काठमाडौं । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार बेलायती सेनाका प्रमुख (चिफ अफ द जनरल स्टाफ) सर रोली वाकरसँग भेटवार्ता गरेका छन्।
बेलायती सेनाप्रमुख वाकरको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी औपचारिक भ्रमणका लागि प्रधानसेनापति सिग्देल गत सोमबार बेलायत प्रस्थान गरेका थिए।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटका क्रममा प्रधानसेनापति सिग्देल र बेलायती सेनाप्रमुख वाकरबीच नेपाल–बेलायत सैनिक सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले मंगलबार पनि बेलायती सेनाका विभिन्न उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए। यस्तै, उनले गोरखा सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन्। नेपाली सेनाका अनुसार उनको बेलायत भ्रमणका क्रममा दुई देशबीचको सैनिक सम्बन्ध र सहकार्यका विभिन्न पक्षमा छलफल तथा भेटवार्ता हुनेछन्।