काठमाडौं, टिकटकले तीन महिनामा कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने नेपाली प्रयोगकर्ताहरुको २० लाखभन्दा बढी भिडियो हटाएको छ । सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिल–जुन) मा २० लाख ३६ हजार एक सय ९१ वटा भिडियो हटाएको जनाएको छ । टिकटकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टअनुसार हटाइएका भिडियो नेपालमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत हुन् । कम्पनीले सार्वजानिक गरेको रिपोर्टअनुसार प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै ९९.५ प्रतिशत उल्लङ्घनकारी भिडियो पहिचान गरी हटाइएको थियो ।
त्यस्तै ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका थिए । थप समीक्षापछि ३३ हजार ५०३ वटा भिडियो पुनःस्थापना गरिएको टिकटकले जनाएको छ । विश्वव्यापी रूपमा सोही अवधिमा टिकटकले १८ करोड ८२ लाख ९८ हजार एक सय ४१ वटा भिडियो हटाएको छ । यो प्लेटफर्ममा अपलोड भएका कुल सामग्रीको करिब ०.५ प्रतिशत हो । हटाइएका भिडियोमध्ये १८ करोड ३३ लाख ४४ हजार सात सय सातवटा भिडियो स्वचालित पहिचान प्रविधिको प्रयोगबाट हटाइएका थिए ।
विश्वव्यापी रूपमा ९९.५ प्रतिशत उल्लंघनकारी भिडियो प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै हटाइएको र ९२.७ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको रिपोर्टमा उल्लेख छ । समीक्षा प्रक्रियापछि ६२ लाख ६२ हजार तीन सय ८३ वटा भिडियो पुनःस्थापना गरिएका छन् । टिकटकले एकाउन्टको निगरानी तथा नियम कार्यान्वयनअन्तर्गत विश्वभर १४ करोड ६८ लाख सात हजार चार सयवटा नक्कली एकाउन्ट हटाएको जनाएको छ । त्यस्तै, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको हुन सक्ने आशंका गरिएका दुई करोड ६८ लाख ४० हजार सात सय ६७ वटा एकाउन्ट हटाइएको रिपोर्टमा उल्लेख छ । कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै २७ करोड ८३ लाख ८४ हजार चार सय ६३ वटा कमेन्टसमेत हटाइएका छन् ।
लाइभ फिचरमा पनि टिकटकले नियम उल्लंघनसम्बन्धी कारबाही गरेको छ । रिपोर्टअनुसार प्रकाशित सामग्रीमध्ये २.४ प्रतिशत लाइभ कन्टेन्ट निलम्बन गरिएको थियो । नियम उल्लंघनका कारण सात करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सेसन र दुई करोड ६७ लाख ८१ हजार एक सय ३५ जना लाइभ क्रिएटरमाथि चेतावनी दिने वा आम्दानी गर्ने सुविधा हटाउनेलगायतका कारबाही गरिएको टिकटकले जनाएको छ । थप समीक्षापछि २३ लाख ९८ हजार आठ सय ४६ वटा लाइभ सेसन पुनःस्थापना गरिएका छन् । टिकटकले ठूलो परिमाणमा सामग्रीको निगरानी तथा नियम कार्यान्वयनका लागि स्वचालित पहिचान प्रणाली प्रयोग गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार यस्ता प्रणालीमार्फत उल्लंघनकारी सामग्री पहिचान गरी हटाउने तथा प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण कायम गर्ने प्रयास भइरहेको छ । टिकटकले कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा सार्वजनिक गर्दै आएको छ ।