Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमृत्युको सन्त्रास बोकेर बाँचिरहेको सहर

मृत्युको सन्त्रास बोकेर बाँचिरहेको सहर


लक्ष्मण सिटौला

काठमाण्डौं,चैत २८

पहाडमा केही छैन भन्नेहरूको लागि यतिबेला पहाड शान्ति र सुरक्षाको स्वर्गभूमि विश्वास र भरोसाको स्वप्न भूमि अनि आस्था र धर्मको कासी साबित भएको छ । २१ दिनको लकडाउनका कारण पहाडबाट पोको बोकेर काठमाडौँ आएकाहरू मेरो थाकथलो भनी फर्किएका छन् । आखिर विपत्तिमा पहाड नै चाहिने रहेछ । जब जब मुलुकमा विपत्ति आउँछ अनि पहाड भिमसेनको बल भएर उभिन्छ । कर्णको कवच भएर तेर्सिन्छ भिष्मको प्रतिज्ञा भएर गुन्जिन्छ । अर्जुनको गान्डिव भएर सुरक्षा प्रबन्ध मिलाउँछ । बुइगलमा धानको भकारी छ, घ्याम्पोमा चामल छ, बारीमा सागसब्जी छन्, आगन छेउमा पाकेका पविता छन्, जुठेनमा गोलभेडा लहलाएका छन्, पिँढीमा दाउराको टेको छ, घरनजिक पानीको कुवा छ, गोठमा गाइवस्तु दुहुना छन्, छरछिमेकीले बेलाबेलामा खाए नखाएको चासो राख्छन् आराम बिराम सोध्छन्, चारैतिर हरियाली छ, स्वास्थ र स्वच्छ हावा बहन्छ, धान कुट्न मिल र ढिकीजाँतो छन् र आजसम्म गाउँमा भोक पसेको थाहा छैन । गाउँमा सत्य युग अझैसम्म ढलेको छैन । तैपनि मानिसहरू सुख खोज्न सहर पस्छन् र फेरि विपत्ति व्याधि र अनिकालका बेला सपनाको पोको बोकेर सहर आएकाहरू स्वात्तै गाउँ फर्किन्छन् । यतिबेला गाउँ गुञ्जायमान छ । सहर मृत्युुको सन्त्रास बोकेर बाँचिरहेछ ।

मानिस जति पापी अरु कुनै जीवन छैन किन कि मान्छेले मान्छे मात्रै होइन निर्दोष अन्जान पशुलाई पनि मारेका छन् । मुसो, चमेरो, सर्प, भ्यागुता, भैंसी, हाब्रे, लोखर्के, दुम्सी, कमिला, साङ्ला, किरा, उल्लु, हुचिल, बिरालोदेखि कुकुरसमेत खान्छन् । अझ मिल्ने र नियमले दिने भए मान्छेले मान्छेको गिदी रोटी पकाएर खान्छन् । उसै त मान्छेले मान्छेको छातीमा खेती गरेर खाइरहेकै छ । मान्छे लोभीपापी इष्र्यालु भ्रष्ट पतीत लुटाहाफटाहा, जालीझेली, रिसालु, नसालु, विषालु, बैमानी, बेमौसमी, असहयोगी, ठग, बलात्कारी आदि सबै आदिम चरीत्र बोकेको जीव हो । आवरण आराध्य पशुपतिको जस्तो, भित्रको मन भने पत्रुजस्तो । देखावटी दान, देखावटी सान, देखावटी गान, देखावटी मान, मानिस स्वयं कोरोनाको बिम्ब हो, जो गरिब छ, जो कमजोर छ जो अञ्जान छ, त्यही अञ्जान अदनाको मुटुमा झिर घोप्छ र रमाउँछ । यतिबिघ्न अवगुणको आगो बोकेर अजम्बरी छु भनेर हिँड्ने मनुष्य स्वयं प्रकृतिको अगाडि आज एक्लिएको छ । काटेको घाउमा रगत बगुञ्जेल मात्रै हो उसलार्ई दुख्ने तर निको भैसकेपछि अफूले बोकेर हिँडेको खततिर कहिले फर्केर हेर्दैन ऊ । हिजोको दुखाइले छोडेर गएको खतमा हेर्न सिक्ने हो भने भोलि पनि सुरक्षित हुन सकिन्छ भन्ने कुरा कहिले बुझेन मनुष्यले ।

