काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी संस्थागत उपलब्धिको समीक्षा गर्नुका साथै आगामी कार्यदिशा र सामाजिक उत्तरदायित्वका कार्यक्रम सार्वजनिक गरेको छ ।
वार्षिकोत्सव समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले स्थापनादेखि हालसम्मको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने संस्थापक, सञ्चालक, ग्राहक, सेयरधनी, कर्मचारी तथा नियामक निकायप्रति आभार व्यक्त गरे । उनले सबै पक्षको निरन्तर सहयोग र विश्वासकै कारण बैंकले २२ वर्षको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए । त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापतीले आगामी दिनमा बैंकका वित्तीय सेवा थप स्मार्ट, आधुनिक, प्रविधिमैत्री र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । बदलिँदो वित्तीय परिवेश र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो ।
वार्षिकोत्सवलाई केवल औपचारिक उत्सवमा सीमित नराखी बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमसमेत घोषणा गरेको छ । जसअनुसार हुम्लाको सिमकोटस्थित डाँडाफया हेल्थपोस्टमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । उक्त शिविरमा प्रसूति रोग विशेषज्ञमार्फत महिलालाई स्वास्थ्य सेवा उपलब्ध गराइने बैंकले जनाएको छ । त्यस्तै, सिमकोट–२ स्थित श्री रामदेव माध्यमिक विद्यालयका १०३ जना विद्यार्थीलाई विद्यालय पोसाक तथा स्टेसनरी सामग्री वितरण गरिने भएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले बैंकले रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ स्थित खुङ्ग्री हेल्थपोस्टलाई एक थान बेबी वार्मर र एक थान अटोक्लेभ ड्रम सेटसमेत प्रदान गर्ने घोषणा गरेको छ ।
बैंकले संस्थागत यात्रामा योगदान पुर्याएका कर्मचारीलाई पनि वार्षिकोत्सवका अवसरमा सम्मान गरेको छ । पाँच वर्ष र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई मायाको चिनो प्रदान गरी उनीहरूको योगदानको कदर गरि एको बैंकले जनाएको छ ।
बैंकले हाल देशभर एक सय नौ वटा शाखा कार्यालय र ३० वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तार र गुणस्तर अभिवृद्धिलाई निरन्तरता दिने जनाएको छ । २२ वर्षको संस्थागत अनुभव र ग्राहकको विश्वासलाई आधार बनाउँदै २३ औँ वर्षमा प्रवेश गरेको बैंकले प्रविधिमा आधारित आधुनिक बैंकिङ सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई समेत थप प्रभावकारी बनाउने लक्ष्य अघि सारेको छ ।