Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगयतिबेला बालबालिका र अभिभावकको उत्तरदायित्व

यतिबेला बालबालिका र अभिभावकको उत्तरदायित्व


दामोदर अर्याल
काठमाण्डौं,वैशाख ५
विश्वभर महामारीको रूपमा लिएको कोरोना भाइरसबाट बच्नको लागि गरिएको बन्दाबन्दीको कारण घरमै लामो समय बिताउँदा बालबालिकाको मनस्थितिमा हुनसक्ने कोरोना भाइरसको त्रास परेको हुनसक्छ । उस्तो त्रासदीबाट बालबालिकाहरूलाई जोगाउनु अत्यन्त जरुरी हुन्छ । कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमा बसेर बालबालिकालाई कसरी सकारात्मक र रचनात्मकरूपमा व्यस्त बनाउने भन्ने आम अभिभावकहरूमा चासोको विषय बनेको छ ।

कोरोना भाइरसका विश्वव्यापी सङ्क्रमणबारे जे यथार्थ, सत्यरतथ्य छ त्यो बालबालिकाहरूलाई भनी दिने र आधिकारिक नभएका सञ्चार माध्यममा आउने अनावश्यक समाचार र अफवाहबाट बालबालिकाहरूलाई जोगाउनु पर्छ । स्वभावैले बालबालिकाहरू चञ्चले, छुकछुके र उत्सुकताका साथ नयाँ कुरा जान्ने जिज्ञासु हुन्छन् । यस्तो अवस्थामा अभिभावकहरूले उनीहरूलाई गम्भीरताका साथ कुरा बुझाएर आफ्नो नियन्त्रणमा राख्न सक्छन् । अभिभावकहरू बालबालिकाको उक्त जिज्ञासालाई तनाव सम्झने र चर्काे स्वरमा उनीहरूलाई हप्काउने पनि गरेको पाइन्छ । बाल मस्तिष्क नयाँ कुरा जान्ने र बुझ्ने कृयामा लागेको हुन्छ ।

घरमै लामो समय बिताउँदा बालबालिकाका पर्ने परिवेशमा के–के कुराहरू गर्न हुन्छ र के–के कुरा गर्न हँुदैन भन्ने उसलाई ज्ञान हँुदैन । विषम परिस्थितिको बारेमा बोध गराउने र सम्झाउने दायित्व अभिभावकको नै हो । यो विषम परिस्थितिको बारेमा सम्झाउँदै नसम्झाई बालबालिकाप्रति झर्कनु, चिच्याउनु कत्तिको कुशल अभिभावकको दायित्व हो । अभिभावकले आफ्ना कुरा लादेर बालबालिकाको मष्तिस्कलाई नियन्त्रणमा राख्न उपयुक्त हुँदैन । लामो समय एकान्तमा बस्दा वा महामारीका समयमा मानिसमा तनाव हुने, बाहिर जान नपाउने हुँदा डर लाग्ने, आत्तिने, छटपटी हुने हुनु स्वभाविक भएकाले आफूलाई व्यस्त बनाएर दिमागलाई ठीक ठाउँमा राख्ने वातावरण सिर्जना गर्दै सिंगो परिवारप्रति नै नकारात्मक धारणा बढ्दै जान नदिन साबधानी अपनाउनु पनि अभिभावकको दायित्व हो ।

विश्वभरमा फैलँदै गएको यो महामारीबाट आफू पनि बाँच्न र अरुलाई पनि बचाउँन सुरक्षित तबरले आफ्नो मानसिक हिसाबले आफ्नो मन बलियो बनाउनु पर्ने मनन गर्दै बालबालिकाहरूलाई विशेष ध्यान दिनुपर्दछ । समय परिस्थिति अनुसार घरभित्रै रहेर गर्न सकिने सामान्य शारीरिक व्यायम, योग, ध्यान, सरसफाई, अनुभव आदान–प्रदान, अध्ययन, गीतसंगीत, भजन, प्रवचन आदिबाट आफू र आफ्नो परिवारलाई सबैले सुरक्षित हुने, सिर्जनशील कार्यमा लगाउने गर्नु पर्दछ । हामीले बालबालिकालाई कुनै रचनात्मक काम गरेर समय बिताउने, समूहमै सहभागी गराएर खेलाउने गर्न पनि गर्न सकिन्छ । सुत्ने, खाने, खेल्ने, मनोरञ्जन गर्ने, योग गर्ने समय नियमित तर्जुमा गरी व्यस्त बनाउने, विद्युतीय सामग्री र सामाजिक सञ्जालमा धेरै नझुल्न बरु पिनायो, मादललगायतका बाध्यबादनको सामग्री बजाउन सिकाउने, लगाउने, लुडो, चेस पनि खेलेर समय बिताउन सकिन्छ ।

सामाजिक सञ्जालमा महामारीका समयमा बालबालिकाको दिमागमा असर हुने खालका सामग्री तथा समाचार आइरहने हुँदा त्यस्तोबाट टाढा रहन आग्रह गर्दै बालबालिकालाई नियमित सिर्जनशील बनाउन अभिभावकले ध्यान दिनु जरुरी हुन्छ । यो समयमा पारिवारिक मिलन, सन्तुलन र एक आपसमा मायाममता बाँडीचुँडी गर्दै संयमताका साथ रमाईलोसँग बस्यौं भने कोरोनाको संक्रमणबाट बाँच्न र बचाउन मात्रै होइन अहिलेसम्म सबै परिवार मिलेर नगरेका अन्य धेरै किसिमका कामहरू गरी फरक पारिवारिक जीवनशैली र संस्कारबाट अघि बढ्ने अवसरको रूपमा पनि लिने गर्नु पर्दछ । आफूले पठनपाठन गर्ने विद्यालय बन्द भएको कारणले घरमा बस्न बाध्य बालबालिकाहरूलाई सिर्जनशील बनाउने वा झर्केर उनीहरूलाई मनोसामाजिक समस्यामा पार्ने अभिभावक बन्ने रोजाइ स्वयं अभिभावकको हो भन्ने कुरा हेक्का राख्नुपर्दछ । असहज परिस्थितिमा कसरी सकारात्मक अभिभाक बन्न सकिन्छ भन्ने थाहा नभएको अवस्थामा अधिकांश अभिभावकहरू नचाहँदा नचाँहदै, नजान्दानजान्दै आफ्ना बालबालिकालाई पीडा पु¥याइरहेका हुन सक्छौं यस्तो विषम परिस्थितिमा हरेक अभिभावकले आफ्ना बालबालिकाहरू कहाँ के गर्दै छन् भन्ने बारेमा चनाखो हुनु पनि पारिवारिक बोध तथा अभिभावकत्व हो ।

कोरोनाले मानव जीवनमा पारेको नकारात्मक असरको समाचार सुनी बालबालिकाकै सामुन्ने आत्तिने, नराम्रा शब्दहरू प्रयोग गर्ने, ओहो अब त खत्तम हुनेभो जस्ता नकारात्मक र निराशाजनक शब्दहरू बालबालिकाको सामु प्रयोग गर्नाले मनोसामाजिक समस्या हुनबाट पनि सक्छ त्यसैले अभिभावकहरूले बालबालिकालाई सकारात्मक कुराहरूको बारेमा बताउने गर्नुपर्दछ । साबुनपानीले राम्रोसँग हातधुने, सेनिटाइजर, डेटोलको प्रयोग, सफा कपडा लगाउने, नङकाट्ने, नियमित ब्रस गर्ने, नुहाउने, आदि कुराहरूको साथै व्यक्तिगत र पारिवारिक सरसफाइले मानव जीवनमा नकारात्मक असर पार्ने कोरोनालगायतको भाइरस, किटाणु र जीवाणुबाट जोगिन सकिन्छ भन्ने बोध गराउनु पनि अभिभावकको दायित्व हो ।

शरिरीक अवस्था र उमेरका आधारमा प्रसस्त पानी, पोषणयुक्त, हरियो तरकारी, साग, दुध र घरायसी खाजाको महत्व र पोषणयुक्त व्यवस्थित खानपानले मानव जीवनमा पार्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा बालबालिकालाई बोध गराई रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वास्थ्य भएर बाँच्न पोषिलो र सन्तुलित खानाको महत्वपूर्ण योगदान हुनेबारे बालबालिकालाई पनि अभिभावकको दायित्व हो । बाल अधिकारका पक्षहरू शारीरिक विकास, मानसिक विकास, बौद्धिक विकास र संवेगात्मक विकास हुने खालका खेलहरू मित्रवत व्यवहार गरी रमाइलो गर्ने पाउने अधिकारहरूलाई पनि ध्यान दिनुपर्ने हुन्छ । आफ्ना बालबालिकाका धेरै कुराहरू रुचि, जिज्ञासा, मनोभावना बुझ्ने र नजिक हुनुसँगै खेल खेल्दा उनीहरूका मनभित्रका कुरा बुझ्न सकिने र उनीहरूलाई हौसला पनि दिन सकिन्छ भन्ने कुरा अभिभावकले सदैव ख्याल गर्नु पर्दछ ।

कुशल अभिभावकले आफ्ना बालबालिकाहरूसँगै बसी कुन बेला पढ्ने, कुन बेला आफ्ना साथीहरूसँग नेटमा वा फोनमा कुरा गर्ने, कुन बेला खाने, कुन बेला खेल्ने, कुन बेला कथा भन्ने र सुन्ने, कुन बेला रचनात्मक क्रियाकलापहरू जस्तैः नाँच्ने, गाउने, चित्रकला, कविता, लेख, रचना, कथा बनाउनेलगायतका कुराहरू समावेश गरी उनीहरूकै सहभागितामा दैनिकी बनाउन प्रयास गर्न गर्नुपर्दछ । अभिभावक नै बालबालिकाको पहिलो साथी हुन् भन्ने बालबालिकालाई बोध गराउनु पर्ने समेत हुन्छ । बाल मनोविज्ञानमा पनि बालबालिकाको मनको कुरा बुझ्न अभिभावकले पनि बालबालिकालेझैँ व्यबहार गर्नुपर्दछ ।

बालबालिकालाई मन पर्ने सीप सिकाउने र बालबालिकालाई उचितरूपमा सामाजिकीकरण गर्नु अभिभावकको अर्को महत्वपूर्ण उत्तरदायित्व हुन्छ । बालबालिकालाई सिर्जनात्मक र स्वाबलम्बी बनाउन, उनीहरूलाई नैतिकवान र व्यवहारिक बनाउनका लागि आफू सँगसँगै घरका सामान्य भान्साको काम चिया पकाउने, दुध उमाल्ने, तरकारी काट्ने, खाना बनाउने, करेसाबारीको काममा लगाएर पनि बालबालिकाहरूलाई जोखिम हुनबाट जोगाउन सकिन्छ । शारीरिक र मानसिकरूपमा स्वास्थ्य हुन व्यायाम आवश्यक हुन्छ भन्ने बारेमा अभिभावकले उनीहरूलाई बोध गराउँदै दैनिकी बनाउँदा यसलाई समेत अभिभावकले विशेष ध्यान दिन जरुरी हुन्छ । बालबालिकासँग बढी घुलमिल भई उनीहरूको विचार, इच्छा र आवश्यकताको आधारमा सघाउन सकिन्छ । टिभी हेर्ने र मोबाइलमा गेम खेलेर एक्लोपन महसुस गरिरहेका बालबालिकाको लागि शारीरिक व्यायाम र योग गर्ने गर्नाले उनीहरूमा स्फुर्ति पैदा भई संयम, सालिन र आटिलो व्यक्तित्व बन्न उत्प्रेरणा दिने साथै बालबालिकासँग नजिकमा रहेर अहिले बालबालिकाहरू रुचाउने र अधिकांश समय बिताउने सञ्चार माध्यमहरू अनलाइन र इन्टरनेटबाट हुने सम्भावित जोखिमको बारेमा समेत जानकारी गराई जोगाउन सकिन्छ ।

दिनभर बालबालिकाहरूलाई एक्लै नछाडने, सकेसम्म पाको मान्छेसँगै राख्ने, बरु, खेत बारी वा बाहिर जाँदा आफ्नो बालबालिकाहरूलाई सँगै लिएर जाने, बालबालिकालाई समय दिने, सँगै खेल्ने बालबालिकालाई घरमा मातृ भाषामा बोल्न सिकाउने गरेर पनि बालबालिकाहरूलाई जोखिमबाट जोगाउन सकिन्छ । बालबालिकाले गरेका कामहरूमा हौसला दिने, प्रशंसा गर्ने, आहा कति राम्रो भन्नेजस्ता उत्प्रेरणा जगाउँदै जानु पनि सकारात्मक अभिभावकको भूमिका हो । बालबालिकामा पर्नसक्ने समस्या र जटिलताको अन्त्यको लागि हरेक अभिभावकले आफ्ना बालबालिकासँग भावनात्मकरूपमा नजिक हुनै पर्दछ । उनीहरूले वास्तविक समस्या थाहा नपाएको अवस्थामा हामी अभिभावक उनीहरूबाट भावनात्मक रूपमा टाढा हुन पुग्छौं । उनीहरूलाई माया गरेर सम्झाउन र बुझाउन सकिन्छ भन्ने भावना लिनुपर्दछ र यसो गर्नसक्नु पारिवारिक सकारात्मक उत्तरदायित्व र अभिभावकत्व हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया