यातायात, होटल र पर्यटन व्यवसाय असोज १ गतेदेखि नै खुला
काठमाडौं, भदौ ३१
सरकारले सार्वजनिक बस, हवाइ यातायात र पर्यटन व्यवसाय, होटल/रेष्टुरेन्ट, ट्रेकिङ, ट्राभल्स एजेन्सीहरु असोज १ गतेदेखि नै खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । असोज ५ गतेदेखि ती व्यवसाय खोल्ने बारेमा मन्त्रिपरिषद्मा छलफल भए पनि निर्णय गर्दा भने असोज १ गतेदेखि नै खुला गर्ने निर्णय गरेको हो ।
करिब छ महिनादेखि ती व्यवसाय बन्द छन् । असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालनको अनुमति नदिएमा आन्दोलन गर्ने धम्की यातायात व्यवसायीहरुले दिइरहेको बेला सरकारले पनि सोही दिनदेखि खोल्ने निर्णय गरेको हो । सरकारको उक्त निर्णयको कारण व्यवसायीका माग पूरा भएका छन् ।
मन्त्री ज्ञवालीका अनुसार बस तथा हवाइ यातायातमा सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइनेछ भने भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ । सरकारले सार्वजनिक यातायात र हवाइ यातायात सञ्चालन गर्ने निर्णय गरेपछि त्यससँग सम्बद्ध व्यवसायीहरु मंगलबारदेखि नै लामो समयदेखि बन्द भएको व्यवसायलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने विषयम छलफलमा जुटेका छन् । सरकारले विमान यात्राको लागि मास्क, भाइजर र सेनिटाइजर अनिवार्य गरेको छ ।
सार्वजनिक यातायात र हवाइ यातायात सञ्चालन भएपछि कोरोना संक्रमण बढ्यो भने त्यसलाई रोक्न स्थानीय प्रशासनले आवश्यक निर्णय लिनसक्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । केन्द्र सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरे पनि स्थानीय प्रशासनले रोगको प्रकोप हेरेर त्यसमा केही शर्तसहित मात्र सञ्चालन गर्न दिनेसक्नेछ ।
लामो समयसम्म हवाइजहाज र लामो दूरीका यातायात सञ्चालन नहुँदा यात्रु र सञ्चालकलाई समेत कठिनाइ परेकाले सञ्चालन गर्न थालिएको सरकारले जनाएको छ । लामो दूरीका यातायातका लागि भौतिक तथा पूर्वाधार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप मापदण्ड बनाउनसक्ने निर्णय गरिएको छ । सोको अनुगमन यातायात व्यवस्था विभाग र ट्राफिक कार्यालयले गर्ने जनाइएको छ ।
लामो समयदेखि हवाइ उडान बन्द भएको कारणले हवाइ सञ्चालक अप्ठ्यारो परेकोले सञ्चालन गर्न अनुमति दिइएको हो । यात्रु चढ्ने र ओर्लिने बेलामा ढोकामा सेनिटाइजर प्रयोग गर्नुपर्नेछ । विमान चालक र सहचालक र अन्यले मास्क, पञ्जाजस्ता स्वास्थ्यका मापदण्ड पूरा गर्नुपर्नेछ । हवाइ उडानको अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।
यस्तै अन्तर्राष्ट्रिय हवाइ उडानसम्बन्धी निर्णय पनि सरकारले गरेको छ । सरकारले स्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गरी सङ्क्रमणको जोखिमको विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा पर्यटन मन्त्रालयले नियमित तथा चार्टर्ड उडानका लागि अनुमति दिन सक्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले जानकारी दिए । विदेशबाट आउने यात्रुको यात्रा सुरु गर्नुभन्दा पहिले ७२ घण्टाअघिको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।
सरकारले अन्तर्राष्ट्रिय सीमानाका बन्द अवधि असोज ३० गतेसम्म कायम राख्ने निर्णय गरेको छ । यसअघि भदौ ३१ गतेसम्म सीमा बन्द गर्ने निर्णय भएकामा कोभिड–१९ को सङ्क्रमणलाई ध्यान दिँदै असोज ३० सम्म अवधि थप गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।
मन्त्री ज्ञवालीका अनुसार समस्यामा परेका नेपालीलाई भने आउनका लागि भारतसंँग सीमा जोडिएका १२ प्रमुख नाकाबाट प्रवेश गर्न दिइएको छ । यसअघि १० नाका खुला गरिएकामा मन्त्रिपरिषद् बैठकले थप दुई नाका इलामको पशुपतिनगर र दार्चुलाको खलङ्गाको नाकाबाट पनि मानिस आउनका लागि निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘औपचारिक शिक्षा नपाएकालाई सीपमूलक तालिम प्रभावकारी हुने’
- एक महिनादेखि खानेपानीको अभाव: होटल व्यवसायी मर्कामा
- काठमाडौँ उपत्यकाको आजको तापक्रम ३३ डिग्री
- दुई हजार ६९ बिन्दुमा खुम्चियो सेयर बजार
- गणतन्त्रप्राप्तिपछि मुलुकको विकासले गति लिएको छ: अध्यक्ष नेपाल
- वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स नेपालको अर्थतन्त्रको केन्द्र बनेको छ: महामन्त्री थापा
- एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणकै पक्षमा छ: प्रधानमन्त्री दाहाल
- भीमफेदी कार दुर्घटना: मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया