काठमाडौं, सिटिजन्स क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको २०औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सोमबार कम्पनीको रजिस्टर्ड कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणसमेत पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।
यस्तै, कम्पनीको नियमावलीअनुसार गरिएको सञ्चालकको नियुक्तिलाई समेत साधारणसभाले अनुमोदन गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूतिकर्ता, सेयर रजिस्ट्रार तथा डिम्याट खातालगायत पुँजी बजारसँग सम्बन्धित विभिन्न सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीमा कर्मचारी सञ्चय कोषका साथै प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ । कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ रहेका छन् । काठमाडौं उपत्यकाबाहिर रहेका लगानीकर्तालाई पनि पुँजी बजारमा सहज रूपमा सहभागी गराउने उद्देश्यले सिटिजन्स क्यापिटलले सिटिजन्स बैंक इन्टरनेसनलका देशभर रहेका विभिन्न शाखामार्फत आफ्ना सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ । देशका विभिन्न भूभागमा रहेका लगानीकर्तालाई पुँजी बजार तथा व्यवस्थित लगानी सेवामा सहज पहुँच विस्तार गर्नुका साथै दीर्घकालीन र अनुशासित लगानी संस्कार विकासमा योगदान पुर्याउने उद्देश्य कम्पनीले लिएको छ ।