काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहले खाना पकाउने एलपी ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै गौरी कुमारी यादवलाई हटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दीपक कुमार साहलाई दिएका थिए । मन्त्रालयको जिम्मेवारी साहले पाए पनि ग्यास अभावको समस्या समाधान हुन सकेको छैन । तत्काल ग्यास अभावको समस्या समाधान भइहाल्ने पनि देखिँदैन ।
दशैँ नजिकिएसँगै सर्वसाधारणहरूले ग्यासको जोहो गर्ने समयमा ग्यास अभाव भोग्नु परेको छ । दशैँ, तिहार र छठ नजिकिँदै गर्दा सहज रूपमा चाडपर्व मनाउनुपर्ने अवस्थमा सरकारले ग्यास अभावको परिपूर्ति गर्न नसक्दा सर्वसाधारणहरू समस्यमा परेका छन् । कीर्तिपुर नगरपालिका भत्केपाटीका शैलेश थापाको ग्यास खोज्दैमा दिन बितेको छ । ग्यास नभए खाना खान पाइँदैन त्यसैले ग्यासको जोहोको लागि उनी कीर्तिपुरको नयाँ बजार, पाँगा दोबोटोदेखि टाउन प्लानिङसम्मकको डिपोमा बुझन् पुग्छन् ।
‘डिपोहरूको जवाफ ग्यास अभाव रहेकोले दुई चार दिनमा आउने जवाफ मात्र पाउने हुँदा ग्यास अभावलाई लिएर चिन्ता बढेको छ’, उनले भने, ‘धेरैजसो पसलहरूमा ग्यास छैन भन्छन् अनि ग्यासको सिलिन्डर फरक भएको भन्दै साट्न मिल्दैन भन्ने जवाफले दिक्क लागेको छ । दशैँको समयमा पनि यसरी ग्यास खोज्न परे चाड मनाएको खल्लो हुनेछ ।’
थापा मात्र नभई सो क्षेत्रका अधिकांश सर्वसाधारणहरू ग्यासको लाइनमा बसेका छन् कि त ग्यास खोज्दै कीर्तिपुरको विभिन्न क्षेत्रको पुगेको छन् । कीतिपुर दुधपोखरीका अनिल विष्ट पनि घरमा ग्यास भए पनि त्यो सकियो भने कहाँबाट ग्यास ल्याउने भन्ने चिन्ता लागेको बताउँछन् । कीर्तिपुर क्षेत्र मात्र नभई काठमाडौं उपत्यकाको हरेक बजारलगायतका क्षेत्रमा ग्यास लिनका लागि सिलिन्डरसहित लाइनमा दर्जनौँ नागरिकहरू बसेको देखिन्छ । सरकारले ग्यास अभावलाई समाधान गर्ने भन्दै आपूर्ति मन्त्री नै परिवर्तन गर्यो, ग्यासको आयात वृद्धि गर्यो, एकै रंगका ग्यास सिलिन्डर बनाउने तयारी अघि बढाउने आश्वासन दिएको छ । तर सरकारले गरेको कामले ग्यासको समस्या समाधान भने हुन सकेको छैन ।
सरकारले ग्यासको अभाव समाधान गर्न नेपाल आयल निगमबाट समेत बिक्रीवितरण गरेको थियो । सर्वसाधारणलाई ग्यास अभाव भएमा निगममा सम्पर्क गर्न समेत आग्रह गरिए पनि समस्या भने समाधान हुन सकेको छैन । सरकारलाई साथ दिदै निजी क्षेत्रले समेत ग्यास अभाव हुन नदिने बिक्री स्थान विभिन्न ठाउँमा राखेको छ ।
काठमाडौं उपत्यकामा खाने पकाउने ग्यासको अभाव भएपछि घटस्थनापनादेखि छ स्थानमा बिक्री गरिने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । ग्यासको आपूर्तिलाई सहज बनाउन असोज २५ देखि ३१ गतेसम्म छ स्थानबाट ग्यास बिक्री गर्न लागेको हो । संघका अध्यक्ष दिवान चन्दले नेपाल आयल निगगको समन्वय र ग्यास बिक्रेता महासंघको सहाकार्यमा बिक्री गर्न लागिएको जानकारी दिएका छन् ।
काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम, पेप्सीकोलाबाट सगर तथा बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास बिक्री गरिने भएको छ । त्यस्तै, सुकेधाराबाट बाबा र श्री ग्यास, कलंकीबाट साइबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास बिक्री गरिने संघले जनाएको छ । यी छ स्थानबाट बिहान साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म ग्यास बिक्री हुने जनाइएको छ । यी स्थानमा ग्यासको सिलिन्डर पनि साँटफेर हुने अध्यक्ष चन्दले जनाएका छन् ।