Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लग‘कोभिड १९’, अमेरिका र विश्व स्वास्थ्य संगठन

‘कोभिड १९’, अमेरिका र विश्व स्वास्थ्य संगठन


काठमाण्डौं,वैशाख ४
शम्भुराम जोशी
कुनै पनि एउटा मुलुकमा देखा परेको स्वास्थ्य एवं रोगको महामारीले अन्ततः विश्वको ठूलो भाग अझ समस्त विश्वलाई नै गाँज्ने कुरा नौलो होइन भन्ने कुरा अनेकौं पटक मानव समुदायले भोगेका त्यस्ता विपदहरूले प्रस्ट्याउँछन् । सन् १३४७ देखि सन् १३५१ सम्म चम्केको ’ब्ल्याक डेथ ’, सन् १८१८ मा सुरू भई १९२० सम्म रहेको स्पेनिस फ्लू र हाल समस्त विश्वलाई थरथरी पारिरहेको कोभिड १९ जस्ता विपत्तिहरू यसका उदाहरणहरू हुन् ।

हतपति कोभिड १९ ले आफ्नो ताण्डव नृत्य देखाउन बन्द गर्ने छाँटकाँट पनि देखिदैन, यद्यपि यसको उद्गम स्थल चीनको वुहान भने सामान्य जीवनमा फर्किसकेको भए पनि विश्वको आर्थिक महाशक्तिको रूपमा चिनिएको अमेरिकामा मर्नेहरूको संख्या भयावहरूपमा बढ्दै गइराखेको छ । यस्तो किन भइराखेको छ त ? यस प्रश्नको जवाफ सरल छ । मुख्य गरेर चीन र अमेरिकामा नागरिकहरूको जनजीवनमा सरकाले खेल्ने बेग्लाबेग्लै भूमिका र ती देशहरूले अवलम्बन गरेका भिन्दाभिन्दै राजनीतिक एवं आर्थिक प्रणालीहरू यसका पछाडि मुख्य कारण रहेका छन् ।

स्वास्थ्य सेवामा सरकार वा निजी क्षेत्र
नागरिकहरूका हितलाई ध्यानमा राखेर चीनले ठूलो मात्रामा धनरासी खर्च गर्ने र त्यसले मुलुकको अर्थतन्त्रमा शिक्षाको तुलनामा ठूलो भूमिका खेल्ने गरेको कुरा याङ्याङ्जस्ता लेखकले आफ्नो पुस्तक ’चाईना इन २०२०’ मा लेखेकै छन् । चीनको स्वास्थ्य सेवा प्रणालीमा सरकारको पर्याप्त ध्यान रहने गर्दछ । यद्यपि दङ्सियाओ पालादेखि निजी क्षेत्रले धेरै प्रोत्साहित हुने अवसर भने प्राप्त गरे पनि त्यसलाई नै बलियो बनाउन सरकारी क्षेत्रलाई सहजकर्ताको भूमिकामा मात्रै सीमित राखिनुपर्दछ भन्ने नवउदारवादी मान्यतालाई चीनले पछ्याएन र सरकारी क्षेत्र सुदृढ रहिराख्यो र अद्यापि छ पनि । चीनको स्वास्थ्य सेवा प्रणालीमा सरकारको पर्याप्त ध्यान रहने गर्दछ । त्यहाँविना भेदभाव आफ्ना सबै नागरिकहरूलाई प्रदान गरिने स्वास्थ्य सेवाको स्तर उच्च मानिने र त्यो पुँजीवादी मुलुकको विपरीत सर्वसाधारण समेतको पहुँचभित्र हुनेगर्दछ तर निजी क्षेत्रको स्वास्थ्य सेवामा कम भूमिका हुने गर्दछ ।

जोसेफ स्टिग्लिज् त सरकारको भूमिकालाई ओझेलमा पार्ने ट्रम्पजस्तो कुनै पनि पूर्वराष्ट्रपतिले काम नगरेको कुरा लेख्दछन् । निजी क्षेत्र बलियो हुने उक्त मुलुकमा आफ्नो नागरिकहरूको स्वास्थ्यजस्तो संवेदनशील कुरा पनि सरकारको पर्याप्त ध्यान वा वास्ता नरहेको कुरा त्यहाँको स्वास्थ्य सेवाको अवस्थाले मात्रै होइन कि अमेरिकी नेताहरूको अभिव्यक्ति र क्रियाकलापहरूले समेत प्रस्ट्याउँदछन् । एउटा विरोधाभासपूर्ण कुरा के छ भने केही समय पहिले ट्रम्प प्रशासनले स्वास्थ्य क्षेत्रमा गरिने खर्च घटाए पनि विगतमा त्यहाँको सरकारले आफ्नो कुल राष्ट्रिय आम्दानीको १६ प्रतिशतमा स्वास्थ्य क्षेत्रमा खर्च गरेको विगतको रेकर्ड छ तर उक्त खर्चको ठूलो भाग निजी फर्मास्यूटिकल कर्पोरेसनहरूको झोलीमा जाने तर सर्वसाधारणको हितमा भने न्यून रकम मात्रै खर्च हुने गर्दछ भन्ने विज्ञहरूको मत छ ।

निजी क्षेत्र जहिले पनि नाफाको उद्देश्यबाट अघि बढ्ने भएकाले शिक्षा, स्वास्थ्य र खाने पानीजस्ता आधारभूत सेवाहरू सरकारले उपलब्ध गराउनुपर्नेहुन्छ, त्यो नागरिकहरूका हितका लागि नभई नहुने वस्तु र सेवा उपलव्ध गराउनबाट कार्यबाट विमुख हुन्छ, यदि त्यसबाट आफूलाई नाफा हँुदैन भने । यो कुरा हालै अमेरिकाका निजी कम्पनीका काम गराइबाट स्पष्ट हुन्छ । वास्तवमा स्वास्थसँग सम्बन्धित कुनै पनि क्रियाकलाप नाफामूखी निजी क्षेत्रको जिम्मामा सुम्पनु निरीह नागरिकहरूको स्वास्थसँग खेलवाड गर्नुबाहेक अरू केही पनि हुँदैन जुन कुरा हाम्रो मुलुकको सन्दर्भमा पनि लागू हुन्छ । स्वास्थ्यसँग सम्बन्धित लोककल्याणकारी क्रियाकलापमा निजी क्षेत्रको होइन कि सरकारको पर्याप्त भूमिका हुनुपर्छ भन्ने कुरा चीनको उदाहरणले देखाएको छ । चीनियाँ सरकारले अवलम्बन गरेको नियन्त्रणपूर्ण लकडाउन, नागरिकहरूद्वारा त्यसको परिपालन, थोरै समयमा नै तयार पारिएको चुस्त दुरुस्त स्वास्थ्य सेवा र समर्पित स्वास्थकर्मीहरू र सबैभन्दा महत्वपूर्ण कुरा र सत्तारूढ नेताहरूको दृढ इच्छाशक्तिका कारण यो प्रकोप काबुमा आयो ।

कोभिड १९ को महामारी र लकडाउन
चीनमा देखा परेको कोभिड १९ को महामारीलाई केही पश्चिमा जगतले खिसीको रूपमा र केहीले चीनको समृद्धिमा कुनै न कुनै रूपमा आफ्नो मुलुकको हित पनि निहित छ भन्ने बिर्सँदै त्यस मुलुकको समस्यालाई आफ्नो मुलुकको आर्थिक उन्नतिका अवसरका रूपमा लिने अमानवीय गल्ती पनि गरे । नेपाली विद्वान युवराज सँग्रौलाको भनाइअनुसार जतिबेला चीन कोभिडको महामारीसँग लड्दैथियो त्यसबेला पश्चिमी नेताहरू ठट्टा गर्दै थिए । ’चीन सबैभन्दा पहिले देखा परेको यो प्रकोपसँग लड्दै गरिराखेको बेलामा त्यो मुलुकको समस्यामा साहनभूति देखाउनु र सहकार्यको हात अगाडि बढाउनुको सट्टा अमेरिकी र युरोपेली अधिकारीहरू त्यो चीनमै सीमित रहने र आफ्नो मुलुकमा आउँदै नआउँने कुरामा मख्ख थिए । सम्भावित खतराको सामना गर्नका लागि आफ्ना मुलुकका नागरिकहरूको जीउधनको सुरक्षा गर्न आवश्यक उपायहरू खोज्नु आफूलाई लोकतान्त्रिक भन्न रूचाउने नेताहरूको परम कर्तव्य हुन आउँदछ । तर, विडम्बनाको कुरा के छ भने अमेरिकालगायतका पश्चिमका नागरिकहरू मात्रै होइन कि नेताहरूसमेत यस मामिलामा लापरबाहीजस्ता देखिए । सम्भवतः चीनको त्यो समस्याले कुनै एक दिन आफूलाई पनि आक्रान्त पार्नेछ भन्ने उनीहरूलाई हेक्कै भएन ।

लकडाउनको उपाय कडाइका साथ अप्नाएर अनि यसको उद्गमस्थल ठानिएको वुहानमा ३७ हजारको संख्यामा स्वास्थकर्मीहरूको फौज पठाएर चीनले त्यस संकटमाथि धेरै हदसम्म विजय हाँसिल ग¥यो जसले गर्दा त्यो महामारी त्यस मुलुकका अन्य ठाउँहरूमा फैलिन पाएन ।
तर अमेरिका र धेरै पश्चिमा मुलुकहरूका सत्तासिन नेताहरू भने पर्याप्त समय पाउँदापाउँदै पनि कोभिड १९ को संक्रमणबाट बच्न गरिनुपर्ने आवश्यक कदमहरू कडाइका साथ चाल्न र पूर्वतयारी गर्नबाट चुके, जसको फलस्वरूप दिनादिन ती मुलुकहरूमा मृतकहरूको संख्या थपिँदै छ । कोभिड १९ को महामारी चीनमा वुहानमा मात्रै सीमित रहनु तर थोरै समयमा अमेरिकामा कुल मृतकको संख्या थोरै दिनमानै २० हजारभन्दा हुनु र त्यसका ५० वटै राज्यमा संक्रमण फैलनुलाई सत्तसिनको गैरजिम्मेवारी नभनेर के भन्ने ? अर्को कुरा यसले मृतकको संख्या घटाउनमा लकडाउनको उपादेयता देखाउँदैन र ?

चीनले चालेको लकडाउनजस्तो कदमलाई अलोकतान्त्रिक र मानवअधिकारविरूद्धको कदमको रूपमा परिभाषित गर्न पश्चिमी मुलुकका वा उनीहरूको समर्थनमा लेख्ने पत्रिकाहरू र अन्य सञ्चारका माध्ययमहरू चुकेनन् । अहिले यस्तो विपत्को सामना गर्न त्यो कदम कत्तिको आवश्यक हुँदोरहेछ भन्ने कुरा दक्षिण एसियाका नेपाललगायतका मुलुकहरूको अनुभवले पनि संसारका सामुन्नेमा सिद्ध गरिराखेको छ । अहिले कोभिड १९ को उन्मुलन गर्नका लागि आवश्यक औषधि वा खोपको आविष्कार नभएको अवस्थामा लकडाउनजस्तो चीनले अवलम्बन गरेको उपायको समयमै अनुसरण गर्ने मुलुकहरूमा मृत्युको संख्या तिनिहरूको बेवास्ता गर्ने वा तिनिहरूलाई लागू गर्न अनावश्यक ढिलाई गर्ने पश्चिमी मुलुकहरूको तुलनामा धेरै कम छ । मास्क लगाउन अनिवार्य नगर्ने, लकडाउन नगरेर समाजिक दूरी राख्नुलाई मात्रै काफी सम्झने अमेरिका अहिले आएर विश्वमा कोभिड १९ भाइरसबाट सवैभन्दा धेरै मर्ने मुलुक भएको छ । चीनका उपायको अवलम्वनका कारण नेपालमा अहिलेसम्म कोभिड १९ महामारीका कारण मृत्यु भएको कुनै पनि घटना सुन्नमा आएको छैन, जुन हामीहरूका लागि खुशीका कुरा हो ता पनि न्यून आय भएका र लकडाउनका कारण आफ्नो रोजगारी गुमाई दैनिक गुजरा टार्न नसक्ने अवस्थामा पुगेको वर्गका लागि भने उनीहरूको समस्या हल गर्नका लागि सरकार संवेदनशील हुनै पर्छ ।

चीनको प्रयासलाई विश्व स्वास्थ्य संगठनको प्रशंसा
चीनका राष्ट्रपतिले प्रभावकारी ढंगले यस महामारीलाई परास्त गर्न चालेको कदमलाई विश्व स्वास्थ्य संगठनका निर्देशकले प्रशंसा गर्दै चीनले विश्वलाई नै यो महामारीबाट बचाएको र उसलाई प्रशंसाको आवश्यकता नरहेको कुरा गरे । त्यस मुलुकले आफूकहाँ सन् २००३ मा सार्सको प्रकोप फैलिएको समयको भन्दा अहिलेको अवस्थामा धेरै पारदर्शितालाई अपनाएको कुरा त्यस संगठनका साथै संसारका केही नेताहरूले पनि गरेका छन् यद्यपि अमेरिकाको भने चीनले कोभिड १९ को महामारिसँग सम्बन्धित गलत सूचना प्रवाहित गरेको अमेरिकाको आरोप छ, जसको चिनियाँ अधिकारीहरूले प्रतिवाद गरिसककेका छन् । तर, अहिलेको अवस्थामा नकारात्मक होइन कि विश्वका सबै मुलुकहरूको एकताको आवश्यकता रहेको कुरा त्यस संगठनका निर्देशकले औंल्याएका छन् ।

विश्व स्वास्थ्य संगठनले चीनको प्रशंसा गरेको कुरा अमेरिकालगायत पश्चिमा मुलुकहरूलाई मन परेको छैन । उनीहरू उक्त संगठनले चीनको गल्तीलाई ढाकछोप गर्नका लागि उक्त मुलुकको प्रशंसा गरिराखेको आरोप लगाउँदै आइराखेका छन् । यो संगठन चीन केन्द्रित भएको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप छ । आफूहरूलाई कोभिड १९ को महामारीको बारेमा महिनौं पहिले सूचित गर्नुपर्नेमा त्यसो नगरिएको उनको आरोप छ ।

अमेरिकी सहयोग रोकिएमा विश्व स्वास्थ्य संगठनलाई यस्तो असर पर्छ
यस संगठनसँग रिसाएको अमेरिकाले यसलाई वर्षेनी गर्दै आइराखेको पाँच सय मिलियनबराबरको आर्थिक सहयोग नगर्ने सक्ने कुरा गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१८÷१९ मा अमेरिकाले यसको कुल खर्चको १४ दशमलव ६७ प्रतिशत रकम व्यहोरेको थियो । अमेरिकापछि त्यसमा योगदान गर्नेहरू क्रमशः बील र मन्डेला गेट्स फाउन्डेसन, गाभी एलाएन्स र संयुक्त अधिराज्य क्रमैसँग दोस्रो, तेस्रो र चौथो स्थानमा थिए ।

अमेरिकाको यो कदम साँच्चि नै लागू भएको खण्डमा हाल कोभिड १९ को महामारी मत्थर पार्न भूमिका खेलिराखेको विश्व स्वास्थ्य संगठनलाई यसले गरिराखेका वा गर्न खोजेका स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू प्रभावित अथवा बन्द हुन जानेछन् । जसको सोझो मारमा गरिब देशमा रहेका नागरिकहरू पर्नेछन् । यसले आफ्नो स्थापना कालदेखि नै विश्वमा स्वास्थका क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय र अविस्मरणीय छन् । सरूवा रोग, नसर्ने रोगका क्षेत्रमा मात्रै होइन कि वातावरणीय विनाशका कारणले उत्पन्न रोगहरूको न्यूनीकरणमा यसले प्रशंसनीय कामहरू गरेको थियो । आजको समयमा यसको महत्व झन बढेको छ । यसलाई थप बलियो बनाएको खण्डमा मात्रै कोभिड १९ सँगको लडाइँमा मानव समुदाय विजयी हुनेछ । यसलाई थप प्रभावकारी बनाउनुपर्ने आजको घडीमा उल्टै यसलाई पुँजीको संकटको अवस्थामा पु¥याएमा विश्व मञ्चमा अमेरिका आलोचनाको पात्र बन्न जानेछ । जोसमा आएर यस्तो किसिमको कदम चाल्नु कुनै न कुनै स्वयं अमेरिकाका लागि पनि प्रकारान्तरले गलत नै हुनेछ । अमेरिकी राष्ट्रपतिले वास्तविकता बुझ्ने र त्यसको सामना गर्ने प्रयास गर्नु पर्दछ ।

के विश्व स्वास्थ्य संगठनलाई कमजोर बनाउने प्रयास नयाँ हो ?
वास्तवमा अमेरिकालगायत पश्चिमी जगत आफ्नो मुठीमा कसेर राख्ने चाहना धेरै पहिलेदेखिकै हो । उनीहरू यस संगठनको अल्पकालीन एजेण्डालाई नियन्त्रणमा राख्न चाहन्छन् । संगठनको हित हुने भए पनि अमेरिकाको चाहनाविरुद्धमा जाने निर्देशकहरूको खैरियत नहुने हिजोको यसको इतिहासले स्पष्ट गरेको छ । यो संगठन केवल युरोपेली नागरिकहरूले प्रमुखको स्थानमा रहन पाउने अन्तराष्ट्रिय मुद्रा कोष र केवल अमेरिकी नागरिक मात्रै सर्वोच्च स्थानमा पुग्न पाउने व्यवस्था गरिएको विश्व बैंकजस्ता विश्व संस्थाका तुलनामा ज्यादा लोकतान्त्रिक छ ता पनि यसप्रति पश्चिमी जगत त्यसमा पनि अमेरिका जुन हदसम्मको सकारात्मक दृष्टिकोण हुनुपर्ने हो त्यति छैन । खास गरेर अमेरिकाको कोपभाजन हुने हलिदान महालेर जस्ता निर्देशकहरूले अरूको चाहना हुँदाहुदै संगठनको निर्देशकको पदमा दोहो¥याएर बस्न नपाएको इतिहास छ । यस्तै किसिमको अवस्था वर्तमान निर्देशकको हकमा पनि आउने प्रायः निश्चित छ । अझ पदावधि सकिनुभन्दा अघि नै उनी पदमुक्त हुने पनि सम्भावना देखिन्छ । आफ्नो नाफालाई मात्रै ध्यान दिने शक्तिशाली फर्मास्यूटिकल कर्पोरेसनहरूको इसारामा चल्दै ऊनीहरूकै भलाइमा समर्पित अमेरिकी प्रशासन सामूहिक हित वा जनमानसको हितका लागि यस संगठनले गरेका कामहरूलाई कमै प्रोत्साहित गर्ने गरेको धेरै लेखकहरूको मत रहेको छ ।

अब के गर्ने ?

अहिले विश्व कठिन बाटोबाट अगाडि बढिराकेको छ । यो एक–अर्कामाथि तिक्तता पोख्ने बेला नै होइन । बरू विश्व स्वास्थ्य संगठनका निर्देशकले भनेजस्तै हातेमालो गर्दै अगाडि बढ्ने बेला हो । चीनले सहयोगको हात बढाएको र सँगै मिलेर यसका विरुद्धमा मिलेर अघि बढ्नका लागि राखेको प्रस्तावलाई अमेरिकी राष्ट्रपति ट्रम्प र उनको प्रशासनका अन्य अधिकारीहरूले स्विकार गरेर अघि बढेको खण्डमा नै अमेरिकाको हित हुनेछ । यो संकटलाई ट्रम्प प्रशासनले राजनीतिकरण गर्दै अघि बढेको खन्डमा यसको फल अमेरिका र चीनको बीचमा तिक्तता बढ्नुबाहेक केही नहुने र समस्या जहाँको तहीँ रहने निश्चित छ । यो महामारीलाई आफूकहाँ सामन गर्नका लागि चीनले अपनाएका उपाय अमेरिकाले अपनाउन ढिलो गरेको अवस्थामा त्यहाँ थप मानवीय क्षेति हुन जानेछ । यसबाहेक अमेरिका, चीन र विश्वका औषधि विज्ञानका विज्ञहरू मिलेर कोभिड १९ को महामारीको स्थायी समाधानका लागि खोप वा भरपर्दो औषधि पत्ता लगाउन्, जसमा यस माहामारीबाट आक्रान्त सबैको हित निहित छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले के बुझ्नु आवश्यक छ । यदि उनी विश्वमा अमेरिकाको उनी प्रभुत्व कायम रहेको हेर्न चाहन्छन् भने उनले आफ्नो मुलुकको विगतको इतिहासलाई सम्झनु आवश्यक हुन्छ । विश्व स्वास्थ्य संगठनजस्तो विश्वको खुशहालीका लागि स्थापना भएको संस्थालाई आफ्नो स्वार्थको गोटी बनाउनुभन्दा यसलाई स्वतन्त्र र बलियो बनाउनु आवश्यक भएकोले यसलाई दिइने रकम दिन बन्द गर्नु अन्ततः अमेरिकाका लागि नै प्रत्युत्पादक हुन जाने कुरा उनले आत्मसात गर्नु आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग


तपाईको प्रतिक्रिया