Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगग्यास किन बारम्बार विस्फोट हुन्छ ?

ग्यास किन बारम्बार विस्फोट हुन्छ ?


काठमाडौं । नेपालमा ग्यास उद्योगको इतिहासलाई अवलोकन गर्ने हो भने विसं २०२८ सालमा सुरु भएको देखिन्छ । यस व्यवसायको झन्डै ६० वटा कम्पनीमार्फत एक करोड ५० लाखवटा सिलिन्डरहरू बजारमा पठाएको जानकारी सम्बन्धित क्षेत्रले दिएको छ । त्यसमध्ये एक करोड १६ लाख ८४ हजार आठ सय १० सिलिन्डरको तथ्यांक यकिन गरिएको छ भने थप करिब ३५ लाख सिलिन्डरको संख्या यकिन गर्ने काम भइरहेको एलपी ग्यास उद्योग संघले जनाएको छ । मूलतः प्रत्येक महिना मुलुकभर करिब ३२ लाख ४० हजार सिलिन्डर खपत हुन्छ । यसमा पनि वर्षेनी १५ देखि २० प्रतिशतका दरले ग्यास खपत बढ्दो छ । यसमा पनि सबै घरपरिवारहरूले एलपी ग्यासको प्रयोगमा होसियारी पु-याएमा यसको दुर्घटनामा ९० प्रतिशत घटाउन सकिन्छ । यसरी ग्यास उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट आवश्यक पूर्वाधार तयार गरेर मात्र ग्यास भरेर बजारमा पठाए नपठाएको हेरेर मात्र ग्यास उद्योगलाई गुणस्तर चिह्न प्रदान गर्नुपर्ने हुन्छ तर गुणस्तर चिह्न नलिएका ग्यास पनि बजारमा छन् । मुलुकभर ५९ वटा ग्यास उद्योग सञ्चालनमा रहेकोमा ५० वटाले मात्र गुणस्तर चिह्न लिएका छन् । अतः उद्योगले पठाएका सिलिन्डर गुणस्तरीय हुने एकातिर छ भने अर्कोतिर ढुवानी गर्दा, स्टोर गर्दा तथा सिलिन्डर क्यापमा समस्या आउँदा जोखिम बढेको समस्या पनि हुने गरेको पाइन्छ । तसर्थ ग्यास उद्योगहरूले भन्ने गरेका छन् प्रत्येक पटक सिलिन्डर सफा गरिन्छ र परिपक्क रुपमा ग्यास सिलिन्डर क्यापको पनि प्रयोग अनिवार्यरूपमा गर्ने गरिन्छ । प्रत्येक कम्पनीले सिलिन्डरको हाइड्रो जाँच गर्नुपर्छ । त्यसरी सरकारले गुणस्तर चिह्न प्रदान गरेपछि मात्रै ग्यास भरी बजारमा पठाइने हुँदा सिलिन्डरको क्षमतामा प्रश्न गर्ने ठाउँ नरहेको सम्बन्धित क्षेत्रको विज्ञहरूको भनाइ रहेको दाबी छ । अतः उद्योगमा आउने सयमा सय सिलिन्डर नै चेकजाँच हुन्छ । जसलेगर्दा ग्यास भरिसकेपछि पनि सिलक्याप लगाउने बेला पुनः चेकजाँच हुन्छ । यसको साथसाथै ग्यास सिलिन्डरको माथिल्लो भागमा रहेको गोलाकार रिङसँग तीनवटा पाता जोडिएका हुन्छन् । तीमध्ये कुनै एक पातामा अंग्रेजी अक्षरहरू ए, बी, सी र डी तथा दुई अंकको संकेत चिह्न हुन्छ । यही संकेत चिह्नमा सिलिन्डरको आयु उल्लेख भएको हुन्छ । देशको सहरी क्षेत्र लगायत गाउँ–गाउँमा खाना पकाउन एलपी ग्यासले धेरै सहज बनाएको छ । फलतः अहिले अधिकांशको घर र भान्सामा ग्यास सिलिन्डर राखिएकै हुन्छन् । हाल मुलुकभरिको ग्यासको स्थितिलाई अवलोकन गर्ने हो भने ग्रामीण क्षेत्रमा भन्दा सहरका घर–घरमा एउटा मात्रै नभई सोभन्दा बढी ग्यास सिलिन्डरको जोहो गरिएको पाइन्छ । तर, धेरैलाई यसबाट हुने दुर्घटनाका कारण थाहा नहुन पनि सक्छ । विज्ञ भन्छन्, ‘ग्यास लिक भएर कोठा नै जल्न सक्छ । जसरी लिक भएको ठाउँमा आगोका कुनै स्रोत परे विस्फोटसँगै जल्ने खतरा धेरै हुन्छ ।’

नेपाल प्रहरीका अनुसार ग्यास सिलिन्डर लिक भएर भएका आगलागीबाट पछिल्लो तीन वर्षमा मात्रै काठमाडौं उपत्यकामा नौ जनाको ज्यान गएको छ भने राष्ट्रभर ४२ जना घाइते भएका छन् । यसरी नै आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्मको अवधिमा काठमाडौं र ललितपुरमा मात्रै ग्यास लिक भएर नौ जनाको ज्यान गएको सम्बन्धित निकायले जानकारी दिएको छ । तीमध्ये छवटा घटना काठमाडौं उपत्यकामै भएका थिए । ती घटनामा परी काठमाडौंमा तीन जनाको ज्यान गएको थियो भने मुलुकभर गरी १० जना घाइते भएका थिए । यसको साथसाथै आर्थिक वर्ष २०७८/०७९ मा यस्तै प्रकृतिका १३ वटा घटना भए । ती घटनामा परी पाँच जनाको मृत्यु भयो भने १६ जना घाइते भएका थिए । यो वर्ष पनि ग्यास लिक भएर आगलागीका ११ वटा घटना भइसकेका छन् । यो वर्ष भने एक जनाको ज्यान गएको छ भने भने तत्काल सांसद भण्डारीसहित १६ जना घाइते भएका छन् । त्यस घटनामा घाइते भएका सांसद भण्डारीको नेपालमा सम्भव नभएपछि मुम्बइमा लगेर अहिले उपचार जारी छ । यस्ता घटनापछि नेपालमा बिक्री भइरहेका ग्यास, रेगुलेटर र पाइपको सुरक्षाबारे पनि प्रश्न उठ्ने गरेको छ । तथापि गत फागुन ३ गतेको घटनापछि विभिन्न सञ्चारमाध्यमहरूले सरकारी निकायहरूलाई उदृत गर्दै विगत तीन वर्षमा तीन दर्जनभन्दा बढी ग्यास लिक तथा सिलिन्डर विस्फोटनका घटना भएको विवरण सार्वजनिक गरेका छन् । त्यस क्रममा १० जनाको निधन भएको र ४० जनाभन्दा बढी घाइते भएको विवरण पनि आएका छन् ।

मुलुकमा ग्यास सिलिन्डरबाट उत्पन्न हुने आगलागी वा अन्य दुर्घटना बढिरहेका छन् । यस्ता घटना दिनहुँ सुनिने गरेका छन् । यस्तो दुर्घटनाका विभिन्न कारणमध्ये म्याद गुज्रिएको सिलिन्डर पनि एक हो । म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्दा यसले कुनै पनि बेला बमको रूप लिन सक्ने भएकाले यसमा आमउपभोक्ताले विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ । सो मिति हेरेर उपभोक्ता आफैँले म्याद गुज्रिएको छ कि छैन थाहा पाउन सक्छन् । म्याद गुज्रिएको सिलिन्डर फेला प¥यो भने तुरुन्तै विक्रेतालाई खबर गरेर साट्न लगाउनुपर्छ । यसमा ग्यास उद्योगका सञ्चालकका अनुसार सिलिन्डर उत्पादन भएको मितिबाट १० वर्षसम्म प्रयोग गर्न सकिन्छ । यो सिलिन्डरको म्याद ग्राहक आफैँले थाहा पाउन सक्छन् । जुन सिलिन्डरको माथिल्लो सतहमा जहाँ रेगुलेटर हुन्छ, त्यसको पछाडिको भागमा म्याद उल्लेख भएको हुन्छ । यस्तो म्याद अंग्रेजीमा लेख्ने गरिन्छ । जसमा १० वर्षपछि सो सिलिन्डरको भारवहन क्षमता छ कि छैन वा त्यो सिलिन्डर प्रयोग गर्न लायक छ कि छैन भनेर हाइड्रोलिक परीक्षण गरिन्छ । जुन सिलिन्डरमा पानीको फोहोराले दबाब दिएर पटक–पटक हाइड्रोलिक परीक्षण गर्नुपर्छ । यसमा ध्यान दिन विशेष गरी ग्यास भल्ब, पिँध, रेगुलेटर, चुलोबाट बढी लिक हुने गर्छ । बोटलिङ प्लान्टबाट भरिएका सिलिन्डर गाडीमा राख्दा, ठोक्किएर, गुडाउँदा कुुच्चिएर लिक हुने हुन्छ । नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐ ३०३७ अनुसार मापदण्डबमोजिम ग्यास उद्योगीले सिलिन्डरको अनिवार्य हाइड्रोलिक परीक्षण गर्नुपर्छ । ग्यास भर्ने बेलामा, नयाँ सिलिन्डर बजारमा पठाएपछि प्रत्येक १०/१० वर्षमा, त्यसपछि पाँच/पाँच वर्षमा र त्यसपछि तीन वर्षमा हाइड्रोलिक परीक्षण गर्नुुपर्छ तर व्यवसायीले अनिवार्य रूपमा हाइड्रोलिक परीक्षण नगर्ने गरेको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ रहेको पाइन्छ । त्यसर्थ बजारमा र उपभोक्ताका भान्सामा धेरै पुराना परीक्षण नगरिएका सिलिन्डर पठाइन्छन् ।

समग्रमा भन्नुपर्दा खाना पकाउने ग्यासका सिलिन्डर विस्फोट वा अन्य चुहावटका कारण हुने जलनका दुर्घटनाका बहुआयाम रहेका छन् । मूल रूपमा खाना पकाउन ग्यासका उपभोक्ता बढ्दा तिनीहरूलाई प्रयोगसम्बन्धी उपभोक्ता शिक्षा वा सचेतना नहुँदा यस्ता दुर्घटना बढी हुने गर्दछन् । त्यससँगै ग्यासका सिलिन्डर, रेगुलेटर, पाइप र चुलोको प्रविधि र गुणस्तर दुर्घटना कम गर्न उत्तिकै महत्वका हुन्छन् । यसमा आवश्यक मापदण्ड पूरा नगरी अति प्रज्वलनशील ग्यास सिलिन्डर बजार पठाउने र यसको प्रयोगबारे उपभोक्तालाई पर्याप्त जानकारी नहुँदा दुर्घटना भई जनधनको क्षति हुने गरेको हो । यसमा पनि भन्ने हो भने मापदण्डविपरीतका कुच्चिएका सिलिन्डर, कमसल रेगुलेटर र पाइपको प्रयोग, नियमन गर्ने निकायको प्रभावकारी नियमन र गुणस्तर परीक्षणमा कमजोरी रहँदा दुर्घटना हुने गरेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । अहिलेसम्म १८ उद्योगले मात्रै मिति सकिएका २९ हजार एक सय ९६ थान ग्यास सिलिन्डर नष्ट गरेका छन् । यसमा सबैभन्दा धेरै कोसी ग्यास उद्योगले १० हजार एक सय ९० थान सिलिन्डर नष्ट गरेको छ । त्यस्तै, नेपाल ग्यासले नौ हजार सात सय २२, एचपी ग्यासले दुई हजार आठ सय ५३, सिद्धार्थ ग्यासले दुई हजार पाँच सय १५, सगरमाथा ग्यास उद्योगले एक हजार चार सय ६० थान सिलिन्डर मिति सकिएपछि नष्ट गरेका छन् । त्यसैगरी, गौरीशंकर ग्यास उद्योगले पाँच सय ९९, बाबा ग्यास उद्योगले पाँच सय ९४, त्रिशूल ग्यास उद्योगले तीन सय ९०, एभरेस्ट ग्यास उद्योगले दुई सय १५, लुम्बिनी ग्यास उद्योगले एक सय ५८, भेरी ग्यासले एक सय ५०, मारुती ग्यासले एक सय ४०, सुगम ग्यासले ९०, प्रिमा ग्यासले ५०, सुपर ग्यासले नौ र उग्रचण्डी ग्यासले पाँच थान सिलिन्डर मिति सकिएको पाएपछि नष्ट गरेको संघले जनाएको छ  ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया