Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोना कहर मानव सभ्यतामाथिको धावा

कोरोना कहर मानव सभ्यतामाथिको धावा


लक्ष्मण सिटौँला
काठमाण्डौं,वैशाख ५
कुनै पनि सृष्टिको अन्ततः विनाश हुन्छ । यो ध्रुबसत्य कुरा हो । ब्रह्माण्डमा रहेका सबै परिव्याप्ति र ग्रहहरू ब्ल्याकहोलमा विलय हुन्छन् । हामीले देखिरहेको आकाशगंगा कुनै दिन हराउनेछ । पृथ्वीपारि हाम्रा आँखाले देखेसम्मका सबै ताराहरू र हाम्रो पृथ्वीसमेत ब्ल्याकहोलउन्मुख छन् । ब्ल्याकहोल उन्मुख हुनु नै मृत्युको बाटो समाउनु हो । ब्रह्माण्डमा दुईटा चिज छन्ः एउटा जीव र अर्को अजीव । सम्भवतः जीव पृथ्वीमा मात्रै छ अन्य ग्रहमा जीव भएको आजसम्म कुनै पुष्टि भएको छैन । पृथ्वी उत्पत्ति हुँदा पानी उत्पत्ति भएको थिएन । हामी बसेको यो पिण्ड कुनै बेला आगोको लाप्का थियो र कालान्तरमा यो सेलाउँदै जाँदा र चिसिदै जाँदा त्यसबाट उत्पन्न भएको बाफ नै बादल भएको र बादलबाट नै महासमुद्र बनेको कुरा विज्ञानले प्रमाणित गरेको छ ।

पानी उत्पत्ति भएको लाखौँ वर्षपछि समुद्र सतहमा एक कोषीय जीव उत्पत्ति भयो । आजको मानव जीवन त्यही एक कोषीय जीव परिवर्तनको कारण हो । पानी उत्पत्तिसँगै जीवन उत्पत्ति भएको होइन । जीव उत्पत्ति हुनलाई समुद्रभित्र अनन्त क्रियाप्रतिक्रिया भए । मानव जीवनको आदीय स्रोत नै पानी हो । त्यसैले भनिन्छ पानी नै जीवन हो भनेर । पृथ्वीमा जब जीव उत्पत्ति भयो जीवनसँगै उस्ले मृत्यु पनि बोकेर आयो किनभने पदार्थको नष्ट हुन्छ भने जीवनको पनि नष्ट हुन्छ । यसरी जीवनसँग मृत्युु पनि सँगै आयो । यो दैविक चक्रको कालान्तरसँगै पृथ्वीमा एक मात्रै जीव होइन अनन्त जीव उत्पन्न हुँदै गए र मानिस पनि अनेकौं जीवन सृष्टिमध्यको एक जीवन हो ।

पहिला पृथ्वी अनि पानी अनि जीवन र जीवनसँगै जीवनको क्षयीकरण अर्थात् जीवको मृत्यु सुरु भयो । जीव अर्थात् जीवनको मृत्यु हुँदा जीवले धारण गरेको शरीरभित्र अनेक रोग जिम्मेवार हुन्छन्् । रोग भनेको जीवले धारणा गरेको शरीरभित्र अर्को सुक्ष्म जीव सुरु हुनु हो । मानिस सबै रोगले मर्दछन् । रोग लाग्नु भनेको हाम्रो स्वस्थ शरीरभित्र अर्को सुक्ष्म जीवले शरीर धारण गर्नु हो र तिनले हाम्रो शरिरलाई आफ्नो बासस्थान बनाउनु हो । जब तिन्ले हाम्रो शरीर खान थाल्छन् अनि हामीमा बिमार सुरु हुन्छ । क्यान्सर क्ष्ययरोग रुघाखोकी जति पनि मानव शरीरभित्र लाग्ने रोगहरू छन् ती सबै अन्ततः शरीरभित्र अर्को जीवको प्रवेश वा उत्पत्ति हो । जीवले जीवलाई नै खान्छ । जीवले जीवलाई नै खाने प्रक्रिया वा अभ्यास हिजो समुद्रबाट नै सुरु भएको हो । समुद्रभित्र त्यही अभ्यास अहिले पनि कायम नै छ । समुद्रबाट सतहमा उभिन सफल भएको जीव (जीवन) मानिसलाई पनि कालन्तरमा त्यही समुद्रभित्रकै जस्तो अभ्यासले छोडेन । यो चराचर जगतको आदिम घर समुद्र हो । समुद्रभित्र जे चल्छ सतहमा पनि त्यही चल्छ ।

जीवले जीवनलाई नै सिध्याउने वा समाप्त पार्ने क्रिया मृत्यु हो । पृथ्वीमा मानव सभ्यता सुरु भैसकेपछि कति खरब मानिस यहाँ मरे होलान् ? हामी अनुमान लगाउन सक्तैनौ । कति खरब मानिसले पृथ्वीमा आफ्नो जीवन भोग गरी पृथ्वीबाट बिदा भए होलान् ? हरेक जीव वा अजिव तत्वको आ–आफ्नै जीवन सर्कल हुन्छ । त्यसको निश्चित मिति सकिएपछि त्यसले आफ्नो रूप परिवर्तन गर्छ । जीव वा अजीव आखिर त्यो पदार्थ नै हो । जति जन्मन्छन् त्यति मर्छन् । आधुनिक औषधि विज्ञानले मानिसको आयु लम्ब्याउने प्रक्रियालाई सक्रिय बनाइरहेछ । जन्मिने प्रक्रिया छिटो र मर्ने प्रक्रिया ढिलो बनाइएका कारण पृथ्वीको प्राकृतिक क्रियामा वा संरचनामा विचलन आइरहेको छ । यसको प्रत्येक्ष असर वायुमण्डलमा बढ्दै गइरहेको पोलुसन र त्यसबाट जीवन जगतमा आइरहेका नयाँ–नयाँ भाइरसको उत्पत्ति ।अहिलेको कोरोना जन्माउन वा योभन्दा अगाडि देखिएको सार्स वा त्योभन्दा अगाडि देखिएका सरुवा रोगका विभिन्न खालका भाइरस जन्माउने श्रेय पृथ्वीका मानिसलाई नै जान्छ ।

अनेकौं भाइरस र रोगका सुक्ष्मतम जीवाणुहरू जन्मिन्छन् र भविष्यमा अझै यीभन्दा धेरै बलशाली सुक्ष्माणु जन्मिनेछन् त्यसलाई परास्त गर्न मानवभित्र रहेको रोग प्रतिरक्षात्मक जीवाणु बलियो बनाउँदै जानु जरुरी छ । हाम्रा खानपिन र हाम्रा चरित्रले आगत जिन्दगीको यात्रा तय गर्ने हुनाले हरेक आउने विपत्ति र विश्वव्यापी भाइरलसँग युद्ध गर्नका लागि हामीभित्र नै रोग प्रतिरोधात्मक क्षमता बढाउनुको विकल्प छैन ।

अहिले पृथ्वीमा देखा परेको अतिसुक्ष्मातित कोरोना भाइरस एकप्रकारको जैविक हतियार नै हो । अहिले यसका विरुद्ध तेस्रो विश्वयुद्ध झेलिरहेका छन् विश्व मानव समुदायले । दोस्रो विश्वयुद्धमा मानव समुदायको समुच्च विनाश देखेका महान वैज्ञानिक अलबर्ट आइस्टाइनलाई एक जना पत्रकारले सोधेका थिए कि अब तेस्रो विश्वयुद्ध हुँदा कस्तो प्रकारको हातहतियार प्रयोग होला भनेर । उत्तरमा आइस्टानले भनेका थिएन ‘तेस्रो विश्वयुद्धमा कुनै हातहतियार चलाइने छैन तर मानव मात्रले ठूलो क्षति बेहोर्नेछ’ कुनै हातहतियारको उठानविना नै मानव समुदायको ठूलो जमात दिनानुदिन ढलिरहेको छ अहिले र आइस्टानको भविस्यवाणी यतिबेला मिलिरहेको हामीले अनुभूत गरिरहेका छौँ । हिन्दूको महत्वपूर्ण धर्मग्रन्थ महाभारतमा एउटा प्रसंग छः आफ्नो आठौँ पुत्रलाई पनि मार्न लागेको दृश्यले पत्नी गंगासँग पागल बनेका महराज सन्तनुले भने ‘प्रीय गंगा तिमीले मेरा सातवटा सन्तानसम्म मार्दा म केही बोलिन तर अब अति भयो तिमी आमा भएर कसरी आफ्ना सबै सन्तानलाई मारिरहेकी छ्यौ, तिमी कस्ती आमा हौ ? के आमाको हृदय यस्तै कठोर हुन्छ र ? म यो आठौँ पुत्रलाई कदापि मार्न दिन्न’ भन्दा बाचा गरेर बिहे गरेकी सन्तनु पत्नी गंगालाई आफ्नो पतिको वचन नमिठो लाग्यो र अतीतमा गरेको बाचा भुल्नुभयो भन्दै आठाँै सन्तान नमारिक नै त्यसलाई धरतीमै छोडेर उनी स्वर्ग गइन् । आमाको हातबाट बाँचेका ती महान पुत्र थिए गंगापुत्र भीष्म । पत्नीसँगको वियोगबाट घाइते बनेका महाराज सन्तनुले एकदिन भिष्मसँग एउटा प्रस्ताव ल्याए कि बाबु तिम्री माता गंगासँगको बिछोड सहन नसकेर म पागलजस्तै भएको छु मैले एउटी कन्या मन पराउँछु, ती कन्याले मसँग बिहे गर्नका लागि एउटा शर्त राखेकी छिन् कि उनबाट जन्मेको सन्तानलाई मात्रै राज्य उत्तराधिकारी बनाउनुपर्छ ।

भिष्मलाई आफ्नु बाबुप्रति असाध्य माया थियो उनले त्यो कुरा स्वीकार गरे र आफ्ना पितालाई दोस्री आमा (सत्यवती)सँग बिहे गराइदिए र आफू आजीवन बिहे नै नगरी राज्य उत्तराधिकारी पदसमेत त्याग गरे । अन्ततः यी विविध प्रपञ्चहरू र धोखाधडीहरू महाभारत युद्धका लागि बेस बन्दै गएको थियो । सत्यवान भीष्म कति महान थिए कि आफ्नो खुसी मारेर अरुको खुसीका लागि आफ्नो सुख र यशस्वीतालाई समेत बली दिएका थिए । तर, पछि त्यही कुलमा थुप्रै कुपात्रहरू जन्मिए कौरवसेनाहरू अहिलेको कोरोनाजस्तै र सखाप भयो एउटा इतिहास पृथ्वीको गर्तमा विलय भयो । मानव इतिहासमा यस्ता थुप्रै असहज परिस्थितिहरू आए, आउँछन् र मानव सभ्यतालाई नै बगाएर लैजान्छ । त्यतिबेला मानव यति निरीह बन्छ कि आफैँले बनाएको यो वैभवतालाई परिस्थितिको भेलले बगाउँदा ऊ टुलुटुलु हेरिरहनुको विकल्प देख्दैन । सधैं विजय पाइँदैन हारलाई पनि स्वीकार्नु पर्छ भन्ने शिक्षा विभिन्न युगले मानिसलाई सिकाउँदै आएको हो तर मान्छे मात्रै यस्तो जीवन हो जो हार स्वेच्छाले स्वीकार गर्न मान्दैन । र परिस्थितिले नै उसलाई झुक्न सिकाउँछ ।

कोरोनाको कारण विश्व मानव सभ्यतामाथि यतिबेला ग्रहण लागिरहेको छ । हुनसक्छ यो कोरोना भाइरस मानव निर्मित जैविक हतियार हो । दुई विश्व शक्तिशाली राष्ट्रहरू चीन र अमेरिकाको इगोको कारण यो विश्वभर फैलिरहेको छ । वास्तवमा कोरोनालाई हामीले मृत भाइरस भनिरहेका छौँ । वास्तमा मानव निर्मित (अप्राकृतिक) वस्तु मात्रै अजिव हुन्छ अर्थात् उसमा श्वास हँुदैन । मानिस प्रगतिको त्यो धुरीमा पुग्यो जो एक ग्रहबाट अर्को ग्रहमा समेत पुग्यो तर उसले जिवित जीवको निर्माण गर्न सकेको छैन । उसले निर्माण गर्ने जीवहीन वस्तु मात्रै हो । त्यसैले यहाँ शंका गर्नुपर्ने कुरा यो छ कि के कोरोना भाइरस मान्छेद्वारा नै निर्मित एक जैविक हतियारको प्रोटिन अणु त होइन ? जो मानिसभित्र छिरेपछि यसले आफ्नो आनुवांशिक कोड नै परिवर्तन गर्छ ।

मानिसहरूको शारीरिक आद्रता पाएपछि यो आफैँ विच्छेद हुने र फैलिने । एक रूपबाट अर्को रूपमा परिवर्तन हुने कुनै पनि अप्राकृतिक वस्तुको गुण हुन्छ । जस्तो फलाममा खिया पर्नु, काठ मक्किनु या कुनै वस्तु कुहिनु । कालान्तरमा यो विच्छेद हुन्छ तर मानव शरीरभित्र यसले रूप परिवर्तन गर्दा यो जीवजस्तै लाग्छ । कोरोनाको औषधि नहुनुको कारण यो पनि हो कि यो मृत भाइरस हो जसलाई कुनै एन्टिबायोटिकले मार्न सकिँदैन । हामीसँग भएको रोगप्रतिसोधात्मक क्षमताले नै यसको मृत चक्रलाई अवशेषन गर्ने हो । जसको रोगप्रतिसोधात्मक क्षमता कमी छ उसलाई यसले दुःख दिन्छ । भाइरस प्रोटिनको आवरणलाई जति छिटो विघटन गरियो त्यति नै यसबाट मुक्ति मिल्छ । हाम्रो गाउँघरमा प्रायः उच्च भू–भागमा पाइने काउसो प्रजातिको एउटा बनस्पति हुन्छ । काउसो फूल्छ र यसबाट कोसाजस्तो फल लाग्छ । काउसोको कोसा लगभग पाँच इन्च जतिको लामो हुन्छ । जब यो कोसा छिप्पिदै जान्छ र यसले आफ्नो बाहिरी सतहलाई लाखौँ कणको आवरणले छोप्छ । यसको बाहिरी आवरणलाई मानिसले छोयो भने त्यसको लाखौ झुस मानिसमा सर्छ र शरीर चिलाउन थाल्छ । अझ शरीरको कुनै भित्री भाग कान, नाकको प्वाल, काखी, तिघ्राको काछ, वा आँखाभित्र यो काउसोको कणले छिर्न पायो भने यसले आफैँ रूप परिवर्तन गर्छ र धेरै चिलाउँछ र मानव शरीरमा घाउ नै बनाउँछ । काउसोको मृत कण र कोरोनाको मृत कण एक आर्कोसँगको कार्य मिल्दोजुल्दो छ । काउसोको झुसले आफ्नो रूप परिवर्तन गर्दा वा त्यसभित्र रहेको आनुवांशिक कणले रूप परिवर्तन गर्दा मानिसलाई चिलाएको हो । अझ छालाको सतहभित्र छिनर्् पायो वा आद्रता भएको स्थानमा प्रवेश पायो भने अझै यस्ले आफ्नो रौद्र रूप देखाउँछ ।

कणहरूको सघनता विच्छेद हुँदा त्यसबाट उत्पन्न हुने रासायनिक प्रतिक्रिया (मानव कोष)सँगका कारण यो चिलाएको चह¥याएको दुखेको अनुभूति हुने हो । कोरोना मृत कण हो । यो यति सुक्ष्म छ कि हावामा तैरिन सक्छ सजिलोसँग फैलिन सक्छ । यदि कोरोना भाइरस जिवितको रूपमा अस्तित्वमा आएको भए यसलाई सजिलोसँग एन्टिबायोटिकबाट निर्मुल पार्न सकिन्थ्यो तर दुर्भाग्यवश यो निर्जीव छ । यसको चेनलाई बिछेद गर्न सकियो भने मात्रै यसबाट मुक्ति मिल्छ । तर, मानव स्वभावका कारण यसको सघनतालाई यति सहजै टुक्राटुक्रा गर्न सकिँदैन किनभने मानिस सामाजिक र घुमन्ते प्राणी हो । हुवे प्रान्तमा उठेको कोरोनाको मृत कण आज युरोप हुँदै अमेरिका फैलिएको छ । यो आफैँमा चञ्चल छैन तर मानवले मात्र यसलाई चलायमान बनाइदियो । यदि मानवले आफ्नो आदतमा परिवर्तन ल्याउन सकेन भने उसको सभ्यता उसको अनमोल जीवनको व्यापक क्ष्यति हुने निश्चित छ र अन्ततः कोरोनाले मानव सभ्यताको सुनौलो वर्तमानलाई पखालेर लानेछ । त्यसैले मान्छे आफैँ सतर्क र होशियार हुनु जरुरी छ यदि यसबाट आफू बच्ने र अरुलाई बचाउने हो भने ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया