Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोहलपुरको नीति तथा कार्यक्रम

कोहलपुरको नीति तथा कार्यक्रम

स्वास्थ्य र शिक्षा क्षेत्र प्राथमिकतामा, कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार सहयोग


काठमाडौं ।
बाँकेको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नवौँ नगरसभामा नगरप्रमुख लूटबहादुरले रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ ।

नगरपालिकाको पहिलो प्राथमिकता भने कोभिड–१९ संक्रमण व्यवस्थापनसम्बन्धी नीति नै रहेको छ । कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण, उपचारमा खोपको भरपर्दो व्यवस्था गरी सबै नगरवासीको जीवन रक्षा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै नगरप्रमुख रावतले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पूर्वाधार, औषधि, स्वास्थ्य उपकरणहरू र जनशक्तिको पर्याप्त मात्रामा व्यवस्थापन गर्दै लगिने बताए ।

कोभिड–१९ बाट मृत्यु भएका नगरवासीका आश्रित परिवारलाई प्रतिपरिवार ५० हजार रूपैयाँ राहत सहयोग उपलब्ध गराउने नगरप्रमुख रावतले बताए । यस्तै नीति तथा कार्यक्रमको दोस्रो प्राथमिकतामा परेको शिक्षा नीतिमा कुल १९ वटा योजना समेटिएको छ । शैक्षिक क्षेत्रलाई आवश्यकताअनुसार अघि बढ्दै, ‘शैक्षिक हब विकास–बृहत् गुरुयोजना’ निर्माण गरिने, अनिवार्य र निःशुल्क आधारभूत शिक्षा नीतिलाई माध्यमिक तहसम्म क्रमशः निरन्तरता दिँदै बाल विकास केन्द्र र कक्षा १ मा शतप्रतिशत विद्यार्थी भर्ना गरी ‘एक वडा, एक नमूना बालविकास केन्द्र’ भन्ने अभियान सञ्चालन गरिने बताइएको छ ।

यसैगरी नगरक्षेत्रका पाँचवटा विषयगत सिकाइ केन्द्रहरूमा पेसागत विकास कार्यक्रम, कोहलपुर माध्यमिक विद्यालयलाई नगर/मेघा विद्यालयका रूपमा स्वामित्व लिने कार्य प्रारम्भ गर्ने र अपांगता भएका विद्यार्थीहरूलाई आवश्यकताका आधारमा सहायक सामग्री निर्माण गर्ने, लेखाजोखा केन्द्रलाई संगठनात्मक रूपमा सुदृढीकरण गरिनेछ ।

यसैगरी महत्वकांक्षी योजनाका रूपमा ‘प्रविधि युक्त शिक्षकसँग मेयर’, ‘विपन्न बालबालिकासँग उपमेयर’, ‘एक डाक्टर, एक नर्स’, ‘सूचना तथा प्रविधिमा आधारित विद्यालय शिक्षा’, ‘नगर हरित विद्यालय’, ‘एक विद्यालय– एक खेलकुद’ र ‘एक विद्यालय– एक स्वास्थ्यकर्मी’को व्यवस्था गरिने व्यवस्था गरिएको छ । क्षेत्रगत प्राथमिकताको आधारको १० नम्बर मा कृषि तथा पशुपन्छी विकास नीतिलाई राखिए पनि सबैभन्दा धेरै २६ वटा बुँदामा समेटिएको छ ।

‘किसानको मान, कोहलपुरको पहिचान’ भन्ने मूल नारासहित कृषि कार्यमा संलग्नलाई पुरस्कृत गर्न, नगरप्रमुख उत्कृष्ट कृषक/कृषि उद्यमी/सहकारी र समूह कार्यक्रम लागू गरिने, पकेटक्षेत्र, ब्लक, कृषि जोन घोषणा गरी नगरपालिकालाई दुई वर्षमा आलु, तीन वर्षमा चामल र पाँच वर्षमा गहुँ र मकैमा आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ ।

यसैगरी बीउपुँजीको व्यवस्था, ‘स्थानीय अर्थतन्त्रको सबलीकरण, कृषिको आधुनिकीकरण’ भन्ने नारासहित कृषियोग्य जमिनको चक्लाबन्दी, गरी कबुलियती खेती, सामूहिक खेती र करार खेती गर्न प्रोत्साहन गर्ने, महिला, युवा दलित, विपन्न वर्ग तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई कृषिमा आधारित व्यवसाय सञ्चालनको लागि भूमि बैंकमार्फत लिजमा जग्गाको व्यवस्था गरिने उल्लेख गरिएको छ ।  


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x