काठमाडौं, नेपाल चेम्बर अफ कमर्स र दक्षिण अहरूफ्रिकाबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत प्रा. अनिल सुकलालबीच बुधबार चेम्बर भवनमा भएको भेटमा पूर्वाधार, खानी तथा खनिज, ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटन क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको हो । भेटमा अध्यक्ष अग्रवालले नेपालका पश्मिना, चिया, कफी, मसला तथा हस्तकलाका सामग्री दक्षिण अफ्रिकी बजारमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले व्यापार विस्तारका लागि निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, बजार पहिचान र संयुक्त लगानीलाई प्राथमिकता दिनुपर्ने बताए । अग्रवालले कृषि प्रशोधन, नवीकरणीय ऊर्जा र पर्यटन क्षेत्रमा दुवै देशबीच सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै उत्पादनको गुणस्तर, प्राविधिक मापदण्ड, भन्सार शुल्क तथा ढुवानी खर्चसम्बन्धी जानकारी आदानप्रदान गर्नुपर्ने बताए ।
नेपालका उच्च मूल्यका कृषि उत्पादनलाई दक्षिण अफ्रिकाको सिँचाइ, शीतभण्डारण तथा कृषि प्रशोधनसम्बन्धी अनुभवसँग जोडेर संयुक्त परियोजना सञ्चालन गर्न सकिने उनको भनाइ थियो । यसबाट कृषि निर्यात प्रवद्र्धन र रोजगारी सिर्जनामा योगदान पुग्ने उनले बताए । त्यस्तै, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, विद्युत् प्रसारण सञ्जाल तथा जलवायु अनुकूल पूर्वाधार विकासमा सहकार्यका अवसर पहिचान गर्नुपर्नेमा अग्रवालले जोड दिए । नेपालको हिमाली तथा सांस्कृतिक पर्यटनलाई दक्षिण अफ्रिकाको वन्यजन्तु तथा सफारी पर्यटनसँग जोडेर संयुक्त पर्यटन प्याकेज विकास गर्न सकिने उनले बताए । दक्षिण अफ्रिकी राजदूत सुकलालले पूर्वाधार विकास तथा खानी र खनिज क्षेत्रलाई नेपालसँगको सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउन सकिने बताए । दक्षिण अफ्रिकी कम्पनीहरूले मध्यपूर्वलगायत अन्तर्राष्ट्रिय बजारमा पूर्वाधार निर्माण तथा विकासका क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै उनले ती कम्पनीको अनुभव नेपालका आयोजनामा उपयोगी हुन सक्ने बताए ।
उनले दक्षिण अफ्रिकासँग खानी तथा खनिज अन्वेषणमा लामो अनुभव र प्राविधिक दक्षता रहेको उल्लेख गर्दै नेपालमा खनिज स्रोतको पहिचान, सम्भाव्यता अध्ययन तथा विकासमा सहकार्य गर्न सकिने बताए । राजदूत सुकलालले भारत र दक्षिण अफ्रिकाबीच निजी क्षेत्रको व्यापारिक सहकार्य पुनः सक्रिय बनाउने क्रममा विभिन्न क्षेत्रका व्यवसायीलाई समेटेर सहकार्यका क्षेत्र पहिचान गर्ने पहल भइरहेको जानकारी दिए । उक्त अनुभव नेपालसँगको व्यावसायिक सम्बन्ध विस्तारमा पनि उपयोगी हुन सक्ने उनको भनाइ थियो । भेटमा व्यापार विस्तारका क्रममा देखिने ढुवानी तथा पारवहन, भिसा प्रक्रिया, गुणस्तर मापदण्ड र लगानी स्वीकृतिसम्बन्धी अवरोध समाधान गर्न द्विपक्षीय समन्वय प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।
दुई देशबीचको सहकार्यलाई परिणाममुखी बनाउन निजी क्षेत्र, कूटनीतिक नियोग र सरकारी निकायबीच नियमित संवाद, संयुक्त कार्यसमूह गठन तथा प्राथमिकताका वस्तु र सेवाको सूची तयार गरी सम्भावित लगानी परियोजना पहिचान गर्नुपर्नेमा पनि छलफल भएको थियो । भेटमा दक्षिण अफ्रिकाका लागि नेपालका मानार्थ वाणिज्यदूत प्रदीपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा तथा आईटी समितिका सभापति विज्ञान श्रेष्ठलगायतको उपस्थिति थियो ।