विकिपिडियामा राजनीतिक भ्रष्टाचार : भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूविरुद्धको आचरणलाई मानिन्छ । साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरूसित जोडिन्छ । भ्रष्टाचार बेइमानी वा आपराधिक अपराधको एक रूप हो जसमा एक व्यक्ति वा संगठनले प्राप्त गरेको अधिकारको स्थितिमा अवैध लाभहरू प्राप्त गर्न वा आफ्नो व्यक्तिगत लाभको लागि शक्तिको दुरूपयोग गर्दछन् । भ्रष्टाचारमा धेरै गतिविधिहरू समावेश हुन सक्छन् जसमा घुसखोरी, प्रभावको कारोबार र अपचलन समावेश छन् । राजनीतिक भ्रष्टाचार, एक कार्यालय धारक वा अन्य सरकारी कर्मचारीले, व्यक्तिगत लाभको लागि आफ्नो आधिकारिक क्षमताका साथ कार्य गर्दा हुन्छ ।)
केदार सुवेदी- सुशासनलाई पहिलो सूत्र बनाएको दुईतिहाइको बालेद्र सरकारलाई भ्रष्टाचारीहरूले कसरी चुनौती दिइरहेका छन् भन्ने हालै प्रकट भइरहेका केही भ्रष्टाचार वार्ताहरूले प्रकट गरेका छन् । यो भनेको कि सरकारको सुशासनको सन्देश सरकारको घेरा बाहिर नपुगेको अवस्था हो कि सरकारमा रहेकाहरूले भित्रभित्रै गरेका भ्रष्टाचारका कारण यो कुरा आफैँ ओजहीन भएका भन्ने बुझ्नुपर्छ ।
सुशासन मुखले भनेर मात्र हुँदैन त्यसका सूत्रहरू कडाइका साथ जो कोहीले पालना गर्दामात्रै हुन्छ भन्ने यसअघिका सरकार प्रमुखका बचनहरूले पनि देखाएकै हुन् । जस्तो यसअघिका प्रधानमन्त्री केपी ओलीले बालेन्द्रको भन्दा चर्को रूपमा भ्रष्टाचारको विरोध गरिरहे । उनका विभिन्न सार्वजनिक कार्यक्रमहरूमा उनको मूल भनाइ ‘भ्रष्टाचारीको मुखै नहेर्ने’ र ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’ अपनाउने घोषणा भइरहन्थे । यो नारा उनकोे राजनीतिक भाषणहरूमा निकै चर्चित र दोहोरिने मुख्य बुँदाहरूमध्येमा पर्थे । प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्दा होस् कि पार्टीका कार्यक्रमहरूमा आफूले पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने दाबी गर्दै नै आइरहे । उनका भनाइमा भ्रष्टाचारका काण्डहरूमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने र कसैलाई पनि राजनीतिक संरक्षण नमिल्ने भन्ने नै हुन्थ्यो ।
यस घोषणालाई उनको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्ने प्रमुख आधारका रूपमा प्रस्तुत गर्ने गरेका थिए । त्यसबेला उनका समर्थकहरूले यसलाई सरकारको दह्रो राजनीतिक इच्छाशक्तिको रूपमा व्याख्या गरिरहे र यता त्यसो गर्नेहरूले नै भ्रष्टाचारको खेती पनि चलाइरहे । त्यसका एउटा उदाहरण हुन् उनको सरकारका प्रवक्ता जो ७० करोड कमिसन काण्डमा परे । त्यो भ्रष्टाचार वार्ताको टेप नै सार्वजनिक भयो तर उनीमाथि कारबाही भने भएन ।
बालेन कालका वार्ता
पछिल्लो समय अर्थात् वहालवाला प्रधानमन्त्री बालेन्द्र शाहको पनि सुशासनमा त्यस्तै प्रतिबद्धता आइरहेका पाइन्छ । ओली बढी बोल्थे । शाह भने बोल्दैनन् । फरक यत्ति हो । यसमा पनि केही कुरा मिल्छन् । ओली सञ्जाल चलाउँदैन थिए । शाहभने दिनैपिच्छे र कतिपय अवस्थामा त दिनमा धेरै पटक हुनेगरी सञ्जालमा त्यसरी नै सुशासनका कुरा गरिरहन्छन् । यता उनकै वरिपरिबाट भइरहेका भ्रष्टाचार देख्दैनन् । त्यसका नमुनाहरू कायम भइसकेका देखिन्छ । उनको भर्खर छ महिना पुगेको शासनसमयमा भएका भ्रष्टाचार वार्ताका नमुना हेरियो भने झन् प्रष्ट हुनेछ । सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा आइसकेका यी वार्ता त्यसै आरोपित होइनन् । उनीहरूमध्ये एक जना कारबाहीमा पनि परे तर उनले जो–जो मानिसका नाम जोडेका छन् ती भने सामान्य छानबिनमा पनि परेका देखिएन । यही हो सरकारले भ्र्रष्टाचारलाई संरक्षण गरेको ठाउँ पनि ।
वार्ताबाटै प्रकट भएको यो घुस प्रकरण गृह, कृषि र बन मन्त्रालयसँग जोडिएको छ । विवरणहरूले नै उनका पनि संलग्नता देखाउँछन् । तर ओलीले गरे जस्तै यी मन्त्रीहरूमाथि पनि संरक्षण भयो । यो भ्रष्टाचार वार्तामा बर्दिया क्षेत्र नं. १ का रास्वपा सांसद ठाकुरसिंह थारूका प्रेस सल्लाहकार तथा रास्वपा कञ्चनपुरकी समानुपातिक सांसद गीता चौधरीका प्रेस सल्लाहकार भनेर चिनाउने हेमन्त चौधरी आशिष मल्ल ठाकुरीसँग गरेको गोप्य कुराकानीको अडियो जो सञ्जाललगायत विभिन्न माध्यममा सार्वजनिक भइसकेको छ । दुई जनाबीच चलेको वार्तामा एक जनालाई भने पक्राउ पनि गरिएको छ । तर संलग्नता देखिएका अरु उच्चतहका व्यक्ति अर्थात् मन्त्री र सांसद भने आफ्नो संलग्नता नभएको भन्ने सामान्य वक्तव्य दिएर उम्किएका अवस्था छ ।
गएको भदौ ७ मा गरिएको त्यो वार्ताविवरण–
हेमन्त चौधरीः गृहमन्त्रीको जो चाहिँ दाहिने हात छ नि । सबै गर्ने अनिल बानियाँ हो ।
आशिष मल्ल ठाकुरीः अनिल बानियाँ ?
हेमन्त चौधरीः हो, अनिल बानियाँ मेरो साँझ–बिहान आएर खुट्टा ढोग्ने भाइ हो ।
आशिष मल्ल ठाकुरीः हो र ? भेटौँ न त भोलि ।
हेमन्त चौधरीः मालिक, मालिक, त्यही भएर, मैले अघि त्यो भाइलाई भनिसकेँ, नेपालगञ्जको ।
तपाईँले भनेको, होइन ?
आशिष मल्ल ठाकुरीः हजुर, हजुर ।
हेमन्त चौधरीः त्यो चाहिँ मलाई चाहियो,भनिसक्या छु है !
आशिष मल्ल ठकुरीः मलाई भन्नाले, त्यो ऊ, मैले अघि गर्या कुरा ।
हेमन्त चौधरीः हो, त्यो ।
आशिष मल्ल ठाकुरीः मालिक, जेम्स कार्की चाहिँ खास मान्छे होइन गृहमन्त्रीको?
हेमन्त चौधरीः त्यो सेकेन्ड, थर्ड मान्छे हो ।
आशिष मल्ल ठाकुरीः हो र ?
हेमन्त चौधरीः म आज जेम्स कार्कीलाई भेट्न गा थेँ । उसले आज ठाकुर दाइलाई फोन ग¥या थियो, हेर्नुस् । हामीले त्यहाँ गएर प्रेसर ग¥यौँ नि, गृहसचिवलाई किनभने ठाकुर दाइ मेरोबाहेक अर्कोमा चल्दैन नि त ।
आशिष मल्ल ठाकुरीः हो, हो ।
हेमन्त चौधरीः स्वकीयचाहिँ फेरि मैले खाइराछु, तर बाहिर भन्या छैन नि ।
आशिष मल्ल ठाकुरीः हजुर, हजुर, हजुर ।
हेमन्त चौधरीः अनि जेम्सले फोन गर्यो ।
माननीयज्यू, यसो–यसो कुरा आथ्यो, के गर्ने? हो त, त्यही हो । माननीयले ।
आशिष मल्ल ठाकुरीः अहँ । ए, ल, ल, ल । बर्दियाको, नत्र १० जिल्लाको अस्तितिर, डीजी र त्यो अस्ति मात्र चेन्ज गरेको गृहसचिव थियो नि मालिक । एक हप्ता अगाडि चेन्ज गरिदियो उसले।
आशिष मल्ल ठाकुरीः हो ।
हेमन्त चौधरीः उसले सबैबाट २५–२५ खाएको छ, हेर्नुस् । प्रत्येक जिल्लाको, ऊ हुन्छ नि, कारागारको, के भन्छ रे त्यसलाई?
आशिष मल्ल ठाकुरीः चौकीदार।
हेमन्त चौधरीः एस । चौकीदार चेन्ज गर्नलाई २५–२५ उनले खाएका छन्, के रे त्यो हाम्रो डीजी, कारागार विभागको डीजी र उसले, गृहसचिवले।
अनि यहाँ उठाएका छन् एक–एक, हेर्नुस् है ।
आशिष मल्ल ठाकुरीः एक–एक करोड ?
हेमन्त चौधरीः अनि नि ।
आशिष मल्ल ठाकुरीः ओहो !
हेमन्त चौधरीः मालिक यार, त्यहाँ भयंकर हुँदो रहेछ भन्छन् त ।
आशिष मल्ल ठाकुरीः भयंकर हो त्यहाँ ।
हेमन्त चौधरीः एक–एक उठाएका छन्, हेर्नुस् । तर मालिक, अहिले तपाईँ–हामीले बुझ्ने कुरा के हो भने माओवादी, एमाले, कांग्रेसभित्र जो चाहिँ खारिएका, उनका कार्यकर्ता, दुनियाँ सेटिङवाला, एक से एक, हुन्थ्यो नि
आशिष मल्ल ठाकुरीः हजुर मालिक ।
हेमन्त चौधरीः उनीहरूले डायरेक्ट केपी शर्मा ओलीसँग, प्रचण्डसँग
आशिष मल्ल ठाकुरीः अहँ ।
हेमन्त चौधरीः शेरबहादुर देउवासँग, गगन थापासँग पहुँच हुँदा पनि हामीले गर्न सक्थेनौँ नि । अहिले रास्वपाभित्र केही आइडिया छ त मालिक ? तपाईँ–हामीले घुस्यौँ भने,
आशिष मल्ल ठाकुरीः अहँ
हेमन्त चौधरीः जेसुकै काम पनि गर्न सकिँदो रहेछ । अहिले त मैले सातवटा, के रे, छ वटा राष्ट्रिय निकुञ्जमा हाकिम पठाइसकेँ ।
आशिष मल्ल ठाकुरीः ओहो !
हेमन्त चौधरीः उनले मिडियाको ५० लाखको वर्षको लिएर आउनु, हामीलाई दुई वर्ष होइन, तीन वर्ष यहाँ टिकाइदिनुपर्यो भनिराछन् ।
हेमन्त चौधरीः बर्दियाको मैले पठाइसकेँ, शुक्लाफाँटाको पठायो, राराको पठाउन बाँकी छ । राराको पर्सि जाँदै छ। के रे, सोमबार ?
आशिष मल्ल ठाकुरीः हजुर ।
हेमन्त चौधरीः अहिले म, त्यसरी गरिराछु मालिक। तपाईँ–हामीले चाह्यौँ भने..
काठमाडौँ, अहिले त मलाई केही पनि लागेको छैन ।
आशिष मल्ल ठाकुरीः हजुर । मालिक,
हेमन्त चौधरीः आज एउटा वार्डेनले मलाई, हजुर, २५ लाख रूपैयाँ,यहाँ यसरी झोलामा फालिदियो के ।
आशिष मल्ल ठाकुरीः हजुर । अहँ ।
हेमन्त चौधरीः तर मैले भनेँ–लिँदैनँ म । कसै, कुनै वार्डेनसँग लिएको छैन । तैँले मिडियाको लिगल्ली दे न त।
आशिष मल्ल ठाकुरीः अहँ ।
हेमन्त चौधरीः मैले अहिलेसम्म चितवन पठाइसकेँ, बर्दिया पठाइसकेँ, हैन ?
आशिष मल्ल ठाकुरीः हो।
हेमन्त चौधरीः शुक्लाफाँटा पठाइसकेँ, बाँके चाहिँ मैले फेरि, राम्रो मान्छे खोजिराछु है मालिक। बाँकेको कोही छ भने,
आशिष मल्ल ठाकुरीः अहँ,
हेमन्त चौधरीः तपाईँले दिनुपर्यो । बाँकेको तीन–चार जना म कहाँ आकोआइ छन् ।
आशिष मल्ल ठाकुरीः अहँ ।
हेमन्त चौधरीः गीता चौधरी भनेको मेरो मामाको छोरी हो फेरि । तपाईँ यति बुझ्नुस् ।
आशिष मल्ल ठाकुरीः हम्म,हम्म ए ।
हेमन्त चौधरीः उनको म प्रेस सल्लाहकार चाहिँ होइन, तर अघोषित प्रेस सल्लाहकार भनेको दिदीलाई यो–यो गर्, दिदी, ऊ गर् दिदी भनेर मैले चाहिँ अर्ति–उपदेश दिने, उनले पनि भाइ, यो गर्, त्यो गर् भनेर अर्ति–उपदेश दिने, अहिले त्यो स्थितिमा छु, मालिक। हैन ? हजुर र मेरो मनको कुरा मिल्ने भएर मात्रै भनेको, मालिक ।
आशिष मल्ल ठाकुरीः एकदम, एकदम ।
हेमन्त चौधरीः कसैसँग केही छैन, मालिक। म एकदम छु, हेर्नुस् ।
आशिष मल्ल ठाकुरीः अहँ ।
हेमन्त चौधरीः अहिलेलाई सरकारको जुनसुकै काम हुन्छ नि ।
आशिष मल्ल ठाकुरीः अहँ ।
हेमन्त चौधरीः त्यो मलाई दिइदिनुपर्यो के, मालिक ।
आशिष मल्ल ठाकुरीः ओके छ त ।
हेमन्त चौधरीः हेमन्तले एउटा गरेन भने पछि चाहिँ भन्नुहोला हजुरले ।
आशिष मल्ल ठकुरीः हजुर ।
हेमन्त चौधरीः तर अहिले चाहिँ सबै काम मलाई दिइदिनुपर्यो ।
वार्तामा नाम मुछिएकाहरू
यो भष्टाचार वार्तामा नाम मुछिएका दुई मन्त्रीमध्ये एकजना कृषि, वन तथा पर्यावरण मन्त्रीबाट सम्बन्धित व्यक्तिसँग चिनजान नभएको भन्ने खण्डन आयो तर सरुवाचाहिँ ठीक त्यही मितिमा भएको देखियो । यो संयोगमात्र हो कि योजनाबद्ध भन्ने चाहिँ अध्ययन हुन बाँकी नै छ । गृहमन्त्रीले त सामान्य खण्डनसमेत गरेको पाइएन ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद अडियो प्रकणरणबारे स्पष्टीकरण दिइन् । उनका अनुसार चर्चित अडियो क्लिपमा कुराकानी गरेका ती दुई व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध छैन । यस प्रकारका कुनै प्रमाण पेस भए फेस गर्न तयार छु । माथि उल्लेख भएका वार्ता गर्ने दुई व्यक्तिहरूले कृषिमन्त्री चौधरी, गृहमन्त्री सुधन गुरुङ, रास्वपा सांसद ठाकुरसिंह थारुलगायतको नाम लिँदै लेनदेनको कुरा गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको र सो अडियोमा बोल्ने एक व्यक्तिले मन्त्री चौधरीलाई आफ्नो ‘मामाकी छोरी’ भनेर चिनाएको स्वर सुनिन्छ ।
संसदीय समितिको बैठकमा समिति सदस्यहरूले कृषिमन्त्री चौधरीसँग जवाफ मागेपछि मन्त्री चौधरीको भनाइ यसरी आयो ‘अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन । व्यक्तिगत, पारिवारिक कुनै सम्बन्ध छैन । आफू लामो समयदेखि सुशासनका लागि लडेको र जेनजी आन्दोलनमा पनि योगदान दिएको मान्छे हो । अनावश्यक टिकाटिप्पणी गर्नुभन्दा प्रमाणका आधारमा विषय उठाइयोस् । हामी सुशासनका लागि आएका हौं । टीकाटिप्पणी गर्नुभन्दा पनि प्रमाण छ भने म फेस गर्न तयार छु ।’
विवरणहरू भने मिल्दाजुल्दा
यी मन्त्रीले उता यस्तो दाबी गरिरहँदा माध्यमहरूमा अडियोमा आएजसरी नै यता सरुवाको मिति कसरी मिल्न गयो भनेर मन्त्रीसंग प्रश्न गरिने क्रम पनि संगै चलेका देखियो । ती समाचार विवरणमा भनिएका छन्–
सरकारका मन्त्री र सत्तापक्षका केही सांसद निकट भनिएका पत्रकारद्वय हेमन्त चौधरी र आशिष मल्ल ठकुरीबीचको अडियो संवादमा केही राष्ट्रिय निकुञ्ज तथा कारागारका कर्मचारी सरुवामा करोडौँको लेनदेन भएको र केही ठाउँमा हुन लागेको दाबी गरिएको थियो । यो अडियो सार्वजनिक भएपछि कृषिमन्त्री चौधरीले असोज ८ मा कुनै पनि निकुञ्जमा कर्मचारी हेरफेर नभएको दाबी गरेकी थिइन् तर यता जो–जो सरुवा भएका हुन् । उनलाई दिइएका पत्रमा भने असोज ८ को मिति नै उल्लेखित भएको छ ।
जो–जो सरुवा भएका छन् । त्यो पनि स्वाभाविक देखिएन । जस्तो बर्दिया राष्ट्रिय निकुञ्जमा तीन वर्षदेखि कार्यरत अशोक रामलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको छ । जबकि, उनी यसअघि चार वर्ष पर्सामै काम गरेर सरुवा भएका थिए । त्यस्तै दिलबहादुर पुनलाई चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जमा मनोज साह र शुक्लाफाँटमा नरेन्द्र अर्याललाई पठाइएको छ । बाँके राष्ट्रिय निकुञ्जमा भने वीरेन्द्र कँडेललाई यथावत् राखिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जकी सुष्मा राना र लाङटाङका श्यामकुमार साह राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग पुग्दा शिवपुरीका विष्णुप्रसाद श्रेष्ठ लाङटाङ पुगेका छन् । ढोरपाटन शिकार आरक्षका अणनाथ बराल शिवपुरी राष्ट्रिय निकुञ्ज पुगेका छन् भने रारा राष्ट्रिय निकुञ्जका विश्व श्रेष्ठलाई ढोरपाटन शिकार आरक्षमा सरुवा गरिएको छ । सरुवा भएका सबै संरक्षण अधिकृतलाई असोज ८ गतेको सरुवा पत्र थमाइएको छ । यसरी सुगमबाट सुगम र दुर्गमबाट दुर्गममा सरुवा भएपछि कतिपय कर्मचारीले मन्त्री र उनको सचिवालयले निजामती सेवा ऐन विपरीत काम गरिरहेको आरोप लगाएका छन् । यसका बारे भने मन्त्रीले कुनै जवाफ दिएको पाइएन ।