काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल तिहार बिदापछि मात्रै अदालत फर्किनेगरी बिदामा बसेका छन् ।सर्वोच्च अदालत प्रशासनका अनुसार न्यायाधीश फुयालले मंगलबारदेखि शुक्रबारसम्मका लागि बिदा लिएका हुन् । शुक्रबारपछि तिहारका कारण अदालतमा सार्वजनिक बिदा सुरु हुने भएकाले उनी तिहार बिदापछि मात्रै अदालतमा हाजिर हुनेछन् । उनले आगामी ३० कात्तिकमा अदालतमा हाजिर हुनेगरी बिदा लिएका हुन् ।
उच्चपदस्थ अधिकारीहरूसँग ‘सेटिङ’को प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग होटल हिमालयमा भेटेको विवरण सार्वजनिक भएपछि न्यायाधीश फुयालमाथि प्रश्न उठेको थियो ।सापकोटासँग भेटेको विषय सार्वजनिक भएपछि न्यायाधीश फुयालले आफूले सापकोटालाई भेटेको भए पनि त्यसका कारण आफूले हेरेका विचाराधीन मुद्दामा कुनै प्रभाव नपरेको स्पष्टीकरण दिएका थिए ।
सापकोटा उच्चपदस्थ अधिकारीहरूसँग सम्पर्क तथा सेटिङको प्रयास गरेको आरोपमा पक्राउ परेका व्यक्ति हुन् । उनीसँग न्यायाधीश फुयालको भेट भएको विवरण सार्वजनिक भएपछि उक्त भेटघाटको विषयलाई लिएर न्यायिक वृत्तमा समेत प्रश्न उठेको थियो ।