Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लग‘गो ग्रिन’लाई सपोर्ट गरौँ, ढाका र अल्लो प्रयोग गरौँ !

‘गो ग्रिन’लाई सपोर्ट गरौँ, ढाका र अल्लो प्रयोग गरौँ !


काठमाडौं । अहिले विश्वभरि नै जलवायु परिवर्तन, बेमौसमी बाढी, पहिरो, हिमताल विस्फोटन, वायु प्रदूषण, भोकमरी, डढेलो, पिउने पानीको संकट आदिको कारण चिन्ता बढेको छ । यसो हुनुको कारण अरु कोही नभएर यही धरतीका मानिसहरु नै हुन् भन्ने स्वीकार गर्न थालिएको छ । अनपेक्षितरुपमा जलवायु परिवर्तन, बेमौसमी बाढी, पहिरो, हिमताल विस्फोटन, वायु प्रदूषण, भोकमरी, डढेलो, पिउने पानीको संकट आदिको कारण सीमित मानिसले नाफामुखी उद्देश्य लिएर कृतिम ढंगले धैरैभन्दा धेरै उत्पादन गर्नमा जोड दिनु नै हो भन्ने विज्ञहरुको भनाइ रहेको छ ।

तर अहिले आएर ढिलै भए पनि विश्वभरि नै ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारासहित नयाँ–नयाँ अभियानहरु सुरु भएका छन् । यस कार्यमा चेतनाको वृद्वि दर पनि बढ्दो क्रममा रहेको देखिन्छ । चाहे त्यो खाने कुरोमा होस् वा पिउने कुरोमा होस्, वा शरीर ढाक्ने कपडा अथवा भनौँ मानिसहरुले आफूले लगाउने लत्ता–कपडा, जुत्ता–चप्पल, पैसो बोक्ने ब्याग, बाहिर–फेर जाँदा बोक्ने साना–ठूला झोला आदिका लागि पनि मान्छेहरुले सकेसम्म र आफ्नो आर्थिक हैसियतले भ्याएसम्म हातले बुनेका ढाका कपडा, हातले बुनेका र अल्लो (सिस्नोको रेसा) बाट बनेका कपडा, हातले बुनेका राडीपाखी, खाँडी (घरबुना) आदि लगाउने प्रचलन सुरु भएको छ । दिनदिनै यो क्रम बढ्दै गएको देखिन्छ । त्यसैले भन्न सकिन्छ अब मानिसहरु आनुधिक जमानाको नाममा आफूखुशी जताभावी गर्नेभन्दा पनि फेरि प्रकृति र प्रकृतिको नियमअनुसार चल्न थालेका छन् ।

विश्वभरि नै चलेको ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारा र नयाँ अभियानको चर्चा गर्दा मानिसहरुले आफूले लगाउने लत्ताकपडा, जुत्ताचप्पल, पैसो बोक्ने ब्याग, बाहिर–फेर जाँदा बोक्ने ठूला झोला आदिका लागि पनि मान्छेहरुले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी आदि लगाउने प्रचलन सुरु भएको छ । यो क्रम बढ्दै गएको छ भनी माथि नै उल्लेख भएको छ । त्यसैले यहाँ अरु कुरो जस्तैः अल्लो/सिस्नो, गाँजा, केरा आदिको रेसाबाट बनेका कपडा, हातले बुनेका राडीपाखी, खाँडी आदिलाई छाडेर ‘तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, इलाम, संखुवासभालगायत पूर्वी क्षेत्रमा ढाका’ भनेर चिनिने र हाते तानद्वारा उत्पादित लत्ताकपडाबारे लेख्ने जमर्को गरिएको छ ।

हुन त परम्परादेखि नै लिम्बु जातिमा ‘थाका’ भनेर चिनिन्छ, ‘ढाका’लाई । स्मरणीय के छ भने, लिम्बु भाषामा ‘थाक थाक्मा’ तान बुन्नु÷तान बुन्ने भन्ने अर्थमा ‘थाका’ हुँदै ‘ढाका’ भएको हो । त्यसो भए पनि नेपालका आदिवासी जनजातिहरु जस्तैः लिम्बु, कुलुङलगायत प्रायः सबै किराँतीहरुमा अल्लो, सिस्नोको रेसा, राडीपाखी, खाँडी आदि लगाउने प्रचलन रहेको थियो÷छ । हुन त ढाका कपडाका सम्बन्धमा भन्नुपर्दा कपडा भन्नाले केही समयअघिसम्म ‘पाल्पाली ढाका’ र ‘तेह्रथुमे ढाका’लाई मात्रै चिन्ने गरिन्थ्यो । अथवा भनौँ व्यावसायिकरुपमा ‘पाल्पाली ढाका’ र ‘तेह्रथुमे ढाका’लाई मात्रै चिन्ने गरिन्थ्यो ।

सम्भवतः ‘तेह्रथुमे ढाका’ उद्योगकी सञ्चालिका उज्वलता तुम्बाहाङफेले तेह्रथुममा ढाकालाई व्यावसायिक रुपमा सुरु गरिन् भन्न सकिन्छ । उनले तेह्रथुम जिल्लाको सदरमुकाम मेयोङ लुङ बजारमा आजभन्दा झण्डै ३२/३३ वर्षअघि ‘तेह्रथुमे ढाका’ उद्योग दर्ता गरेर ढाका उद्योग सुरु गरेकी थिइन् । केही वर्षअघिसम्मको तथ्यांक हेर्दा तेह्रथुम जिल्लाबाट मात्रै ढाकाजन्य उत्पादन र लत्ता–कपडा तीन करोड रुपैयाँभन्दा बढीको बिक्री हुनेगरेको थियो अहिले कम्तीमा पनि चार–पाँच करोडदेखि सात–आठ करोडसम्मको ढाका कपडा र ढाकाजन्य उत्पादन तेह्रथुम जिल्लाबाट बाहिर जाने अनुमान गर्न सकिन्छ ।

त्यसो त पाँचथर जिल्लाको थर्पु गाउँकी कल्पना योङहाङ पनि विसं २०६२/०६३ देखि ढाका कपडा र ढाकाजन्य उत्पादनमा लागिपरेकी छिन् । त्यसो कल्पनाले नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनलाई नेपालमा मात्रै नभएर विश्व बजारमा चिनाउने र बजार व्यवस्थापन गर्ने काममा पनि लागिपरेकी छिन् । यसका लागि उनले ‘द हाइल्यान्ड आर्ट’ नामक संस्था समेत खोलेकी छिन् । उनका अनुसार सुरुमा उनले १५ हजार लगानीमा नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादन सुरु गरेकी थिइन् । स्मरणीय के छ भने, यसरी नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादन, बजार प्रवर्द्धन र बिक्री गर्नका लागि उनले कुनै शोरुम, अफिस वा कार्यलय खोलेकी छैनन्, उनी यी सबै काम सामाजिक सञ्जाल फेसबुकबाटै गर्छिन् । नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनहरुमा के–के उत्पादन भइरहेका छन् त ? भनी प्रश्न गर्दा कल्पना भन्छिन्, ‘टाइ, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, सल, इस्टकोट, मेख्ली, कोट, दौरा, सुरुवाल, मफलर, पेटी, मेक्सी, बक्खु, जुत्ता, चप्पल, झोला आदि सरसमानहरु तयार हुन्छ । त्यसो त हाल अधिकांश नेपाली क्रेताहरु पनि विदेशमा रहेका आफन्तहरुलाई कोसेली पठाउन र आफैँ पनि सजाएर राख्न वा मेला, उत्सव तथा विभिन्न कार्यक्रमहरुमा लगाउनका लागि ढाका कपडा र ढाकाजन्य उत्पादनहरु किन्ने गरेका छन् ।

त्यस्तै लिम्बुलगायत आदिवासी जनजातिहरुले गीत–संगीतको भिडियो बनाउँदा, छोटो भिडियो फिल्म बनाउँदा, सिनेमा आदि सुटिङ गर्नका लागि कलाकारहरुले लगाउने ड्रेसअपका लागि चाहिने कपडा किन्न वा भाडामा लिने क्रेज पनि अहिले बढ्दो क्रममा रहेको एक ढाका व्यापारीको भनाइ छ । त्यस्तै नेपाल सरकारका कर्मचारी, सेना प्रहरी, सशस्त्र प्रहरीलगायत जिल्लाजिल्लामा घुमघाममा जाने÷आउने आन्तरिक पर्यटकहरुले पनि कोसेलीको रुपमा टाइ, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, सल, इस्टकोट, कोट, सुरुवाल, मफलर, मेख्ली, फेटा, पेटी आदि लाने गरेका छन् । त्यसो त, हाल जुन–जुन देशमा लिम्बु समुदाय र समग्र नेपालीहरु पुगेका छन्, ती देशहरुमा पनि ढाका कपडालगायत ढाकाजन्य उत्पादनहरु पुग्न थालेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

ताजा अपडेट