व्याधि सधैँ आउँदैन । सधैँ मानिस दुःखी हुदैनन् । सधैँ घाम लागिरहेका हँुदैनन् । सधैँ अँध्यारो पनि बाँचिरहँदैन । अँध्यारो मर्नु भनेको उज्यालो जन्मिनु हो । उज्यालो जन्मिनु भनेको मानिस सुखी हुनु हो । मानिस सधैँ खुसी भैरह्यो भने सुखको महत्व पनि हुँदैन । सुख पनि कहिलेकाहीँ असुख हुन्छ । सुखबाट पनि कहिलेकाहीँ मानिसलाई सुख मिल्दैन । दुःख भोगेकाहरूलाई सुखको स्वाद मीठो हुन्छ । उपयोगितावादमै निर्भर छ, हाम्रो जीवनको सारतत्व । व्याधि आधा निदाएकाहरूलाई ब्युँझाउन आइदिन्छ कहिले र निलिदिन्छ मानिसका सपनाहरू ।

सपना जोसग थिएन तिनले अनुभूति गर्न पाएनन के हो सपना । सपना जोसँग थियो टुट्यो, तिनले पनि भोग्न पाएनन् । सपनाको स्वाद भोग्न निदाउनु पर्छ । मानिसहरूलाई झगडा गर्दै गरेको अवस्थामा यदि तपाईंले देख्नुभयो भने तपाईंभित्र झगडा गर्ने जुन आदिम प्रवृत्ति छ नि त्यो बिसर्जित हुन्छ, त्यसको निकास हुन्छ, त्यो बाफिएर शून्यतामा जान्छ । अझ दुई अशिक्षित स्त्रीहरू लड्दै गरेको, त्यो भुत्लाभुत्ली लुछाचँुडी र कुस्ताकुस्ती अनि घिनलाग्दा फोहोरी शब्दहरूको प्रयोग देख्दा त तपाईं त्यताबाट छिटो–छिटो भाग्ने कोसिस गर्नुहुन्छ ! आइमाई–आइमाईबीचको झगडा अत्यन्तै घिनलाग्दो हुन्छ । पुरुषहरूको बोली कम, हात ज्यादा चल्छ । स्त्रीहरूको हात कम, मुख ज्यादा चल्छ । फरक यति हो स्त्री र पुरुषमा । भनिन्छ नि कहिले सासुको पालो कहिले बुहारीको पालो । सबै पालै कुर्ने हुन यहाँ ।

अहिले नेपालको ग्रामीण भेगमा भन्दा पक्कै पनि सहरमा कोरोनाको सन्त्रास ज्यादै बढी छ । गाउँ घरमा मानिसहरू झुन्ड–झुन्ड भएर बस्ने सम्भावना ज्यादै न्यून हुन्छ । प्रायः चाडपर्वभन्दाबाहेक अन्य दिनहरूमा त्यहाँ मानिसहरू भेला हुने सम्भावना रहँदैन तर सहर त्यस्तो स्थान हो जहाँ सधैँ भिडभाड भैरहेको हुन्छ । मानिस स्वाभाविक रूपमा आफ्नो प्रगति चाहन्छ त्यो प्रगतिको सम्भावना गाउँमा भन्दा सहरमा बढी हुने भएकोले यहाँ गाउँबाट सहरमा हरेक बर्ष बसाइँ सर्नेको संख्यामा उल्लेख्य वृद्धि भैरहेको छ वास्तवमा त्यो मानिसको भ्रम थियो । मानिस सोच्न विवश छ आजको भौतिक युगमा कि सहरमा हरेक कुराको पहुँच सजिलो छ । शिक्षा, स्वस्थ, जागीर व्यापार र मनोरञ्जनका लागि सहजता भएकै कारण आफ्नो आर्थिक अवस्थाले भ्याएसम्म मानिस गाउँमा भन्दा सहरमा नै बस्न खोज्छन् । हाम्रोजस्तो विकासोन्मुख देशमा गाउँको विकासलार्ई भन्दा सहरको विकासलार्ई राज्यले पनि बढ्ता ध्यान दिने हुनाले हरेक मानिसको उद्देश्य सहरमा नै बस्ने हुन्छ । सहरमा जागीर पाइने हुनाले पनि युवा यहीँ आकर्षक हुन्छन् । एक जना युवाको सहर प्रवेशपछि उससँग आश्रित अरु पाँच जना सहरमा आउछन् र यसरी नै सहर मानिसले भरिँदै जान्छ । नेपालमा मात्रै होइन यो सहरमा जमिनको अभाव हुँदै जाँदा गाउँ खाली हुँदै गएको छ । मानिस स्वार्थले अहमले अभिमानले घमण्डले पनि ऊ आफ्नो प्रगतिअनुकुलको बासस्थान खोज्दै हिँड्ने घुमन्ते प्राणी हो । तर जब सहर केवल सिमेन्टको जंगल बन्दै जान्छ अनि फेरि गाउँको याद आउँछ गाउँमै हुर्केका मानिसहरूलार्ई ।

अन्तर्राष्ट्रिय उडानहरूबाट नेपाल भित्रिएका यात्रुहरू धमाधम संक्रमित भएको खबर आउन थालेपछि मानिसहरू सहर छोडेर गाउँ भाग्न थाले । कोरोना जब मध्यपूर्वका देशहरूमा फैलिसकेको थियो तात्कालै नेपालले अन्तर्राष्ट्रिय उडान रोक्न सक्नुपथ्र्यो तर त्यसो हुन सकेन यसमा सरकार चुकेकै हो । मध्यपूर्वमा करिब पाँच लाख नेपाली कार्यरत छन् यदि ती सबै नेपाल आउने हो भने नेपाल कोरोनाकै कारण बमजस्तै पड्किने सम्भावना थियो । कोरोना सन्त्रासका कारण जब भारतले लकडाउन सुरु ग¥यो हामी भने अझै सोचिरहेकै थियौँ । यस्तोमा छिटोभन्दा छिटो निर्णयको आवश्यकता हुन्छ । त्यो बेलासम्म सबै अन्तर्राष्ट्रिय आगमन फ्लाइटको प्यासेन्जर लगबुक विमानस्थलको आगमन अध्यागमनबाट मगाई सबै यात्रुलार्ई सम्पर्क राख्न सकिएको भए नेपाल अझै शान्त हुन सक्थ्यो । केही थोरै भाग्यमानी देशहरूमध्य हामी पनि पर्छौँ जहाँ कोरोनाले आफ्नो शिर उठाउन सकेको छैन । यो लेख तयार पार्दासम्म जम्मा ९ जना मात्रै सन्क्रमित छन् र एक जना त निको भएर पनि घर गैसके ।

चाइनाको वुहान हुँदै कोरोना जब मध्यपूर्वमा आइपुगिसकेको थियो, युरोपमा व्यापक रुमल्लिसकेको थियो, जब मोदिजीले जनता स्वघोषणा बन्दको कार्यक्रम ल्याइसकेका थिए हामी भने निर्धक्क हुँदै अन्तर्राष्ट्रिय उडानहरू गरिरहेका थियौँ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा १५ दिन अगाडि नेपाल भित्रिएका प्यासेन्जरहरूको आगमन रेकर्ड उतार्नु अनिवार्य थियो । तिनले काटेको हवाइ टिकटमा सम्पर्क नम्बर पनि हुने भएकोले सजिलोसँग तिनीहरूको ठेगाना पनि पत्ता लगाउन सकिन्थ्यो । खास गरेर यूएई, दमाम, दोहाजस्ता ठाउँबाट आउने सबै उडानबाट नेपाल आएका यात्रुहरूसँग नेपाल सरकारले सम्पर्क स्थापित गरेपछि मात्रै खतराको घडीबाट जोगिने सक्ने अवस्था थियो । कतिपय पत्ता लागे कतिपय पत्ता लागेनन् । हाम्रो भारत र चीनसँग सिमाना जोडिएको छ । तत्काल बोर्डर सिल गर्न सकिए पनि चोरबाटो भएर नेपाल भित्रिने कति थिए र अहिले पनि जारी नै छ ।

भारतमा रोजगारीका लागि जानेहरूलाई नेपाल नफिर्किनु भन्नु पनि अन्तर्राष्ट्रिय कानुनतः अमान्य हुन्छ । तर पनि दुई मुलुकबीचको आपसी सहमतिका कारण यस्ले किनारा पाएकै हो भन्नुपर्छ । जब कोरोना भाइरस दोस्रो चरणमा पुग्यो तब नेपाल सरकार र नेपाली जनता अझै त्रसित भए र लकडाउन अब वैशाखको ३ गतेसम्म लम्बिएको छ । कोरोनाको महामारी रोकथामका लागि औषधि र स्वस्थ उपकरण खरिद प्रक्रिया विधिसम्मत नभएको कारण पनि सामाजिक सन्जालमा र प्रतिपक्षबाट दह्रो विरोधको सामना गर्नुप¥यो सरकारले र अन्ततः ठेक्का प्रक्रिया नै रद्द गर्न बाध्य भयो सरकार । सरकारले जनताको कुरा सुन्ने हो सुनेकै हो । यस्तो महामारीमा हामीले एकताको प्रदर्शन गरेर महामारीबाट राज्यलार्ई बचाउन र सुरक्षाको लागि आइपर्ने हरेक चुनौती सामना गर्न तयार रहनपर्ने समय थियो तर हाम्रा सामाजिक सञ्जालहरू केवल विरोधमा मात्रै उत्रियो ।

कम्युनिष्टहरूलार्ई यति लज्जित बनाउन खोजियो कि उनीहरू अन्य राष्ट्रका नागरिक हुन र नेपाली भनेका कांग्रेस र अरु प्रतिपक्षी पार्टी मात्रै हुन् भन्ने महसुस गराउन थालियो । एसईई परीक्षा रोक्नु सरकारले ज्यादै महत्वपूर्ण कदम चालेको हो । नत्र हामी नेपाली यतिबेला कति हताहत हुन्थौँ कि त्यसको कल्पना पनि गर्न सकिँदैन । राम्रो कामको पनि विरोध गर्नु नेपालीको पहिचान हो भन्ने शंका उब्जेको छ अब । जीवन रह्यो भने त जिन्दगीमा त्यस्ता कयौ परीक्षा दिउँला नि केको चिन्ता । हामी कामभन्दा ज्यादा राजनीति गर्छौँ । राजनीतिले हाम्रा सबै विकास प्रभावित भएका छन् । जब एउटा पार्टी सरकारमा पुग्छ अब त्यसले पार्टीको छायाङ्लार्ई छोडेर सिङ्गो राज्यको अभिवावकत्व ग्रहण गर्नु सक्नुपर्छ । पार्टीमा लाग्नु, राजनीति गर्नु, समाजसेवा गर्नुको प्रमुख उद्देश्य चुनाव जितेर सत्ता हत्याउनुको अभीष्टता भएको छ नेपालमा । गरिब मुलुकलार्ई अझै गरिब तुल्याउन यस्ता कर्महरू जिवित रहेसम्म एक–अर्काप्रतिको विरोधी स्वरको धुन्दुली बजिरहन्छ । राम्रोसँग दुई लाइन शुद्ध नेपाली लेख्न नजान्ने खुद्रे बुद्धिमानहरू वडाको अध्यक्ष हाँकिरहेका छन् र त्यस्ता व्यक्तिहरू राजनीतिक आड र गुण्डागर्दीका भरमा प्रशासन चलाइरहेका छन् । आउने चुनावमा फेरि तिनै जनप्रतिनिधि भएर आउने हुन् । अनि यही र यस्तैले हो मौका पर्नासाथ आफ्नै पार्टीको पनि विरोध गर्ने । राजनीति गर्नेहरूको पापी मन नसङ्लिएसम्म देशले कोल्टे फेर्न सक्तैन ।


क्याटेगोरी : विचार / ब्लग


तपाईको प्रतिक्रिया