भक्तपुर, सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा नवराज भट्टले सञ्चालन गरेको प्लास्टिक दाना बनाउने कारखानामा विके सप्लायर्समा सोमबार बिहान आगलागी भएको छ ।
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले आगलागीबाट ठूलो क्षति भएको जानकारी दिदैं आगलागी भएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयहरूको सहायताबाट करिब दुई घण्टामा आगो नियन्त्रणमा लिएको बताए ।
उनका अनुसार कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ आगलागीका कारण पुर्ण रूपमा क्षति हुनुका साथै कारखानासँगै रहेको दिनेश मचामसीको घरमा पनि क्षति पुगेको छ । आगलागीको कारण अझै खुलेको छैन भने घट्नास्थलमा प्रहरीले मुचुल्का उठाउने कार्य गरिरहेको छ ।
प्रहरीले आगलागीबाट करिब ४० लाखभन्दा बढी क्षति भएको जानकारी दिएको छ । आगलागी भएलगत्तै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगलागी भएको उद्योगको निरीक्षण समेत गरे ।