतजस्तै आत्मकेन्द्रित र आफ्नो लहडमा दौडेको देखिन्छ। बेलाबखत प्रमुख संविधानले एक्लैले गर्ने अधिकार दिएको बखान गर्ने सुनिन्छ । पारदर्शिता, प्रक्रिया, नतिजा र परामर्शविना निर्णय लिनेगरेको देखिन्छ जसले गर्दा सुरुवातमै विवादित हुनपुगेको धेरै उदहारण सबैको सामु छर्लङ्ग छ ।

महानगरको विकास निर्माणको मुख्य साझेदारी जन समुदाय अथवा नगरवासी नै हो । तर हालसम्मको अनुभवमा बालेन जनसमुदायसँग सम्पर्क राख्न र राम्रो सम्बन्ध स्थापित गर्न इच्छुक नदेखाएको धेरै गुनासो आएको पाइन्छ । समस्या सुन्नु, बुझ्नु र समयमा सोको हल गर्नेभन्दा पन्छाउने प्रविृत्ति देखिन्छ । ठूला–ठूला मुद्दा जस्तैः खुलामञ्चमा भूमिगत पार्किङ, दरबार मार्ग ‘नो पार्किङ’ विषयमा सम्बन्धित प्रतिनिधिबीच वार्ता गर्न अस्वीकार गरेको पाइयो र जन समुदायको पहुँचभन्दा बाहिर देखियो । बालेनलाई आफ्ना सीमित समूहबाहेकका व्यक्तिहरूसँग आँखा जुधाएर सञ्चार गर्न असहज हुने कमजोरी हो कि ? उपप्रमुख भने यस विषयमा अलिक चनाखो देखिन्छिन् ।

नगरप्रमुख देशका नीति, नियम, कानुनप्रति खास वास्ता गरेको पाइएन । पदमा पुगेपछि आफूले नजानेको सिक्ने अथवा सल्लाह लिन नसक्नु नै बालेनको ठूलो कमजोरी देखियो । सुकुमबासी समस्या सबै नगरवासीको समस्या हो र थापाथलीबाट हट्नुको विकल्प छैन तर कसरी निवारण गर्ने ज्ञानको अभावले गर्दा महानगर लज्जित हुन पुगेको छ । सम्बन्धित सरकारी निकायबीच जुहारीसम्म चलेको देखियो । हालै सोही विषयमा गृह मन्त्रालयबाट यही हालतमा सहयोग दिन नसकिने पत्रमार्फत जानकारी गराएको छ ।

आपसी समझदारीबाट समस्या समाधान गर्नुभन्दा डर त्रास देखाई टक्कर लिन इच्छुक देखिन्छन् बालेन । यसका धेरै उदाहारणहरू छन् । गतहप्ता मात्रै नगरप्रहरीको ठूलो जत्था शंखमूलमा निजी सम्पतिमा डोजर चलाउन पुग्यो । विचरा पीडित जग्गाधनी आफ्नो सम्बन्धित सबै कागजात प्रमाण लियर न्याय मागेको मागै थिए ।

विनापत्र गएका टोली नेता राजु नाथ पाण्डे डोजर देखाएर, तर्साएर सो सम्पत्ति भत्काएको पाइयो । जे पायो त्यो गर्न पाइन्छ ? लोकतन्त्रको ठाडै उल्लंघन होइन र ? के जग्गाधनीले आफ्नो सम्पत्तिको सुरक्षा गर्न नपाउने ? यो त एउटा उदाहरण मात्र हो । नगरप्रहरीप्रमुखको व्यवहार, बोलाई र अहंकारीपनबाट महानगरबाट न्यायको अपेक्षा गर्न नसकिने जन गुनासो बढ्दो छ ।

नगरप्रमुखको हैसियतले मातहतका कर्मचारीहरूको काम, कारबाही, व्यवहारको अनुगमन र सही निर्देशन दिनु पर्दैन ? गरिमामय पदमा आसिन भएपछि आफूले पनि व्यवहार जनमैत्री देखाउनुपर्ने हुन्छ । गत चुनावमा जसरी मतदान केन्द्रमा प्रदेशसभाको मत नै नदिई गोप्य हुनुपर्नेमा खुलेआम विरोध जनायो त्यो पदमा आसीन व्यक्तिले गर्ने व्यवहार पक्कै होइन । विरोध गर्ने विभिन्न अरु तरिकाहरू पनि छन् नि ।
हालैको नगरसभामा वडा अध्यक्षहरूबाटै असन्तुष्टिका प्रतिक्रियाहरू व्यक्त गरेको समाचार बाहिर आएका छन्, ‘मेयर बालेनमाथि गर्जिए वडाध्यक्ष युवा जोस, जाँगर भन्दै ठूला कुरा गर्ने कामचाहिँ केही नगर्ने ? वडा अध्यक्षको प्रतिक्रियापछि प्रमुख बालेनको बोलीमा हतास देखिन थालेको छ, जुन महानगरको लागि दुर्भाग्य हुन सक्छ ।

अघिल्लो पाँच वर्ष नगरप्रमुख र उपप्रमुखबीच भएको झगडाले महानगर विकासमा भएको क्षति नगरवासीले बिर्सिन सकेका छैनन् ।
काठमाडौं महानगर देशको मुटु राजधानीमा भएकोले यहाँ राम्रो काम गर्नुपर्ने बाध्यता छ, अवसर छ र चुनौती पनि उत्तिकै छ । कुल लक्षित जनसंख्या ६०÷७० लाख, ठूलो बजेट (२५ अरब वार्षिक बजेट), ३२ वडाका सम्बन्धित निर्वाचित जनप्रतिनिधि एवं कर्मचारीको हिसाबले कुनै मन्त्रालयभन्दा कम छैन यो महानगरपालिका ।

सफल कार्यसम्पादनको लागि प्रमुखको हैसियतले मानव, वित्तीय र परियोजना व्यवस्थापनको आधारभूत ज्ञान, अनुभव हुनुपर्ने नै हुन्छ अथवा विशेषज्ञहरूको सहयोग लिनुपर्ने हुन्छ । बालेनले हालसम्म सोको प्रदर्शन गर्न सकेको देखिएन । पाएको वार्षिक बजेट कति सदुपयोग गर्ने हो हेर्न बाँकी नै छ । सदुपयोग गर्न असमर्थ भए नगरवासीप्रति अर्को ठूलो अन्याय हुनेछ ।

काठमाडौंवासीले महानगरको समग्र विकास गर्न सक्ने अब्बल, जनप्रेमी, योग्य, इमान्दार, दूरदर्शी नेता चाहेका थिए र छन् । झन्डै तीन दशकदेखि जनताले योग्य नेता पाउन नसकेको पक्कै हो । भनिन्छ, ‘बिहानीले दिन देखाउँछ ।’ बिहानी नै खराब सुरुवात भएको त होइन भनी नगरवासी चिन्तित हुन थालेको देखिन्छ ?

महानगरले राम्रो व्यवस्थापन गर्न सकेन भने बालेनको केही बिग्रिँदैन, काठमाडौं महानगरको बिग्रिन्छ, नगरवासीले अर्को पाँच वर्ष दुःख पाउनुपर्ने र नयाँ नेता कुर्नुपर्ने हुन्छ।

अझ समय बाँकी नै छ । सम्पूर्ण वडाध्यक्षहरूले टुलुटुलु नहेरी सक्रिय भूमिका खेल्नुपर्छ र महानगरप्रमुखको गलत निर्णय, योजनाहरूलाई सच्याउन मद्दत गर्नुपर्ने देखिन्छ र बालेन पनि आफ्नो कमजोरीहरूको पहिचान गरी सच्चिनुपर्ने देखिन्छ । सुनिन्छ बालेनले आफ्नै ज्यान खतरामा परेको भन्दै सुरक्षाको लागि सरकारसँग भिख माग्यो रे । डर त्रास भन्ने के होला भन्ने बालेनले अब त बुझे होला नि ?


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया