Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लग‘लकडाउन’मा कृषि कर्म

‘लकडाउन’मा कृषि कर्म


विश्वनाथ खरेल
काठमाडौं,बैशाख ८
संसारभर कोरोनाको डर, त्रास, भय, आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल भने अछुतो रहन सक्दैन । हाल विश्वभर आधाभन्दा बढी मानिसहरू लकडाउनको स्थितिमा बस्न बाध्य भएका छन् । अहिलेको स्थिति भनेको हाम्रो देशमा गहुँ बालीलगायत विभिन्न किसिमका बालीनालीहरू भित्र्याउने, चैते धान रोप्ने, उच्च हिमाली भेगमा र पहाडी जिल्लाहरूमा मकै रोप्ने समय र अन्य तरकारीहरू लगाउने समय पनि हो । हाम्रा छिमेकी देशहरूमध्ये चीनमा सामान्य भए पनि भारतमा भने दिनहुँ भयावहरूपमा संख्यामा संक्रमण फैलिरहेको छ । जसले गर्दा नेपाल र भारतको बीचको एक हजार सात सय ५१ किलोमिटर सीमाना खुला भएको कारणले पनि बन्दाबन्दी निकै प्रभावकारी हुने भएकोले नेपाल सरकारले पनि बन्दाबन्दीको उपाय अपनाएको छ । उक्त सीमा क्षेत्रको सुरक्षाको लागि तीन हजार छ सय ६७ जना सुरक्षाकर्मीहरू खटाएको बुझिएको छ ।

उक्त सुरक्षाकर्मीले सुरक्षाको लागि अपुग छ भनी सम्बन्धित क्षेत्रका अधिकारीहरूको भनाइ पनि एकातिर आएको पाइन्छ । मूलतः जसले गर्दा हामी सबै घरभित्रै थुनिएको अवस्थामा छौं । यसर्थ मानिसहरूलाई दैनिक भान्सा चलाउन आवश्यक पर्ने तरकारीदेखि लिएर खाद्यान्नहरूको जोहो गर्न समेत कष्टकर हुँदै गएको छ । हाम्रो देशको कुल क्षेत्रफल एक करोड ४७ लाख १८ हजार एक सय हेक्टर रहेको छ । यसमध्ये खेतीयोग्य भूमि २१ प्रतिशतले ३० लाख ९१ हजार हेक्टरमा मात्र खेतीपाती गरिन्छ । यसमा पनि हिमाली क्षेत्रमा देशको कुल क्षेत्रफलको ३५ प्रतिशत अर्थात ५१ लाख ८१ हजार सात सय, पहाडी भागमा ४२ प्रतिशत अर्थात् ६१ लाख ३४ हजार पाँच सय र तराई भागमा २३ प्रतिशत अर्थात ३४ लाख एक हजार नौ सय हेक्टर पर्दछ ।

यसर्थ खेतीयोग्य भूमिको ३४ दशमलव ५३ प्रतिशत अर्थात् १० लाख ६७ हजार तीन सय २३ हेक्टरमा सिञ्चित अवस्थाको स्वरूप हुँदाहुँदै पनि ६५ दशमलव सात प्रतिशतभन्दा बढी मानिसहरू कृषि पेशामा लागेका छन् । यसमा राष्ट्रिय आयको ३५ प्रतिशत अंश प्राप्त हुन्छ भने कृषि एवं वन क्षेत्रबाट विदेशी व्यापारको ८० प्रतिशत अंश ओगट्नुले नै एकातर्फ कृषिको विकासमा नै देशको विकासको विकल्पको रूपमा खडा भएको देखापर्छ भने अर्कोतर्फ प्रतिव्यक्ति सरदर आय केवल एक हजार चार अमेरिकी डलर र २५ दशमलव १६ प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको अवस्थाले कृषिको पछौटेपनको बोध स्वतः हुन जान्छ । जसले गर्दा कृषिमा आधुनिकरण तथा विविधिकरणको आवश्यकता पनि टड्कारो रूपमा देखिन्छ । कृषिलाई विविधिकरण गरी व्यवसायीकरणमा रूपान्तरण गर्दै खाद्य सुरक्षाको सुनिश्चिता र गरिबी न्यूनीकरणमा योगदान गर्नु कृषिको मुख्य उद्देश्य रहेको छ । यसरी सर्वाङ्गिण विकासमा कृषि क्षेत्र अझै पनि देशको आर्थिक मेरुदण्डको रूपमा रहेको कुरा आवधिक योजनाहरूमा यस क्षेत्रको विकासको निम्ति दिइएको महत्वबाट स्पष्ट हुन्छ ।

हाम्रो देशको कुरा गर्ने हो भने सुरुमै लकडाउन गरेकाले अहिलेसम्म कोरोनाको महामारी फैलिन पाएको छैन, तथापि लकडाउनले मुलुकका सबै क्षेत्र थिलथिलो भएका छन् । पर्यटन, शिक्षा, कृषि, औद्योगिक, साना उद्यम कुनै यस्तो क्षेत्र छैन जुन यसकारण प्रभावित नभएका होउन् । मूलतः विश्वव्यापी र राष्ट्रियरूपमा कोरोनाको कति मूल्य चुकाइएको छ भन्ने हिसाब पछि आउला । अहिले बाँच्न पाए, हाँस्न पाइनेछ भन्ने युक्तिलाई मनन् गरी सुखदुःख साँचेर राख्ने बेला हो । जीउ र बीउ जोगाउने बेला हो । यही सोचाइ वर्तमान पुस्ताको संस्मरण र आगामी पुस्ताका लागि इतिहास बन्नेछ । कृषिविना भान्छा नै चल्दो रहेनछ भने जीवन धान्ने आधार त झन् कृषि नै भइहाल्यो । त्यसैले त कृषि हाम्रो अर्थतन्त्रको मुख्य मेरुदण्ड पनि हो ।

त्यसो हुँदाहुँदै पनि हामी कृषिमा आत्मनिर्भर हुन नसक्नु र कृषिले महत्व नपाउनुका पछाडि धेरै कारण लुकेका छन् । यसैको साथै कुल गार्हस्थ्य उत्पादनको दुई सय ७५ हिस्सा र छ सय ५५ जनतालाई रोजगारी प्रदान गरेको कृषि क्षेत्रले उचित महत्व पाउन नसकेको देखिन्छ । यति महत्वपूर्ण क्षेत्रमा कुल राष्ट्रिय बजेटको ५५ सम्म पनि बजेट विनियोजन हुन नसकिरहेको अवस्था छ । अतः कृषिप्रधान देश हो भन्ने छोडेका छैनौं । तर, पछिल्लो समय कृषि उत्पादनका दृष्टिकोणले आशालाग्दो अवस्था देखिएको छैन । यस स्थितिमा युवालाई कृषिमा आकर्षित गर्न यसलाई यान्त्रिकीकरणमा रूपान्तरित गर्ने भनी जिरो ट्रिलर, हाभेस्टर, मिनी ट्याक्टर, रिपलजस्ता उपकरणको प्रयोग बढाए पनि नतिजा अपेक्षितरूपमा आउन सकिरहेको छैन ।

हाल नेपालमा औसतमा प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिक टन कृषि उत्पादन हुने गरेको छ । यसलाई करिब दोब्बर नगरी लाभ लागतबीच सामन्जस्य कायम गर्न सकित्र । साथै, यसलाई तीन दोब्बर नगरी कृषि उत्पादनमा गरिने लगानीबाट प्रतिफल दिन सकिन्न । यसको निमित्त हाइब्रिडमा जानुको विकल्प छैन । कृषिको लागि आवश्यक सिँचाइको कुरो गर्दा हाल १४ लाख ८० हजार तीन सय ५६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । यो भनेको कुल खेतीयोग्य जमिनको ४० प्रतिशत हिस्सामा मात्रै सिँचाइ सुविधा पुगेको देखिन्छ ।

अन्त्यमा भन्नुपर्दा एसियाली राष्ट्रहरूमा कोरोना भाइरस केही मन्थर देखिएता पनि युरोप र अमेरिकामा भने डढेलोभन्दा पनि बढी बेगमा सकिएको अवस्था छ । त्यसको लागि लड्न अत्यन्त भयाभय छ, सावधानिका विभिन्न उपायहरू अपनाएका छन् । यतिखेर कृषकहरूको आफ्नो थाकथलोमा खेतीपाती थन्काउने बेला आएको छ । गाउँघरका कृषि कर्म गर्ने कृषकहरूले पनि एकअर्कोमा फोन गरेर एक मिटर दूरी कायम गरी कृषि कर्म गर्नुपर्ने बेला आइपरेको छ । लकडाउनको समयमा कृषिका विविध क्षेत्रहरूमा उत्पादनमूलक बनाउन कसरी सकिन्छ भन्ने विषयवस्तुलाई सोच्नु पर्ने बेला आएको छ । यसमा नेपाल लगायत विश्वभरका देशहरूले सोच्ने बेला आएको छ । यसको असर भोलिका दिनमा मानववर्गलाई खानु सबैभन्दा ठूलो कुरा हो ।

यसको विकल्पमा पैसा, सुन, चाँदी अािद दिन सक्दैन । त्यसको लागि सबैले बेलैमा यसतर्फ कसरी गर्न सकिन्छ भन्ने कुरामा ढिला गर्न नहुने अवस्था भइसकेको छ । यसको लागि कृषि कर्मलाई प्रथम प्राथमिकता राख्न ढिलाभइ सकेको छ । यसको लागि सम्बन्धित क्षेत्रका विज्ञहरूको रायसल्लाह लिएर यस कर्मको बन्दाबन्दीको समय गर्न सकिनेछ । यसको लागि आजकाल जस्तो गहुँ झार्ने उपकरणहरू छन् । त्यस्तैगरी धान रोप्ने औजार, मकै रोप्ने औजारहरू आएका छन् । तिनीहरूको पनि यस समयमा प्रयोग गर्न सकिन्छ । त्यसको अलवा बेलैमा खाद्यान्न उत्पादन गर्ने क्षेत्रहरूको सोच विचार गरी बेलैमा युद्धस्तरमा लगाउनु पर्ने देखिन्छ । नत्रभने भोलि गएर भोकमरीको समस्याले कोरोना भाइरसभन्दा जटिल समस्या नहोला भन्न सकिन्न । विश्व कोरोना भाइरससँग लड्नुको साथसाथै आतंकमा नेपाललगायत संसारको एक तिहाइभन्दा बढी मानिसहरू बन्दाबन्दीको अवस्थामा रहेका छन् ।

देशको अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भएको हुँदा कृषि विकासविना बहुसंख्यक जनताको जीवनस्तर उठ्न नसक्ने वास्तविकतालाई ध्यानमा राखी कृषिको विविध कार्यक्रमहरू कृषक समक्ष ल्याई कार्यान्वयन गर्दै आइरहेको छ । सीमित स्रोत साधानको वैज्ञानिक उपयोग गर्दै उपजको उत्पादन र उत्पादकत्व बृद्धिका साथै कृषकको आय आर्जनमा बृद्धि भई गरिबी न्यूनीकारणमा योगदान पुग्नु नै कार्यक्रम कार्यान्यनको सफलता मान्न सकिन्छ । अतः देशमा स्पेक्ट्रो फोटोमिटर नामको उपकरणले देश विदेशबाट भित्रिएका कृषिउपजमा विषादी अवशेष परीक्षण गर्दा मानव स्वास्थ्यका लागि घातक रासायनिक विषादी व्यापक मात्रामा प्रयोग गरिएको फेला परेको चर्चाले सर्वत्र त्रास फैलाएको छ ।


क्याटेगोरी : विचार / ब्लग


तपाईको प्रतिक्रिया