Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसामाजिक उपन्यास ‘हटारु’माथि विचरण

सामाजिक उपन्यास ‘हटारु’माथि विचरण


दुल्लू उँदै दैलेख उँदै ताल बजाउन्या उँदै
दैले दिन कसरी काट्यौ मैले काट्या रुँदै
कर्णाली अञ्चलको भू–भागबाट दैलेख उँदो हाटतिर पर्छ । उँदो दक्षिणतिरलाई हाट र उँभो उत्तरतिरलाई भोट भनिन्छ कर्णालीमा । कर्णालीको प्रचलित बोलीभाषामा दैलेखलाई ‘औल’ भन्ने गरिन्छ । हो, यिनै औलमा जन्मिएका हुन् तन्नेरी हटारु ओम रिजाल । यिनी हाट गए÷गएनन् तर हटारुको गहिरो अनुभूति भने मानसपटलमा भरिपूर्ण रहेछ । हटारु उपन्यास ओमको तेस्रो कर्मफल हो । योभन्दा अगाडि दुईवटा कविताकृति प्रकाशित छन् उनका । इतिहास, संस्कृति, साहित्य र धार्मिक सम्पदाका हिसाबले दैलेख कर्णाली प्रदेशकै मूलस्थली हो भन्दा अमिलिनु पर्दैन । अझ राजनीतिक चेतनाको बारे मिहिन मिमांसा गर्ने हो भने यस भूगोलको अग्रणी जिल्ला मानिन्छ दैलेख । यी सबै साधन र स्रोतको प्रभावले साहित्य र प्रशासनिक क्षेत्रमा दैलेख अविछिन्नरूपमा अगाडि बढिरहेको छ ।

उपन्यासकार ओम रिजाल मूलतः राष्ट्रसेवक कर्मचारी हुन् । तर उनले जागिरलाई साधन र साहित्य संस्कृतिलाई साध्य बनाएका छन् । विज्ञानको विद्यार्थी, साहित्यको साधक, धर्म परम्पराको खाटी अनुयायी, जीविकाका लागि नोकरी, चौघेराको माहुरी हुन्, ओम । हटारुको छुट्टै महत्व र थुप्रै विशेषता छन् । हाट संस्कृति हो, हटारु साहित्य । हाट जाँदाको पीडा, घर पुग्दाको खुशी दुवै रोमाञ्चित पक्ष हुन् । यसरी नै तन्नेरी हटारु ओम हटारु जान्छन् तर हटारु डोकोमा थुप्रै चिजहरू बिर्सेर पनि चाहिने मालसामान भने जोहो गरेकै हुन्छन् । जतिबेला यातायातको सुविधा थिएन त्यतिबेला उपभोग्य वस्तुको बन्दोबस्त गर्न महिनौँ दिन लगाएर हाट जानु पथ्र्यो । पश्चिमको पहाडी भेगतिर खुबै चल्तीको यो हटारु संस्कृति निकै कारुणिक, मर्मज्ञ र परिस्थितिजन्य कार्य हो । वर्षभरिलाई पुग्ने उपभोग्य वस्तु ल्याउन महिनौँ दिन लगाएर हाट जानु त्यति सहज हुँदैन थियो । त्यैबेलाका चल्तीका हाटहरू थिए बाकेको नेपालगञ्ज, बर्दियाको राजापुर र कटासे । त्यहाँ पुग्न तीनवटा ठूला नदी कर्णाली, भेरी र सेतीका दर्जनौँ ठाउँमा कतै डुङ्गा त कतै कम्मरमा चिण्डा बाधेर तर्नु कम्ती जोखिम कुरा थिएन । हाट जानेहरू कोही नदिमा बगेर कोही औलोले, कोही भावर लागेर पनि ज्यान गुमाउँथे । यसर्थ हाट जाँदा रुवाबासी चल्नु र घर पुग्दा हर्षासु झार्नु आँखाको नियति नै बन्थ्यो । हटारुलाई पु-याउन टाढा–टाढासम्म पुग्थे आफन्तहरू फर्किँदा दुई/तीन दिन लाग्थ्यो उनीहरूलाई त्यसैले त घरमा बस्नेहरूले देउडा गीतमा व्यङ्ग्य यसरी कस्थे–हाट जान्या कैले छियौ हटेउरु पुरेउन्या माया लाउन्या कैले छियौ जिउ मात्तै झुरेउन्या

अब हटारु उपन्यासमा विचरण गरौँ । यस उपन्यासका सामाजिक, सांस्कृतिक, धार्मिक र केही रोचक पक्षहरूछन् । चेतनाको दृष्टिकोणले उच्चतम कोटिमा पर्न सक्छ । त्यसर्थ नै उपन्यास पढ्दै जाँदा यो एक आन्दोलन पनि हो । सशक्त सांस्कृतिक, भाषिक र नारी अस्तित्वरक्षा अभियानको आरम्भ हो यो हटारु । आफ्नो मातृभाषा र मौलिक संस्कृति बिस्तारै क्षयीकरण हुने हो कि ? चिन्ता गरिएको छ । गाउँका स्वघोषित ठालुहरूले भत्काउँदै गएको सभ्यताको पाटोप्रति आक्रोश पोखेको छ । ‘संस्कार जोगाऔँ कुसंस्कार अन्त्य गर’ हटारुले हजारौँलाई खुलेआम आह्वान गरेको छ । नारीले नारीमाथि गरेको परपीडन, ठूलाबडाले गरिबमाथि गरेको अन्याय, छुतले अछुतमाथि गरेको विभेद, यस्ता समाजका काला दागहरूविरुद्ध लेखक निर्भिग्न उभिएका छन् । बाहुनको छोराले दलितको घरमा खाना खानु, क्षेत्रीको छोरी दलित केटासँग पोइल जानु, दलितको छोराले क्षेत्रीकी छोरी विवाह गर्नु, उपन्यासका सबल र क्रान्तिकारी पक्ष हुन् । तर अयोध्यामा संस्कृत पढेर आएको ब्राह्मणको छोराले दलितको घरमा खाना खाएबापत उसलाई गाउँ निकाला गर्दा ऊ विक्षिप्त भएको घटनाले पनि उपन्यासको उचाइ चुलिएको मान्नुपर्छ किनकि लेखक सत्यमा अडिग रहेछन् भन्ने ज्वलन्त प्रमाण हो यो । उपन्यासमा लेखकले आफ्नो मातृभाषा र मौलिक परम्परालाई सशक्त ढंगले उठाएका छन् ।

उनलाई यसमा कुनै हिच्किचाहट र आत्मग्लानी छैन । लेखक सतिशाल बनेका छन् । बज्यैलाई बुबा, काकालाई काउजु, सानिमालाई साञ्ज्या, दिदीलाई आज्जु, फुपूलाई पुस्या, आमालाई जिया, बाबालाई बाउजु भन्दा गर्व गर्छन् उनी । हाम्रो परम्परागत साइनो बिगारेर फुपाजुलाई भिनाजु, ससुरालाई बा, सासुलाई आमा, सालालाई भाई, जेठानलाई दाइ, श्रीमतीलाई मामु भन्ने विदेशी प्रभावले छोप्नै लागेको यो आडम्बरी समयमा आफ्ना ठेट मौलिक शब्द साइनोलाई उपन्यासमा सगर्व उपस्थित गराउनु लेखकको बहादुरी हो । भाषाप्रतिको गहिरो प्रेम र संस्कृतिप्रतिको अद्वितीय श्रद्वा हो । मागल, धमारी, पणेली, कर्खा, गाथा, भारत, भैलो, भूओ, पञ्चेबाजाको मोह पनि बिछट्ट छ लेखकमा । संस्कृतिभित्रको विकृत पाटोलाई पनि नलजाई उठान गरेका छन् । सुन्दा अपराधझैँ लाग्ने अनौठो प्रचलन छ कर्णाली सेरोफेरोमा । त्यसलाई ‘साटीको साटो’ भन्छन् ।

तात्पर्य के हो भने कसैले ऋण तिर्न नसकेपछि उसकी छोरी माग्ने तर दुलहा जति कुरूप भए पनि बुढो भए पनि बुढो र कुरूप भन्न नपाइने विवाह गर्नै पर्ने । मूलपात्र सुनकेशाका काउजुले साठी रुपैयाँमा सुनकेशालाई एउटा अपाङ्गलाई पोइल दिन्छन् । साठी रुपैयाँमा किनेर ल्याएकी हुनाले त्यो अपाङ्गको घरमा नपाउनु सास्ती पाउँछे बिचरी सुनकेशा । त्यहाँ पनि बस्न नसकेर अर्कोसँग हिँडिदिन्छे । एउटै केटी तीन जनाभन्दा बढी र एउटा केटा तीनभन्दा बढीसँग बिहे गर्छन् भन्ने प्रसङ्ग पनि नढाँटी बोलेका छन् लेखक । अन्तरजातीय विवाह गर्नेको घरपरिवारलाई गाउँ निकाला गरेको, उनीहरूको श्रीसम्पति खोसेको कुरासँग आगो बनेका छन् कृतिकार । ‘जातले विभेद गर्छ प्रेमले समानता ल्याउँछ’ लेखक ठोकुवा गर्छन् ।

खस (राष्ट्र) भाषामा लेखिएको दामुपालको पहिलो कृतिस्तम्भ दैलेखको दुल्लूमा छ । लेखक हटारुमार्फत सिङ्गो बौद्धिक वर्ग र इतिहासविद्लाई चुनौती दिन्छन् ‘कि अर्को देखाऊ कि यसैलाई स्वीकार गर’ । इतिहास पनि समावेश हुँदा हटारु हटारुकै ‘छकौणी’ जस्तो मिसमास र स्वादिष्ट छ । छकौणीको पनि आफ्नै भाष्य छ– दर्जनौँ हटारुले आ–आफ्नो घरबाट विभिन्न पकुवान (पुरी, हलुवा, खीर, अर्सा, ढ्यासु, लगण, चाम्णिखाजा, तल्यारोटा, चिउणा इत्यादि) ल्याएका हुन्छन् साझ जुन स्थानमा बास हुन्छ त्यहाँ सबै पकुवान एकै ठाउँ मिसाएर खानुलाई नै छकौणी भनिन्छ । उपन्यास विभिन्न फूलमालाले उनिएको छ । इतिहास, राजनीति, संस्कृति, साहित्य, समाज, समुदाय, वर्गको स्फटिकजस्तै छ । प्रकृतिप्रेमको मोह झन् अथाह देखिन्छ । उपन्यासको प्रधान पात्र सुनकेशा नारी हो तर आजीवन दुःखी पनि हो ऊ । यसकारण उपन्यास कारुणिकतामा डुबेको नारी प्रधान भन्न मिल्ला । जातीय विभेद र सामाजिक कुरीतिका विरुद्ध उभिएको हुनाले क्रान्तिकारी पनि छ ।

कविता कर्ममा अब्बल र वरिष्ठतम् लाग्ने उपन्यासकार ओम रिजाल उपन्यासमा त्यति निक्खर भेटिँदैनन् । शिल्पकलाको कमजोरी पाइन्छ । कथाकी पात्र सुनकेशाले जन्मदेखि मृत्युसम्म सुख के हो ? मीठो के हो ? आराम के हो ? रमाइलो के हो ? कहिल्यै अनुभूत गर्न पाउन्न । लेखक यति किन भावुक बने ? दुःख मात्रै झेल्नुपर्ने बाध्यता के हो ? पीडा सहेरै बस्नुपर्ने प्रतिवाद गर्न नपाइने किन ? लेखकले जवाफ दिनुपर्छ पाठकलाई । केही समीक्षकहरूले हटारुलाई जीवनदर्शन भनेर व्याख्या गरेको पनि पाइयो । हटारुजस्तै जिन्दगी दुई दिनका लागि मेला भर्न आयो रमाइलो ग¥यो गयो । तर जीवन दर्शनसँगै जीवन दृष्टान्त पनि हो हटारु । जिन्दगी जिउनका लागि जिन्दगीले बाध्यात्मकरूपमा व्यहोरेको तितो सत्य हो हटारु । परिस्थितिजन्य संस्कृति हो हटारु । हटारुले ल्याएको गुढ र दरियानारुलको स्वादभन्दा यो मीठो र लाभदायक छ । पठनीय अनि संग्रहणीय छ । पाठक अलमलिनु पर्ने कहीँकतै छैन । बरु चलन र प्रचलन बुझ्न धेरै उपयोगी छ उपन्यास हटारु । लेखकलाई बधाई एवं शुभकामना ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया