काठमाडौं, बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्जाको ब्याजदर निकै कम छ । कम ब्याजमै ऋण पाइने भए पनि यसको माग भने सुस्त देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाको भारित औसत ब्याजदर घटे पनि कर्जा प्रवाह सुस्त देखिएको हो ।
वाणिज्य बैंकहरूको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदनअनुसार २०८३ असार (मध्य जुलाई २०२६)मा वाणिज्य बैंकहरूको समग्र कर्जाको भारित औसत ब्याजदर छ दशमलव ४८ प्रतिशतमा झरेको छ । मध्यजुन २०२६ मा यस्तो ब्याजदर छ दशमलव ५५ प्रतिशत थियो । सोअनुसार एक महिनाको अवधिमा औसत ब्याजदर शून्य दशमलव शून्य सात प्रतिशत विन्दुले घटेको हो ।
यसैबीच, कर्जाको कुल रकम भने केही बढेर साउन (मध्य अगस्ट २०२६) मा ५१ खर्ब ९५ अर्ब ९८ करोड पुगेको छ । मध्यजुनमा कुल कर्जा रकम ५१ खर्ब ६९ अर्ब २८ करोड ४७ लाख र मध्यअसारमा ५१ खर्ब ९६ अर्ब ४६ करोड २६ लाख रुपैयाँ थियो । राष्ट्र बैंकको यो तथ्यांकअनुसार ब्याजदर घटे पनि समग्र कर्जा विस्तार भने निकै सुस्त देखिएको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरूको सबै प्रमुख कर्जा शीर्षकमा ब्याजदर घटेको छ । जसमध्ये सबैभन्दा बढी गिरावट बिल्स पर्चेज कर्जामा देखिएको छ । मध्य जुनमा छ दशमलव ६३ प्रतिशत रहेको यसको ब्याजदर मध्य असारमा छ दशमलव ४६ प्रतिशतमा झरेको छ । अर्थात् पछिल्लो समय बिल्स पर्चेज कर्जाको ब्याजदरमा शून्य दशमलव १७ प्रतिशतले कमी आएको छ । यसैगरी आवासीय व्यक्तिगत घर कर्जाको ब्याजदर सात दशमलव शून्य एक प्रतिशतबाट छ दशमलव ९२ प्रतिशतमा झरेको छ । रियल इस्टेट कर्जाको ब्याजदर छ दशमलव ७४ प्रतिशतबाट छ दशमलव ६५ प्रतिशतमा, हायर पर्चेज कर्जाको सात दशमलव शून्य सात प्रतिशतबाट छ दशमलव ९९ प्रतिशतमा तथा मार्जिन प्रकृतिको कर्जाको ब्याजदर छ दशमलव ४४ प्रतिशतबाट छ दशमलव ३६ प्रतिशतमा झरेको छ ।
टर्म लोनको ब्याजदर पनि छ दशमलव ६५ प्रतिशतबाट छ दशमलव ५७ प्रतिशतमा झरेको छ भने ओभरड्राफ्टको सात दशमलव २३ प्रतिशतबाट सात दशमलव १६ प्रतिशतमा झरेको छ । क्यास क्रेडिट कर्जाको ब्याजदर छ दशमलव ६६ प्रतिशतबाट छ दशमलव ५८ प्रतिशत, ट्रस्ट रिसिप्ट÷आयात कर्जाको छ दशमलव २७ प्रतिशतबाट छ दशमलव २४ प्रतिशत र छोटो अवधिको कार्यशील पुँजी/डिमान्ड कर्जाको छ दशमलव २३ प्रतिशतबाट छ दशमलव १५ प्रतिशतमा झरेको छ । विपन्न क्षेत्र कर्जाको ब्याजदर पाँच दशमलव ५७ प्रतिशतबाट पाँच दशमलव ५३ प्रतिशतमा झर्दा ‘अन्य कर्जा’को ब्याजदर सात दशमलव ३८ प्रतिशतबाट सात दशमलव ३० प्रतिशतमा झरेको छ ।
राष्ट्र बैंकका अनुसार बैंकहरूको कुल कर्जामा टर्म लोनको हिस्सा सबैभन्दा ठूलो रहेको छ । मध्य जुनमा टर्म लोन १८ खर्ब ७९ अर्ब छ करोड ७५ लाख रहेकोमा मध्य असारमा बढेर १८ खर्ब ९२ अर्ब १३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । साउनमा यस्तो कर्जा थप बढेर १९ खर्ब १० अर्ब ९६ करोड ३० लाख पुगेको छ । यसैगरी छोटो अवधिको कार्यशील पुँजी तथा डिमान्ड लोन मध्य जुनको आठ खर्ब ५४ अर्ब ८६ करोडबाट असारमा आठ खर्ब ५३ अर्ब २९ करोडमा झरे पनि साउनमा पुनः बढेर आठ खर्ब ६३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । क्यास क्रेडिट कर्जा भने लगातार घटेको छ । मध्य जुनमा पाँच खर्ब ८६ अर्ब ३३ करोड रहेको यस्तो कर्जा असारमा पाँच खर्ब ७६ अर्ब ४६ करोड र साउनमा पाँच खर्ब ७० अर्ब ४३ करोडमा सीमित भएको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो समय आवासीय व्यक्तिगत घर कर्जा भने निरन्तर बढेको छ । मध्य जुनमा तीन खर्ब ६३ अर्ब २४ करोड रहेको यस्तो कर्जा असारमा तीन खर्ब ६८ अर्ब ९८ करोड र साउनमा तीन खर्ब ७३ अर्ब २ करोड पुगेको छ । तर रियल इस्टेट कर्जा भने मध्य जुनको दुई खर्ब १९ अर्ब ५३ करोडबाट असारमा दुई खर्ब १४ अर्ब ५८ करोडमा झरेको छ । साउनमा केही सुधार आए पनि यस्तो कर्जा दुई खर्ब १५ अर्ब १७ करोडमा मात्र पुगेको छ । विपन्न क्षेत्र कर्जा असारमा उल्लेख्य बढेर दुई खर्ब ६२ अर्ब ५१ करोड पुगे पनि साउनमा घटेर दुई खर्ब ४४ अर्ब ११ करोडमा सीमित भएको छ । यसैगरी ‘अन्य कर्जा’ पनि असारको पाँच खर्ब ६४ अर्ब २९ करोडबाट साउनमा पाँच खर्ब ५४ अर्ब ११ करोडमा झरेको छ ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा कर्जाको लागत घट्दै गएको भए पनि कर्जा विस्तार बढ्न नसकेको देखिएको छ । मध्य जुनदेखि मध्य साउनसम्म कुल कर्जा रकम करिब २६ अर्ब ७० करोडले मात्र बढेको छ । तर असारदेखि साउनसम्म भने कुल कर्जा रकम झन्डै स्थिर रहेको छ । विशेषगरी टर्म लोन, आवासीय घर कर्जा र कार्यशील पुँजी कर्जामा बढे पनि पनि क्यास क्रेडिट, विपन्न क्षेत्र तथा अन्य कर्जामा आएको कमीले समग्र कर्जा विस्तारलाई खुम्चाएको छ ।