Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमिटरब्याज पीडितको एकथान उजुरी

मिटरब्याज पीडितको एकथान उजुरी


काठमाडौं । श्रीमान् संयोजकज्यू
मिटरब्याज पीडित छानबिन समिति जनकपुरधाम !

विषय : कारबाही गरिपाऊँ
महोदय,
सरकारले मिटरब्याज पीडितको एकथान उजुरी सरकारले बल्लतल्ल पूर्वन्यायाधीशको संयोजकत्वमा एउटा छानबिन समिति गठन गरेको छ । त्यो अवस्थामा नपुग्न सरकारले निकै प्रयत्न ग-यो । मिटरव्याजबाट सडकमा पुगेका पीडितहरूलाई प्रहरी लगाएर लछारपछार ग¥यो, लाठी चार्ज ग-यो घाइते बनायो, खुलामञ्चमा बास बस्न पनि दिएन, गर्न सकिने जति सबै ग-यो तर केही लागेन र अन्तमा हारथाक भएर मिटरब्याज पीडित छानबिन समिति गठन गरेकाले त्यसलाई बल्लतल्ल भन्ने विशेषण दिइएको हो । तर समितिका माननीय संयोजकप्रति अनास्था प्रकट गर्न र लान्छना लगाउन खोजिएको होइन । समितिले अहिले जनकपुरमा कार्यालय खोलेर मिटरब्याज पीडितहरूको उजुरी संकलन गरिरहेको छ । जनकपुर सिंगो देशको एउटा छेउ हो र देशभरका हिमाल, पहाड सबैतिरका मिटरब्याज पीडितहरू निवेदन लिएर त्यहाँ उपस्थित नहुन पनि सक्छन् । किनकि सुदूर पहाड र हिमाली क्षेत्रका पीडितका लागि जनकपुर निकै परको सहर हो । त्यस्ता पीडितहरूका लागि सूचना प्रविधिको भरपुर उपयोगको ज्ञान नहुन पनि सक्छ । मिटरब्याज पीडित देशका हरेक कुना काप्चामा पिल्सिएर बसेका छन् । पहुँच र सामथ्र्य हुनेले त समितिमा पुगेर निवेदन देलान्, उजुरी गर्लान् तर सामथ्र्य नहुनेले चाहिँ पीडितै भएर बाँच्नुपर्ने विवशता रहेको छ । कतिपय पीडित उजुरी गर्न पनि हिच्किचाउँछन् होला, समाजमा सुकिलामुकिला भएर प्रभाव जमाएर हिँडेका पहुँचदार व्यक्तिहरूको पीडामा परेका होलान् । उनीहरू त्यस्ता पहुँचदारका विरुद्ध उजुरी गर्न डराइरहेका हुन्छन् ।

मिटरब्याजीहरूसँग अर्काको सम्पति लुटेर जम्मा गरेको धन हुन्छ । उनीहरू धनी हुन्छन्, राज्यसत्तामा पहुँच भएका सबैखाले ठूलाबडाहरूसँग उनीहरूको पहुँच हुन्छ । त्यस्ता पहुँचवालाहरूसँग जोरी खोज्नु पीडितको सामथ्र्य बाहिरको कुरो हो । त्यस्ता निरीह, निमुखाहरूको समर्थनमा यो एकथान उजुरी तयार पारिएको हो ।

No description available.

त्यस्ता पहुँचदार मिटरब्याजी पनि अनेकौं संख्यामा होलान्, तिनका यकिन गणना र किटानी जाहेरी पनि यो एकथान प्रतिकात्मक उजुरीमा सम्भव नहोला । जे होस् सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन गरेको समितिलाई सफलताको शुभकामना पनि छ । मिटरब्याज पीडितलाई अल्मल्याउन मात्रै समिति गठन गरेको भए पनि समितिको प्रतिवेदन एउटा दस्तावेज सम्पत्तिका रूपमा राष्ट्रले पाउने छ र त्यसको कार्यान्वयनको पाटो सरकारलाई नै छाडेर समितिले सबै क्षेत्रका पीडितहरूको गुनासो समेटेर प्रतिवेदन तयार पार्ने अपेक्षा गरिएको छ ।

सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत समेत मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउने घोषणा गरेको छ । आशा गरौं सरकार त्यसबाट दायाँबायाँ हुने छैन । जोसुकै भए पनि कारबाही गर्ने बाचाबाट सरकार यताउता लर्बराउन नसक्ने गरी प्रमाणले बाँधेर समितिले प्रतिवेदन तयार पार्ने अपेक्षा सर्वसाधारणले गरेका छन् ।

यस्ता मिटरब्याजीमध्येको सत्तामा पहुँच भएको, मध्यसहरमा बसेर व्यवसायको बाहानामा खुलेआम प्रहरी प्रशासनको संरक्षणमा मिटरव्याजको धन्दा चलाएर जनतालाई उठिबास लगाउने एउटा मिटरब्याजीलाई यहाँ प्रतिकात्मकरूपमा प्रस्तुत गरिएको छ ।

ती मिटरब्याजी हुन् रुपेश पाण्डे । उनी अहिले दरबारमार्गमा दामिलानो नामको इटालियन सामानको पसल चलाउँछन् । यो चलाउनुअघि उनले न्युरोड विशालबजार अगाडि जय अम्बे साडी सोरुम सञ्चालन गदै आएका छन् । त्यसअघि उनी वीरगञ्ज काठमाडौं रात्रि बसका सहचालक थिए अरे, त्यसअघि बारा पर्साको सीमा क्षेत्रका पोके व्यापारी । अहिले उनी निकै धनी बनिसकेका छन् । उनको सम्बन्ध जताततै छ । सरकारमा भएका मन्त्रीका भाइहरूसँग विशेष सम्बन्ध गाँसेका छन् । भारतीय नक्कली मुद्राका कारोबारी ग्याङसँग पनि उत्तिकै उठबस देखिन्छ । प्रहरी प्रशासनमा पनि उत्तिकै पहुँच देखिन्छ । नेताहरूसँग उनको सुमधुर सम्बन्ध रहेको घटनाक्रमले देखाएका छन् । राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा त उनको निकै राम्रो सम्बन्ध देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूमा पनि उनको निकै राम्रो पहुँच रहेको छ । बैंकबाट ऋण लिनका लागि व्यवसाय देखाउन ती पसल र सोरुमहरू काम लागेका छन् । एकातिर राजस्वका अधिकारीहरूसँगको सम्बन्धलाई सदुपयोग गरेर राजस्व छलेर सामान भित्र्याएर नाफाको काम गर्ने गर्छन् भने अर्कोतिर तिनै पसल र व्यवसाय देखाएर बैंकबाट अधिक मूल्याङ्कन गराएर कर्जा निकालेर त्यो रकम समाजमा मिटरब्याजमा लगानी गर्ने गरेका छन् । त्यस्तो धन्दालाई प्रहरी प्रशासन राजस्व र बैंक प्रशासनले संरक्षण र प्रोत्साहन गर्ने गरेको छ ।

पाण्डेले देखावटीरूपमा पसल व्यवसाय गरे पनि उनी दिनभर भेटघाटमै व्यस्त रहने गर्छन् । उनको असली धन्दाचाहिँ मिटरब्याजमा लगानी नै हो । यो कुनै आरोप होइन, त्यसलाई २०७८ पुसमा भएको एउटा व्यवसायी घरानाको पलायनले पुष्टि गरेको छ । कान्तिपथ र दरबारमार्गमा विदेशी रक्सीको व्यापार गर्ने ग्रिनलाइन स्टोरका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल मिटरब्याजको किस्ता तिर्न नसकेर पसलमा ताला लगाएर स–परिवार पलायन भएका थिए । पसल अहिले पनि बन्द नै छ । दश जनाको परिवार नेपालको सबै सम्पत्ति र व्यवसाय छाडेर पलायन भएको त्यो घटना त्यतिबेला निकै दर्दनाकरूपमा प्रस्तुत भएको थियो । त्यस घटनाका मिटरब्याजी नायक तिनै रुपेश पाण्डे हुन् तर त्यसको अहिलेसम्म काहीँकतैबाट छानबिन भएको छैन र त्यसका पीडित अग्रवाल समितिमा उजुरबाजुर गर्न आउन सक्ने अवस्थामा छैनन् । अहिले पनि मिटरब्याजी पाण्डेको सबैतिर हाँकोडाँको चल्ने गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत उनको सहज पहुँच रहेको दाबी गरेर उनी मिटरब्याजका आफ्ना ग्राहकहरूलाई धम्क्याउने गर्छन् । सरकारले गठन गरेको मिटरब्याज पीडित छानबिन समितिका सदस्य पूर्वएआईजी उत्तम सुवेदीसँग पनि उनको राम्रो सम्बन्ध रहेको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालको अवकाशपछि पाण्डेले एआईजी सुवेदीको नाम लिएर सहजरूपमा धन्दा चलाउँदै आएको कुरा पनि छिपेको छैन । पाण्डेले मान्छेको औकात हेरेर धम्क्याउने गरेका छन् । बैंकको सीईओलाई राष्ट्र बैंक राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणको कारबाही गराउने धम्की दिन्छन् । मिटरब्याजीहरूलाई प्रहरी हाकिमहरूको हवाला दिएर तर्साउँछन्, प्रहरी प्रशासनलाई नेता र मन्त्रीको नाम दिएर तर्साउँछन् नेता र मन्त्रीलाई आर्थिक सहयोग र मोजमस्तीको प्रलोभन देखाएर प्रभावमा पार्ने गर्छन् । यस्ता मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन नसक्दासम्म मिटरब्याजको छानबिन पूरा हुन सक्दैन र समाजमा गाडिएको मिटरब्याज रूपी विकृतिको जरो उखेलिने छैन ।

सीबी लामाले चलाउँदा कान्तिपुर सहकारीको रकममध्येको एक करोड रुपैयाँ लगेर जनरल फाइनान्सको सीईओ राजु प्रधानलाई दिएछन् । त्यो रकम फाइनान्समा कर्जा माग्न आउने व्यक्तिहरूलाई तरलताको अभाव देखाएर मिटरब्याजमा लगानी गर्न थालेछन् । ७२ प्रतिशत ब्याजसम्ममा त्यो रकम लगानी भएछ । एक कान दुई कान हुँदै त्यो घटना आर्थिक दैनिकमार्फत सार्वजनिक भयो । अहिले त्यो फाइनान्स टाट पल्टियो र बन्द भयो । त्यसका सञ्चालकहरू जेल गए । सीईओ प्रधान अझै जेलमै छन् । यसलाई यहाँ एउटा उदाहरणको रूपमा मात्र प्रस्तुत गरिएको छ । मिटरब्याज कमाई बाँडेर खान बैंकका सीईओहरूले भुइँफुट्टा मिटरब्याजीलाई लगानी गरेका छन् भने त्यसको पनि छानबिन हुने दिन ढिलोचाँडो आउने नै छ । यो निवेदनलाई समितिले ग्रहण गर्ने हो भने सदस्य सुवेदीले नैतिकता प्रदर्शन गर्न सक्नुपर्छ, संयोजकले हिम्मत गर्न सक्नुपर्छ । मन्त्रीले दाजुभाइमार्फतको सम्बन्धमा पुनर्विचार गर्नुपर्छ । यो कुनै व्यक्ति केन्द्रित उजुरी होइन, प्रतिनिधि पात्रको शब्द चित्र हो । मिटरब्याजी जोकोही भए पनि कारबाही गरिन्छ भनेर चर्को स्वरले कराउँदैमा कारबाही हुने होइन । यस्ता पहुँचवाला मिटरब्याजी जो दिनरात नयाँ ग्राहकको तलासमा रहेका हुन्छन् । प्रशासनकै आडमा व्यक्तिको अभावलाई सदुपयोग गरेर सम्पत्ति सबै हडपेर सडकमा पु¥याउँछन्, यस्ता शोषकहरूलाई कारबाहीको दायरामा ल्याउन नसक्ने हो भने यस्तो देखावटी छानबिन समितिको कुनै औचित्य सावित हुने छैन । आफूविरुद्धको अन्यायका विरुद्ध आवाज उठाउन नसक्ने अवला निमुखा र सर्वसाधारणको पीडाको प्रतिनिधि पात्रका रूपमा यो एकथान उजुरी तयार पारिएको हो । समितिले यसैलाई आधार बनाएर अवश्य छानबिन अघि बढाउने विश्वास गरिएको छ । सहयोगको लागि अग्रिम धन्यवाद ! उजुरीकर्ता : नाम ठेगाना खोल्न नसक्ने एक पीडित !


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया