ग्यासको अभाव वा हाहाकारका विषयमा यसअघि मेरा तीनवटा लेख प्रकाशन भइसकेका छन् र सोसम्बन्धी यो मेरो चौथो लेख हो । अझै कति लेख्नुपर्ने हो त्यो कुरा पछिका समयले बताऊला । तत् विषयको यो लेख तयार हुनुभन्दा साढे दुई हप्ताअघि म वागबजारबाट भोटाहिटी जाँदै थिएँ । रत्नपार्कनिर आइपुग्दा एकजनाले मोबाइलमा ठूलो स्वरमा कसैलाई भनिरहेका थिए– ‘ग्यासको २१ सय अनि त्यो पाँच सय नि ?’ यो संवाद त मैले मात्र र त्यहाँ मात्रै सुनिएको हो, यस्ता संवादहरू त सहरका ठाउँ–ठाउँमा कसैबाट बोलिन्छन् र कसैद्वारा सुनिन्छन् पनि । यस सम्बन्धमा सबैको आँकडा लिने जिम्मा कसैले पनि लिन सक्दैन र सम्भव पनि छैन । हाहाकार परेर भोकै बस्नुभन्दा ग्यासको २१ सयका अतिरिक्त पाँच सय मात्र त के पैसा र गतिलो पेशा हुनेले पाँच हजार पनि थपे होलान् ग्यास पाउनका लागि । खाँचो परेको बेला कालोबजारबाट पनि उपभोग्य वस्तु किन्नुपर्ने अवस्था छ हाम्रो मुलुकमा, जुन साह्रै नै विडम्बनाको कुरा हो । देशमा कानुन वा ऐन÷नियम भएर के गर्नु ? जब पद्धति वा प्रणाली नै गतिलो नभएपछि यस्तै हो । ‘नेपालको कानुन दैवले जानुन्’ भन्ने त उखानै छ ।
२०८३ साल लागेपछि देशमा विशेषगरी संघीय राजधानी काठमाडौंमा ग्यासको हाहाकार सुरु भएको र पछिल्लो समय ग्यासको अभाव चरम विन्दुमा पुगेको छ । ग्यास डिपो वा वितरक पसलमा बिहानैदेखि उपभोक्ताहरू आक्रोस पोख्दै साहुलाई विभिन्न शब्दहरू सुनाइरहेको देखिन्छ । साहुले पनि के गरुन् ? उद्योगले ग्यास पठाएपछि न ग्राहकलाई उपलब्ध गराउने हो । उद्योगले सित्तैमा दिने भए पो त उपभोक्तालाई अल्झाउनु र झुलाउनु ? उपभोक्ताले ग्यास नपाएको झोँक साहुलाई देखाउनु त्यति उचित हुँदैन । होलान् ग्यास भएर पनि लुकाउने कोहीकोही विक्रेता र थप नाफा लिएर ग्यास उपलब्ध गराउनेहरू । त्यस्ता वितरक वा साहुले यस्ता नचाहिँदा काम गर्छन् भने त्यो सरासर अपराध नै हो । भनिन्छ पनि– ‘पैसा भन्ने कुरा जसरी आएको हो त्यसरी नै जान्छ ।’
नेपाल ग्यास उद्योगको सेरोफेरोमा ३ घन्टा: बालाजुस्थित नेपाल ग्यास उद्योगबाट ग्यास वितरण गरिने जानकारी पाएपछि एक दिन त्यतातिरका लागि घरबाट अपराह्न ३ बजे निस्किएँ पठाओको मोटरसाइकलमा चढेर । दशैँअघिको समय थियो, काखमा बोरा बिछ्याएर त्यसैमाथि सिलिन्डर तेस्र्याएर नेपाल ग्याँस उद्योग रहेको बालाजुतर्फ लागेँ । खाली सिलिन्डर त यति गरौँ छ भने भरी सिलिन्डर कति गह्रौँ होला भन्ने सोँचिरहेको थिएँ । काखबाट सिलिन्डर कहिले यता सर्छ त कहिले उता । मोटरसाइकल चालकको ज्याकेटमा सिलिन्डरको धुलोको धब्बा बसिसकेको थियो । तर उनलाई भने जानकारी दिन आवश्यक ठानिनँ ।
चक्रपथमा सवारी जामका कारण मोटरसाइकल चालकले सहायक बाटो प्रयोग गर्दै गर्दा पिच नभएको बाटोमा गोडालाई सिलिन्डरले झन थिच्न थाल्यो । छोटो र जाम नहुने बाटो छिचोल्दै बालाजु औद्योगिक क्षेत्रको मूल गेट पुगेपछि मोटरसाइकल भित्र जान दिएनन् । आफू वृद्धावस्था र अशक्त भएको कारण जनाएपछि गार्डले छोडिदिए र नेपाल ग्यास उद्योगको गेटसम्म राइडर्सले पुर्याइदिए अनि खाली सिलिन्डर काखबाट बिस्तारै भुइँमा बसालेँ । दुवै तिघ्रामा बाधा परिरहेको थियो । मोटरसाइकल उद्योगको गेटबाट भित्र लैजान दिइएन । त्यत्रो औद्योगिक क्षेत्रमा रहेको र भरपर्दो मानिने नेपाल ग्यास उद्योगको सेरोफेरो भने अस्तव्यस्त देखिन्थ्यो ।
उपभोक्ताहरूहरूको चहलपहल निकै देखिन्थ्यो त्यहाँ । मलाई एक नम्बर गेटमा जान भनियो, ‘एक नम्बर गेट कता छ?’ भनेर सोध्ने क्रममा कसैले यता भने त कसैले उता । हातमा समाएर हिँड्न नमिलेपछि मैले काँधमा बोरा बिछ्याएर त्यसमाथि सिलिन्डर राखेर लुरुलुरु हिँड्दै ‘एक नम्बर गेट कता हो?’ भन्दै सोध्दै गर्दा सही जवाफ कसैबाट पनि पाइएन । नजिकै रहेको नेपाल बैंकका गार्डलाई सोध्दा ‘थाहा छैन’ भने । कर्मचारी पोशाक लगाएकी र परिचयपत्र समेत घाँटीमा लट्काएकी बढार्दै गरेकी एक महिला कर्मचारीलाई सोध्दा ‘एक नं. गेट कता छ मलाई थाहा छैन’ भन्ने जवाफ पाएँ । चौबाटोबाट कहिले उत्तरतर्फ त कहिले पूर्वतर्फ अनि कहिले उद्योग अर्थात् फिलिङ क्षेत्रमा कुद्दाकुद्दै मेरो होस उड्न थालिसकेको थियो । म नेपाल सरकारको त्यसमा पनि उद्योग मन्त्रलय वा अन्तर्गतको अधिकृत भएको रवाफ त्यहाँ देखाइयो भने काम झन बिग्रन्छ भन्ठानेर बोल्ने आँट गरिनँ र बोलेको भए पनि त्यसको कुनै अर्थ रहदैनथ्यो । सकेसम्म भनसुन र सोर्सफोर्स लगाउन नपरोस् भन्ने मनसाय राख्ने मैले त्यसैका कारण धेरै हन्डर खानुपरेको थियो ।
उद्योगस्थल आसपासमा अनुहार मलिन बनाइरहेका तमाम उपभोक्ताहरू देखिन्थे । कोही हस्याङफस्याङ गरिरहेका र कोही बिल हातमा समाएर यताउता गरिरहेका अनि कोही फोनमा आत्तिएर कसैसँग संवाद गरिरहेका देखिन्थे । ग्यास उद्योगको मूल गेटमा ‘यो सिलिन्डर भित्र लैजानुपर्ने थियो’ भन्दा ‘गाडीमा ल्याउनुस्’ भन्ने जवाफ दिए सुरक्षा गार्डले । मैले एउटा सिलिन्डर गेटबाट भित्र्याउनका लागि कहाँ गाडीबाट पाउनु? भनेर सोध्दा सुरक्षा गार्डबाट ‘कि गाडीमा ल्याउनुस् कि त भने चारघन्टा पर्खिनुस्’ भन्ने जवाफ पाएँ । एउटा सिलिन्डर गेटभित्र छिराउन गाडी नै चाहिने कस्तो नियम हो? भन्दै आफैँले आफैलाई प्रश्न सोधेँ । गेटबाहिर एकजना ट्याक्सीका चालकलाई भनेँ ‘भाइ यो सिलिन्डर भित्र लगिदिनुस् न !’ चालकले भने– ‘एक सय रुपैयाँ लाग्छ ।’ मैले भनेँ– ‘ल भाइ दिन्छु ।’ उनको ट्याक्सीको पछाडिको खाली भागमा र पछिल्लो सिटमा गरेर आठवटा सिलिन्डर राखिएको देखेँ । चालकले ‘मिलाएर राख्नुस्’ भनेपछि मैले सिलिन्डर भुइँबाट उठाएर ट्याक्सीभित्र राखेँ । नौवटा सिलिन्डरले भरिएको ट्याक्सी केही बेरमा उद्योगको गेटभित्र प्रवेश गर्दा म पनि पछिपछि लागेर छिरेँ र केहि बेरको पर्खाइपछि ग्याँस भरिएको सिलिन्डर लिएर अरुहरूको सिलिन्डरको साथमा मैले पनि त्यसै ट्याक्सीमा राखेँ ।
ट्याक्सीमा सिलिन्डर राखेर ग्यास उद्योगको मुख्य गेटबाट भित्र लैजान जुन ट्याक्सीको सहारा लिएको थिएँ उनै ट्याक्सीका चालकलाई भनेँ ‘यो भरी सिलिन्डर औद्योगिक क्षेत्रको गेट बाहिर लगिदिनुस् न भाइ!‘ उनले सहजै ‘भैहाल्छ नि !‘ भने । तत्कालै ‘भाइलाई समय छ भने मेरो घरसम्म ग्यास सिलिन्डर लगिदिनुस्‘ भनेपछि उनले मोबाइलमा लोकेशन म्याप र राइडर्स चार्ज हेरे । बाटोमा कुरा गर्दै जाँदा उनी आइटीमा ब्याचलर अध्ययनरत रहेछन्, घर दाङको तुल्सीपुर । मैले पनि ‘मेरो घर पनि उतै हो‘ भनेर गफ गर्दै घर पुगेपछि आरामको सास फेर्नुपरेको थियो । दुई–तीन महिनाको प्रयासमा र दशैँअगाडि घरमा ग्यास भित्रिएपछि श्रीमतीको खुशीको सीमा रहेनन । मैले ‘एक सिलिन्डर ग्यास पाउन नेपाल सरकारको पूर्ववरिष्ठ अधिकृतको त यस्तो हालत छ भने सर्वसाधारणको के हालत होला‘ भन्ने सोँचेँ ।
दुई हजार साठी रुपैयाँको ग्यासका लागि घरबाट जाँदा राइडर्स मोटरसाइकल र आउँदा ट्याक्सी भाडा तथा अन्य खर्च गरी २८ सय खर्च भयो । यदि पायक पर्ने ग्यास बिक्री डिपोमा ग्यास पाएको भए २१ सय २० मा घरमै आउँथ्यो । सास्ती उत्तिकै व्यहोर्नु प¥यो भने मेरा लागि महत्वपूर्ण मानिने तीन घन्टा समय पनि बर्बाद नै भयो ।
कालोबजारी: उहिले सिनेमाको टिकट ब्ल्याकमा किनेर हलभित्र प्रवेश गरेका कुराहरू संस्मरणमा ताजै छन् । बजारमा चिनी ब्ल्याकमा, अनेक कुराहरू पनि ब्ल्याकमा कारोबार नभएका होइनन् । पछिल्लो समय ग्यास पनि व्ल्याकमा बिक्री हुनेगरेको संकेत पाइनु उपभोक्ताहरूका लागि दुर्भाग्यको कुरा हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल एलपिग्यास उद्योग संघको ध्यान कता छ कुन्नि? अन्य उपभोक्ता संघ–संस्था पनि नभएका होइनन्, तर उपभोक्ताहरूका लागि त्यस्ता निकाय र संघ–संस्थाहरूको प्रभावकारी भूमिका रहेको पाइँदैन । बजारमा जथाभावि गतिविधिहरू भैरहनु र सम्बन्धित निकाय संघ संस्थाहरू मौन रहनु विडम्बनाको कुरा हो ।
फोहोर सिलिन्डर र ग्यास दुर्घटनाः फोहोर देखिने सिलिन्डरहरू सफा र रंगरोगन गर्नेतर्फ उद्योगहरू लागेको पाइँदैन, हेर्दा घिन लाग्दा सिलिन्डर भान्सामा भित्र्याउन बाध्य छन् उपभोक्ताहरू । सरकारले उहिल्यै नीलो सिलिन्डर र रातो सिलिन्डरको व्यवस्था गरेकोमा त्यो दीगो हुन सकेन । ग्यास दुर्घटनाकै कारण एकजना सांसदको ज्यानै गएको थियो भने अर्का सांसद घाइते भएका थिए ।
अन्त्यमा, नेपाललाई प्राकृतिक सुन्दरताले भरिएको देश भनेर चिनिन्छ, त्यति मात्र होइन गौतम बुद्ध जन्मिएको देश भनेर पनि चिनिन्छ, सगरमाथाको देश भनेर पनि चिनिन्छ । तर अब ‘अभावैअभावको देश’ भनेर चिनिन थालेको छ । उहिले मट्टितेलको लाइनमा बसेर सास्ती खेप्नुपरेको कुरा यो लेखकले कहिल्यै पनि बिर्सदैन । बेलाबेलामा हुने ग्यासको अभावले हैरानी व्यहोर्नुपरेको छ आम उपभोक्ताहरूले । सरकार टिकाउने÷गिराउने खेलमै दर्जनौँ प्रधानमन्त्री बने, तर मुलुकको अवस्था चौपट बन्दै गैरहेको छ । ‘हाम्रो पालामा यो भयो ऊ भयो‘ भनेर फलाक्छन् नेताहरू, तर ‘हामीहरूले गर्दा सरकारी उद्योगहरू धरासायी भएका कारण तमाम किसान–मजदुरहरूको विचल्ली भयो‘ भनेर भन्दैनन् । ‘खाडी मुलुकहरूबाट दस वर्षमा दस हजारको लास त्रिभुवन विमास्थलमा ओर्लिने वातावरण हामीहरूले बनाएका हौँ‘ पनि भन्दैनन् । ‘जन्मदाबित्तिकैको शिशुको थाप्लोमा एक लाख वैदेशिक ऋणको भार बहन गर्नुपर्ने अवस्था हामीले सिर्जना गरेका हौँ‘ त झन भन्दै भन्दैनन् नेताहरू । ‘गाउँगाउँमा मोटरबाटो पुर्यायौँ, घरघरमा विजुली बत्ती बाल्ने वातावरण बनायौँ‘ भन्छन् । त्यो त समयले गर्ने काम हो, कुनै नेताले चाहदैमा हुने होइन ।