बैंकिङ प्रणालीमा निक्षेप रकम निरन्तर बढ्दै गए पनि नयाँ कर्जाको माग अपेक्षाकृत कमजोर हुँदा विकास बैंकहरूमा अधिक तरलताको समस्या देखिएको छ । लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा विस्तार हुन नसक्दा नियमित आम्दानीमा दबाब परेको छ ।
यता बैंकहरूको कर्मचारीतर्फको खर्च पनि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालनमा रहेका १७ वटा विकास बैंकले कर्मचारीको तलब तथा भत्तामा मात्रै कुल सात अर्ब तीन करोड ५० लाख रुपैयाँ खर्च गरेका हुन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ६० करोड ३० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा विकास बैंकहरूले कर्मचारीको तलब तथा भत्तामा छ अर्ब ४३ करोड २० लाख रुपैयाँ खर्च गरेका थिए ।
यसरी हेर्दा एक वर्षमा विकास बैंकहरूको कर्मचारी खर्च करिब नौ दशमलव चार प्रतिशतले बढेको छ । कर्मचारीको पारिश्रमिकमा सबैभन्दा धेरै खर्च गर्ने बैंक मुक्तिनाथ विकास बैंक छ । राष्ट्रियस्तरको यस बैंकले आव २०८२/०८३ मा कर्मचारीको तलब तथा भत्तामा मात्र एक अर्ब ३८ करोड १० लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । त्यसपछि गरिमा विकास बैंकले ९७ करोड ३३ लाख २० हजार रुपैयाँ खर्च गरेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकले ८६ करोड ८ लाख ३० हजार रुपैयाँ खर्च गरेको छ । यसैगरी कामना सेवा विकास बैंकले ७१ करोड ९४ लाख ७० हजार रुपैयाँ र महालक्ष्मी विकास बैंकले ६९ करोड ९० लाख ७ हजार रुपैयाँ कर्मचारी पारिश्रमिकमा खर्च गरेका छन् ।
त्यस्तै, ज्योति विकास बैंकले कर्मचारीहरूको पारिश्रमिकको लागि ६४ करोड ६४ लाख ७० हजार रुपैयाँ खर्च गर्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६१ करोड ७८ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । यस अवधिमा लुम्बिनी विकास बैंकले भने कर्मचारीहरूको पारिश्रमिकको लागि कुल ४४ करोड १८ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ ।
राष्ट्रियस्तरका विकास बैंकहरूको तुलनामा क्षेत्रीयस्तरका विकास बैंकहरूको कर्मचारी खर्च भने निकै नै न्युन देखिएको छ । सो अनुसार एक्सेल डेभलपमेन्ट बैंकले आव २०८२/०८३ मा कर्मचारीहरूको पारिश्रमिकको लागि २१ करोड ३८ लाख ६० हजार रुपैयाँ खर्च गर्दा मितेरी डेभलपमेन्ट बैंकले पनि सात करोड ४० लाख २० हजार रुपैयाँ खर्च गरेको छ । त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकले कर्मचारीहरूको पारिश्रमिकको लागि ११ करोड ३० लाख सात हजार रुपैयाँ खर्च गर्दा सिन्धु विकास बैंकले नौ करोड ७८ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । ग्रीन डेभलपमेन्ट बैंकले यस अवधिमा कर्मचारीहरूको पारिश्रमिकको लागि कुल छ करोड ६४ लाख रुपैयाँ खर्च गर्दा सालपा विकास बैंकले पाँच करोड एक लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा कम कर्मचारी खर्च गर्नेमा कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंक देखिएका छन् । आव २०८२/०८३ मा कर्णालीले तीन करोड ४७ लाख ४० हजार रुपैयाँ खर्च गर्दा कर्पोरेटले दुई करोड ३४ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ । यस अवधिमा नारायणी डेभलपमेन्ट बैंकले भने कर्मचारीहरूको तलव भत्ताको लागि कुल दुई करोड
१५ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ ।