काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै सेयरधनीलाई कुल चार प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको हो। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिम तयार गरिएको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत एकीकृत वित्तीय विवरणहरू पनि छलफलपछि स्वीकृत भएका छन् । सभाले आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य मुनाफाबाट बैंकको २०८३ असार मसान्तसम्मको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार छ सय १४ रुपैयाँको तीन दशमलव ८० प्रतिशतका दरले हुने ५८ करोड ९२ लाख ८३ हजार छ सय १७ रुपैयाँ ३४ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशतका दरले हुने तीन करोड १० लाख १४ हजार नौ सय २७ रुपैयाँ २३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले अनुमोदन गरेको छ । बोनस सेयर र नगद लाभांशसहित बैंकले कुल ६२ करोड दुई लाख ९८ हजार पाँच सय ४४ रुपैयाँ ५७ पैसा लाभांश वितरण गर्नेछ । बैंकले आर्थिक वर्ष २०६५/०६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । बैंकको विगत २० वर्षको औसत लाभांश दर १० दशमलव शून्य आठ प्रतिशत रहेको जनाइएको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावअनुसार बैंकका कामकारबाही सञ्चालन गर्ने बताए । उनले आगामी दिनमा बैंकले अझ बढी प्रगति हासिल गर्ने विश्वास व्यक्त गर्दै संस्थागत सुशासन र नियामकीय अनुपालनाको उच्च स्तर कायम राख्न बैंक सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे ।
बैंकले आगामी दिनमा संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सबल र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । अध्यक्ष पाण्डेले बैंकलाई निरन्तर सहयोग पुर्याउँदै आएका सेयरधनी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा गरे ।
बैंकले अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउँदै बैंक अफ द इयर २०२४ र बैंक अफ द इयर २०२५ को उपाधि प्राप्त गरेको जनाएको छ । बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार र ग्राहकको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न नवीन सेवा सञ्चालनमा ल्याएको छ । फोनपेसँगको सहकार्यमा बैंकले नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। हालै नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ । त्यस्तै, फ्रिलान्सरहरूलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ नामक विशेष बचत खाता सुरु गरेको बैंकले जनाएको छ । बैंकले मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन दिन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ ।
यसका अतिरिक्त, अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा सञ्चालनमा ल्याइएको छ । यी सेवाले ग्राहकलाई सहज, सरल र प्रविधिमैत्री बैंकिङ अनुभव प्रदान गर्ने बैंकको अपेक्षा छ ।
बैंकले देशभरका ६१ जिल्लामा फैलिएका दुई सयवटा शाखा, एक सय ६७ वटा एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकका अनुसार हाल २० लाख ७८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराइँदै आएको छ । शाखा सञ्जाल विस्तारसँगै डिजिटल बैंकिङ तथा नवीन वित्तीय सेवामा जोड दिँदै आएको बैंकले आगामी दिनमा पनि संस्थागत सुशासन, सेवा प्रवाह र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ ।