काठमाडौँ: नेपाली कांग्रेसको आगामी चार वर्षे कार्यकालका लागि सभापति गगन थापासहित १५ पदाधिकारीको नतिजा सार्वजनिक भएको छ। दुई पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् भने बाँकी पदाधिकारी प्रतिस्पर्धाबाट चयन भएका हुन्।वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। सभापतिमा भने गगन थापा भारी मतान्तरसहित निर्वाचित भएका छन्। थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले ३७५ मत पाएका छन्।
खुला उपसभापतितर्फ सात जनाबीच भएको प्रतिस्पर्धाबाट डा. चन्द्रकान्त भण्डारी र इ. मधु आचार्य निर्वाचित भएका छन्। उनीहरूसँग गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, दीपक गिरी र प्रा. डा. चन्द्रमोहन यादव प्रतिस्पर्धामा थिए।समावेशी उपसभापतिमा पाँच जनाबीच भएको प्रतिस्पर्धाबाट उद्योगपति विनोद चौधरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण थिए।
खुला महामन्त्रीतर्फ आठ जनाबीच भएको प्रतिस्पर्धाबाट प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन्। उनीहरूसँग डा. सुनिल शर्मा, गुरुराज घिमिरे, नैनसिंह महर, अमरसिंह पुन मगर, शंकर तिवारी र डा. सन्तोष उपाध्याय प्रतिस्पर्धामा थिए।महिला महामन्त्रीमा तीन जनाबीच भएको प्रतिस्पर्धाबाट डा. डिला सङ्ग्रौला निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ र रिता खनाल थिए।
कांग्रेसमा विभिन्न १० क्लस्टरबाट ११ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। तीमध्ये अहिलेसम्म ६ सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ।महिला सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भएकी छन्। दुई जनाबीच भएको प्रतिस्पर्धामा गौतमले नानुमैया बास्तोलालाई पराजित गरेकी हुन्।खुला सहमहामन्त्रीतर्फ दुई पदका लागि नौ जनाबीच भएको प्रतिस्पर्धामा रामहरि खतिवडा पहिलो र अजयबाबु शिवाकोटी दोस्रो हुँदै निर्वाचित भएका छन्। उनीहरूसँग डिल्लीराम सुवेदी, देवेन्द्रराज कण्डेल, राजीव ढुङ्गाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री प्रतिस्पर्धामा थिए।
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन्। पाँच जनाबीच भएको प्रतिस्पर्धामा लामाले ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन र प्रशान्तमानसिंह मास्केलाई पछि पारे।
दलित सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’ निर्वाचित भएका छन्। उनले मानबहादुर नेपाली र नरेन्द्र पासवानलाई पराजित गरेका हुन्।पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भएका छन्। पाँच जनाबीच भएको प्रतिस्पर्धामा शाहीले जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्टलाई पछि पारे।अझै मुस्लिम, मधेसी, थारु, अल्पसंख्यक–अपाङ्गता र खस–आर्यतर्फका सहमहामन्त्रीको नतिजा सार्वजनिक हुन बाँकी छ।
विशेष महाधिवेशनपछि बदलिएको समीकरण
कांग्रेसको पदाधिकारी निर्वाचनमा गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि बदलिएको आन्तरिक समीकरणको प्रभावसमेत देखिएको छ। निर्वाचित पदाधिकारीमध्ये केही नेताले विशेष महाधिवेशनअघि सभापति शेरबहादुर देउवा समूह छाडेर नयाँ समीकरणमा प्रवेश गरेका थिए।
विशेष महाधिवेशनका क्रममा देउवा समूह छाडेर आएका नेतामध्ये महिला उपसभापति पुष्पा भुसाल, समावेशी उपसभापति विनोद चौधरी, खुला महामन्त्री उदयशमशेर राणा, महिला महामन्त्री डा. डिला सङ्ग्रौला र आदिवासी जनजाति सहमहामन्त्री बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन्।
महाधिवेशनको मुखैमा देउवा समूह छाडेर संस्थापन पक्षमा प्रवेश गरेका रामहरि खतिवडा र जीवनबहादुर शाहीले पनि सहमहामन्त्रीमा निर्वाचन जितेका छन्। खतिवडा खुलातर्फ र शाही पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री निर्वाचित भएका हुन्।
भुसाल देउवा समूह छाडेर विशेष महाधिवेशनमा सहभागी भई उपसभापति बनेकी थिइन्। त्यस्तै, समावेशी उपसभापतिमा पराजित फरमुल्लाह मन्सुरले १४औँ महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री पद छाडेर विशेष महाधिवेशनमा सहभागी हुँदै पुनः सहमहामन्त्रीको जिम्मेवारी पाएका थिए।
महामन्त्रीमा निर्वाचित उदयशमशेर राणा पनि विशेष महाधिवेशनमा सहभागी भएर सहमहामन्त्री बनेका थिए। त्यस्तै, महिला महामन्त्रीमा निर्वाचित डा. डिला सङ्ग्रौला देउवा समूह छाडेर विशेष महाधिवेशनमा सहभागी हुँदै सहमहामन्त्री बनेकी थिइन्। यसरी कांग्रेसको नयाँ नेतृत्वमा पदाधिकारीको निर्वाचनसँगै विशेष महाधिवेशनपछि बनेको नयाँ राजनीतिक समीकरणले संस्थागत रूप लिएको देखिएको छ।