काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी रहेको जग्गा मन्त्रिपरिषद्को निर्णयमार्फत सट्टापट्टाका नाममा बिक्री गर्ने वातावरण बनाएको आरोप उनीहरूमाथि लगाइएको छ ।
अख्तियारका अनुसार माधवकुमार नेपाल प्रधानमन्त्री रहेको समयमा बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीको हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्न अनुमति दिएको थियो । मन्त्रिपरिषद्ले ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न स्वीकृति दिएर बिक्रीको वातावरण बनाइदिएको अख्तियारको दाबी छ ।
विशेष अदालतमा मुद्दा दर्ता हुने क्रममा रहेको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिएकी छन् । अख्तियारले उक्त निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पूर्वप्रधानमन्त्री नेपाल, पूर्वमन्त्री रिजालसहित ९७ जनालाई प्रतिवादी बनाएको हो ।