काठमाडौं, संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतको अनुमोदन अस्वीकृत गरेको छ । साउदी अरबका लागि प्रस्तावित गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्ताव गरिएका चुडामणि खरेलको नाम समितिले सर्वसम्मत रूपमा अस्वीकृत गरेको हो ।
यद्यपि अन्य १० देशका प्रस्तावित राजदूतको नाम भने समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । समितिले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूतहरूको नाम सर्वसम्मतरूपमा अनुमोदन गरेको छ । भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि डा. कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जंग थापा, बेलायतका लागि गौरव शमशेर जबरा र जर्मनका लागि सरु जोशीको नाम अनुमोदन भएको छ ।
त्यसैगरी इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, दक्षिण कोरियाका लागि प्राडा संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मंचला कुमारी झाको नाम अनुमोदन गरिएको छ । समिति सभापति बोध नारायण श्रेष्ठले समिति सदस्यहरूबाट छलफल र सहमतिपछि प्रस्तावित राजदूतहरूमध्ये १० जनाको नाम सर्वसम्मत अनुमोदन गरिएको जानकारी दिए ।
उनका अनुसार संघीय संसदीय समिति बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित राजूदतहरूको नाम अनुमोदन भएको हो । उनले समिति बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम २ बमोजिम सिफारिस भएको नाम सम्बधित निकायलाई जानकारी गराउन निर्देशन दिए । संसदीय सुनुवाइ समितिबाट नियुिक्तका लागि अनुमोदन भएका राजदूतहरूलाई नियुक्तिका लागि परराष्ट्र मन्त्रालयमा जानकारी पठाउन सभापति श्रेष्ठले समिति सचिवलाई निर्देशन दिएका छन् ।
त्यसैगरी अनुमोदन अस्वीकृत भएका सुनार र खरेललाई समिति सदस्यले नाम फिर्ता लिन आग्रह गरेका थिए । गिरीमाथि महिलामाथि अनैतिक सम्ब्न्ध राखेको आरोप लागेको छ । समितिमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद गजला समीम मिकरानीले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारलाई राजदूत पदको प्रस्ताव अस्वीकार गर्न तयार भए÷नभएको प्रश्न गरेकी थिइन् ।
संसदीय सुनुवाइका क्रममा सांसद मिकरानीले नेकपाका नेता वर्षमान पुनले दिएको सुझाव स्वीकार गरेर राजदूतको प्रस्ताव छाड्न तयार भए–नभएको सुनारसँग प्रश्न गरेकी हुन् ।
‘वर्षमान पुनले जे सुझाव दिनुभएको छ, त्यो स्वीकार गरेर जान तयार हो कि होइन ?’ उनले प्रश्न गरिन् । त्यसअघि नेकपाका नेता वर्षमान पुनले सुनारलाई राजदूत पदको प्रस्ताव छाड्न सुझाव दिएका थिए । पुनले भनेका थिए, ‘राजदूत पदको प्रस्ताव छाडिदिनुस् ।’ संसदीय सुनुवाइका क्रममा राजदूत पदको प्रस्ताव अस्वीकार गर्नुपर्ने विषय उठेपछि सांसद मिकरानीले पुनको सुझाव स्वीकार गर्न तयार भए–नभएको विषयमा सुनारसँग स्पष्ट जवाफ मागेकी हुन् ।
जवाफमा सुनारले आफूविरुद्ध लागेको आरोप र परेको उजुरीकै आधारमा राजदूत पदमा गरिएको सिफारिस कुनै हालतमा फिर्ता नलिने अडान राखेका थिए । उनले समितिमा घटनाक्रमबारे विस्तृत विवरण प्रस्तुत गर्दै सम्बन्धित महिलासँग ओशो तपोवन जाने क्रममा चिनजान भएको बताए । सुनारका अनुसार कलाकार निशा सुनार उनकी बहिनी हुन् र उनी बहिनीको घरमा आश्रय लिएर बसेका बेला ती महिलासँग चिनजान भएको थियो । महिलाले बहिनीको घरमा लैजान आग्रह गरे पनि त्यहाँ विवाद भएपछि आफूले उनलाई खोजेर ललितपुरमा डेरा मिलाइदिएको उनले बताए । त्यसपछि सँगै बस्ने क्रममा महिलाकै प्रस्तावमा शारीरिक सम्बन्ध भएको सुनारको दाबी छ ।
उनीहरू टोखामा करिब दुई वर्ष सँगै बसेको र सोही क्रममा महिलाले सन्तान जन्माउने प्रस्ताव गरेको उनले बताए । आफू त्यतिबेला सम्बन्धविच्छेद भइसकेको अवस्थामा रहेको पनि उनले उल्लेख गरे । ‘ती महिलाका श्रीमान् लामो समयदेखि सम्पर्कमा नरहेको र पछि उनको ग्रिनकार्ड बनेपछि आफूबाट गर्भवती भएको अवस्थामा अमेरिका गएको दाबी गरे । महिलाले छोरी जन्माएपछि मैले बच्चा भेट्नसमेत पाएको छैन’, गिरीले भने, ‘पछि आफ्नो खाट फिर्ता मागेपछि महिलाको सासू–ससुराको घरमा पुर्याइदिएको र उनका अभिभावकले दशैँको टीका लगाएर बिदा गरेको हुन् । अहिले ती महिला विदेशी नागरिकता लिएर बसेकी छिन् । मेरो राजदूत नियुक्तिको प्रक्रियामा अवरोध पुर्याउन मात्र आरोप लागेको हो ।’
आफूले छोरीलाई भेट्न र आफ्नो सन्तानको अधिकार सुनिश्चित गर्न चाहेको सुनारको भनाइ छ । उनले आफूविरुद्धका आरोप र उजुरीकै कारण राजदूत पदमा गरिएको सिफारिसबाट पछि नहट्ने स्पष्ट पारेका छन् । त्यस्तै गिरीले महिलामाथि हुने हिंसाविरुद्ध जनचेतना फैलाउने दर्शन र सोच भएको व्यक्ति भएका बताए । ‘महिलामाथि हुने हिंसाविरुद्ध जनचेतना फैलाउने दर्शनलगायतका विषयमा पत्रपत्रिकाहरूले मेरो बारेमा धेरै लेख प्रकाशित गरेका छन् । तीमध्ये कुनै पनि लेख नकारात्मक थिएनन् । मैले महिलाको अधिकारका पक्षमा लेखेका लेखहरू पनि प्रकाशित भएका छन्’, उनले समितिलाई भने ।
त्यस्तै चुडामाणि खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेका थिए । बैठकमा प्रस्तावित राजदूत खरेलले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू तथ्यहीन र भ्रामक रहेको दाबी गर्दै जग्गा कारोबार, आर्थिक लेनदेन वा कुनै पनि प्रकारको अनुदान मिलाइदिने प्रलोभन नदेखाएको र संलग्नता पुष्टि गर्ने प्रमाण भए पेस गर्न आग्रह गरेका थिए ।
रास्वपाका सांसद राजीव खत्रीले समितिमा पनि र आफूसँग पनि खरेलले राजदूत बन्दैछु भनेर विभिन्न व्यक्तिहरूसँग पैसा उठाएको, म्यानपावर कम्पनिको गाडी चढिरहेको लगायतका आरोपबारे प्रश्ग्न गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले खरेलको दाबी र बाहिर आएका अडियो–डकुमेन्ट बाझिएको भन्दै तथ्य र प्रमाणको वस्तुनिष्ठ परीक्षण हुनुपर्नेमा जोड दिएका थिए ।
नेकपा एमाले सांसद पद्या अर्यालले समितिमा उजुरी नपरे पनि प्रस्तावित राजदूतमाथि प्रश्न उठाउने तथ्यहरू सार्वजनिक भएकाले देशको प्रतिष्ठा र विश्वासको पद भएकाले हलुका हिसाबले लिन नहुने बताउँदै आवश्यक अनुसन्धान गरेर मात्रै प्रस्ताव गर्न सकिने बताएकी थिइन् ।
सांसद वर्षमान पुनले पनि हतारमा निर्णय लिनुभन्दा समितिमा आएका थप प्रमाण र डकुमेन्टहरूको अध्ययन गरी अगाडि बढ्नु उचित हुने बताउँदै प्रस्तावित राजदूतमाथि लागेका दागहरू स्पष्ट नभई पठाउँदा कूटनीतिक वातावरण बिग्रन सक्ने चेतावनी दिए ।
चुडामणि खरेलले उक्त विषयहरू आरोप भएको र त्यसमा सत्यता नभएको बताउँदै राजदूत बनेको खण्डमा श्रम र श्रमिकका क्षेत्रमा काम गर्ने बताए । उनले मलेसियामा रहेका नेपाली श्रमिकहरूको दैनिक समस्या समाधान गर्न र कन्सुलर सेवालाई आधुनिक, प्रविधिमैत्री र पहुँचयोग्य बनाउन विशेष जोड दिने बताए । यसले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा र सेवा प्रवाहमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा रहेको उनको भनाइ थियो ।