काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूबीच ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्सः परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू–कर्णाली प्रोभिन्स २०८३/०८४’ विषयक सेमिनार सम्पन्न गरेको छ ।
बैंकद्धारा आयोजित सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्नुका साथै चालू आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ । सेमिनारमा बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्तरका कार्यालयबीच सहकार्यलाई थप प्रभावकारी बनाउने, व्यवसाय विस्तार गर्ने तथा निर्धारित लक्ष्य हासिल गर्ने विषयमा गहिरो अन्तरक्रिया भएको थियो ।
कर्णाली प्रदेशका आठ जिल्लामा सिटिजन्स बैंकका ११ वटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले यसअघि बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्परेटिभ्स फर बागमती प्रदेश’, कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’, मधेश प्रदेशमा ‘ड्राइभिङ हाइ–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/०८४’ तथा सुदूरपश्चिम प्रदेशमा ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु’ कार्यक्रम सम्पन्न गरिसकेको छ । सोही कार्यक्रमको निरन्तरताका रूपमा कर्णालीमा सेमिनार आयोजना गरिएको बैंकले जनाएको छ । आगामी दिनमा अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम क्रमशः आयोजना गरिने बैंकको भनाइ छ ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा कर्जा प्रवाह एक दशमलव २४ प्रतिशतले वृद्धि भई एक खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप संकलन नौं दशमलव २२ प्रतिशतले बढेर दुई खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको खुद नाफा ६३ दशमलव शून्य पाँच प्रतिशतले वृद्धि भई दुई अर्ब नौ करोड ८६ लाख रुपैयाँ पुगेको छ । बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल भएको जनाएको छ । त्यस्तै, फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकको भनाइ छ ।
पछिल्लो समय बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ समेत सुरु गरेको बैंकले जनाएको छ । यसैगरी, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन तथा सी–आस्बा (सीआरएन) नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा र क्रस बैंक टेलर सेवा पनि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
बैंकले हाल देशभरका ६१ जिल्लामा दुई सयवटा शाखा, एक सय ६७ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर तथा ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।