काठमाडौं, नेपाल मौसम विज्ञान विभागले मुलुकको विभिन्न भागमा भारी वर्षा हुने सम्भावना रहेको भनेसँगै सरोकारावाला निकायहरूले सतर्कता अपनाएका छन् । विभागले बिहीबारदेखि आइतबारसम्म तीन दिन मुलुकको विभिन्न भागमा भारी वर्षा हुने र त्यसले असर पार्ने भनेसँगै सरोकारावाला निकायहरूले सर्तकता अपनाएका हुन् ।
सतर्कता अपनाउने क्रममा प्रदेश तथा स्थानीय तहहरूले विद्यालय बन्द, सरकारी सेवाहरू पनि आवश्यकता अनुरुप बन्द र सवारी साधान सञ्चालनमा रोक लगाएका छन् । यसैगरी वर्षाका कारण आउने बाढी पहिरोबाट समेत सुरक्षित रहनको लागि उनीहरूले आग्रह गरेका छन् । प्रदेश तथा स्थानीय तहले वर्षा अवधिभरि नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भू–भाग, भिरालो जमिन तथा डुबान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउने आग्रह गरिएको छ । जोखिमको स्तर बढ्दै गएमा समयमै नजिकको सुरक्षित स्थानमा जाने र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न सर्वसाधारणमा आग्रह गरिएको छ ।
अति आवश्यक कामबाहेक बाहिर ननिस्कने तथा रातिको समयमा यात्रा नगर्ने तथा यात्रा गर्नुपरेमा सडक तथा यातायातको अवस्थाबारे जानकारी लिने सर्वसाधारणलाई भनिएको हो । यसैगरी वर्षाको अवधिभरि बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिने भनिएको छ । पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्ने समेत आग्रह गरिएको छ । प्रदेश तथा स्थानीय सरकारले विपद्को अवस्थामा हुनसक्ने सडक यातायात अवरोधलाई मध्यनजर गर्दै यातायात सुचारु राख्न आवश्यक तयारी र पहल गर्न सम्बन्धित सडक कार्यालयहरू र प्रदेशअन्तर्गतका पूर्वाधार विकास कार्यालयहरूलाई निर्देशन समेत दिएको छ ।
विपद्को समयमा अत्यावश्यक सेवा अवरुद्ध हुन सक्ने सम्भावनालाई विचार गरी आवश्यक व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमलगायत सेवा प्रदायक संस्थाहरूलाई अनुरोध गरिएको छ । विपद् व्यवस्थापन कार्यमा विभिन्न गैरसरकारी तथा सामुदायिक संस्थाहरूको सहभागिता र संलग्नता आवश्यक देखिएको सन्दर्भमा आफ्नो विषयगत ज्ञानसमेतका आधारमा परिचालन भई सहयोग पुराउन अनुरोध गरिएको छ । भारी वर्षा हुने तीन दिनको समयमा सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले जोखिमयुक्त सडक तथा राजमार्गहरू पहिचान गरी रातिको समयमा यातायात सञ्चालन रोक्ने वा अन्य सुरक्षित व्यवस्था मिलाउने निर्देशन दिइएको छ ।
प्रदेश तथा स्थानीय सरकारले आफू मातहतका सर्वसाधारणलाई जोखिमबाट बचाउनका लागि भन्दै विपद व्यवस्थापन कार्यकारी समितिका बैठक बसी निर्णय गरेको जनाएको छ । यता संघ, प्रदेश र स्थानीय सरकारले तीन दिन हुने भारी वर्षाको जोखिमलाई लिएर पूर्वसावधानी अपनाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए । उनले भारी वर्षाका कारण उच्च सतर्कताका लागि प्राधिकरणले गरेको अनुरोधलाई सबैले स्वीकार गरी अघि बढेको समेत बताए ।
‘भारी वर्षाको सम्भावनाका कारण माटो कटान, बाढी, पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको छ । सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने सम्भावना छ । प्रमुख तथा सहायक नदीहरू, खोला र खोल्साहरूमा पानीको सतह बढ्न सक्छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन तथा नदी, सडक र हवाई यातायातसँग सम्बन्धित गतिविधिहरू पनि प्रभावित हुन सक्नेतर्फ सचेत रहन हामीले आग्रह गरेका छौँ । त्यसको कार्यान्वयन भएको पाएको छौँ’, उनले भने ।
प्राधिकरणले बाढी पहिरो मात्रै नभई सो समयमा मौसम प्रणालीका कारण देशका हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने सम्भावना रहेको छ । त्यसैले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाई आवश्यक सावधानीका उपायहरू अवलम्बन गर्न समेत अनुरोध गरेको छ ।
‘उच्च हिमाली तथा पहाडी क्षेत्रमा रहेका यात्रु, पदयात्री तथा अन्य व्यक्तिहरूलाई सुरक्षित स्थानमा फर्कन र मौसममा सुधार नआएसम्म अनावश्यक यात्रा नगर्न अनुरोध गरिन्छ । बाढीको जोखिम न्यूनीकरण गर्न नदी तथा नदी बेसिन आसपास यात्रा गर्दा सतर्क रहन र विशेष सावधानी अपनाउन अनुरोध गरिन्छ । यात्राका क्रममा सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, पदयात्रा मार्ग तथा अन्य यातायात सेवाको अवस्थाबारे नियमित रूपमा जानकारी लिइरहनुहोस् । बाढी, पहिरो, आकस्मिक बाढी, भारी हिमपात वा अन्य मौसमजन्य जोखिमको उच्च सम्भावना भएका तथा प्रतिकूल मौसमबाट प्रभावित क्षेत्रमा जानबाट बच्नुहोस्’, प्राधिकरणले भनेको छ ।
यसैगरी प्राधिकरणले स्थानीय प्रशासन, सुरक्षा निकाय, पर्यटन व्यवसायी, पदयात्रा सञ्चालक तथा अन्य सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षा निर्देशन र आधिकारिक सूचनाहरूको पालना गर्न आग्रह गरेको छ । यात्रु तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरूलाई वर्षा, बाढी, पहिरो तथा अन्य सम्भावित मौसमजन्य जोखिमसम्बन्धी प्राधिकरण र मौसम विभागबाट जारी हुने पछिल्ला मौसम पूर्वानुमान, चेतावनी तथा आधिकारिक सूचनाहरू नियमित रूपमा अनुसरण गर्न विशेष अनुरोध गरेको छ । साथै समस्यामा परेको खण्डमा मौसम तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, प्रकोप वा आपत्कालीन अवस्था उत्पन्न भएमा नेपाल प्रहरीः १००, सशस्त्र प्रहरी बलः १११४ र विपद् आपत्कालीन हटलाइनः १२३४ मा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
भारी वर्षाको सम्भावना रहेसँगै उपत्यकाका तीनवटा स्थानीय निकायले शैक्षिकसंस्थाहरू बन्द गरेका छन् । अधिकांशजसो स्थानीय निकायले शैक्षिक संस्था तीन दिनका लागि बन्द गरिएको शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।