काठमाडौं, पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले सर्वसाधारणबाट कुल १५ करोड रुपैयाँ बराबरको पुँजी संकलन गर्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष लाल प्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर कार्यक्रममा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी नेपालको अर्थतन्त्रमा दिगो वृद्धि तथा विकासलाई अघि बढाउने उद्देश्यसहित स्थापना भएको लगानी कम्पनीका रूपमा अघि बढिरहेको जनाएको छ । कम्पनीले ‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नारासहित विभिन्न क्षेत्रमा रणनीतिक लगानी गर्दै आएको छ ।
कम्पनीका अनुसार ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार तथा पर्यटनलगायतका क्षेत्रसँग सम्बन्धित आयोजनाहरूमा केन्द्रित भएर लगानी विस्तार गर्दै आएको छ । प्रस्तावित साधारण सेयर निष्काशनमार्फत कम्पनीले सर्वसाधारणलाई समेत आफ्नो लगानी यात्रामा सहभागी गराउने लक्ष्य लिएको छ ।