काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले दलेलाको नाम एग्रिमोका लागि नेपालसमक्ष पठाएको हो। नेपालमा यसपटक राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई राजदूतका रूपमा पठाउने चर्चा भइरहेका बेला भारतले भने भारतीय विदेश सेवाका अनुभवी कर्मचारी दलेलालाई नेपालका लागि राजदूतका रूपमा प्रस्ताव गरेको हो।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेला हाल भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत छन्। उनले सन् २०२५ देखि उक्त जिम्मेवारी सम्हाल्दै आएका छन्।
त्यसअघि उनले भुटानका लागि भारतीय राजदूतका रूपमा करिब तीन वर्ष काम गरेका थिए। हाल दलेलाले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषय हेर्दै आएका छन्।
दलेलाले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए। भारतीय विदेश मन्त्रालयका अनुसार उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा पनि सेवा गरेका छन्।
सन् २००९ देखि २०११ सम्म उनले भारतीय प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए। त्यस क्रममा उनको जिम्मेवारी दक्षिण एसियाली छिमेकी राष्ट्र, पूर्वी एसिया तथा इन्डो–प्यासिफिक क्षेत्र, खाडी तथा मध्यपूर्व र अफ्रिकी देशहरूसँग भारतको सम्बन्धसँग सम्बन्धित विषयमा केन्द्रित थियो।
यसअघि सन् २००६ देखि २००७ सम्म उनले भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजनमा काम गरेका थिए। सन् २०१६ देखि २०१९ सम्म सोही डिभिजनका सहसचिवका रूपमा कार्यरत रहँदा उनले नेपाल र भुटानसँग भारतको सम्बन्धका विषयमा नजिकबाट काम गरेका थिए।
व्यापार तथा आर्थिक नीतिमा समेत दलेलाको अनुभव छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गर्नुका साथै विश्व व्यापार संगठन (डब्लूटीओ) मा भारतको स्थायी नियोगमा दुईपटक सेवा गरेका छन्।
दलेलाले अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा समेत काम गरेका छन्। उनी वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री तथा सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुखका रूपमा कार्यरत थिए।
नेपाल सरकारले एग्रिमो स्वीकृत गरेपछि दलेलाको नेपालका लागि भारतीय राजदूतका रूपमा नियुक्ति अघि बढ्नेछ।