रौतहट, भारतीय ठेकेदारमार्फत रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित मदिना इटाँभट्टामा काम गर्न आएका ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरी स्वदेश फर्काएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतमले इँटाभट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र नौ बालिका गरी ४२ जनालाई अलपत्र परेको अवस्थामा उद्धार गरी सोमबार भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको जानकारी दिए ।
रासनखर्च व्यवस्थापनका लागि भनी चारदिनअघि आफूसँग भारु छ लाख लिई गएका भारतीय ठेकेदर मोहम्मद नासिर सम्पर्कविहीन भएपछि कामदार अलपत्र परेको इटाँभट्टा सञ्चालक मोहम्मद मुजामिलले जानकारी दिए । उत्तर प्रदेश मुररावादबाट आगामी असारसम्म इटाँभट्टामा काम गर्नेगरी ल्याइएका आश्रित परिवारसहिका कामदार ठेकेदार एक्कासी सम्पर्कविहीन भएपछि प्रहरीलाई जानकारी गराएको उनले बताए ।
प्रहरी नायब उपरीक्षक गौतमले बाहिरबाट कामदार ल्याई अलपत्र पार्ने भारतीय ठेकेदारको खोजी भइरहेको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।